menu

ताजा समाचार

पश्चिमी घाटमा बज्रपात : अजिता, कप्पु देवराज र पृथ्वीका अभागीहरूको सम्झनामा

    वरवर राव
टिप्पणी : माओवादी विचारक, भारतीय क्रान्तिकारी सांस्कृतिक आन्दोलनका अगुवा कवि तथा निबन्धकार पेन्ड्यला वरवर रावको प्रस्तुत रचना, पहिले तेलगु भाषामा र पछि अङ्ग्रेजीमा प्रकाशित रचना हो । विरामी अवस्थामा पक्राउ गरी दिनअघि मुठभेडका नाममा हत्या गरिएका माओवादी नेताद्वय  कमरेड कप्पु देवराज तथा कमरेड अजिता यस लेखका नायक पात्रहरू हुन् । यसलाई लेख, निबन्ध, संस्मरण आदि नाम दिन सकिन्छ तापनि मूलतः यो शब्दचित्र हो ।  क्रान्तिकारी उदात्त भावचेतनाले भरिएको यस रचनामा  वरवरा राव कतै गहिरो समुन्द्रझैँ भएका छन्, कतै नीलो आकाशझैँ देखिएका छन् र कतै छङछङ बगेको पहाडी झरनाझैँ भएका छन् । प्रियजनहरू गुमाउनुको पीडा छ, तर त्योभन्दा बढी क्रान्तिकारी आशावादको उद्बोधन यस रचनामा छ ।)
---------------------------------------------------------------------
 

धर्मपुरीको विशाल समथर भूमिदेखि
सत्यमङ्गलम जङ्गल हुँदे कोंकणको मालाबर किनारसम्म
उनीहरूका कटु प्रश्नहरूबीच
स्थिर हावालाई गतिशील बनाउँदै
उनीहरूको परेड पश्चिम घाटमा आरम्भ भयो ।
दण्यकारण्यको उत्साहलाई आत्मसात गर्दै
सशस्त्र दस्ताका साथ मार्चपास गर्दै
नागबेली परेको कावेरीको जलप्रवाह
गाढा रातोमा फेरियो ।

(जय, ‘यो दक्षिण–पश्चिम मनसुनको समय हो’: तेलगु)

आरम्भमा
सहिद कमरेड साकेत राजनले (२००५) सहादत प्राप्त गर्नुअघि सशस्त्र दस्ताको मार्चपास आरम्भ भयो । त्यसपछि सशस्त्र सङ्घर्ष चलाइरहेका तीनओटा क्रान्तिकारी पार्टीहरू एक जुट भए र माओवादी पार्टीको निर्माण गरे । पार्टी थुप्रै क्षेत्रमा नक्सलवाडीहरू सिर्जना गर्ने प्रयास गरिरहेको थियो, जसले अन्ततः मुक्त क्षेत्रहरूको निर्माण गथ्र्यो ।
बादललाई चिर्दै बिजुली चम्किएसँगै आकाश गर्जिन्छ र पानी पर्न थाल्छ । फलाम, तामाजस्ता धातुजन्य वस्तुहरूले चट्याङलाई आकर्षित गर्छन् । चिलीमा सन् १९७३ मा बज्रपात परेको थियो । बज्रपातले एलेन्डे र पाब्लो नेरुदालाई खायो । स्टिलरूपी किसनजीलाई त्यही बज्रपातले जङ्गलमहलबाट गायब पार्यो  ।
 
 जनता इतिहासका निर्माता हुन् । उनीहरू आफ्नो यात्रा स्थगित गर्दैनन् । पश्चिमी घाटदेखि पुर्बी घाटसम्मको यात्रा, जोग खोला१देखि  जङ्गलमहलसम्मको यात्रा, निरन्तर अघि बढिरहेको छ । कबानी, भवानी, अविनाशको त्रिवेणी नदी—तिनीहरूबाट पानी र रगत बगिरहेको छ, उनीहरूको गति, सङ्घर्ष र परिवर्तन अरू केही नभएर पृथ्वीकै विभिन्न रूपहरू हुन् ।

पृथ्वी स्वयम् आफनो प्रतिरक्षामा उभिन्छ
माटोले कहिल्यै आफ्ना लागि केही मागेको छ ?
कोही पनि विरुद्धमा उभिन सक्थ्यो
रुखहरूले कहिल्यै आफ्ना लागि गीत गाएका छन् ?
तिमीहामी बाहेक,  
जङ्गलसित आत्मचिन्तन गर्ने अरू कुनै कुरा छ र ?


सन् २०१६ को आठ नोभेम्बरबा दिन बोल्सेविक क्रान्ति सय वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न म थ्रिसर पुगेँ । त्यो कार्यक्रममा सहभागी भएका भारतीय क्रान्तिका केही शुभचिन्तकहरूले प्राध्यापक नन्दिनी सुन्दर, प्राध्यापक अर्चनाप्रसाद, जोशी, रिसर्च सेन्टरका विनित तिवारी र भारतीय कम्युनिस्ट पार्टी छत्तिसगढ राज्य समिति सेक्रेटरीमाथि हत्याको आरोप लगाएको कुरा सुनाए ।

उनीहरूले मलाई छत्तिसगढ राज्यसरकारले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) लाई दुःख दिनु विडम्बनाको विषय भनेर सुनाए । तर केरला जहाँ भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) सत्तामा छ, उसले माओवादीमाथि दमन गर्न पुलिसलाई असीमित अधिकार दिएको छ । एक दशकदेखि केरलामा माओवादी विरुद्ध ‘अपरेसन थन्डरबोल्ट’ जारी छ । यसरी भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) शक्तिमा भएको बेला अर्कै किसिमको व्यवहार गर्छ । कार्यक्रम यसै बुँदामा केन्द्रित भएर अघि बढ्यो ।

अजिता र कुप्पु देवराज
जुन ठाउँमा ‘मुठभेड’ भयो भनिएको छ, माओवादी पार्टीको राजनीतिक तथा सङ्गठनात्मक दृष्टिले त्यो ठाउँ ‘पश्चिमी घाट विशेष छापामार इलाका’ अन्तर्गत पर्दछ । तमिलनाडुको निलगिरी क्षेत्र, केरलाको पलक्कड, मलमपुरम र वायन्दालाई पत्रपत्रिकाले त्रयसङ्गमको नाम दिएका छन्—यो ठाउँ सत्यमङ्गलम नामले बढी चिनिन्छ, जहाँ पहिले विरप्पनको राज थियो । त्यो क्षेत्रले कर्नाटक, केरला र तमिलानाडुको जङ्गललाई छुन्छ । यो तीन क्षेत्रको सङ्गमस्थल बन्दीपुर, मलाइ र नीलगिरी क्षेत्रका बासिन्दाहरूको बसोबास भएको स्थान हो । यो क्षेत्र प्राकृतिक दृष्टिले पनि अति मनोरम छ ।  टाटाको स्वामित्वमा रहेको यहाँका हजारौँ एकड जमिनमा चिया र कफीको खेती गरिएको छ ।
उटी उपत्यका, सत्यमङ्गलमको जङ्गल, वायन्दा क्षेत्रको चिया बगान पर्यटकका लागि रमणीय स्थानहरू हुन् । तर यसै ठाउँमा ढाड भाँच्चिने गरी श्रम गर्न बाध्य जनता चरम गरिबीमा बाँचिरहेका छन् ।

यस किसिमका मान्छेहरूबीच माओवादीहरू पुगे, जो वर्गसङ्घर्षमार्फत नयाँ समाज निर्माणका लागि कटिबद्ध थिए । मरिच तथा कफीको बिउ टिप्न जाँदा मान्छेहरू हात्तीको सिकार बनेका दर्दनाक कथाहरू सुने/सुनाइए : “छातीमा अग्निज्वाला बोकेर मान्छेहरू दाउरा काट्न जङ्गलमा जान्थे र आफ्ना सन्तान तथा इष्टमित्रहरूको मृत्युको आवाज सुन्न बाध्य थिए । यसरी उनीहरू सदाका लागि आफ्नो घरको प्रकाश गुमाउन बाध्य थिए ।”
जस्तो कसैले भनेको छ : 

“यहाँ लुटाउनका लागि केही बाँकी थिएन,
यहाँ नलुटिएको कोही थिएन”
मान्छेले सबै कुरा गुमाए–
उनीहरूका अन्नपात, जङ्गलका कन्दमूलहरू
उनीहरूको जीवनको मिठास, उनीहरूको श्रमको फल
कलकलाउँदा किशोरीहरू, पातले छाएका फुसका छाप्राहरू,
सबै कुरा ।
हो, उनीहरूले सबै कुरा गुमाए ।”

माओवादीहरू यिनै धरतीका अभागीहरूबीच काम गर्नपुगे ।
 
हुनसक्छ जङ्गलमा । सायद वरिपरि कतै । निश्चय पनि दुई जना निहत्था कमरेडहरू समातिएका थिए, जो निमर्म यातना दिइसकेपछि यस ठाउँमा ल्याइएका थिए । उनीहरू बिमारी थिए, तर जङ्गलमा ल्याएर मारिए ।  उसको छातीमा १९ ओटा गोली दागिएका थिए । उनको छाती ९ ओटा गोलीले छेडिएको थियो । मधुमेहको बिरामी ऊ ६० वर्षको थियो ।  उनी ४५ वर्षकी थिइन्, अविवाहित, दुवै तमिलनाडुको दलित परिवारमा जन्मेका थिए ।

अजिताका पिता रेल्वेमा इन्जिनियर थिए र रेलहरूको प्राविधिक सुरक्षाको रेखदेख उनको जिम्मामा थियो । उनी माओवादी विचारबाट प्रभावित थिए । उनले त्यो विचारलाई सन्तानमा हस्तान्तरण गरे । २५ वर्षअघि, कलेजकी विद्यार्थी भएका बेला अजिता क्रान्तिकारी राजनीतिप्रति आकर्षित भइन् । उनी महिला मुक्ति सङ्गठन की संस्थापकहरूमध्ये एकजना थिइन् ।

केटाकेटीदेखि नै उनी आँखाको समस्याले ग्रस्त थिइन् । गम्भीरताका साथ नलिए अन्धो हुन सक्ने सम्भावना पनि छ भनेर डाक्टरहरूले खबरदारी गरेका थिए । महिला सङ्गठनमा काम गर्दागर्दै उनले कानुनमा स्नातक गरिन् ।  वकिलका रूपमा उनी प्रजातान्त्रिक अधिकारका लागि लडिन् ।  क्रान्तिको सेवा गर्न उनले भूमिगत जीवन रोजिन् । उनले सहादत प्राप्त गरेको बेला उनी ‘पश्चिमी विशेष जोनल कमिटी’ सदस्य थिइन् । उनको नामको सत्य झैँ उनी अदृश्य थिइन् । न त युवा उमेरदेखिको उनका कमजोर आँखा, न त प्रौढ हुँदैगरेको उमेर र कमजोर स्वास्थ्यले नै उनलाई क्रान्तिकारी दृढ उत्साहबाट पछि धकेल्न सक्यो ।

म कप्पुराजलाई मुर्थीका रूपमा चिन्दछु । १९८३ सम्म  म र उहाँले ‘अल एन्डिया लिग फर रिभोलुस्नरी कल्चर (एआइएलआरसी) को कार्यकारी सदस्यका रूपमा सँगै काम गर्यौँ । १९८० का दशकको पछिल्ला वर्षहरूमा उहाँले भूमिगत जीवन रोज्नुभयो । क्रान्तिकारी आन्दोलन र क्रान्तिकारी जनताबीच उहाँ रमेश, योगेश नामले लोकप्रिय हुनुहुन्थ्यो । उहाँ तमिलनाडुको कृष्णगिरी जिल्लामा जन्मिनुभएको थियो । धर्मपुरी, कृष्णागिरी, उत्तरी आर्कोट, इलिगिरीका पहाडहरू नक्सलवाडी आन्दोलनका दिनहरूदेखि नै मजबुत क्रान्तिकारी केन्द्रहरू थिए । निलगिरीका पहाडहरूमा क्रान्तिको ज्वाला कहिल्यै निभेन ।

सन् २००७ देखि उहाँले नेतृत्वको समस्या भएका तीनओटा राज्यमा क्रान्तिकारी आन्दोलनलाई पुनर्जीवित गर्नुभयो । पेशाले इन्जिनियर कमरेड देवराज एकजना कुशल कलाकार पनि हुनुहुन्थ्यो । उहाँ बहुभाषाको ज्ञाता हुनुहुन्थ्यो । धाराप्रवाह रूपमा तामिल, तेलगु र अङ्ग्रेजी बोल्न सक्नुहुन्थ्यो ।

उहाँ तमिलनाडुमा जन्मिनुभएको थियो, तर उहाँले आफ्नो समग्र क्रान्तिकारी जीवन कर्नाटकमा बिताउनुभयो ।  उदय (चरुकुरी राजकुमार उर्फ आजाद) को नेतृत्वमा उहाँ पहिलोपल्ट ‘भारतीय कम्युनिस्ट पार्टी (एमएल) ( पिपुल्स वार) को राज्य समितिमा सहभागी हुनुभयो र कमरेड उदय केन्द्रीय समितिमा गएपछि उहाँ राज्य एकाइको सेक्रेटरी हुनुभयो । ‘भारतीय कम्युनिस्ट पार्टी (एमएल) ( पिपुल्स वार) को १९९५ मा भएको अखिल भारतीय विशेष सम्मेलन, भारतीय कम्युनिस्ट पार्टी (एमएल) ( पिपुल्स वार) को नऔँ महाधिवेशनमा  र भारतीय कम्युनिस्ट  पार्टी (माओवादी) को नऔँ एकता महाधिवेशन, सबैमा उहाँ केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सन् १९८५–८७ पिपुल्स वार पार्टीले सङ्कट व्यहोर्नु परेको समयदेखि आफ्नो अन्तिम सास छउन्जेलसम्म उहाँ सदैब क्रान्तिकारी नेतृत्व र धारको पक्षमा चट्टान बनेर उभिनुभयो । एकै शब्दमा भन्नु पर्दा उहाँ  त्रयसङ्गम स्थलको ‘त्रयजंक्सन’ हुनुहुन्थ्यो ।  पश्चिमी घाटको माओवादी आन्दोलनको उहाँ एउटा उज्यालो मागदर्शक अगुवा हुनुहुन्थ्यो ।

जहाँ जङ्गल र झाडीहरू छन्,
त्यहाँ उसको उपस्थिति अपरिहार्य छ,
गोलीले छियाछिया भएको
उसको घाइते शरीर क्षतविक्षत ग्रामीण क्षेत्रको प्रतीक बनेको छ  
गाउँहरू यातनागृहमा परिणत भएर छटपटाइरहेका छन् ।
उसको हृदयमा लागेको  गहिरो घाउबाट रगत बगिरहेको छ
उसको समग्र जीवनले बेसहारा आदिवासीहरूलाई पछयाइरह्यो
अब आँखाहरूले जीवन गुमाएका छन् ।

ऊ सधैँ उच्च विश्वासका साथ देखापर्छ,
उसको हृदयले  मु्क्तिको नगरा बजाइरहेको छ ।

ऊ सधैँ सुँन्दर सपनाहरू देख्ने गथ्र्यो
भन्थ्यो,
श्रमजीवीहरूका हातमा नै उत्पादनका साधनहरू हुनुपर्छ
जसको जोत उसको पोत हुनुपर्छ,
यही सपना पछिल्ला सन्तानले  बोध गर्न सकून्

उसले जताततै  अन्तर्राष्ट्रियतावादको बीउ छर्यो,
जनतालाई सहिदको बाटो पछ्याउन प्रोत्साहित गर्यो ,
त्यति सजिलो छैन, आफैँले सहादतको बाटो रोज्नु
ऊबाट ताजा पाठ सबैले सिकून् ।

(भाष्करन, ‘यो दक्षिण–पश्चिम  मन्सुनको समय हो’ : तेलगु )

यसैकारण विजयकुमार तमिलनाडुको 'क्यु' शाखाबाट कहिले मोका आउँछ भनेर बाजका आँखा लिएर   उहाँलाई, उनलाई, कबानी र कावेरीलाई पर्खिरहेको थियो, जसरी उसले जङ्गलमहल र झारखण्ड सिमानामा किसनजीलाई पर्खिरहेको थियो । त्यतिबेला ऊ सिआरपिएफको निर्देशक थियो । अहिले ऊ 'पिएम' कार्यालयमा माओवादी प्रतिरोधसम्बन्धी उच्च सल्लाहकार बनेको छ ।

उसको काम भनेको कसरी माओवादीहरूलाई सिध्याउन सकिन्छ भन्ने नै हो । त्यसैले उसले भन्यो: “यो हाम्रा लागि ठूलो सफलता हो र माओवादीहरूका लागि ठूलो नोक्सानी ।” वक्तव्यमा उसले निकै ठूलो प्राप्ति गरेको देखाउन खोजे पनि, उसमा भने अझै आत्मविश्वास थिएन । त्यसैले ‘क्यु’ शाखाले देवराजको मृत शरीर कृष्णगिरीमा ल्याउँदा कुनै पनि किसिमले सहयोग नगर्न, कोही पनि घरबाट बाहिर ननिस्कन आदेश जारी गर्यो ।

कमरेड देवराजकी आमा अम्मिनी र  उहाँको भाइ श्रीधरन देवराजको पार्थिव शरीर लिन मलमपुरम जानुभएको थियो । तमिलनाडु प्रहरीले अजिथाको शब लिन जानुभएको उहाँको काकालाई धम्क्याएर तमिलनाडु फिर्ता पठाइदियो ।

कोजिकोड सरकारी मेडिकल कलेजमा लडाइएको  देवराज र अजिथाको मृत शरीरहरूले सिङ्गै केरला राज्यलाई तरङ्गित पार्यो । जनता कोजिकोड सरकारी मेडिकल कलेज र जिल्ला प्रहरी मुख्यालयका सामु धर्ना बसेर नारा लगाइरहे । जनता त्यो नक्कली मुठभेड हो भन्ने कुरामा प्रस्ट थिए  र पुनः पोस्टमार्टम गरिनुपर्छ र अपराधीहरू दण्डित हुनुपर्छ भन्ने माग गरे । कमरेड देवराजकी आमा अम्मिनीले प्रहरी कार्यालय सामु धर्नाको नेतृत्व गर्नुभयो । उहाँ एक झलक भने पनि आफ्नो प्यारो मृत छोराको अनुहार हेर्न चाहनुहुन्थ्यो । सक्छ कोही उहाँको हृदयको गहिराइको पीडा चियाएर हेर्न ? आधुनिक विश्व बजारको पागलपनमा के कोही एकछिन उभिएर आफ्नो छोराको पाशविक हत्याले छटपटिएकी आमाको पीडालाई बुझन् सक्छ ?

केरला
केरलामा एउटा जनसङ्गठनका ७८ वर्षीय नेता एम. एन. राभुन्नी लगायत पोरत्तम, जानकीय, मनुष्यवकसासा, राजबन्दी रिहाइको लागि गडित कमिटी, वकिल, प्रतातान्त्रिक मूल्यमा विश्वास राख्ने सामाजिक कायकर्ताहरू र आम जनता नक्कली मुठभेडको भ्रत्र्सना गर्दै न्यायिक जाँचका लागि प्रदर्शन गरे  । त्यो जनप्रदर्शन मलमपुरदेखि सहरहरूमा विस्तारित भयो । चार दिनको आनाकानीपछि  मुख्यमन्त्री विजयनले सरकारी स्तरबाट छानबिनको निर्देशन दिए । डिजिपीले अपराध शाखालाई छानबिनको निर्देशन दियो । यसले वरिष्ठ मार्क्सवादी नेता तथा पूर्व मुख्यमन्त्री अचुतानन्दनलगायत कसैको पनि चित्त बुझेन । भारतीय कम्युनिस्ट पार्टीका नेताले पनि आफ्नो पार्टीलाई माओवादीहरूलाई यसरी भौतिक रूपमै सिध्याउने तरिका कहिल्यै पनि स्वीकार्य हुन सक्तैन भनेर प्रस्टताका साथ भने ।

यो भर्गिज मुठभेडपछि यो सबैभन्दा ठूलो मुठभेड थियो ।  २००७  मा  जब सान्दे राजमाउली पश्चिमी घाट आन्दोलनका अंश थिए, स्टेफन रबिन्द्रको नेतृत्वमा रहेको एपिएसआइबी र एपी ग्रे हाउन्डले उनलाई कोल्लममा पक्राउ गरेर आन्ध्र प्रदेशको हिन्दपुरमा ल्याएर हत्या गरेको थियो ।


यसअघिको काङ्ग्रेस सरकारले पश्चिमी घाट क्रान्तिकारी आन्दोलनसित सम्बद्ध थुप्रै नेताहरू— मुरलीधरन, वीरमणि, कन्नान, रूपेश, स्याना र अनुपलाई गिरफ्तार गरेको थियो । उहाँहरूलाई पुणे, कोइमबटुर लगायतका विभिन्न जेलहरूमा राखिएको छ ।

तेलङ्गानामा सु्रती र सागरको पाशविक हत्याले तेलङ्गानामा जनउभार उठेझैँ कमरेड देवराज र अजिताको सहादतले त्यसै किसिमको जनउभार उठ्ने कुरालाई सुनिश्चित गर्नेछ भन्ने आशा गरौँ ।

‘क्यु’ शाखा, एसआइबी र एलआइएका बारेमा खै के कुरा गर्नु ।  न त ‘ग्रिन हन्ट अपरेसन’ , ‘थन्डरबोल्ट’  र ‘मिसन–२०१६’  का बारेमा नै कुरा गर्नुको अर्थ छ । रिपोर्ट,  पोस्टमार्टमहरू, न्यायिक छानबिन, अपराधीहरूमाथि कारबाही र आफन्तहरूलाई शब बुझाउनमा मात्र सीमित नभएर, यी सबै गर्नु जरुरी छ । यो भन्दा महत्वपूर्ण कुरा, मानवजगतको  जीवनमृत्युसित सम्बद्ध मूल्यबोधको कुरा हो । प्रजातान्त्रिक न्याय, सामाजिक व्यवहारमा सभ्य जीवनको माग गर्नु स्वाभाविक छ । यी कुराहरू पूरा गर्न जनताले प्रदर्शन गर्छन् नै ।
 
जनता यी आवश्यकतामा मात्र सीमित नभएर उच्च आदर्शका लागि पनि सङ्घर्षरत छन् । उनीहरू क्रान्तिकारी परिवर्तनको चाहना राख्छन् । हो, यो कुरा ५० वसन्तअघि नै आरम्भ भएको थियो । हरेक चट्याङसँगै त्यहाँ प्रकाशको किरण पनि उत्पन्न हुन्छ भन्ने कुरा पनि दृढ क्रान्तिकारी आशावादका साथ म भन्न चाहन्छु । हरेक वसन्ते बादलभित्र प्रकाशको किरण अवस्थित हुन्छ । अध्यारो रातसँगै मिरमिरे पनि गाँसिएको हुन्छ ।

दुई विश्वदृष्टिकोणबीच सङ्घर्ष
आजको मुद्दा दुई विश्वदृष्टिकोणबीचको मुद्दा हो । यो दुई सत्ताबीचको द्वन्द्व हो । यो जीवनमरणबीचको लडाइँ हो । साम्राज्यवाद पतनशील छ । यो बजारको अर्को रूप हो । देनिक जीवनमा यो आक्रमण, लडाइँ र विनाशको आफनो सही स्वरूपमा देखापर्ने गर्छ ।  श्रमजीवी जनताले योसित वर्गसङ्घर्षको हतियारका माध्यमबाट लडेका छन् । उनीहरू मजदुर र किसान हुन् र समाजमा भन्ने गरिएका दलित, आदिवासी मुसलमान र महिला हुन् । उनीहरू दमन र उत्पीडनको सामना गर्दै आइरहेका जनता हुन् । जब जनता दमनको प्रतिरोध गर्न थाल्छन्, विस्तारै सङ्घर्ष छापामार युद्धमा विस्तार हुन्छ र यो जनयुद्धका रूपमा विकसित हुन्छ ।

यो जनयुद्धको आधार राजनीतिक अर्थशास्त्र हो । उनीहरूको राजनीतिक अर्थशास्त्रको विकासको मोडेल विश्व ब्याङ्कको मोडेलमा आधारित छ–उदाहरणका रूपमा साम्राज्यवादी भूमण्डलीकरण । क्रान्तिकारी नेतृत्वअन्तर्गतको राजनीतिमा जनता तलैदेखि नयाँ जनवादी पद्धति र प्रयोगको अभ्यास गरिरहेका छन् । विस वर्षदेखि तेलङ्गनामा, दण्डकारण्यमा, झारखण्डको सारन्दामा पश्चिमी घाटको त्रयसङ्गममा जनता यसको अभ्यास गर्दैआएका छन् ।

केही समयका लागि  तेलङ्गनामा जनताको शक्तिलाई पराजित गरिएको हुनसक्छ, तर यो विस्तारै अघि बढिरहेको छ । आन्ध्र-ओडिसा सीमामा नारायणपाटनको समयदेखि हिजोको मलकानगिरि घटनासम्म क्रान्तिकारी शक्तिले  आरोवअवरोहको अनुभव गरिरहेको छ । कमरेड साकेत, देवराज र अजिताहरूले आँधीतुफान र ज्वारभाटाका बीचबाट पश्चिमी घाटमा क्रान्तिकारी आन्दोलनको विकासका लागि सक्तो प्रयास गरे  । केही धक्का खाए पनि यो सम्झौताहीन गौरवपूर्ण  सङ्घर्ष थियो । यो वर्गसङ्घर्षमा आधारित विश्वदृष्टिकोण भएका क्रान्तिकारीहरूको सङ्घर्ष थियो, जो मानवताका लागि लडेका थिए ।
 
यो सङ्घर्ष पेरिस कम्युनको निरन्तरता हो । बोल्सेविक क्रान्ति, चिनियाँ जनक्रान्ति र यसपछिका क्रान्तिकारी आन्दोलनहरू सबै आरोअवरोहबाट गुज्रिएका छन् ।  यो दीर्घकालीन यात्रामा हामीले चे ग्वेभाराहरू र क्यास्ट्रोहरू पनि देख्यौँ । साम्राज्यवादका विरुद्ध उभिनेहरूको दृढता र बलिदानले अवश्य पनि हामीलाई प्रोत्साहित गर्छ । लिट्टेको सङ्घर्ष अब छैन । तर हामी सहिद प्रभाकरण र छोरा बालचन्द्रनलाई  निरासाभावमा सम्झिने गर्दैनौँ । कमरेड देवराजले इलम सङ्घर्ष र सहिद प्रभाकरणका बारेमा यसबाट केही पाठ सिक्नु आवश्यक छ भनेर एउटा विश्लेषणात्मक र गहन लेख लेख्नुभएको थियो भन्ने कुरा पनि म यहाँ उल्लेख गर्न चाहन्छु ।

क्रान्तिको बाटोमा हार र जीत एकअर्कासित अन्योन्यास्रित सम्बन्धमा हुन्छन् । प्रतिबद्धता र बलिदानको दोहोरो मूल्य छ, जसले दुवैलाई द्वन्द्वात्मक किसिमले गाँस्छ । वर्गसङ्घर्षको विश्वदृष्टिकोण  र यसको वैचारिक  अडिगपनले  हारको समयमा निरासामाथि विजय प्राप्त गर्छ र विजयको समयमा आत्मसन्तुष्टी प्रदान गर्छ, आखिरमा यसले विजयको दिशातिर अग्रसर गराउँछ ।
 
यो दीर्घकालीन युद्धमा, प्रस्ट छ, देवराज र अजिता, जसले पहाड चढ्ने साहस गरे, उनीहरूले मात्रै यस्तो भोगेका होइनन् ।  न त उनीहरू यसमा आखिरी मान्छे नै हुनेछन् ।

मुक्ति सङ्घर्षको भूमिमा उहाँहरू चीर निन्द्रामा हुनुहुन्छ । उहाँहरू  माटोमा मिल्नुभयो   । आफ्नो जीवनको उत्साहपूर्ण अवधिमा जसको मुक्तिको सपना उहाँहरूले  देख्नुभएको  थियो, आफ्ना अधुरा सपना छाडेर गए पनि उहाँहरूले हामीलाई थप दृढ बनाउनु भएको छ ।

“बसन्तको याममा,
प्रकाशले रक्तिम स्वरूप ग्रहणको बेला
बादलको पछाडिबाट सुनिन्छ गर्जन
त्यसैले,
थाती रहेका सबै मानवीय पीडाबाट मुक्त गराउन  
बलिदान शक्तिशाली आँधीतुफान भएर उठ्न सक्छ ।”

 (अप्पु–‘यो दक्षिण–पश्चिम मन्सुनको समय हो’ : तेलगु )

टिप्पणी : जोग खोला तेलङ्गनाको अदिलावाद जिल्लामा पर्छ ।)





भिडियो फिचरview all