menu

ताजा समाचार

अब मानक नेपाली वर्णविन्यासको मात्र प्रयोग हुने

केही कथित प्राज्ञ तथा प्राध्यापकहरूले कतैबाट निर्देशित भएर गरेझैं ,नेपाली भाषाको वर्णविन्यासलाई विकृत पारिएको सन्दर्भ विरुद्धको आन्दोलनको फलस्वरूप अब पुन: संस्थागतरूपमै मानक नेपाली वर्णविन्यासको मात्र प्रयोग गर्न/गराउन 'मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल' का अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले एउटा पत्र प्रकाशित गरी जानकारी गराएका छन् ।

आरम्भदेखि नै यस आन्दोलनप्रति समर्थन जनाउँदै आएको जनमेल टोली यसको हार्दिक स्वागत गर्दै  पत्रको पूर्ण पाठ प्रस्तुत गर्दछ  :

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल अमानक नेपाली वर्णविन्यासको खारेजी र मानक वर्णविन्यासको पुनस्र्थापनाका लागि विगत लामै समयदेखि निरन्तर रूपमा क्रियाशील रहेको र यसले विभिन्न गतिविधि सञ्चालन गरी प्रशस्तै उपलब्धि हासिल गरेको कुरा सर्वविदितै छ । यसै सञ्जालको दबावबाट नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गरिसकेको कुरा अवगतै छ । यसै सन्दर्भमा त्रिवि नेपाली केन्द्रीय विभाग, त्रिवि नेपाली विषय समिति र त्रिवि शिक्षाशास्त्र सङ्काय नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिबाट यस सञ्जालको अवधारणाअनुरूप नै अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) मा प्रयुक्त अमानक वर्णविन्यास र तत्सम्बन्धी नियमहरू खारेज गर्ने तथा अमानक र विवादित वर्णविन्यासको प्रयोग नगरी सर्वत्र मानक वर्णविन्यासको प्रयोग गर्ने निर्णय गरी कार्यान्वयनका लागि विभिन्न निकायमा परिपत्र गरिसकेको बेहोराको पत्र यस सञ्जाललाई प्राप्त भएको छ ।

त्रिवि नेपाली केन्द्रीय विभाग, त्रिवि नेपाली विषय समिति र त्रिवि शिक्षाशास्त्र सङ्काय नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिले मानक नेपाली वर्णविन्यासको प्रयोगका सम्बन्धमा यस सञ्जालको अवधारणाअनुरूप एउटै निर्णय गरेकामा सम्बद्ध सबै निकायलाई हार्दिक धन्यवादज्ञापन गर्दछु । त्रिविका उक्त निकायबाट पठाइएको मानक नेपाली वर्णविन्यासको प्रयोगसम्बन्धी निर्णयको पत्र कारणवश कतै नपुगेको भए यसैलाई आधिकारिक पत्र मानी सर्वत्र यसैअनुरूपको मानक वर्णविन्यास प्रयोग गर्नु/गराउनु हुन अनुरोध छ ।

प्रा .डा. खगेन्द्रप्रसाद लुइटेल
अध्यक्ष
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल
भिडियो फिचरview all