menu

ताजा समाचार

भारतीय आकाशमा झुल्किँदैगरेको रातो तारा

वरवर राव :

साम्राज्यवादीहरूको प्रतिरोध गरिरहेको माओवादीहरूको एकताबद्ध तारापुञ्जले नयाँ जनवादी क्रान्तिलाई  यथार्थमा परिणत गर्नेछ । नक्सलबाडीले उनीहरूलाई ध्रुवताराले झैँ दिशाबोध गरिरहेको छ ।

''५० औँ वार्षिकोत्सव पूरा हुनलागेको भारतको  महान् नक्सलवाडी किसान क्रान्तिकारी सशस्त्र आन्दोलन चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट प्रभावित र उत्प्रेरित थियो ।  नक्सलवाडी आन्दोलन महान् नेता तथा शिक्षकहरूमध्येका एक, कमरेड चारु मजुमदार तथा भारतमा नयाँ जनवादी क्रान्तिको आरम्भकर्ताका रूपमा सदैव सम्झना गरिने भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का अग्रज-संस्थापक, कमरेड चारु मजुमदार र केसी, ( चारू मजुमदार र कन्हाई चटर्जी), को नेतृत्त्वमा भएको एउटा युगान्तकारी  घटना थियो ।” नक्सलवाडी लगायत विश्व साम्यवादी आन्दोलनको इतिहाससित सम्बद्ध चार महत्वपूर्ण घटनाहरूलाई लिएर उत्सव मनाउने सन्दर्भमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यसो भनेको थियो ।

एउटा कुरा प्रस्ट छ, माओवादीहरू, केही खास समूह तथा व्यक्तिहरू त्यसमा पनि सबैभन्दा बढी भारतीय कम्युनिस्ट पार्टी (माओवादी), नक्सलबाडी आन्दोलनको सच्चा विरासत हुन् । बोल्सेविक स्पिरिटद्वारा निर्मित क्रान्तिकारी पार्टीबिना  र सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गरेबिना,  भारतमा क्रान्ति सम्पन्न गर्न—नयाँ जनवादी क्रान्ति र समाजवादी उद्देश्य प्राप्त गर्न सकिँदैन ।

नक्सलबाडी, अर्धसामन्ती तथा अर्धऔपनिवेशिक भारतीय राजनीति, समाज र संस्कृति : शोषक र शोषित, साशक वर्ग र शासित वर्ग, दलाल पुँजीपति वर्ग र किसान तथा श्रमजीवी वर्गसित सम्बद्ध जनसमुदाय, संसदीय राजनीति र जनताको वैकल्पिक राजनीतिको बाटोलाई छुट्याउने रेखा हो । एउटा यस्तो संसार, जहाँ श्रमजीवी जनताको नेतृत्वमा भएको सङ्घर्षमार्फत सत्ता कब्जा गरिने छ र  त्यसलाई सुदृढ बनाउन उत्पादनका शक्तिलाई हातमा लिएर र उत्पादन सम्बन्धहरूमा फेरबदल हुन्छ ।

नक्सलबाडी आन्दोलनले पहिलोपल्ट भारतीय सत्ताको चरित्रको व्याख्या गर्दै यसलाई  अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा दलाल पुँजीपति वर्गको अधिनायकत्वमा रहेको मुलुकका रूपमा परिभाषित गर्यो  । यसले मार्क्सवाद-लेनिनवाद र माओवादलाई आफ्नो विश्वदृष्टिकोणका रूपमा लिएको थियो । यसले संसदीय राजनीतिलाई खारेज गर्यो  । यसले नयाँ जनवादी क्रान्तिको बाटो रोजेको थियो र प्रतिक्रियावादी सत्ताका विरुद्ध सशस्त्र सङ्घर्षलाई सङ्घर्षको मूल स्वरूप बनाउँदै दीर्घकालीन जनयुद्ध आरम्भ गरेको थियो । यसको  भूमि सङ्घर्षको आर्थिक क्रार्यक्रम मे २३, १९६७ मा नक्सलबाडीमा आरम्भ भएको थियो, जहाँ नक्सलबाडी र खरिबाडी गाउँका सन्थालहरूले जमिनदारहरूका जग्गा कब्जा गरेका थिए र प्रहरी फोर्सले उनीहरूको हत्या नगरुन्जेल  मे २५ सम्म  यसको रक्षा गरेका थिए ।

आन्दोलनको सैन्य कार्यक्रम आरम्भमा छापामार कार्यदिशामा आधारित थियो र यसले गामहरूलाई मुक्त गर्दै गएपछि अन्ततः यसले केन्द्रीय फोर्ससित आमनेसामनेको लडाइँमा सामेल हुनु स्वाभाविक थियो । आज त्यो आन्दोलन दण्डकारण्य, छत्तिसगढको बस्तर र महाराष्ट्रको गाडचिरोलीमा  चलायमान युद्धको स्तरमा पुगेको छ ।

१९९१ मा राज्यले अँगालेको साम्राज्यवादी भूमण्डलीकरणको नीतिले नक्सलबाडीले प्रदान गरेको बुझाइ भारतीय सत्ताको चरित्र दलाल तथा सामन्ती शक्तिको मेलका रूपमा रहेको कुरालाई साबित गरिदियो ।

रूसका सोभियतहरू र चीनका कम्युनहरूझैँ नक्सलबाडीको उद्देश्य पनि “सबै शक्ति जनतामा” भन्ने थियो । यो राजनीतिक कार्यक्रम भ्रूणका रूपमा नक्सलबाडी, श्रीकाकुलम, वेयानद र अन्य आदिवासी  किसान सङ्घर्षका क्षेत्रहरू, तेलङ्गाना किसान सशस्त्र सङ्घर्ष (१९४६-५१) मा समेत व्यवहारमा थियो ।

माओवादी कार्यक्रमले भारतीय कम्युनिस्ट पार्टी-एमएल (पिपुल्स वार)को १९९५को विशेष प्लेनमले पारित गरेको ग्राम राज्य कमिटीको अवधारणाको रूपलाई अबलम्बन गरेको छ ।  १९९५-२००३ का बीच उत्तर तेलाङ्नाका सयौँ गाउँहरूलाई कथित मुठभेड र रक्तपातपूर्ण दमन र अन्य गैरकानुनी प्रक्रियाद्वारा नराम्रो गरी ध्वस्त पारिएको भए पनि दण्डकारण्यले आफूलाई बचाउन सक्यो । १२ वर्षदेखि यहाँ जनसरकार स्थापना भएको छ र  सुकुम्बासी, साना किसान, मध्यम किसानलगायतका जनसमुदायको संयुक्त मोर्चामार्फत जनताले सरकार चलाइरहेका छन् । पार्टी, जनमुक्ति सेनाद्वारा सुरक्षित वैकल्पिक सत्तामा आदिवासी, दलित र उत्पीडित वर्गले शासन चलाएका छन् । त्यसैले त्यहाँ खासगरेर पूर्वी र केन्द्रीय भारत, बङ्गालको जङ्गलमहल र झारखण्डको सारन्दा, दण्डकारण्य, आन्ध्र-ओडिसा सिमाना र पश्चिम घाटमा हामीहरू  प्रतिक्रियावादीहरूले जनताका विरुद्ध युद्ध चलाएको देखिरहेका छौँ ।

नक्सलबाडी विद्रोहको स्पिरिटलाई  तेलङ्गानाको सशस्त्र किसान सङ्घर्षबाट अनुभव लिएर आन्ध्र प्रदेशको भाकपा (माले) ले अघि बढाएको थियो, खासगरेर श्रीकाकुलमको आन्दोलनले धक्का खाएपछि यसले अनुभव बटुलेको थियो । सन् १९७२मा चारु मजुमदारले शहादत प्राप्त गरेपछि यता आत्मालोचनाको प्रतिवेदन तयार पारिएको थियो र केन्द्रीय आयोजक समिति निर्माणको प्रयास भएको थियो l यसैको फस्वरूप इमर्जेन्सीको समयमा तेलङ्गनाको क्षेत्रीय कमिटीको बैठक १९७६ मा क्रान्तिको मार्गचित्रको आधार तयार पारिएको थियो । तेलङ्गना सशस्त्र सङ्घर्षको विरासतका रूपमा सन् १९७० मा ‘विरसम’—क्रान्तिकारी लेखक सङ्गठन गठन गरिएको थियो । १९७२  मा जनसांस्कृतिक आन्दोलनमा नयाँ आन्दोलन ‘जननाट्य मण्डली’ स्थापना भएको थियो । ‘पिलुप’, उत्पीडितहरूको पत्रिका १९७३ देखि आरम्भ भएको थियो । १९७४मा क्रान्तिकारी विद्यार्थी सङ्गठन (आरएसयु)को निर्माण गरिएको थियो ।

इमर्जेन्सीको समयमा  क्रान्तिकारी विद्यार्थीहरू भूमिगत हुनपर्ने स्थिति आयो र उनीहरूले माओको चिन्तनलाई पछ्याउँदै गाउँमा भूमिसम्बन्ध, दलित, कृषि मजदुरलगायत सबैथरी उत्पीडितहरूबारे अध्ययन गरे । क्रान्तिकारी विद्यार्थीको वारङ्गलमा भएको दोस्रो सम्मेलनले “गाउँमा जाऔं'' को नीति तय गरेर नयाँ जनवादी क्रान्तिका लागि गरिब भूमिहीन किसानका पक्षमा काम गर्न विद्यार्थीहरूलाई आह्वान गर्यो  र यसले ग्रामीण क्षेत्रमा भूमिहीन किसानसित मिलेर जनताबाट जमिनदारहरूले कब्जामा लिएका जमिन जनताका लागि कब्जाको अभियान चलायो ।
सेप्टेम्बर १९७८मा जागितयालमा भएको बैठक, जुनचाहिँ “जागितयाल जैत्र यात्रा”ले परिचित छ , त्यसले १५० ओटा गाउँमा जमिन्दारबाट कब्जा गरेका जमिन जनताको अधीनमा गएको घोषणा गर्यो  । त्यसपछि त्यस क्षेत्रमा जनदिशाअनुसार निरन्तर वर्गसङ्घर्ष चलिरहेको छ । भारतीय कम्युनिस्ट पार्टी-माले (पिपुल्स वार) १९८० मा गठन भएको थियो र दण्डकारण्यलाई ध्यानमा राखेर महाराष्ट्रको सिरोचा र मध्यप्रदेशको बस्तरमा स्क्वाडहरू पठाइएको थियो । त्यो चीनको जस्तो नभएर भारतीय क्रान्तिले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न थुप्रै आधारइलाकाहरू बनाउनु आवश्यक छ भन्ने कुराको बुझाइमा आधारित थियो ।

 सन् १९९९ मा बङ्गाल, बिहार, दिल्ली र पंजावमा सक्रिय भारतीय कम्युनिस्ट  पार्टी (माले) र पिपुल्स वारबीच भारतीय कम्युनिस्ट पार्टी-माले (पिपुल्स वार) नाम राख्ने गरी एकता भयो । सेप्टेम्बर २१ २००४मा  भारतीय कम्युनिस्ट पार्टी-माले (पिपुल्स वार) र दक्षिणदेशको नेतृत्वमा बिहार र बङ्गालमा भएका वर्गसङ्घर्षहरूको लामो इतिहाससित जोडिएको माओइस्ट कम्युनिस्ट सेन्टरबीच भारतीय कम्युनिस्ट पार्टी (माओवादी) नाम राख्ने गरी पार्टी एकता भयो ।

भारतीय कम्युनिस्ट पाटी  (माले) को पहिलो महाधिवेशन १९७० मा भएको थियो । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को एकता महाधिवेशन २००७ मा भयो । दस वर्षदेखि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा भारतमा जनयुद्ध जारी छ । कुरा सङ्घर्षको गरे पनि थुप्रै  भारतीय कम्युनिस्ट पाटी  (माले) नामका पार्टीहरूले संसदीय चुनावमा भाग लिए । तर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) दृढताका साथ चुनाव बहिष्कारको पक्षमा उभियो, वर्गसङ्घर्षको मूल रूप सशस्त्र सङ्घर्षमा दृढताका साथ लाग्यो ।

आरोहअवरोह भए पनि र अघि बढ्ने र  धक्का खाने क्रम चले  पनि १९७६मा जनदिशा लागू गरेसँगै माओवादी आन्दोलनको यात्रा निरन्तरतामा छ । आज थुप्रै  राज्यमा यो आन्दोलनले गति लिएको हामी पाउछौं   । प्रतिक्रियावादीको सत्ताले समेत १६ ओटा राज्यमा माओवादीको उपस्थिति छ, भनेको छ । धेरै क्षेत्र खासगरेर दण्डकारण्य (डिके), आन्ध्र-ओडिसा बोर्डर (एओबी), झारखण्ड, बिहार  पश्मिघाटमा जनस्तरको तहबाटै सशस्त्र सङ्घर्ष जारी छ । दण्डकारण्यमा ‘भूमकाल’ को समयको मिलिसियाजस्तै जनछापामार सेना जनसत्ताको रक्षा गरिरहेको छ ।

यद्यपि अहिलेको आन्दोलन सन् १९७० मा नक्सलबाडी, श्रीकाकुलम अथवा तेलङ्गानामा भएको भूमिसङ्घर्षजस्तो लाग्छ तापनि यो “जसको जोत उसको पोत” को नाराका आधारमा राज्यसत्ता कब्जा गर्ने उद्देश्यका साथ अघि बढेको सामन्तवाद तथा साम्राज्यवाद विरोधी सच्चा क्रान्तिकारी सङ्घर्ष हो । त्यसैले केन्द्र तथा राज्यका दलाल शासकहरू माओवादी आन्दोलनबाट आत्तिएका छन् र यसलाई “सबैभन्दा ठूलो आन्तरिक चुनौती” का रूपमा चित्रण गरिरहेका छन् ।

दण्डकारण्य, बिहार, झारखण्ड, आन्ध्र-ओडिसा बोर्डर, पश्चिम घाट र जङ्गलमहलमा लागु गरिएको नक्सलबाडीको बाटोले बहुराष्ट्रिय ठूला कम्पनीहरूले दोहन गरेको प्राकृतिक स्रोतसाधन र मानवश्रमको रक्षाका लागि विकासको जनपक्षीय वैकल्पिक मोडलहरूको उदाहरण प्रस्तित गरिरहेको छ ।

भारतको संसदीय राजनीतिसित सम्बद्ध सत्तामा रहेका हरेक  राजनीतिक  पार्टीहरूले खुलेर भूमण्डलीकरणका नीतिहरूलाई लागू गरिरहेका छन् । त्यसैले देशभक्तहरू,  प्रजातन्त्रवादीहरू र वातावरणवादीहरू र  जो जनताको सार्वभौम शक्तिप्रति सही अर्थमा प्रतिबद्ध छन्, जनताको आन्दोलन, खासगरेर आदिवासी, दलित, किसान, मजदुर, महिला, मुस्लिम, विद्यार्थीहरू तथा विभिन्न ठाउँमा छरिएर रहेका बेरोजगार युवाहरूले चलाएको आन्दोलनका पक्षमा उभिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र अन्य क्रान्तिकारी शक्तिहरूले वैकल्पिक राज्यसत्ताका लागि गरेको आन्दोलनमा लामबद्ध हुनु आवश्यक छ । हाम्रो आफ्नै बाटो, आफ्नै शासन भनेको नयाँ जनवादी क्रान्ति नै हो । यो नै शोषणमुखी राज्यव्यवस्थाका विरुद्ध लड्दा शहादत प्राप्त गरेका हजारौँ सहिदहरूको सपना हो ।

मणिपुरकी इरोमाको ७२ भोटलाई अगाडि राखेर हेर्दा, युपीको चुनावको नतिजा हेर्दा अब कसैले पनि संसदीय राजनीतिको पतनशील चरित्रको लामो फेहरिस्त खोजिरहनु आवश्यक पर्दैन  ।

त्यसैले यो देशमा प्रजातान्त्रिक शक्तिहरूका लागि एउटा मात्र आशा बाँकी छ, त्यो हो, ५० वर्षअघि नक्सलवाडी आन्दोलनले अघि सारेको बाँकी कार्यभार—नयाँ जनवादी क्रान्ति ।

भारतीय पत्रिका 'आउटलुक' बाट
अनु. डा. ऋषिराज बराल
०००


भिडियो फिचरview all