menu

ताजा समाचार

कामरेड बुद्धिजीवीहरूसित अन्तरङ्ग कुराकानी

डा. ऋषिराज बराल   
त्यतिबेर हामी युद्धका समाचार खोजीखोजी छाप्थ्यौं  ।  कम्ब्याट ड्रेस लगाएका छापामार कमरेडहरूका फोटाहरू निकै आकर्षणका विषय बन्थे  हाम्रा लागि । हामी उदात्त भावावेगमा रमाउँथ्यौं पनि  । पेरूका समाचार र फोटाहरू– एन्डिज पर्वतका कथाहरूलाई हामी  हाम्रा प्रकाशनमा निकै ठाउँ दिन्थ्यौं  । अर्को आकर्षण दण्डकारण्य थियो । नक्सलवाडी आन्दोलन र दण्डकारण्यका रचनाहरू साप्ताहिक र साहित्यिक प्रकाशनमा राख्थ्यौं  ।

ती अर्कैअर्कै दिनहरू थिए ।

 महाश्वेताका उपन्यासहरू— हजार चौरासीकी आमा, अग्निगर्भ, अक्लान्त कौरव हाम्रा प्रिय पुस्तकहरू थिए । सरोज दत्त, चेरावण्ड राजु र श्री श्रीका कविताहरू हाम्रा प्रिय कविता थिए । पास, नवारूण भट्टाचार्य र बरबर रावलाई अहिले पनि त्यत्तिकै विश्वासले पढ्छौं हामी । बनिजाको हामीले धेरै प्रचार गर्यौं ।

मार्क्सवाद-लेनिनवाद-माओवादको आलोकमा सक्छौं भन्ने–विश्वास थियो हामीमा । मार्क्सवाद नै नपढी, मार्क्सवाद नै नबुझी साम्राज्यवादविरुद्ध लडेका नेपाली हामी ।  विश्वास थियो, अठोट थियो, दृढ सङकल्प थियो हामीमा । क्रान्तिकारी आशावादले भरिएका थियौं हामी । अवसरवादसितको सम्बन्धलाई निर्णायक रूपमै सम्बन्ध विच्छेद गरी हामीले घोषणा गर्यौं—महान् जनयुद्धको दिशामा अघि बढौं  ।

    २०५२ साल फागुन १ गते हाम्रो बसन्ते गर्जन थियो ।

 विश्वभरिका साम्राज्यवादीहरू तिनका कथित थिङ्क ट्याङकहरू ‘विचारको अन्त्य’,  ‘मार्क्सवादको अन्त्य’ को कुरा गरेर उज्यालोको विरुद्ध मोर्चाबद्ध थिए । औंसीको मध्यरातमा चम्केको बिजुलीझैं सुरु भयो महान् नेपाली जनयुद्ध । हामीले विश्वलाई चकित पार्दै दसबर्से जनयुद्ध लड्यौं । अरूका वीरता, त्याग र बलिदानका कथा र गाथा छाप्ने र पढ्ने हामीले विश्वलाई नयाँ  कथा, नयाँ गाथा दियौं – त्याग, बलिदान र आत्मोत्सर्गको गौरवमय इतिहास दियौं  । फर्केर हेदा आत्मगौरव हुन्छ आहा ! कति गरिमामय थियो हाम्रो इतिहास ।

दीर्घकालीन जनयुद्ध अब दसबर्से इतिहास बनेर थल्लिएको छ । नायकहरू खलनायकमा फेरिएका छन् । कोही जनयुद्ध भन्ने कुरा बिर्सिसकेँ भन्छन्, कोही आत्मग्लानी भएझैँ गर्छन् । जसरीतसरी ठेलेर भए पनि चलाउन खोज्यो, चले पो गाडी । ड्राइभर फेरेर/फेरिएर के गर्नु, थोत्रो ट्र्याक्टरझैँ सबै पार्टपुर्जा काम नलाग्ने भएका छन्, कसरी पो चलोस्, जति ड्राइभर फेरे पनि उस्तै !

हामी लेखक, पत्रकार र युद्धको इतिहाससित जोडिएका योद्धाहरूका सामु अहिले थुप्रै प्रश्नहरू छन्—हामीबीच छलफल हुन्छन्, बहस चल्छन् । र  हामी गम्भीर हुँदै पन्ना पल्टाउँछौं —पेरिस कम्युन, अक्टोबर क्रान्ति, चिनियाँ  नयाँ जनवादी क्रान्ति, नक्सलवाडी आन्दोलन, पेरू, फिलिपिन्स,  नेपाल । र आजभोलि हाम्रा आँखा  केन्द्रित छन्—लालगढ, दन्तेवाडातर्फ—अर्थात् भारतीय लालभूमितर्फ ।

'अपरेशन ग्रिन हन्ट’ बन्द गर् ! का नाराहरू हेर्दा र पढ्दा खुसी लाग्नु स्वाभाविक छ  । भारतीय प्रतिक्रियावादका विरुद्ध विश्वव्यापी प्रतिरोध उठेको छ यतिखेर । युरोपसमेत तातेको छ । ‘अपरेसन ग्रिन हन्ट’ विरुद्ध लन्डन, न्यु योर्क जताततै आवाज उठ्दा छेउकै हामी किन लाटा भएका ? यो प्रश्नले कोतरिरहेको छ । नेपालको भूमिमा रगत बग्दा, हाम्रा श्रद्धेय अग्रजहरू काला कोठरीमा निर्वासित हुँदा सडकमा जिन्दावाद ! मुर्दावाद भन्दै निस्केका थिए  उनीहरू । फासिवादी मोदी सरकारले लासको थुप्रो लगाउँदा पनि दुख्दैन हामीलाई कतै पनि  ।

भारतीय प्रतिक्रियावादले अमेरिकी साम्राज्यवादको सहयोग र समर्थनमा निर्मम दमन र आतङ्क मच्चाइरहेको छ । अरूलाई प्रजातन्त्र र अहिंसाको दुहाइ दिने भारतीय विस्तारवाद बङ्गाल, छत्तीसगढ, बिहार, उडिसा, आन्ध्र र केरलामा मध्ययुगीन बर्बरता प्रदर्शन गरिरहेको छ । काश्मिर र मणिपुरका जनताको राष्ट्रिय मुक्ति आन्दोलनमाथि दमन गरिरहेको छ । अनि यता हाम्रो भूमि मिचेको मिचै छ  ।  राजनीतिमा नवउपनिवेशवादको अभ्यासले नपुगेर ठाडै हस्तक्षेप गरिरहेको छ । नाकाबन्दीको पीडाले छाती अझै चर्किरहेको छ र सिंहदरवारमा विराजमान दिल्लीका कारिन्दाहरूको लम्पसार यात्रा जारी छ । यस्तो बेला भारतीय विस्तारवाद विरुद्धको सङ्घर्ष नेपाली राष्ट्रिय स्वाधीनता र जनगणतन्त्रसित जोडिएको सङ्घर्ष बन्नु स्वाभाविक छ । तर खै, कति साह्रो  निस्पृहता !

भारतमा यतिबेर फासिवादले  उत्पीडित जनताविरुद्ध मात्र नभएर बौद्धिक क्षेत्र विरूद्ध पनि युद्धको घोषणा गरेको छ । अहिले जनपक्षधर लेखक, पत्रकार, प्राध्यापक र मानवअधिकारवादीहरू सरकारी निगरानीमा छन् । कतिपय भूमिगत भएका छन्, कतिपय हिरासतमा छन् । र पनि, दमन र आतङ्कका बीच पनि पत्रकार, मानवअधिकारवादीहरू लेखक, कवि  र प्राध्यापकहरूले निरन्तर आवाज उठाइरहेका छन्— हत्या, दमन, लूटपाट र बलात्कार बन्द गर् ! आदिवासी क्षेत्रबाट सशस्त्र बल फिर्ता गर् ! अभिव्यक्ति स्वतन्त्रता बहाली गर् ! ‘अप्रेसन ग्रिन हन्ट’ बन्द गर’ । परन्तु  यस्तो लाग्छ, नेपालमा मार्क्सवादी बुद्धिजीवीहरू नै छैनन्, जे-जति छन्, सबै लाटा भएका छन् —सिठी नबजी हलचल गर्न नसक्ने ।
 
दमन, हत्या, लूट र बलात्कारको पर्याय बनेको ‘अपरेसन ग्रिन हन्ट’ का विरुद्धमा र भारतीय माओवादी कमरेडहरूका पक्षमा हामी मुक्तिकामी नेपाली जनता, हामी दस वर्ष युद्ध लडेका माओवादी कार्यकर्ता, हामी बौद्धिक जमात–लेखक–सङ्गीतकर्मी, प्राध्यापक, पत्रकार, शिक्षक, वकिल आदिबाट जे–जस्तो आवाज उठ्नुपर्ने थियो, प्रतिरोधमा हामी जसरी सडकमा निस्किनुपर्ने थियो,  पटक्कै त्यसो हुन सकेको छैन । के हामी साँच्चिकै लाटा भएका हौं त ? हामी कतै यथार्थ र क्रान्तिकारी मूल्यबाट विमुख भइरहेका त छैनौं  ? कतै हामी लालसाको मनोविज्ञानबाट विचारहीन भइरहेका त छैनौं ? प्रश्नहरू यत्रतत्र छन् ।

प्राध्यापक भन्नाले म आफ्नो विषयमा विशेष ज्ञान हासिल गरेको निपूण व्यक्तिको रूपमा बुझ्दछु र अरू केही नगरे पनि उसले आन्दोलनलाई वैचारिक र विषयगत योगदान पुर्याउन सक्छ भन्ने ठान्दछु ।  आजभोलिका कतिपय प्राध्यापक कमरेडहरूलाई भेट्ता मलाई बडो अप्ठेरो महसुस हुन्छ । टीठ लाग्छ । सिर्जनशीलता छैन, बौद्धिक उत्पादन कतै छैन । समाजशास्त्रको प्राध्यापकबाट हामीले पाउन सक्ने ठाउँ  धेरै छन् । विषयगत दृष्टिले इतिहास,  राजनीतिशास्त्र र अङ्ग्रेजीको प्राध्यापकबाट पाउने ठाउँ  पनि  धेरै छन् । 

पार्टीमा योगदान गरेको कुरा बडो गर्वका साथ फेहरिस्त दिन्छन् उनीहरू । अमुक नेता र मेरो गृह जिल्ला एउटै हो ।  मैले अमुक नेतालाई दुईपल्ट घरमा बोलाएर भात खुवाएँ, अमुक नेताको छोरा र छोरीलाई ट्युसन पढाएँ । अमुक नेताको छोरीलाई चिट चोर्न सघाएँ  । अमुक नेताको लेख अङग्रेजीमा अनुवाद गराइदिएँ । मैले अमुकलाई...। र अन्तमा उसको निष्कर्ष हुन्छ, यत्रो पार्टीमा लगानी गर्दा पनि– पार्टीमा माथिल्लो तहमा पुगिएन, विश्वविद्यालयको अमुक पद पाइएन, राजनीतिक नियुक्ति पाइएन, पार्टीमा व्माथिल्लो तह पाइएन, आदि आदि ।

सबैतिर स्थिति यस्तै छवर्ग हराएको छ । पार्टी सदस्यताहरू कोटापत्रमा परिणत भएका छन् ।  भागवण्डामा रमाउँछ प्रमाणपत्र । भन्छन्, कमिसनतन्त्र चल्छ जताततै । जब द्रव्यपिचासहरू र कारिन्दाहरूको वर्चस्व बढ्दैगएको सांस्कृतिक  ‘पेतोफी क्लब’  'रेखा थापाको सडक नाच ' र ‘भैसीँपूजक’ प्रवृत्तिको फ्युजनभित्र कृष्ण सेन 'इच्छुक' को टाउको डुबाएर मार्क्सवादी संस्कृति र बलिदानको सौन्दर्यशास्त्रको मर्म र कर्मको मूल्य खोज्न थाल्छ, बडो गजबको व्यंग्यबोध हुन्छ । भनिएको छ, सबै कुराको निर्णय राजनीतिले गर्छ । राजनीतिको कमान नै खुस्केपछि हुने कुरा यही हो । आर्थिक उत्प्रेरणाको स्रोत बनेका छन् आदर्शबिम्बहरू—चकचकी छ उपभोक्तावादको  । व्यापारिक ट्रेडमार्क र  लोगोमा फेरिएका छन् आदर्शहरू ।  कति रमाइलो—“आ है झिलीमिली झिलीमिली—देउसी रे” ! मुर्दालाई जति घोचे पनि कहाँ दुख्दो रहेछ र !

फ्रान्सको सन् ६० को दशकमा राज्यसत्तालाई आछुआछु पार्नेमा प्राध्यापक र विद्यार्थीहरू बढी थिए र भियतनामी युद्धको बेला अमेरिकाको सबैभन्दा बढी विरोध गर्नेहरू पनि प्राध्यापकहरू थिए भन्ने साहित्यको हाम्रो प्राध्यापकलाई थाहा हुनैपर्छ भन्ने केही छैन । भियतनाममाथि अमेरिकी आतङ्कको विरोध गरेर चोम्कसीले सन् १९६७ मा लेखेको लेख– ‘दि रिस्पोन्सविलिटी अफ इन्टेलेक्चुअल’ आजको समयमा पनि त्यत्तिकै सान्दर्भिक छैन र ? दन्तेवाडा र लालगढमा भएको प्रतिरोध आन्दोलन र ‘अपरेसन ग्रिन हन्ट’ को दमनकारी अभियानको विरोधमा चोम्सकी, डेभिड हार्वे, जन बेलोमी फोस्टर, जुडिथ बटलरहरू अग्र पङ्क्तिमा उभिएको बेला, प्राध्यापक अमीत भट्टाचार्य, साइबाबा सडकमा निस्केको बेला  खोइ कहाँ छौं  हामी ? प्राध्यापक कमरेडहरूले भन्लान्, यो हाम्रो पाठ्यक्रमभित्र पर्दैन । कमरेडहरू ! यो पाठ्यक्रमको प्रश्न होइन, चेतना र प्रतिबद्धताको कुरा हो । तपाईँमा विद्रोहात्मकता, प्रतिरोधचेतना, स्वाभिमान,  विवेकशीलता, अध्ययनशीलता र सिर्जशीलता  छैन भने के छ त तपाईँसित बुद्धिजीवी हुनुसित ? लालसाको मनोविज्ञान ? मात्र शुभलाभको तिर्सना ?

कुर्सीको लालसा र राजनीतिक नियुक्तिको मनोविज्ञानले बौद्धिक क्षेत्रलाई दास, निरीह र दयाको पात्र बनाउँछ—पङ्गु र कायर पनि । आफ्नो विवेक, चेतना र उत्पादनशीलताप्रति उसको विश्वास रहँदैन र ऊ सन्दर्भहीन बन्न थालेका टाउकाहरू खोज्न र हेर्नमै  रमाउन थाल्छ । कम्तीमा समय निकालेर ग्राम्सीलाई भने पनि पढौं  । तर फटाहाहरूले ग्राम्सीको पनि मनचिन्ते व्याख्या गरेर कित्ताकाट गर्ने प्रयास गरेका छन्  । विरोधीहरूसितको उभ्याइ र वैचारिक सङ्घर्षमा हाम्रा बुद्धिजीवी कमरेडहरूको उपस्थिति ज्यादै टीठ लाग्दो हुन्छ । लाग्छ, उनीहरूमा प्रतिरोधात्मक क्षमता हराइसकेको छ ।  अध्ययन, चिन्तन, क्षमतावृद्धि र विशेषज्ञतामा भन्दा बडा गुरुज्यू र नायब बडा गुरुज्यूहरूबाट टीका थाप्न र थपाउनमा जोड हुन थालेपछि  विकसित हुने चिज भनेको कारिन्दा संस्कृति नै हो ।  कारिन्दा संस्कृतिभित्र प्रतिरोधी  संस्कृति हुँदैन–अर्थात्  “ पट्टु ! गोपीकृष्ण कहो ?” हुन्छ ।  अनि उसमा मार्क्सवाद पुरानो भएको, अपूरो भएको ‘चेतना’ को निर्माण र विकास हुनथाल्छ । सत्ता सुनको बाला लिएको बुढो वाघझैँ भएको छ र हाम्रा बुद्धिजीवीहरू लोभी बाहुन भएर थुक निलिरहेका छन् । गजब छ लालसाको मोह । कति सही रहेछन् मार्क्स, पुँजीवाद र बौद्धिक उत्पादनका सन्दर्भमा ।

सबैभन्दा बढी विचारले सुसज्जित हुनुपर्ने, सबैभन्दा बढी आदर्श र विद्रोहभाव, स्वाभिमान र विवेकद्वारा चल्नुपर्नेहरू नै बढी  लालसा, कायरता र कारिन्दा संस्कृति र द्रव्यपिसाच प्रवृत्तिले भरिएपछि बाँकी  कुराको लेखाजोखा गर्न गाह्रो हुने रहेछ । बलिदानको इतिहाससित गांसिएकाहरूको त यो हाल छ भने ऐनमौकामा साइत खोज्नेहरूको बारेमा टिप्पणी  गर्नुको अर्थ छैन । क्लासमा पढाउने नोटबुकबाट बाहिर निस्कन नचाहने मनोविज्ञान बोकेका प्राध्यापक कामरेडहरूले– कोटा र भागवण्डामा प्रमाणपत्रको प्रयोग गर्नुबाहेक केही गरेनन् र के गर्दा मोटो रकम आउँछमा जनताका वकिल भनिएकाहरूले आफ्नो ‘श्रम र सीप’ को प्रयोग गरे भन्नुको पनि अब केही तुक छैन ।
संसारभरि अहिले बौद्धिक जागरण आएको छ ।

हिजो स्टालिन र माओको विरोध गर्नेहरू पनि यतिबेर भ्रममुक्त भएका छन् । साम्राज्यवाद आन्तरिक र बाह्य दबाबमा छ । साम्राज्यवादलाई बौद्धिक र वैचारिक उर्जा दिने थिङ्क ट्याङकहरूसित भ्रम छर्ने कुरा यतिबेर केही बाँकी छैन ।  फुकोयामा र हटिङ्टनहरू डेट एक्सपायर्ड औषधी साबित भइसकेका छन् । युरोप र अमेरिकामै नयाँ जागरण देखापरेको छ । फासिवादका विरुद्ध भारतीय जनताको आन्दोलन यतिबेर विश्वका उत्पीडित जनताका लागि प्रेरणा र ऊर्जाको विषय बनेको छ ।  विश्व एकपल्ट फेरि माओवादको महत्त्व र सान्दर्भिकताका लागि जागृत भएको छ  । यता हाम्रा कमरेडहरू पेरिस कम्युनदेखि माओसम्मको इतिहास खारेज गर्दै नयाँ बर्नस्टिनको खोजीमा भौंतारिन थालेका छन्–समय फेरियो र समाज फेरियो भन्दै । कठै ! कस्तो वैचारिक दरिद्रता ।

सन् २००६ मै भारतीय कमरेडहरूले प्रचण्डलाई लक्षित गर्दै भनेका थिए– “भाइचारा पार्टीका क्रान्तिकारीहरू यहाँ  आएर (भारतमा आएर ले) भारतीय शासकहरूको विभिन्न किसिमले प्रशंसाको वर्षा गर्दा, भारतीय ‘प्रजातन्त्र’ र भारतीय ‘गणतन्त्र’ माथि फूलबुट्टा भर्दा अनि तिनीहरूको जनविरोधी नीति, तिनीहरूको विस्तारवादी स्वभाव र आफ्ना दौंतरी माओवादीहरूमाथि गरिएको आमनरसंहार विरुद्ध एक शब्द नबोल्दा हामीलाई ज्यादै पीडा भएको छ ।”  जनयुद्ध लडिरहनु भएका भारतीय कमरेडहरू ! त्यो भन्दा बढी पीडा हामीलाई भएको छ । लडाइं नै  यसैमा छ ।  समस्या विचारकै हो । समस्या यात्रापथकै हो ।

सत्य के हो भने हामी आगोको कुरा गर्छौं,  हामीभित्र भुतभुतेपनि छैन । दक्षिणतिर रमाउन पल्केकाहरूले उतै चरन खोज्नु नयाँ कुरा होइन, तिनले एकएक गरेर लुगा फुकालिसकेका छन्  । सबै निस्के सतहमा, बाँकी पनि निस्केलान् । बरु त्यो ठीक छ । हावाको बेग हेरेर डुङ्गा फेर्ने र अवसर हेरेर खुट्टाको ताल फेर्ने प्रवृत्ति नै अहिले सबैभन्दा डरलाग्दो बनेको छ । साँच्चै हो, आगोको कुरा गर्नु, आगो बाल्नु र आगो नै हुनु फरक कुरा रहेछन् । आगोका कुरा थुप्रै हुन्छन्, थुप्रैले गर्छन्, आगो बाल्न नयाँ छाप्रो पनि हाल्छन्– बाल्ने कुरा चाहिं हुँदैनन् । आस्था, विश्वाश र श्रद्धा भनेको पुज्नका लागि होइन, पछ्याउनका लागि हो ।

चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा पेकिङ विश्वविद्यालयका दर्शनशास्त्र विभागका एक जना बुद्धिजीवी नेह युवानले ‘बिग पोस्टर’ सामु उभिएर भनेका थिए : “क्रान्तिकारी बुद्धिजीवीहरू हो ! अब लडाइँमा डट्ने समय आएको छ । माओत्सेतुङ विचारधाराको  महान् झण्डालाई अझ माथि उठाउँदै एकजुट होऔँ । पार्टीको केन्द्रीय कमिटी र अध्यक्ष माओको साथमा एकजुट होऔँ र संशोधनवादीहरूका सबै प्रकारका नियन्त्रण र कुकृत्यलाई छिन्नभिन्न पारिदिऊँ । दृढसङ्कल्पित भएर सम्पूर्ण रूपमा सबै भुतप्रेतहरू, र सबै क्रुस्चेवी प्रतिक्रान्तिकारी संशोधनवादीहरूलाई धुलोपीठो पारिदिऊँ र समाजवादी क्रान्तिलाई अन्तिमसम्म जारी राखौँ ।”

यो आह्वान हाम्रो सापेक्षतामा पनि त्यत्तिकै सान्दर्भिक छ । प्रश्न छ, कहाँ छ हाम्रो बौद्धिक समुदाय ? यत्रो वैचारिक सङ्घर्षमा कहाँ उभिएका छन्, उनीहरू ? “विद्वानहरूले यस विश्वको व्याख्या मात्र गरेका छन्, प्रमुख कुरा यसलाई फेर्नु हो”  भन्ने मार्क्सको भनाइप्रति हामी गम्भीर छौं भने, अब निर्मम आत्मसमीक्षा र आत्मसङ्घर्ष गर्नुपर्ने बेला आएको छ । देवकोटाले त्यतिबेरै भनेका थिए—“नलडी कोही हुन्न विजेता... ।” साँच्चै हो, पेरिस कम्युनदेखि जुनी कम्युनसम्म जोडिने बाटो यही मात्र हो ।
०००

भिडियो फिचरview all