menu

ताजा समाचार

चिनियाँ महान् सांस्कृति क्रान्ति र फ्रान्सेली बौद्धिक समुदाय

सहित्यकलाका साथै मार्क्सवादी राजनीतिक आन्दोलनमा चासो र रुचि राख्नेहरूलाई सन् साठीको दशकमा चलेको फ्रान्सेली माओवादी आन्दोलनबारे धेरथोर जानकारी हुनुपर्छ । सिङ्गो युरोपलाई प्रभावित पार्ने त्यो आन्दोलन मूलतः विद्यार्थी र मजदुरहरूको सक्रियता र अगुवाइमा भएको थियो । त्यति मात्र नभएर साहित्यिक तथा बौद्धिक क्षेत्रका हस्तीहरू पनि  मजदुर र विद्यार्थीहरूसित  काँधमा काँध मिलाएर माओ र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको झण्डा बोकेर सडकमा निस्केका थिए । माओवादी आन्दोलनलाई अघि बढाउन उनीहरूले सन् १९६८मा गाउचे प्रोलोटरिने अर्थात् सर्वहारावादी वामपन्थी नामक सङ्गठन गठन गरेका थिए । सन् १९६८देखि १९७१ सम्मको अवधि फ्रान्सेली माओवादी आन्दोलनको जुझारु र उत्कर्ष अवधि थियो ।

जाँ पल सार्त्रे, लुई आल्थुसर,  सिमोन द बुआ, मिसेल फुको, जुलिया क्रिस्टेभा, फिलिप सोलर, एलेन बेदुजस्ता व्यक्तित्वहरू त्यस आन्दोलनसित जोडिएका थिए । वैचारिक रूपमा मात्र नभएर उनीहरू  भौतिक रूपमै सडकमा निस्केका थिए । साहित्यका अधिकाँश पाठकहरू सार्त्रेलाई मूलतः अस्तित्ववादी चिन्तकका रूपमा चिन्छन्  । परन्तु सन् साठीको दशकमा फ्रान्समा चलेको माओवादी आन्दोलनमा उनले बौद्धिक क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्याएका थिए । 'फ्रान्समा माओवादीहरू' आलेखमा उनले माओवादको महत्त्वबारे प्रकाश पारेका छन् । खासगरेर  प्रकाशनको क्षेत्रमा उनको महत्त्वपूर्ण  भूमिका रह्यो । दे गल सरकारले माओवादीहरूको प्रकाशन ला गाउचे डि पिउपल का सम्पादकहरूलाई गिरफ्तार गरेपछि उनले सम्पादकको जिम्मेवारी समालेका थिए र सरकारलाई चुनौती दिँदै आफैँ सडकमा निस्केर पत्रिका वितरण गरेका थिए ।

लुइ आल्थुसर नव-मार्क्सवादी समालोचकका रूपमा बढी परिचत छन् । मिसेल फुको उत्तरआधुनिकतावादका दार्शनिक तथा वैचारिक प्रस्थापकका रूपमा परिचित छन् र  सिमोन द बुआलाई नारीवादी आन्दोलनकी संस्थापक पनि भन्ने गरिएको छ । त्यसैगरी जुलिया क्रिस्टेभा उत्तरसंरचनाजादी-लिङ्वादी चिन्तकका रूपमा र एलेन बेदुको ‘उत्तर-मार्क्सवादी’ चिन्तकका रूपमा  चर्चा गर्ने गरिएको छ । परन्तु साठीको दशकमा यी सबै पात्रहरू आआफ्नो जिम्मेवारी लिएर प्रशासनिक धरपकड र दमनको पर्बाह नगरी माओवादी आन्दोलनमा सक्रिय थिए । क्रिस्टेवाहरूको टोलीले माओकालीन चीनको भ्रमण पनि गरेको थियो ।

सन् ६० को दशकमा चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको प्रभावमा चलेको फ्रान्सेली माओवादी जागरण साँच्चिकै ऐतिहासिक र शिक्षाप्रद थियो । सार्त्रे, फुको लगायतका बुद्धिजीवीहरूले आन्दोलनका पक्षमा सडकमा माओवादी पर्चा छर्दै र सरकारले प्रतिबन्ध लगाएको  माओवादी पत्रिका बाँड्दै गरेको दृश्य अहिले हेर्दा अचम्म लाग्दो र अपत्यारिलो जस्तो पनि लाग्छ । तर, त्यतिबेला बौद्धिक समुदाय समर्पणका साथ जुटेको थियो  । आल्थुसर सामाजिक साम्राज्यवादी रूस पक्षधर  पार्टी फ्रान्सेली कम्युनिस्ट पार्टीका सदस्य थिए । तर पार्टीको नीति विपरीत लुकीछिपी भने पनि उनी माओवादीहरूलाई सहयोग गर्थे । माओको ‘अन्तर्विरोधबारे’ को पक्षमा लेखेको उनको लेखको निकै चर्चा गर्ने गरिन्छ ।  सार्त्रे र सिमोन द बुवाको जिम्मा सरकारद्वारा प्रतिबन्धित पत्रिकाको सम्पादन तथा प्रकाशन थियो । दुवै सडकमा निस्केर पत्रिका बाँडिरहेका हुन्थे । ट्युनिसमा रहेका मिसेल फुको प्राध्यापन पेशा छाडेर फ्रान्स फर्केका थिए । उनको जिम्मा बन्दीहरू र आप्रवासी क्षेत्र थियो । एक हिसाबले उनी जनअदालतका न्यायाधीश थिए । जुलिया क्रिस्टेभा र फिलिप सोलरको जिम्मा साहित्यकला त्यसमा पनि ताल क्वेल पत्रिका थियो । माओवादीहरूको आफ्नै शैलीको जनअदालत थियो र छापामार शैलीको कारबाही गर्ने टोली पनि थियो ।

यी सबै कुरालाई इतिहासका प्राध्यापक रिचार्ड वलिनले आफ्नो  पुस्तक  विन्ड फ्रम दि इस्टमा  बडो रोचक ढङ्गले उल्लेख गरेका छन्  यिनको पुस्तकमा त्यतिबेलाको विश्वको आर्थिक–राजनीति परिस्थिति, चीन–रूसमहाविवादको त्यति विस्तृत चर्चा नपाइए पनि  चीनले महान् सर्वहारा सांस्कृतिक क्रान्ति  किन आरम्भ गर्नुपर्यो  भन्ने कुरालाई चाहिँ उनले आफ्नै बुझाइ र ठम्याइँका आधारमा ‘हु वेयर दि माओइस्टस्’ शीर्षकमा प्रस्ट पारेका छन् । विन्ड फ्रम दि इस्टमा उनले माओ र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विश्वव्यापी प्रभाव, त्यसको फ्रान्सका युवा तथा बौद्धिक क्षेत्रमा परेको जादुमय आकर्षण र चमत्कारी आन्दोलनको भने खुलेर चर्चा गरेका छन् । खासगरेर युवा,  मजदुर र बौद्धिक  क्षेत्रको यसप्रतिको आकर्षण र समर्पणलाई इमानदारीपूर्वक उल्लेख गरेका छन् ।

उनी मार्क्सवादका पक्षधर होइनन् र त्यस समयको इतिहासको मार्क्सवादी कोणबाट विश्लेषणा र संश्लेषण गर्नु उनको उद्देश्य  नरहे पनि उनले इमानदारीपूर्वक जसरी फ्रान्सेली माओवादी आन्दोलनको चर्चा गरेका छन्, यो निकै सह्राहनीय छ ।  लेखन र प्रस्तुतिको शैलीका दृष्टिले यो पुस्तक रोचक त छ नै, माओवादी आन्दोलन र फ्रान्सेली बौद्धिक जागरणबीचको अन्तरसम्बन्धका दृष्टिले पनि यो पुस्तक लाभदायी छ । उनले सन् साठीको दशकको फ्रान्सेली  माओवादी आन्दोलन ऐतिहासिक र ज्ञानवर्धक दुवै थियो भन्ने कुरामा जोड दिएका छन् । यस अर्थमा बौद्धिक–सांस्कृतिक क्षेत्रले मात्र नभई राजनीतिक क्षेत्रले पनि यस पुस्तकलाई गम्भीरतापूर्वक अध्ययन गर्नु जरूरी छ ।

 यो पुस्तक अध्ययन गरिसकेपछि स्वाभाविक रूपमा केही प्रश्नहरूले घेराबन्दी गर्छन् । साठीको दशकमा  प्रभावकारी रूपमा सक्रिय भएको युरोपलाई नै प्रभावित पार्न सक्षम भएको फ्रान्सको माओवादी आन्दोलन कसरी विसर्जनको स्थितिमा पुग्यो भन्ने कुराको लेखाजोखा गर्नु आवश्यक छ ।  त्यसका नेताहरू किन र कसरी माओवादको विरोध गर्दै नश्लवादमा फसे भन्ने कुरा पनि महत्त्वपूर्ण छ ।  मजदुर र विद्यार्थीका बीच छाती खोलेर निस्केको बौद्धिक क्षेत्र पछि किन त्यति निरास बनेर ‘उत्तर’ अवधारणाको पुर्पक्षमा उत्रियो भन्ने कुराको पनि विश्लेषण गर्नु पनि आवश्यक छ । सबैलाई थाहा भएको कुरा हो,  मिसेल फुको उत्तर-आधुनिकतावादका महत्त्वपूर्ण हस्ती हुन् । दे गल्को दमन र रूसी प्रभावमा रहेको त्यहाँको संशोधनवादी पार्टीको असहयोग अथवा विरोधको सन्दर्भ एउटा पक्ष भए पनि त्यसरी माओवादी आन्दोलनसित सम्बद्ध भएर भिडेको बौद्धिक क्षेत्र पछि ‘उत्तर’  अवधारणाको पुर्पक्ष गर्दै मार्क्सवाद विरोधी चिन्तकै प्रतिनिधि पात्रमा कसरी ‘रूपान्तरित’ भयो र यसो हुनुका पछाडि केकस्ता आत्मगत तथा वस्तुगत कारण थिए भन्ने कुरा पनि अध्ययनको विषय हो । समकालीन राजनीतिक तथा वैचारिक क्षेत्रका लागि यो इतिहास एउटा घतलाग्दो शिक्षा हुनसक्छ ।

अझ प्रस्ट कुरा के हो भने  नेपालको माओवादी आन्दोलनले भोगिरहेको पीडा— राजनीतिक तथा बौद्धिक-सांस्कृतिक क्षेत्रमा देखिएको विभाजन,  वैचारिक स्खलन र सौन्दर्य मूल्यहरूको विघटन भइरहेको सन्दर्भमा यो सन् साठीको फ्रान्सको माओवादी आन्दोलन एउटा दरिलो सन्दर्भ हुनसक्छ । यसलाई ऐतिहासिक सन्दर्भको निरन्तरतामा हेर्नु आवश्यक छ । 
भिडियो फिचरview all