menu

ताजा समाचार

पतनशील प्रवृत्तिका विरुद्ध 'मार्क्सवाद र सबाल्टर्न अध्ययन' : खेम थपलिया

आज गम्भीर कृति प्रकाशन हुन छाडेको छ, अक्सर गम्भीर लेखक पनि पाइन छाडेको छ, गम्भीर बहस र गम्भीर अन्तर्क्रिया पनि हुन छोडेका छन् । अध्ययन/पठन संस्कृति त डरलाग्दो अवस्थामा छ । भुइँफुट्टा र उत्ताउला लेखकको बोलवाला बढेकोबढ्यै छ । कहिलेकाहीँ लाग्छ– कतै हाम्रो समाज, हाम्रो राजनीति, हाम्रो संस्कृति हावामा त उड्दै छैन ! पश्चिमाहरूद्वारा लादिएको कथित बौद्धिकता र प्राज्ञिकताले नेपालजस्ता देशहरूका बुद्धिजीवी र प्राज्ञिकताको  दयनीय–स्तर देखिँदैछ । मार्क्सवादको आधारभूत प्रस्तावनाबाट हामी च्यूत हुनु भनेको प्रतिक्रियावादी/साम्राज्यवादीहरूलाई मैदान खाली गरिदिनु हो; मार्क्सवादलाई उँधो मुन्टो पारेर हलाल गर्नु हो ।

 मार्क्सवादी स्रष्टा, समालोचक तथा चिन्तक डा. ऋषिराज बरालद्वारा लिखत एवम् साझा प्रकाशनद्वारा प्रकाशित अत्यन्त महत्त्वपूर्ण पुस्तक मार्क्सवाद र सबाल्टर्न अध्ययन बजारमा आइपुगेको छ । प्रस्तुत पुस्तक मार्क्सवाद र सबाल्टर्न अध्ययन मा अगाडि निकै महत्त्वपूर्ण आलेख ‘ परिचय : बौद्धिक स्खलनका विरुद्ध’ शीर्षक रहेको छ । यो आलेखलाई प्रस्तुत पुस्तकको संश्लिष्ट रूप पनि भन्न सकिन्छ । ४ खण्डमा विभिन्न शीर्षकलाई विन्यासीकरण गरिएको छ । खण्ड १ मा मार्क्सवाद , 'मार्क्सवादहरू;  र सांस्कृतिक अध्ययन’, एडवार्ड सइद, ‘प्राच्यवाद’ र वैचारिक बहस, मार्क्सवाद, ग्राम्सी र ‘सांस्कृतिक प्रभुत्व’ को धारणा, मार्क्सवाद, उत्तरआधुनिकतावाद र ‘उत्तर-उत्तर आधुनिकवाद’, वर्ग, इतिहासचेतना र ‘सबाल्टर्न स्टडिज’, मार्क्सवाद , इतिहासको मूल्याङ्कन र केही जटिल प्रश्नहरू रहेका छन् । त्यसैगरी, खण्ड २ मा समाज, सामाजिक रूपान्तरण र नेपाली स्रष्टाहरू, ‘उत्तर’ अवधारणा, नेपाली समाज र सङ्घर्ष रहेका छन् भने खण्ड ३ मा देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण, देवकोटामा विद्रोहचेतना : मूल्यनिरूपणको प्रयास, समकालीनताबोध र पूर्णविरामका कविताहरू, वैचारिक आलोकमा विकलको साहित्यिक यात्रा र साहित्यकार बद्रीनारायण प्रधान र ‘मौली’ उपन्यास रहेका छन् । अन्तिम खण्ड ४ मा ‘कविता लेखनका समकालीन चुनौतीहरू र समाकालीन नेपाली उपन्यासः विश्लेषण र संश्लेषण’ रहेका छन् ।

डा. बरालद्वारा लिखित प्रस्तुत पुस्तकमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समसामयिक प्रवृत्तिबारे चर्चा गरिएको छ । बौद्धिक-प्राज्ञिक समुदायका अवस्था र अपेक्षा यसको महत्वपूर्ण पक्ष हो । ‘उत्तर’ अवधारणामाथि अवधारणा निकै शिक्षाप्रद छ । रूपान्तरणकारी अभियानमा स्रष्टाहरूको भूमिकालाई डा. बरालले असाध्यै धेरै महत्त्व  दिनुभएको देखिन्छ ।

नेपाली बौद्धिकजगत् अहिले पनि पश्चिमा हेजेमोनीबाट ग्रस्त छ । यसमा अमेरिकी साम्राज्यवादको बोलवाला रहेको प्रस्टाप्रस्टी छ । पश्चिमा विश्वविद्यालय, पाठ्यक्रम, तिनको अथाह लगानी र व्यापक नेटवर्किङका कारण तिनले जे भने पनि, जे लेखे पनि सही हुने र त्यसैलाई पछ्याइरहनुपर्छ भन्ने मनोविज्ञानबाट हामी माथि उठ्न सकेका छैनौँ । नयाँ-नयाँ कुराबाट मानिसहरूलाई व्यस्त राख्न सकिने र पुँजीवादविरुद्धको आन्दोलन मत्थर पार्न साम्राज्यवादीहरू खप्पीस छन् । विश्वलाई फेर्ने सकिन्छ, विश्वलाई फेर्नुपर्दछ भन्ने कुरातिर ध्यान नै दिन नपाइने परिस्थिति उनीहरूले बनाइरहेका हुन्छन् । प्रस्तुत पुस्तकले यो कुरालाई गम्भीरताका साथ उठाएको छ । यहाँ क्रान्तिकारीहरूलाई आफ्नो उद्देश्यबाट विमुख गराउने यावत्–कृत्यप्रति लेखक डा. बरालको तीब्र रोष मुखरित भएको छ ।

अहिले साम्राज्यवादीहरू/पुँजीवादीहरू संसारभर वर्गसङ्घर्षद्वारा क्रान्तिकारी रूपान्तरण गर्ने विचारलाई उठ्नै नदिने प्रयास गरिरहेका छन् । यद्यपि उनीहरू आफैँ भने उत्पीडित देश तथा जनतामाथि युद्ध थोपरिरहेका छन् । ठूला-ठूला भनिएका विश्वविद्यालय र तिनका स्थापित भनिएका प्राध्यापकहरूले मार्क्सवादी विचार विरोधी डिस्कोर्स खडा गरिरहेका हुन्छन् र छन् पनि । हामीले क्रान्तिकारी विचारको विकास र अन्तर्निहित क्षमताको अभिवृद्धि गर्दै साम्राज्यवादीहरू/पुँजीवादीहरूसित मज्जाले मुकाबिला गर्नुपर्दछ । वैचारिकी क्षमतालाई भौतिकी क्षमतामा उठाउँदै निरन्तर क्रान्तिमार्गमा प्रवाहित हुनुपर्छ भन्ने सन्देश पनि प्रस्तुत पुस्तकले प्रवाह गरेको छ ।

नेपालमा मार्क्सवादले पुँजीवादका विरुद्ध मात्रै सङ्घर्ष गर्नुपरेको छैन, यसले मार्क्सवादकै नाममा भएका गलत चिन्तन र विचारका विरुद्ध पनि सङ्घर्ष गर्नुपरेको छ । कलाचिन्तनका फाँटमा फरकफरक रङका फूलहरू फुल्न सक्छन् तर, तिनको सौन्दर्यचेतना फरकफरक हुन सक्तैन । नेपालमा मार्क्सवादलाई आआफ्नै रुचि र स्वादका आधारमा व्याख्या गर्ने गरिएको छ । यो चिन्तन गलत छ । मार्क्सवादलाई आधारभूत रूपमा नपक्रीकन सही विश्लेषण र संश्लेषण सम्भव हुन्न भन्ने कुरा प्रस्तुत पुस्तकको अर्को महत्वपूर्ण पक्ष  हो ।

 कुनै बेला मार्क्सवादको विकास र समृद्धिको आदर्शभूमि बनेका रूस तथा चीन अहिले क्रान्तिकारी आदर्शको रूपमा प्रतिनिधित्व गर्दैनन् । बरु नेपाल-भारतका माओवादीहरूले त्यो आदर्श पछ्याउने प्रयास गरिरहेका छन् । साम्राज्यवादी भूमण्डलीकृत सक्रिय बनेको यतिबेला नेपालमा सांस्कृतिक साम्राज्यवाद हाबी हुँदैछ । आज माओवादी नाममै पनि संशोधनवाद र नवसंशोधनवाद देखापरेको छ । केही ‘माओवादी’ आफूलाई परिचयको राजनीतिबाट चरम जातीयतावादी बनाउन पुगेका छन् । मार्क्सले उतिबेलै पुँजीवादी समाजमा एउटा लेखक र बुद्धिजीवी कसरी मालमा परिणत गरिन्छ भन्ने कुरा उल्लेख गर्नुभएको थियो । आफूलाई खाँटी मार्क्सवादी/माओवादी भन्नेहरू कसरी अँध्यारो कोठामा रमाइरहेका हुन्छन् भन्ने कुरालाई डा. बरालले यहाँ रोचक ढङ्गबाट उठाउनुभएको छ ।

                खेम थपलिया
आज बौद्धिक तथा प्राज्ञिक क्षेत्र विचार, परिवर्तन र जनसेवा होइन; नाफामुखी भएको छ । पुँजीवादको मुख्य विशेषता भनेकै नाफा कमाउनु हो । पुँजीवादको आफ्नो दर्शन हुँदैन ; उसले सामन्तवादबाट दर्शन लिँदै र नाफालाई सामन्तवादसित बाँड्दै बाँचिरहेको हुन्छ । नेपालका कतिपय बुद्धिजीवी नाममा मार्क्सवादी र काममा पुँजीवादीजस्ता बनेका छन् । कतिपयमा विश्वदृष्टिकोणको ठूलो समस्या देखिएको छ । यस्तो बेला मार्क्सवादको विद्रूपीकरण र भ्रष्टीकरणका विरुद्ध कसरी सङ्घर्ष गर्न सकिएला ! हुन त क्रान्तिकारी वर्गसङ्घर्षहरू कमजोर हुँदै जान थालेपछि, वैचारिक सङ्घर्षहरू ओझेलमा पर्दै जान थालेपछि हुने यस्तैयस्तै हो । नेपालका मार्क्सवादी बुद्धिजीवीको रगत सेलाउन थालेको र कलमको मोर्चा गल्र्यामगुर्लुम ढल्न थालेको प्रति यो पुस्तकमा गहिरो चिन्ता व्यक्त गरिएको छ ।

प्रस्तुत पुस्तकमा सङ्कलित रचनाबारे लेखक डा. बरालको स्पष्टोक्ति छ,
 
''यस सङ्कलनमा समाविष्ट रचनाहरू तयार पार्दा पश्चिमाहरूले बौद्धिक क्षेत्र, त्यसमा पनि शैक्षिक क्षेत्रमा भ्रमको संसार कसरी तयार पार्दा रहेछन् र हाम्रो मन-मस्तिष्कलाई नियन्त्रित गर्दै कसरी मार्क्सवाद विरोधी नीति र योजना लागू गर्दा/गराउँदा रहेछन् भन्ने कुरा मलाई राम्रोसित बोध भएको छ । खास गरेर ‘उत्तर-उपनिवेशवाद’, ‘सांस्कृतिक अध्ययन’ र ‘सबाल्टर्न अध्ययन’ को प्रोजेक्टबाट पश्चिमाहरूले हाम्रा एकथरी बुद्धिजीवीहरूको दिमाग कसरी ‘भुट्दा’ रहेछन्/‘भुटेका’ छन् भन्ने कुरा प्रस्ट भएको छ । पश्चिमा महानगरीय प्राज्ञिक केन्द्रमा रमाएका बुद्धिजीवीहरूसित मार्क्सवाद गाँसिए पनि मार्क्सवादचाहिँ उनीहरूबाट विस्थापित भएको छ । यो लोगोमा सीमित भएको; एक किसिमको फेसन जस्तो छ र त्यसको ठाउँ ‘प्राज्ञिक उन्नयन’ र ‘आर्थिक उत्प्रेरणा’ ले लिएको छ । नेपालकै सन्दर्भमा पनि दाम्लाले बाँधेका पसु झैँ डलररूपी हरियो घाँसका पछाडि हाम्रा प्राध्यापक गुरुहरू, प्राज्ञ र बुद्धिजीवी भनिनेहरू कसरी लुरुलुरु लाग्दा रहेछन् भन्ने कुरा पनि मलाई राम्रोसित बोध भएको छ । राजनीतिले गलत दिशा लिँदा सचेतकको भूमिकामा खबरदारी गर्नुपर्ने समुदाय र वैचारिक सङ्घर्षको थलो उपभोक्तावादमा फस्नु भनेको सारतः मुलुक बौद्धिक पतन र पराधीनतामा फस्नु हो । यो बौद्धिक स्खलनको परिणाम हो । यो पुस्तकमा सङ्कलित रचना यिनै र यस्तै पतनशील प्रवृत्तिविरुद्धका अभियान र अभियन्ता हुन्, ('परिचय : बौद्धिक स्खलनका विरुद्ध', पृ.२२) ।

समाजको प्राथमिक सांस्कृतिक विन्यास वर्गसंस्कृति हो । वर्गसंस्कृति समाजको आधारभूत तत्त्व पनि हो, जो कुनै न कुनै विचारधाराबाट निर्देशित हुन्छ । नेपाली समाज आन्तरिक वा बाह्य ‘हैकम’ र ‘पराधीनता’ सहित ‘सांस्कृतिक जीवन’ बाँचिरहेको  छ । क्रान्तिकारी विचारधारा र राजनीतिमा यसको उपयोगी पक्षलाई उजागर गर्नैपर्दछ । वर्गसङ्घर्षद्वारा मात्र यस किसिमको हेजेमोनीको साङ्लोलाई तोड्न सकिन्छ । सांस्कृतिक प्रतिरोधी क्षमताको अभिवृद्धि आजको आवश्यकता हो । सामुदायिकी चरित्र फेर्न पुँजीवादी विचारधाराका विरुद्ध समाजवादी विचारधारा र तिनको भौतिकी स्वरूप प्रदान गर्ने कुरा अहम् महत्त्वको विषय हो । क्रान्तिकारी सांस्कृतिक अभ्यास सांस्कृतिक क्रान्ति पनि हो । आलोचनात्मक चेत र सच्चाइको ठम्याइद्वारा मात्र हामीले आफ्नो दिशा र गति पकड्न सक्छौँ । क्रान्तिकारी सांस्कृतिक अभ्यास परिभाषित गर्न त्यसका केही विशिष्ट प्रारूपको विकास गर्न तथा वैचारिकी, वर्गसङ्घर्षको वैज्ञानिक स्वरूपबारे गम्भीर छलफल हुनुपर्दछ ।

लेनिनले ‘आलोचनामा स्वतन्त्रता र काम-कारबाहीमा एकरूपता’ भन्नुभयो । त्यसविपरीत हुनुले हामीले वर्ग/समाजलाई सांस्कृतिक अभिव्यक्ति दिन नसकेका हौँ । विचारधारामा ‘आलोचनात्मकता’ मार्फत सांस्कृतिक उत्पादनको अभिव्यक्ति दिन सकिन्छ । हामीले समाजमा नयाँनयाँ सांस्कृतिक अभिव्यक्ति नदिईकन र समाजलाई विश्वस्त नबनाईकन नयाँ सम्बन्ध निर्माण  र सांस्कृतिक उत्पादन गर्न सक्दैनौँ ।
 
अन्तमा यसो भनौँ, लेखक-बुद्धिजीवीहरू दासताभन्दा माथि उठ्नैपर्छ । प्रश्न उठछ, के आलोचनात्मक चेत भएका नेता-कार्यकर्ताको राजनीतिक रक्षा हुन्छ ? अझ कवि, कलाकार, साहित्यकार, बुद्धिजीवी अथवा  प्राज्ञहरूको सन्दर्भमा यो प्रश्न निकै पेचिलो बनेको छ । इतिहासका महत्त्वपूर्ण घडीमा बौद्धिक-प्राज्ञिक समुदायले पतनशील प्रवृत्तिका विरुद्ध कडा सङ्घर्ष गर्दैआएका छन् । पतनशील प्रवृत्तिका स्रष्टाहरूसित सम्झौताहीन सङ्घर्ष गर्नुपर्ने कुरा यसमा उठाइएको छ । प्रतिक्रियावादी वा सबै किसिमका संशोधनवादी ज्वारभाटाका विरुद्ध क्रान्तिकारी ज्वारभाटा उठाउनु आजको आवश्यकता हो । गलत प्रवृत्ति सबैसित केही न केही मात्रामा रहेकै हुन्छ । आत्मसङ्घर्षमार्फत तिनका विरुद्ध विजय हासिल गर्न सकिन्छ । यो पुस्तक पनि त्यही विजय हासिल गर्ने एउटा प्रयास हो ।

मार्क्सवादी विचाराधारात्मक क्रियाशीलता, वर्गसङ्घर्ष, जनवर्ग सेवा र नयाँ जनवादी राज्यव्यवस्थाको स्थापना यसको मूल उद्देश्य हो । यो पुस्तक सपना र आमूल परिवर्तनको पक्षमा उभिएको छ । यसले मार्क्सवादको प्रयोग, रक्षा र विकासद्वारा मात्रै हामी ऐतिहासिक आवश्यकता पूरा गर्न समर्थ हुनेछौँ भन्ने निर्विकल्प उपाय सुझाएको छ । अन्तमा यति भनौँ, स्रष्टाजीवन र सिर्जना-जीवनका बीच सङ्गति नमिलिरहेको समकालीन परिवेशमा डा. ऋषिराज बरालद्वारा लिखित मार्क्सवाद र सबाल्टर्न अध्ययन पुस्तक पतनशील प्रवृत्तिका विरुद्ध मानक सामग्री बन्नपुगेको कुरामा कुनै दुईमत छैन ।
 
०००


भिडियो फिचरview all