
छिमेकी मुलुकहरूमा ‘र’ को भूमिकाबारे पाकिस्तानी टिप्पणीकारको खुलासा

भारतप्रतिको बुझाइ
फारुख सलिम

बङ्लादेश-भारत सम्बन्ध : ‘र’ ले यस क्षेत्रमा ‘मुक्तिबाहिनी’ र ‘शान्तिबाहिनी’ जत्था तयार पारेको छ । ‘बङ्ग सेना’ नामको एउटा हिन्दूवादी आतङ्कवादी सङ्गठन ‘बङ्गाली हिन्दूहरू’का लागि अलग्गै भूमि चाहिन्छ भनेर बङ्गलादेशमा आतङ्कवादी गतिविधि गरिरहेको छ । बङ्गलादेशका सेनाका तीनतारे लेफ्टिनेन्ट जनरल तथा बङ्गलादेश राइफलका पूर्व महानिर्देशक जाँगिर आलमका अनुसार भारतीय सेनाले बङ्ग सेनाको गठन गरेको हो, जुनचाहिँ “भारतको पश्चिम बङ्गालमा अवस्थित छ ।” भारत बङ्लादेशमा कठपुतली सरकार चाहन्छ ।
भारत र बङ्गालदेशसित ५४ नदीहरू जोडिएका छन् र भारतले कलकत्ताको ‘फरक्का बाँध’ बाट गङ्गाको पानी मनपरी ढङ्गले प्रयोग गर्न ‘पानी आतङ्क’ मच्चाइरहेको छ । बङ्गलादेशले बारम्बार आपत्ति जनाउने गरेको छ : “सुख्खा मौसममा भारतले बङ्गलादेशका लागि आवश्यक पर्ने पानी छोड्दैन र वर्षा याममा अत्यधिक पानी छाडेर बङ्लादेशलाई जलमग्न बनाउँछ ।”
भारतीय सीमा सुरक्षा बल (बिएसएफ)ले भारत-बङ्लादेश सीमामा भारतले बङ्गलादेशी नागरिक देख्नेबित्तिकै ‘गोली ठोकेर मार्ने’ नीति तय गरेको छ ( ह्युमान राइट वाचका अनुसार २००१ देखि २०११ सम्ममा १,००० बङ्गलादेशीको हत्या भएको छ ।) भारत-बङ्गलादेशबीच ४४ वर्षदेखि सीमा विवाद छ । अप्रिल २००१ मा भारतीय सीमा सुरक्षा बल र बङ्गलादेश सीमा रक्षक (बिजिबी) बीच १९७१ पछिको सबैभन्दा ठूलो भिडन्त परेको थियो । भारतले बङ्गालको खाडीको मारिटिम क्षेत्रलाई आफ्नो भनेकाले त्यहाँ सदैव भिडन्त भइरहन्छ ।
भुटान-भारत सम्बन्ध : भारत भुटानमा आफ्नो कठपुतलीबाहेक अर्को सरकार देखी सहँदैन । १९७५ मा भारतले १००,००० (एक लाख) सेना सिक्किममा पठाएर आफ्नो कब्जामा लियो र भारतको २२ औं राज्यका रूपमा त्यसको घोषणा गरेको थियो ।
चीन-भारत सम्बन्ध : ‘र’ ले पूर्वी तुर्किस्तानमा पृथकतावादी अभियानमा साथै चीनको सिनजाङका पृथकतावादीहरूका लागि लगानी गरिरहेको छ । ‘र’ ले पूर्वी तुर्किस्तानमा पृथकतावादी आन्दोलन र उज्बेकिस्तान, तेरेके–तालिवान पाकिस्तानका बीच त्रिपक्षीय मध्यस्थकर्ताको भूमिका पनि खेलिरहेको छ ।
चीन र भारतबीच चारओटा प्रमुख सीमा विवाद छन् : भारतको अधीनमा रहेको अरुणाञ्चल प्रदेश र तवाङ जिल्लालाई चीनले आफ्नो भनेको छ र चीनको अधीनमा रहेको अक्साइ चीन र सक्सगाम उपत्यकालाई भारतले आफ्नो भनेको छ ।
नेपाल-भारत सम्बन्ध : नेपालको माओवादी विद्रोहको ‘भारतसित बहुआयामिक सम्बन्ध’ थियो भनिन्छ । नेपालको माओवादी पार्टीको जनसेना (पिएलए) लाई “केही भारतीय भूतपूर्वसेना तथा पूर्व गोर्खा सिपाहीहरूले तालिम दिएको” डकुमेन्ट्री प्रमाणले यसो भन्छ ।
नेपालका प्रतिपक्षी पार्टीहरूले भारतले “नेपालको आन्तरिक मामिलामा भारतले निरन्तर हस्तक्षेप” गरेको कुरामा आपत्ति गरिरहेका छन् । २००१ मा राजा वीरेन्द्र, रानी ऐश्वर्य र राजपरिवारका अन्य आठ सदस्यहरूको हत्या भयो । नेपाली माओवादी पार्टीका अध्यक्ष पुष्प प्रचण्डले त्यो हत्या “भारतीय जासुसी एजेन्सी ‘र’ को योजनामा भएको थियो'' भनेका छन् । भारतले नेपालमा आफ्नो कठपुतली सरकारबाहेक अर्को सरकारलाई देखी सहँदैन ।
भारत-तिब्बत सीमास्थित नेपालको भूभाग कालापानीलाई भारतले सन् १९६२मा आफ्नो अधीनमा लियो र नेपालले आफ्नो भनेर यसमा निरन्तर आवाज उठाइरहेको छ । नेपालको ३५००० एकड जमिन सुस्तामाथि पनि भारतले विवाद गरिरहेको छ । भारत आफ्नो आदेशपालक नेपाल चाहन्छ ।
पाकिस्तान-भारत सम्बन्ध : सन् १९८४ देखि २००४ सम्म सुन्दरजी डक्ट्रिनमार्फत भारतले ‘पाकिस्तानको भूमिमाथि गहिराइका साथ प्रवेश’ को योजनाका साथ ‘बज्रमुक्का प्रहारहरू” गरेर ‘पाकिस्तानलाई दुई फ्याक पार्ने उद्देश्य राख्यो । सुन्दरजी डक्ट्रिनको असफलतापछि भारतीय जनरलहरू ‘कोल्ड स्टार्ट को योजना लिएर आए, जसको उद्देश्य पाकिस्तानलाई विस्तारैविस्तारै निल्नु थियो । ‘कोल्ड स्टार्ट को योजना पनि असफल भएपछि मोदी-डोभाल डक्ट्रिनले अहिले ‘बेलुचिस्तान लिबरेसन आर्मी’, बेलुचिस्तान रिपब्लिकन आर्मी, दि टिटिपी र लेजका गतिविधिहरूलाई आर्थिक लगायत विभिन्न किसिमले सहयोग गरिरहेको छ ।
भारत पाकिस्तानमा पनि आफ्नो कठपुतली सरकार चाहन्छ । भारत, पाकिस्तान आफनो आदेशपालक बनोस् भन्ने चाहन्छ । भारत, पाकिस्तान आफूले भनेअनुसार चलोस् भन्ने चाहन्छ ।
कम्तीमा पनि आफ्ना ६ ओटा छिमेकी मुलुकमा भारतले ती मुलुकका जनजाती समुदायहरू तथा राजनीतिक प्रतिपक्षीहरूलाई आर्थिक सहयोग तथा परिचालन गरिरहेको छ । ‘र’ ले कम्तीमा पनि ५ ओटा छिमेकी मुलुकमा सैन्य सहयोग र विद्रोहका नाममा आतङ्कवादको वीजारोपण गरेको लामो इतिहास छ ।
श्रीलङ्काको गृह युद्धमा भारतले ‘लिबरेसन टाइगर्स अफ तामिल इलम’ लाई प्रशिक्षण दियो, जसमा २३, ३२७ जनाको हत्या भयो र ६०,००० घाइते भएका थिए । बङ्गलादेशका विरुद्ध ‘र’ ले मुक्तिबाहिनी र शान्तिबाहिनीलाई तयार पार्यो । तिब्बतमा भारतले खम्पा विद्रोहीलाई तालिम दियो ।
यस्तो छ भारतको यस क्षेत्रलाई आफ्नो अधीनमा लिने तरिका ।
अनुवाद : ऋषिराज बराल
भिडियो फिचरview all