
माओवादी कमजोर होलान्, समाप्त हुँदैनन् : भियस सिरपुरकार

काङ्ग्रेस सरकारकै पालामा गाउँका माओवादीहरूभन्दा माओवादीहरूलाई समर्थन गर्ने सहरका बुद्धिजीवीहरू बढी खतरनाक छन् भनेर “चिन्ता” जाहेर गर्ने भारतीय फासिवादले पछिल्ला दिनमा यो निष्कर्षलाई व्यवहारमा लागू गर्नथालेको छ । पहिले माओवादी आन्दोलनका लागि सानो ठाउँ पनि नदिने पत्रपत्रिकाहरूमा माओवादीहरूका गतिविधि मुख्य समाचार बन्नु, बनाउन बाध्य हुनु र पाकिस्तानसित जोडिएका राज्यहरूमा माओवादी गतिविधि बढ्नुले अहिले भारतीय प्रतिक्रियावाद निकै आत्तिएको देखिन्छ ।
यसैक्रममा सरकारकै आन्तरिक योजनामा केही दिनअघि नागपुरमा ‘अर्बन माओइस्ट नेटवर्क’ नामको विचारगोष्ठीको आयोजना गरिएको थियो । माओवादीहरू राज्यका लागि खतरनाक भएकाले कसरी दबाउन सकिन्छ भनेर सुझाव र विचार लिनु सो कार्यक्रमको उद्देश्य थियो । तर त्यहाँ जेजस्ता विचार र धारणाहरू आए, उल्टै त्यो कार्यक्रम सरकारी पक्षमा लागि प्रत्युत्पादक बन्यो ।
सो कार्यक्रम एकहिसाबले सरकारको विरुद्धमा र माओवादीका पक्षमा जनमत निर्माण गर्ने कार्यक्रम जस्तो भयो । प्रमुख वक्ताका रूपमा रहेका उत्तराखण्डका पूर्व प्रमुख न्यायधीश भियस.सिरपुरकारले माओवादी राज्यका लागि खतरा होलान् तर त्योभन्दा खतरनाक छन् “गौ-रक्षकहरू” भनेर अभिमत दिए । उनले दमन र आतङ्कले माओवादीहरू कमजोर होलान्, तर समाप्त हुने छैनन् पनि भने ।
उनले भने :
“मुलुकको वर्तमान समाजिक-राजनीतिक स्थिति नै यस्तो छ, जसले माओवादी आन्दोलनका लागि उपयुक्त वातावरण निर्माण गरेको छ र उनीहरूको उपस्थिति मात्र होइन, उनीहरूले पखेटा फिँजाउनु स्वाभाविक छ ।”
उनले भने :
''माओवादीले आफ्ना दस्ताबेजमा आदिवासी, दलित, अल्पसङ्ख्यक जनतामाथि शोषणदमन भएको कुरा उठाएका छन् । उनीहरूले यो सरकारलाई उत्पीडनकारी, साम्राज्यवादमुखी, सामन्ती ब्राम्हणवादी भनेका छन् l यो कुरा दलित र अन्य समुदायमाथि भएको दमनले प्रस्ट पारेको छ । जेएनयुबाट विद्यार्थीहरू गायब हुनु, बुद्धिजीवीहरूलाई माओवादी बनाएर जेल पठाउनु र विचार व्यक्त गर्नबाट वञ्चित गर्नु सबै कुराले उनीहरूले भन्दै आएका कुरा प्रमाणित हुन्छन् ।”
उनले यो सरकारले न्याय दिँदैन र उत्पीडन गर्छ भने उनीहरूले सहाराका लागि माओवादीतिर नहेरेर के गरून् त पनि भनेका छन् । सामाजिक विभेद, अन्याय र बढ्दो वर्गविभेद नै माओवादी फैलिनुको कारणा हो । माओवादीहरू बढे भनेर चिन्ता गर्नु भन्दा किन बढे भनेर खोजी गर्नु आवश्यक छ भन्ने भनाइ पनि उनको थियो ।
उनले भनेका छन् :
'' माओवादीका हिंसात्मक गतिविधि, न्यायका नाममा गरिने कामकारबाहीप्रति सहमत हुन नसकिएला, तर माओवादी भन्दा कथित ‘हिन्दू युवा बाहिनी', ‘गौ-रक्षकहरू’ धेरै खराब छन् । यस्ता घटनाहरूले प्रजातन्त्र भनिने व्यवस्थाप्रति विश्वास घट्नु स्वाभाविक छ ।”
अन्त्यमा उनले भने : “भनिरहनु आवश्यक छैन, आउँदा दिनमा माओवादीहरूको विस्तार झन् द्रूत गतिमा हुनेछ ।”
भिडियो फिचरview all