menu

ताजा समाचार

सैद्धान्तिक सङ्घर्षको महत्व

-भि.आइ. लेनिन
 
हाम्रा अगाडि साहित्यिक प्रकाशनसम्बन्धी दुईओटा सूचना छन् । एउटा हो, ‘रसियाली सामाजिक–जनवादीहरूको सामयिक मुखपत्र राबोचेए जेलाको कार्यक्रम’ (रायोचेए जेला, अङ्क १ बाट पुनः मुद्रित) र अर्को हो, ‘श्रम मुक्ति दल१ का प्रकाशनहरू पुनराम्भ गर्ने सूचना’ । दुवै सूचना सन् १८९९ मा निस्केका हुन्, त्यसबेला “मार्क्सवादको सङ्कट” माथि बहस चलेको धेरै भइसकेको थियो । के कुरा लेखिएको रहेछ त यी सूचनाहरूमा ? पहिलो सूचनामा यस प्रक्रियाको उल्लेख खोज्नु, अथवा यस प्रश्नको नयाँ मुखपत्रको दृष्टिकोणबारे निश्चित कथन खोज्नु, अथवा यस प्रश्नमा नयाँ मुखपत्रको सामु जुन सैद्धान्तिक कार्य र जरुरी कार्यभारहरू छन्, तिनबारे न त यसको कार्यक्रममा नै, न ‘सङ्घ’ को सन् १९०१ मा भएको तेश्रो महाधिवेशन२ मा पारित यसको परिशिष्टमा नै एक शब्द उच्चारण गरिएको छ (‘दुई महाधिवेशन’, पृष्ठ १५–१८) । यस सम्पूर्ण अवधिमा रायोचेए जेलाको सम्पादक मण्डलले सैद्धान्तिक प्रश्नहरूको उपेक्षा गर्दैआएको छ, यद्यपि यी त्यस्ता प्रश्न थिए, जसले विश्वभरिका सामाजिक–जनवादीहरूलाई चिन्तित तुल्याएका थिए ।

    यसको विपरीत, अर्को सूचनामा सबभन्दा पहिले नै पछिल्ला वर्षहरूमा सिद्धान्तप्रति रुचि घट्दै गएको छ भन्ने कुरा उल्लेख गरिएको छ, “सर्वहारा वर्गको क्रान्तिकारी आन्दोलनको सैद्धान्तिक पक्षप्रति तीक्ष्ण दृष्टि राख्न” जोडदार माग गरिएको छ र हाम्रो आन्दोलनमा “बर्नस्टिनवाद र अरू क्रान्तिविरोधी प्रवृत्तिहरूको निर्मम आलोचना” का लागि आह्वान गरिएको छ । अहिलेसम्म निस्केको जार्याका अङ्कहरूले यो कार्यक्रम कसरी कार्यान्वित हुँदैथियो भन्ने कुरा देखाउँछ ।

    यस प्रकारले हामी के कुरा देख्छौँ भने वैचारिक जडता र अन्य कुराको विरुद्ध गरिएका लम्बेचौडे कुराको पछाडि सैद्धान्तिक चिन्तनको विकासप्रति उदासीनता र निस्सहायता मात्रै लुकेको रहेछ । कुख्यात आलोचना स्वतन्त्रताको उद्देश्य एक सिद्धान्तको ठाउँमा अर्को स्थापना गर्नु होइन, बरु सबै प्रकारका अविभाज्य एवं राम्ररी सोचविचार गरिएको सिद्धान्तबाट स्वतन्त्र हुनु हो, यसको अर्थ सारसङ्ग्रहवादी खिचडी र सिद्धान्तहीनता हो भन्ने रसियाली सामाजिक–जनवादीहरूको दृष्टान्तले यस आम युरोपेली प्रक्रियाको पुष्टि गर्छ (यो कुरा जर्मन मार्क्सवादीहरूले धेरै अघि नै देखिसकेका थिए) । हाम्रो आन्दोलनको वास्तविक स्थितिसित अलिकति पनि परिचित भएको कुनै पनि व्यक्तिले मार्क्सवादको व्यापक विस्तारको साथै सैद्धान्तिक स्तरमा केही ह्रास आएको थियो भन्ने कुरा नदेखिरहन सक्तैन । आन्दोलनको व्यावहारिक महत्व र यसको व्यावहारिक सफलताले गर्दा ज्यादै कम सैद्धान्तिक तालिम पाएका र यस्तो तालिम पाउँदै नपाएका मानिसहरूको ठूलो सङ्ख्या यसमा सरिक भयो । त्यसै कारणले राबोचेये जेला कति निर्लज्ज रहेछ भन्ने कुरा हामी त्यसबेला ठम्याउन सक्छौँ, जब यसले केही विजयभावले मार्क्सको यस उक्ति प्रस्तुत गर्छ – “वास्तविक आन्दोलनको प्रत्येक पाइला दर्जनौँ कार्यक्रमहरूभन्दा बढी महत्वपूर्ण हुन्छ । ”३ सैद्धान्तिक अस्तव्यवस्तताको समयमा यस्ता शब्द दोहोर्याउनु भनेको अन्त्येष्टीमा गइरहेका मलामीहरूलाई यस्तो दिन बारम्बार आओस् भन्ने कामना गर्नु जस्तै हो । त्यसमाथि मार्क्सका यी शब्द गोथा कार्यक्रम४ सम्बन्धी उहाँको चिठ्ठीबाट लिइएका हुन्, जसमा उहाँले सिद्धान्तहरूको निर्धारणमा सारसङ्ग्रहवाद ल्याउने कुराको कडा आलोचना गर्नुभएको छ – मिल्नै परे पनि– मार्क्सले पार्टी नेताहरूलाई लेख्नुभएको थियो– आन्दोलनका व्यावहारिक उद्देश्यहरू पूरा गर्नका लागि सम्झौता गर्नोस्, तर सिद्धान्तको व्यापारचाहिँ नगर्नु होला, सैद्धान्तिक ‘छुट’ नदिनोस् । देख्नुभयो, कस्तो थियो मार्क्सको विचार, हामीहरूका माझ चाहिँ यस्ता मानिसहरू भेट्टाइन्छन्, जो उहाँको नाउँमा सिद्धान्तको महत्वलाई न्यूनीकरण गर्छन् ।

    क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन हुन सक्तैन । अवसरवादको तडकभडकपूर्ण उपदेशले व्यावहारिक गतिविधिमा अति सङ्कीर्ण रूपहरूप्रतिको मोहसित अँगालो मारेर हिँडिरहेको बेलामा यस विचारमाथि जतिसुकै जोड दिए पनि कम हुनेछ । रसियाली सामाजिक–जनवादको लागि चाहिँ अरू तीन कारणले गर्दा सिद्धान्तको महत्व झन् बढ्नगएको छ र यी कारणहरू प्रायजसो बिर्सने गरिन्छ – पहिलो कारण हो, हाम्रो पार्टी भर्खरै मात्र बन्न थालेको छ, यसका स्वरूपहरू भर्खरभर्खर निरूपित हुनथालेका छन् र आन्दोलनलाई पथभ्रष्ट पार्ने खतरायुक्त क्रान्तिकारी विचारधाराहरूसित यसले अझ धेरै कुराको छिनोफाना गर्नु नै छ, यसका विपरीत, पछिल्लो समयमा मात्रै गैरसामाजिक–जनवादी क्रान्तिकारी धाराहरूको पुनर्जन्म भएको छ । अक्सेलरोदले धेरै अघि नै “अर्थवादीहरूलाई” यस्तो सम्भावनको चेतावनी दिइसकेका थिए । यस्तो अवस्थामा पहिलो दृष्टिमा त्यत्ति “महत्व नभए” जस्तो लाग्ने गल्तीले अति चिन्ताजनक परिणामहरू उत्पन्न गर्न सक्दछ । अदूरदर्शी मानिसहरू मात्र गुटहरूबीचको विवाद र विभिन्न वैचारिक पक्षहरूका बीचमा निहित अन्तर देखाउने आवश्यकतालाई असामयिक अथवा फाल्तु कुरा ठान्न सक्छन् । एक लामो अवधिको लागि रसियाली सामाजिक–जनवादको भविष्य एक वा अर्को पक्षको सफलतामाथि निर्भर रहन सक्छ ।

    दोश्रो कुरा के हो भने आफ्नो सारअनुसार सामाजिक–जनवादी आन्दोलन एक अन्तर्राष्ट्रिय आन्दोलन हो । यसको अर्थ हामीले अन्धराष्ट्रवादसित मात्र सङ्घर्ष गरे पुग्छ भन्ने होइन । अरू मुलुकको अनुभवको उपयोग गरेपछि मात्र एक नयाँ राष्ट्रमा सुरु हुनथालेको आन्दोलनले सफलता प्राप्त गर्न सक्नेछ । यस्ता प्रस्तावको अनुकरण गर्नु मात्र, तिनका बारे जानकारी प्राप्त गर्नु मात्र अथवा नयाँनयाँ प्रस्तावको अनुकरण गर्नु मात्र पर्याप्त हुने छैन । यसको लागि यस्ता अनुभवहरूको आलोचनात्मक अध्ययन गर्न जान्नुपर्छ र तिनको स्वतन्त्र परीक्षण गर्ने क्षमता राख्नुपर्छ । आधुनिक मजदुर आन्दोलन कति व्यापक भइसकेको छ र यसका हाँगाबिँगा कति फैलिसकेका छन् भन्ने कुरा अन्दाज गर्न सक्ने मान्छेले यस कार्यलाई कार्यान्वित गर्नका लागि सैद्धान्तिक शक्तिहरू र राजनीतिक (निकै  क्रान्तिकारी पनि) अनुभवको कत्रो भण्डारको आवश्यकता पर्दो रहेछ भन्ने कुरा बुझ्नेछ ।

    तेश्रो कुरा, रसियाली सामाजिक–जनवादका राष्ट्रिय कार्यहरू कस्ता छन् भने संसारको अरू कुनै पनि समाजवादी पार्टीले कहिल्यै त्यस्ता कार्यहरूको सामना गर्नुपरेको थिएन । एकतन्त्रीय शासनबाट सम्पूर्ण जनतालाई मुक्त गर्ने कार्यले हामीलाई कस्ता राजनीतिक एवं सङ्गठनात्मक कर्तव्यहरू सुम्पेको छ भन्ने कुरा हामी पछि चर्चा गर्नेछौँ । अहिले चाहिँ हामी के भन्न चाहन्छौँ भने सबैभन्दा प्रगतिशील सिद्धान्तद्वारा निर्देशित पार्टीले मात्र अग्रगामी योद्धाको भूमिका पूरा गर्न सक्नेछ । केही मात्रामा भए पनि यो कुरा ठीक रूपमा बुझ्न पाठकले रसियाली सामाजिक–जनवादका अग्रणीहरू, हर्जेन, बेलिन्स्की, चेर्निसेव्स्की र आठौँ दशकका अन्य विलक्षण क्रान्तिकारीहरूको स्मरण गरून्, अहिले रूसी साहित्यले जुन विश्वव्यापी महत्व प्राप्त गर्दैछ, त्यसमाथि सोचविचार गरून् अरू पनि ....,  तर यति नै पर्याप्त हुनेछ ।

    सन् १८७४ मा एङ्गेल्सले सामाजिक–जनवादी आन्दोलनका लागि सिद्धान्तको महत्वका बारेमा जुन कुरा प्रस्ट पार्नुभएको थियो, यहाँ हामी त्यसको उल्लेख गर्न चाहन्छौँ । एङ्गेल्सले सामाजिक–जनवादको महान् सङ्घर्षको दुई (राजनीतिक तथा आर्थिक) स्वरूप होइन, जस्तो हामीकहाँ प्रचलित छ, तीन स्वरूप देखाउनुभएको छ र सैद्धान्तिक सङ्घर्षलाई प्रथम दुई रूपजत्तिकै महत्व दिनुभएको छ । व्यावहारिक र राजनीतिक दृष्टिले सुदृढ भइसकेको जर्मन मजदुर आन्दोलनलाई उहाँले दिनुभएको सल्लाह, वर्तमान समस्याहरू र विवादहरूको दृष्टिले कति शिक्षाप्रद छन् भने धेरै अघि नै दुर्लभ बनिसकेको उहाँको Der deutsche Bauernkrieg (जर्मनीमा किसानयुद्ध : तेस्रो संस्करण , लाइपजिग १८७५, सहकारी प्रकाशन) को भूमिकाबाट एउटा लामो उद्धरण दिएमा पाठकहरूले नराम्रो मान्नुहुने छैन भन्ने हामीलाई विश्वास छ :

    युरोपका अन्य मजदुरहरूको दाँजोमा जर्मन मजदुरहरू दुईओटा महत्वपूर्ण कुरामा अघि परेका छन् । पहिलो, उनीहरूको युरोपका सबैभन्दा सैद्धान्तिक जाति हुन् र उनीहरूले यस सिद्धान्तबोधलाई कायम राखेका छन्, जुन जर्मनीका तथाकथित “शिक्षित” हरूले प्रायः पूर्णतया गुमाइसकेका छन् । जर्मन दर्शनबिना, खासगरी हेगलको दर्शनबिना, जुन जर्मन वैज्ञानिक समाजवादको अग्रणी थियो, आजसम्म देखापरेको एक मात्र वैज्ञानिक समाजवाद –जर्मन वैज्ञानिक समाजवाद कहिल्यै अस्तित्वमा आउने थिएन । मजदुरहरूमा सिद्धान्तबोध नभइदिएको भए, आज जसरी वैज्ञानिक समाजवाद उनीहरूको नशानशामा घुसेको छ, यो कुरा हामीले कदापि देख्न पाउने थिएनौँ । यो कति महान् उपलब्धि हो भन्ने कुरा केले देखाउँछ भने एकातिर, बेग्लाबेग्लै व्यवसायहरूका आफ्नै सानदार सङ्गठनहरू हुँदाहुँदै पनि बेलायती मजदुर आन्दोलन यति मन्द गतिले अघि बढ्नुको प्रमुख कारणहरूमध्ये एउटा कारण सिद्धान्तप्रति उनीहरूको उदासीनता नै हो र अर्कोतिर, प्रुँधोवादले५ उत्पन्न गरेको  भ्रम र फट्याइँ, जुन मौलिक रूपमा फ्रान्स र बेल्जियमका मजदुरहरूको बीच फैलिएको थियो र बाकुनिनमार्फत विकृत रूपमा स्पेन र इटालीका मजदुरहरूका बीच फैलिएको थियो ।

    दोश्रो उत्कृष्टता के हो भने, जर्मनहरूले मजदुर आन्दोलनमा  अरूभन्दा पछि मात्रै भाग लिनथालेका थिए । जसरी जर्मन सैद्धान्तिक समाजवादले आफू  सेन्ट–सिमोन, फुरिए र ओवेनका काँधमा उभिएको छु भन्ने कुरा बिर्सिन सक्तैन र यी तीन विचारकहरूले, तमाम अङ्सगत धारणाहरू र तमाम कल्पनावाद हुँदाहुँदै पनि, सबै युगका महानतम विचारहरूको माझमा आफ्नो स्थान राख्छन्, यिनको प्रतिभाले अनेक कुराको पूर्वानुभूति गर्यो, जसको सहीपन अहिले हामी वैज्ञानिक तरिकाले सिद्ध गरिरहेका छौँ – त्यसैगरी जर्मनहरूको व्यावहारिक मजदुर आन्दोलनले आफूले बेलायती तथा फ्रेन्च आन्दोलनहरूका आधारमा विकास गरेको हो भन्ने कुरा बिर्सिनु हुँदैन, यो ती आन्दोलनहरूले महँगो मूल्यमा किनेको अनुभवबाट लाभ उठाउन समर्थ भएको छ र ती आन्दोलनहरूका बेला प्रायः अपरिहार्य रहेका गल्तीहरूबाट अहिले बच्न सकियो भन्ने कुरा बिर्सिनु हुँदैन । बेलायती ट्रेड युनियनहरू फ्रान्सेली मजदुरहरूको राजनीतिक सङ्घर्षको दृष्टान्त नभइदिएको भए, खासगरी पेरिस कम्युनले दिएको व्यापक प्रेरणा नभइदिएको भए, हामी अहिले कहाँ हुन्थ्यौँ होला ?

    जर्मन मजदुरहरूले आफ्नो परिस्थितिबाट लाभ लिन विशिष्ट समझदारी देखाएका छन्, यो उनीहरूको श्रेय हो । मजदुर आन्दोलनको अस्तित्व देखापरेदेखि आजसम्ममा पहिलो पटक यसका परस्पर समन्वित एवं सम्बन्धित तीनै दिशा अर्थात् सैद्धान्तिक, राजनीतिक एवं व्यावहारिक–आर्थिक (पुँजीजीवीहरूको प्रतिरोध) दिशामा सुनियोजित तरिकाले सङ्घर्ष गरिँदैछ । यसैमा, भनौँ यस केन्द्रीकृत प्रहारमा जर्मन आन्दोलनको शक्ति र अजेयता निहित छ ।

    एकातिर, उनीहरूको यस लाभदायी स्थितिले र अर्कोतिर, बेलायती मजदुर आन्दोलनको विशेषताले गर्दा र फ्रान्सेली आन्दोलनको कठोर दमन गरिएकोले वर्तमान कालमा जर्मन मजदुरहरूले सर्वहारा सङ्घर्षको अग्रपङ्क्तिमा स्थान प्राप्त गरेका छन् । घटनाक्रमले कति लामो अवधिसम्म उनीहरूलाई यस सम्मानपूर्ण स्थानमा रहन दिने हो, भविष्यवाणी गर्न सकिन्न । तर जबसम्म उनीहरू यस स्थानमा रहनेछन्, हामी आशा गरौँ उनीहरूले आपूmमाथि आएको उत्तरदायित्वलाई गम्भीरतापूर्वक पूरा गर्नेछन् । यसका  लागि सङ्घर्ष र आन्दोलनको सबै क्षेत्रमा दुई गुना बढी प्रयत्न आवश्यक हुन्छ । खासगरी नेताहरूको कर्तव्य हुन्छ–सबै सैद्धान्तिक प्रश्नहरूको बढी गम्भीर अध्ययन गर्नु, पुरानो विश्वदृष्टिकोणबाट उत्तराधिकारमा प्राप्त परम्परागत शब्दावलीको प्रभावबाट आफूलाई मुक्त गर्दै लैजानु र सधैँ कुन कुरामा ध्यान दिनु भने समाजवादले विज्ञानको रूप लिइसकेपछि विज्ञानकै रूपमा यसलाई स्वीकार गरिनुपर्छ, अर्थात् यसको अध्ययन गरिनुपर्छ । यस प्रकारले प्राप्त गरिएको र बढी स्पष्ट रूप लिदैँगएको चेतनालाई बढ्दो उत्साहसहित मजदुर समुदायमा फैलाउनुपर्दछ, पार्टी एवं ट्रेड युनियन सङ्गठनहरूलाई अधिकाधिक दृढताका साथ एकताबद्ध गर्दै लानुपर्छ ।

    जर्मन मजदुरहरूले यस्तै किसिमले प्रगति गर्दैगए भने उनीहरू आन्दोलनको अग्रपङ्क्तिमा हिँडनेछन् भन्नु ठीक नहोला किनभने कुनै एउटा खास राष्ट्रका मजदुरहरू सम्पूर्ण आन्दोलनको अघिअघि हिँड्नु आन्दोलनको लागि लाभदायक हुन सक्तैन, तर उनीहरूले सङ्घर्षकर्ताहरूले ताँतीमा सम्मानपूर्ण स्थानचाहिँ अवश्य प्राप्त गर्नेछन्, अनि कुनै अप्रत्याशित गम्भीर परीक्षा अथवा असाधारण घटनाले उनीहरूबाट बढी साहस, बढी सङ्कल्प र शक्तिको माग गर्दा उनीहरू सङ्घर्षको लागि सशस्त्र खडा भएर बसेको भेट्टाउन सकिन्छ ।”
एङ्गेल्सका उपर्युक्त शब्दहरू भविष्यवाणी नै ठहरिए । केही वर्षपछि जर्मन मजदुरहरूले समाजवादीहरूको विरुद्ध असाधारण कानुनको रूपमा अप्रत्याशित गम्भीर परीक्षाको सामना गर्नुपर्यो । जर्मन मजदुरहरूले वास्तवमै सम्पूर्ण हातहतियारसहित यसको सामना गरे र यस परीक्षाबाट विजयी भएर निस्के ।

    रसियाली सर्वहाराले योभन्दा अझ कयौँ गुना बढी गम्भीर परीक्षाहरूको सामना गर्नु पर्नेछ, उसले त्यस दानवको विरुद्ध सङ्घर्ष गर्नु पर्नेछ, जसको तुलनामा एक संवैधानिक मुलुकमा लागू गरिएको असाधारण कानुन एउटा बाउन्ने जस्तै देखिन जानेछ । इतिहासले अहिले हाम्रा सामु यस्तो तात्कालिक कार्यभार राखिदिएको छ, जुन कुनै पनि अर्को मुलुकका सर्वहारा वर्गका सामु उपस्थित सबै तात्कालिक कार्यभारहरूमध्ये सबैभन्दा क्रान्तिकारी कार्यभार हो । यस कार्यभारको परिपूर्तिले युरोपेली मात्र होइन, अझ एसियाली समेत (र अब हामी यसो भन्न सक्छौँ) प्रतिक्रियावादको सबैभन्दा शक्तिशाली गढ नष्ट गर्नाले रसियाली सर्वहारालाई अन्तर्राष्ट्रिय क्रान्तिकारी सर्वहाराको अग्रदल बनाउनेछ । हाम्रा अग्रजहरूले –आठौँ दशकका क्रान्तिकारीहरूले –यो सम्मानित स्थान प्राप्त गरिसकेका छन्, अनि हामीले हाम्रो आन्दोलनलाई, जुन उनीहरूको भन्दा हजारौँ गुना बढी व्यापक र गहन छ, त्यत्तिकै निस्वार्थ सङ्कल्प तथा शक्तिले प्रेरित गर्न सफल भयौँ भने हाम्रा अग्रजहरूले प्राप्त गरिसकेको यो सम्मानित उपाधि हामीले प्राप्त गर्ने आशा राख्नु न्यायोचित नै हुनेछ ।
०००                                                          (के गर्ने ? बाट)

पाद टिप्पणी
१. श्रम मुक्ति समूह– सन् १८८३ मा स्वीटजरल्यान्डमा गे.भा. प्लेखानोवद्वारा स्थापित पहिलो रूसी मार्क्सवादी समूह  । श्रम मुक्ति  समूहले रूसमा मार्क्सवादको प्रचार गर्न निकै ठूलो परिश्रम गरेको थियो । यस समूहले कार्ल मार्क्स र फ्रेड्रिक एङ्गेल्सका कृतिहरू रूसी भाषामा अनुवाद गरेर  विदेशमा प्रकाशित गर्यो । साथै यसले आफ्ना प्रकाशनहरूमा लोकप्रिय ढङ्गले मार्क्सवादी विचारधारा प्रस्तुत गर्थ्यो । श्रम मुक्ति  समूहले नारोदनिकवादमाथि कडा प्रहार गर्यो । रसियाली सामाजिक–जनवादीहरूको कार्यक्रमका दुई मसौदाहरू (सन् १८८३ र १८८५ मा प्रकाशित), जुन प्लेखानोवले लेख्नुभएको थियो र श्रम मुक्ति  डफ्फाले प्रकाशित गरेको थियो, रूसमा सामाजिक–जनवादी पार्टीको स्थापनाको तयारीमा अति महत्वपूर्ण पाइला ठहरिए ।

   श्रम मुक्ति  डफ्फाले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनसित सम्पर्क स्थापित गर्यो र सन् १८८९ मा पेरिसमा सम्पन्न भएको दोस्रो इन्टरनेस्नलको पहिलो महाधिवेशनदेखि नै यसका सबै महाधिवेशाहरूमा रसियाली सामाजिक–जनवादको प्रतिनिधित्व गरेको थियो । तर श्रम मुक्ति  डफ्फाले निकै गम्भीर गल्तीहरू पनि गरेको थियो । यसले उदारवादी बुर्जुवा वर्गको भूमिकाको अति मूल्याङ्कन गर्यो, सर्वहारा क्रान्तिको अतिरिक्त शक्तिका रूपमा किसान समुदायको क्रान्तिकारिताको राम्ररी मूल्याङ्कन गर्न सकेन । यी गल्तीहरू भविष्यमा गएर प्लेखानोव तथा यस गुटका अन्य सदस्यहरूले गर्ने मेन्सेविकवादी गल्तीको बीउ थियो ।

२. रसियाली सामाजिक–जनवादीहरूको सङ्घको तेस्रो महाधिवेशन सेप्टेम्बर १९०१ को मध्यतिर जुरिचमा सम्पन्न भएको थियो । यस महाधिवेशन विदेशस्थित रसियाली सामाजिक–जनवादी सङ्गठनलाई एकताबद्ध गर्न तयार पारिएको मसौदा सम्झौतामा विभिन्न संशोधन र थपघट गर्यो  । यो सम्झौता जुन १९०१ मा जेनेभामा भएको सम्मेलनले अनुमोदन गरेको थियो । महाधिवेशनले राबोचेये जेलाको सम्पादक मण्डललाई दिइएका निर्देशनहरू स्वीकार गर्यो , जसले संशोधनहरूलाई प्रोत्साहित गर्यो  । महाधिवेशनमा पारित निर्णयहरूले ‘सङ्घ’ का नेताहरूमा अवसरवादी भावना व्याप्त भएको छ र उनीहरू जुन सम्मेलनका निर्णयहरू अनुसरण गर्न चाहँदैनन् भन्ने कुरा प्रमाणित गर्यो  ।

३. हेर्नुहोस्,  मार्क्सले बि. ब्राकेलाई ५ मे १८७५ मा लेख्नुभएको चिट्ठी । (का. मार्क्स र फ्रे.एङ्गेल्स, सङ्कलित रचनासङ्ग्रह, खण्ड १९, पृष्ठ १२) ।

४. गोथा कार्यक्रम– सन् १८७५ मा भएको गोथा महाधिवेशनमा ‘जर्मनीको समाजवादी मजदुर पार्टी’ द्वारा पारित कार्यक्रम, त्यसबेला दुई जर्मन समाजवादी पार्टीहरू आइजेनाखवादीहरू र लासालवादीहरू एकताबद्ध भएका थिए । आइजेनाखवादीहरूले लासलावादीहरूलाई मुख्यमुख्य बुँदामा छुट दिएकाले र तिनीहरूका सूत्रहरूलाई स्वीकार गरेकाले सारसङ्ग्रहवाद र यो अवसरवादको सिकार बन्यो । मार्क्स  र एङ्गेल्सले गोथा कार्यक्रमको मसौदाको कठोर आलोचना गर्नुभयो र यसलाई सन् १८६९ को आइजेनाख कार्यक्रमको तुलनामा निश्चित रूपमै अधोगति मान्नुभयो ।

 ५. प्रुधोंवाद— मार्क्सवादप्रति सत्रुतापूर्ण दृष्टिकोण राख्ने निम्नबुर्जुवा प्रवृत्ति, यसका सिद्धान्तकार फ्रान्सेली अराजकतावादी प्रुधोँको नामबाट यस विचारधाराको नाम रहनगएको हो । प्रुधोँले पुँजीवादी व्यवस्थाको कटु आलोचना गरे, तर अनिवार्य रूपमा, गरिबी, असमानता, श्रमिकहरूको शोषण गर्ने पुँजीवादी उत्पादन व्यवस्थाको उन्मूलनमा नभएर पुँजीवादको ‘सुधार’ मा, विभिन्न सुधारहरूद्वारा यस व्यवस्थाका त्रुटिहरू  एवं दुर्गुणहरू हटाउनमा नै उनी समाधान देख्थे । प्रुधोँले निम्न तहको निजी स्वामित्वलाई अमर तुल्याउने कल्पना गरेको थिए, उनले ‘जन’ तथा ‘सटही’ ब्याङ्कहरूको स्थापना गर्ने प्रस्ताव राखे र यिनको सहायताबाट मजदुरहरूले आफ्नै उत्पादन साधनहरू राख्न सक्नेछन्, स्वतन्त्र कालीगढ बन्न सक्नेछन् र आफूले उत्पादन गरेको वस्तुहरूको “न्यायपूर्ण तरिकाले” खपत गर्न सक्नेछन् भन्ने उनको विश्वास थियो । प्रुधोँले सर्वहारा वर्गको ऐतिहासिक भूमिका बुझेका थिएनन्, वर्गसङ्घर्ष, सर्वहारा क्रान्ति तथा सर्वहारा अधिनायकवादप्रति नकारात्मक दृष्टिकोण राख्थे, अराजकतावादी दृष्टिकोणले राज्यको आवश्यकता अस्वीकार गर्थे । मार्क्स र एङ्गेल्सले पहिलो इन्टरनेस्नलमाथि आफ्नो दृष्टिकोण लाद्ने प्रुधोँको प्रयासका विरुद्ध सङ्घर्ष गर्नुभयो । प्रथम इन्टरनेस्नलमा प्रुधोँवादको विरुद्ध मार्क्स, एङ्गेल्स र उहाँहरूका सहयोगीहरूको सङ्घर्ष मार्क्सवादको पूर्ण विजयमा पूरा हुनगयो ।

भिडियो फिचरview all