
माओवादीलाई सघाएको भन्दै सिआरपिपीका महासचिवसहित ७ जनालाई जेल चलान

यसैक्रममा हालै छत्तिसगढको बस्तरमा भएका फर्जी मुठभेडका घटनाहरूका सम्बन्धमा फिल्डमै गएर सत्यतथ्य बुझ्न हैदरावादबाट हिँडेको पत्रकार तथा मानवअधिकारवादीहरूको टोलीलाई पक्राउ गरी नक्सलीलाई सहयोग गरेको र जनता भड्काएको आरोप लगाएर, जमानतसमेत अस्वीकार गरी जेलमा पठाइएको छ । यसमा सबैजसो सदस्य ‘तेलङना डेमोक्रेटिक फ्रन्ट’ का रहेका छन् । उनीहरूलाई नक्सली साहित्य, आपत्तिजनक दस्ताबेज तथा १ लाख रुपियाँसहित पक्राउ गरिएको भनिएको छ । यसरी पक्राउ पर्नेमा तेलङ्ना-आन्ध्र हाइकोर्टका वकिल वाला रविन्द्रनाथ, चिक्कुड प्रभाकर, पत्रकार राजेन्द्रप्रसाद, सामाजिक कार्यकर्ता बि. दुर्गाप्रसाद, आन्ध्र प्रदेश स्थित संस्था ‘कुला निर्मूलन पुराता समिति’ का अध्यक्ष डि. प्रभाकर तथा आदिवासी मानवाधिकारवादी आर. लक्ष्मैया र विद्याथी मो. नजिर रहेका छन् । वाला रविन्द्रनाथ स्वयम् 'कमिटि फर रिलिज अफ पोलिटिकल प्रिज्नर्स'-(क्र्प्प) का महासचिव हुन् ।
फिल्ड अध्ययनमा आउनेहरूले जनताका कुरा सुन्ने र जनताले प्रहरीदमन र प्रहरीद्वारा परिचालित स्थानीय गुन्डाको विरोध गर्ने हुनाले प्रहरीहरूले, मानवअधिकारवादीहरू तथा पत्रकारहरूले जनतालाई उल्टै भडकाउने गरेको र प्रहरीको छवि बिगारेको भनेर बाहिरबाट सत्यतथ्य अध्ययनका लागि आउने पत्रकार तथा मानवअधिकारवादीहरूलाई भरिसक्के आफूअनुकूल रिपोर्ट तयार पार्न लगाउने, त्यसो हुन नसके फिर्ता पठाउने र नमाने नक्सलीलाई सहयोग गरेको भनेर पक्राउ गर्ने र मुदा चलाउने गरेका छन् । केही दिनअघि मात्र बस्तर पुगेका दिल्ली विश्वविद्ध्यालयकी नन्दिनी सुन्दर र जवाहरलाल विश्वविद्ध्यालयकी अर्चनाप्रसाद लाई पनि नक्सलीलाई सहयोग गरेको भनेर पक्राउ गरिएको थियो ।

समाचारपत्रहरूले जनाएअनुसार आइतबार बिहान हैदराबाट हिँडेका उनीहरूलाई तेलङ्गाना पुलिसले पक्राउ गरेर कोंटा प्रहरीलाई बुझाएको र कोंटा प्रहरीले छत्तिसगढ प्रहरीलाई बुझाएको थियो । मानवअधिकारवादीहरू घटनाक्षेत्रमै नपुगी बाटैमा पक्राउ गरेर “नक्सलीहरूको प्रचारपसार गरेको, उनीहरूलाई सहयोग गरेको पुलिस-प्रशासनको विरोध गरेको” भन्ने अभियोग लगाएर जेल पठाइएको छ ।
यसैबीच सिङ्गो घटनाको सत्यतथ्य लुकाएर योजनाबद्ध ढङ्गले पक्राउ गरिएको भनेर ‘पिपुल्स युनियन फर सिभिल लिबर्टी’ ले यस घटनालाई गैरकानुनी, बद्नियतपूर्ण र निन्दनीय भनेर निन्दा गरेको छ र जेल पठाइएका मानवअधिकारवादीहरूको अविलम्ब रिहाइको माग गरेको छ ।
भिडियो फिचरview all