
जेलबाट कमरेड कोबाद गान्धीले लेखेको चिठी

सन् २००९ मा ‘अनलफुल एक्टिभिटिज (प्रिभेन्टिभ) एक्ट’ अन्तर्ग मुद्दा चलाएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का पोलिट ब्युरो सदस्य कमरेड कोबाद गान्धीलाई पनि तिहाड जेलमा ल्याइयो । उमेरले फरक भए पनि उनीहरूबीच गहिरो सम्बन्ध बन्यो ।
भर्खरै पत्रकार सुनेत्र चोधरीको जेलमा बसेका विभिन्न विचारसित सम्बद्ध राजनीतिक व्यक्तिहरूबारे लेखिएको पुस्तक ‘बिहाइन्ड बार्स’ प्रकाशित भएको छ । यसमा अफलजलसित जेलमा भेट भएदेखि फाँसीको समयसम्मको अनुभवलाई लिपिबद्ध गरेको कोबाद गान्धीले लेखेको चिठी पनि प्रकाशित छ । यसले थुप्रै सत्यतथ्यमाथि प्रकाश पार्छ । यहाँ पुस्तकका लेखकको टिप्पणीसहित ‘लेखकलाई सन् २०१६ सेप्टेम्बरमा कोबाद गान्धीले पठाएको चिठीको अंश’ उपशीर्षकको सामग्री प्रस्तुत गरिएको छ )
२०१६ को वसन्तमा जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) को प्राङ्गणमा राष्ट्रियतासम्बन्धी बहसलाई लिएर एउटा कार्यक्रम गर्ने निणय गरेसँगै विद्यार्थीको एउटा समूह फाँसीमा झुन्ड्याइएका अफजल गुरुको वार्षिकोत्सवको तयारी गरिरहेको थियो, र ६९ वर्षीय कोबाद गान्धी यस सन्दर्भलाई बडो गम्भीरता र होसियारीका साथ नियालिरहेका थिए, उनी जो जेएनयुमा फेब्रवरीको राती भएको घटनासित सम्बद्ध समाचारलाई हरेक बिहान स्क्यानिङ गरिरहेका हुन्थे । अफजल गुरुलाई दिएको फासीको सन्दर्भलाई लिएर गर्न लागिएको कार्यक्रममा राष्ट्रविरोधी पाकिस्तानपरस्त नारा लगाए भनेर तीन जना विद्यार्थीलाई जेल पठाइयो–यस्तो समाचारले त्यतिबेर उनलाई बेचैन गरायो । यो घटना मुलुकभरि नै बहसको विषय बन्यो । २००९ मा पक्राउ परी जेलमा राखिएका प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का सदस्य कोबाद गान्धी जेलमा तीन वर्षदेखि निरन्तर अफजल गुरुसित सम्बन्धमा छन् र उनी मात्रै एक्ला त्यस्ता व्यक्ति हुन्, जो जेलभित्र के के भइरहेको थियो र अफजललाई कसरी फाँसि दिइयो भन्ने कुरा राम्रोसँग जान्दछ भन्ने कुराप्रति जेल अधिकारीहरूले त्यति ध्यान दिएका थिएनन् ।
२०१६ को अन्त्यतिर हैदरावादको चेरापल्ली जेलमा रहेका बेला उनले मलाई भनेका थिए, उनीहरू कसैले पनि अफजल गुरुलाई सही किसिमले बुझेका छैनन् । अफजल गुरुलाई राष्ट्रविरोधी भनेर धेरै कुरा गरियो । तर उनी त्यस्ता थिएनन् । जेलमा राखिएदेखि ९ फेब्रवरी २०१२ अफजललाई फाँसि दिने बेलासम्म उनीहरू दुई जना घनिष्ठ मित्रका रूपमा जेलमा रहेका थिए । “कुनै वैज्ञानिक प्रमाणबिना उनलाई फाँसि दिइएको थियो ।” यो अति जोखिमयुक्त जेल वार्डमा रहेका एउटा कैदीको अर्को कैदीप्रतिको धारणा थियो । एकजना माओवादी विचारकका रूपमा स्थापित थिए र अर्कालाई सन् २००१ को संसद् भवन आक्रमणका योजनाकार आतङ्कारीको अभियोग लगाइएको थियो
लेखकलाई सन् २०१६ सेप्टेम्बरमा कोबाद गान्धीले पठाएको चिठीको अंश
सेप्टेम्बर २१, २००९को साँझ ७ बजेको बेला मलाई पहिलो चोटी तिहाड जेलमा लगिएको थियो । भारतीय जेलमा यो मेरो पहिलो प्रवेश थियो । दुईपल्ट हेपाहा खाले खानतलासीपछि म जेल नम्बर ३ को जोखिमयुक्त वार्डमा लगिएँ । त्यहाँ सेलमा बाहिरबाट ताला लगाइएका अन्य कैदीहरू पनि थिए । म ब्लक ‘ए’ को वार्डमा प्रवेश गरेँ (त्यहाँ दुइटा वार्ड थिए ।) १ नम्बर गेटमा अफजल गुरुसित मेरो भेट भयो, मुस्कानसाथ उनले भने, “स्वागत छ, तिहाडमा, तपाईँलाई यहाँ ल्याउँछन् भन्ने लागेको थियो मलाई ।”
पत्रपत्रिकामा मेरा बारेमा पढिरहेको कुरा उनले मलाई भने र भोलि बिहान हामी भेटौँला भने । मलाई ४ नम्बर सेलमा लगियो, जहाँ दिल्लीको नामुद डन किसन पहलमानसहित अन्य तीन जना थिए ।

यी वर्षहरूमा अफजललाई मैले मानवीयताले भरिएको, सहृदयी र सरल मान्छेका रूपमा पाएँ । यस्तो मान्छे, जो आफ्नी आमा, स्कुलकी शिक्षिका आफ्नी श्रीमती र छोरालाई असाध्यै माया गथ्र्यो । हरेक रक्षाबन्धनका दिन परिवारका सदस्यहरू उनलाई भेट्न आउँथे, जुन दिन परिवारका महिला सदस्यहरूलाई बन्दीसित भेट्न स्वीकृति थियो । उनका आवश्यकताहरू सीमित थिए, आफ्नो कमाइबाट श्रीमतीले उनलाई हरेक महिना १००० पठाउने गर्थिन् ।
पत्रपत्रिकाले कट्टर उग्रवादी भनेर चित्रित गरेभन्दा एकदमै भिन्न थिए अफजल गुरु । उनी इस्लामका कट्टर समर्थक हुन् भन्ने कुरामा दुविधा थिएन, उनी दिनमा ५ पल्ट नवाज पढ्थे र रोजा र अन्य इस्लाम रीतिरिवाजको पालना गर्थे । उनमा अर्को संसार जन्नतप्रति पनि ठूलो विश्वास थियो–जसले उनलाई अथाह उत्साही बनाउँथ्यो।
दार्शनिक तहमा मानवता, स्नेह र समानतामा जोड दिने इस्लामको सुफी परम्परामा अफजलको विश्वास थियो । उनी रुमी र इकवाल (प्रगतिशील कवि इकवाल कासिम : अनुवादक) का एकदमै प्रशंसक थिए । उर्दूमा उनीसित रुमीका ६ ओटा ठेली थिए, जुन उनका आत्मीय मित्रझैँ थिए, बिहानको चियामा उनी मलाई त्यसका कतिपय श्लोकहरू अनुवाद गरेर सुनाउँथे । अफजलमार्फत मैले इस्लामको मानवीय सारतत्त्वका बारेमा जान्ने अवसर पाएँ, जसलाई कट्टरतावादी मुल्लाहहरूले भ्रष्टीकरण गरेका थिए ।
जनतामाथि बम हान्ने र मार्ने अतिवादी तरिकालाई अफजलले एकदमै मन नपराउने मात्र नभएर पाकिस्तानी आइयसआइलाई पनि मन पराउँदैनथे । उनी बेलाबेलामा भन्ने गर्थे ‘र’ भन्दा पनि उनीहरू ‘खत्तम छन्, जो पाकिस्तानमा मिलाउन होइन कास्मिरको ‘आजादी’ को लागि लडेका थुप्रै बुद्धिजीवीहरूको हत्यामा जिम्मेवार छन् । खासगरेर ९० को दशकको जेकेएलएफको जनआन्दोलन, त्यो पाकिस्तानपरस्त आन्दोलन थिएन । भारतीय सरकारले मात्र होइन, आइयसआइले पनि धेरैको हत्या गरेको छ भनेर उनले भने । उनले कसरी कास्मिर उपत्यकाको जीवन सेनाको नियन्त्रणमा रहेको छ र यो खुला कारागारमा परिणत भएको छ भनेर मेरा सामु एउटा भिन्नै र ठोस तस्विर प्रस्तुत गरे । उनी घरीघरी कास्मिरी जनताको जीवनलाई प्यालेस्टिनी जनताको जीवनसित दाँज्दथे । कास्मिरका जनतालाई सहयोग गर्नुको सट्टा भारत विरोधी हतियारका रूपमा प्रयोग गरेर पाकिस्तानले उल्टै कास्मिरमा भारतले भन्दा बढी नोक्सान पुर्याएको भन्दै उनी कास्मिर दुई देशको द्वन्द्वमा बलीको बोको भएको विचार राख्दथे ।
कट्टरतावादीहरू भन्दा फरक, अफजलको कम्युनिज्मप्रति पनि एकदमै आदरभाव थियो र उनी घरीघरी इकवाललाई दोहोर्याउँथे : कम्युनिज्म +अल्लाह =इस्लाम । अफजलको ऊर्दू र अङ्ग्रेजी दुवैमा उत्तिकै दखल थियो । उनले नोम चोम्स्कीलगायत पश्चिमका अन्य प्रगतिशील बुद्धिजीवीहरूको पनि अध्ययन गरेका थिए । उनलाई गजल असाध्यै मन पथ्र्यो । जेलमा पनि उनले जेलका अधिकारीहरूलाई केही भन्ने ठाउँ दिएनन्, जब कि आरम्भका दिनमा उनले निकै अपमानित हुनुपरेको थियो ।
अफजललाई फाँसीको सजाय दिनु दुईदिनअघि हामी बसेको सेलमा रङ्रोगन गर्नुपर्ने भयो भनेर हामीलाई ‘बि ब्लक’ मा जान भनियो । तर जब हामी त्यहाँ गयौँ बाहिरको खुला चौर र ‘फाँसिकोटी’ देख्न नसक्ने गरी बन्द गरिएको पायौं । तर ‘फाँसिकोटी’ मा केही हुँदैछ भनेर चाहिं हामीले छिटै थाहा पायौँ । कर्मचारीहरूले विदेशी प्रतिनिधि मण्डलले जेलको निरीक्षण गर्दैछन् भनेर हल्ला फिँजाएका थिए : मानसिक अस्पतालमा राखिएको भुलरलाई फासिदिन पनि हुन सक्छ—यस्तैयस्तै हल्ला थिए ।
अफजलले भन्नेगर्थे भुलरलाई होइन, कसैलाई फासिदिने कुरा हुन्छ भने त्यो म नै हुनसक्छु । त्यो साँझ अरूको अनुहार मलिन भए पनि अफजल सदाझैँ हँसिलोखुसिलो थिए ।
भोलिपल्ट बिहान ६ बजे जेल कर्मचारी त्यहाँ आइपुगे । अनि उनीहरूले अफजलको सेलको ढोका खोले र भने— केही कुरा गर्नुछ भने पछि गर्नु, पहिले नमाज पढ्नु । उनीहरूले अफजललाई बाहिर लिएर गए र सेल बन्द गरिदिए, अरू सेलहरू खोलेनन् । अनि चाहिं के हुँदैछ भन्ने कुरा हामीले पनि अनुभव गर्नथाल्यौँ ।
उनलाई उनको मूल सेलमा लगियो, जहाँ सरकारी कानुन अधिकृत पनि थिए । कानुन अधिकृतले अहिले बिहान ८ बजे अफजललाई फासि दिइनेछ भनेर सुनाए । अफजलले जहानपरिवारसित फोनमा कुरा गर्छु भने, तर यसलाई इन्कार गरियो । काङ्ग्रेस सरकारले सबै कानुनी मूल्य (नर्मस्हरू) लाई रछ्यानमा फालेको थियो । उनले नमाज पढे, उनलाई चिया बिस्कुट खान दिइयो, नुहाए र अन्तिम पटक फेरि नमाज पढे ।
आठ बज्न ५ मिनेट बाँकी छँदा उनलाई हामी सधैँ हिँड्ने ठाउँ हुँदै उता लगे, उनले उपस्थित सबै कर्मचारीसित शुभयात्रा भन्दै बिदा भने र आफूलाई धेरै पीडा नदिइयोस् है भने । उनले उपस्थित कर्मचारीतिर हेरेर सबैसित बिदा मागेर घाँटीमा फाँसिको फन्दा लगाएको बेला सबैका आँखा रसाएका थिए भनेर हामीले पछि थाहा पायौँ । जेलका अधिकारीहरूले उनको लुगाफाटाहरू, डायरी र उनको मृत शरीरसमेत परिवारलाई दिन इन्कार गरे । उनलाई अर्का कस्मिरी नेता मकबुल भाटलाई गाडेको ठाउँभन्दा दुई फिट उता गाडियो । विडम्बनाको विषय के छ भने मकबुल भाट पनि पाकिस्तान विरोधी नै रहेछन् भन्ने कुरा पाकिस्तान सरकारले उनको पुस्तकमाथि प्रतिबन्ध लगाउनुबाट प्रस्ट हुन्छ ।
यसरी तिहाड जेलको मेरो सातबर्से यात्रामा एउटा मानवतावादी, इमानदार, प्रस्ट र सरल मान्छेसितको मेरो सहयात्राको अन्त्य भयो । रफिकबाहेक सबै कस्मिरीहरूको व्यवहार अफजलको जस्तो हुने गर्दैन । तर अचम्म, किन काङ्ग्रेस सरकारले कास्मिरको यो बौद्धिक आवाजलाई यसरी सिध्याउन खोज्यो, फलस्वरूप, कास्मिरको आनन्दोलन कट्टरतावादी अतिवादीहरू र पाकिस्तानपरस्तहरूतिर धकेलियो...।
अनुवाद : डा. ऋषिराज बराल
भिडियो फिचरview all