menu

ताजा समाचार

कमरेड किरणलाई भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को चिठी

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) प्रति कमरेड किरणको नेतृत्वमा रहेको माओवादी पार्टीको हेराइ र व्यवहार जेजस्तो रहे पनि प्रचण्डको गद्दारीका विरुद्ध विद्रोह गर्दै कमरेड किरणको नेतृत्वमा नयाँ माओवादी पाटी निर्माण हुँदा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले कमरेड किरणको नेतृत्वमा गठित नयाँ पार्टीबाट धेरे आशा र विश्वास गरेको रहेछ भन्ने कुरा चाहिँ भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले नेपाल कम्युनिस्ट पार्टी–माओवादीलाई सन् २०१२ अगस्त ३१ मा लेखेको चिठीबाट बोध गर्न सकिन्छ ।
यो चिठी हामीले Frontlines of Revolutionary Struggle नामक वेबसाइटबाट प्राप्त गरेका हौँ । यसअघि प्रकाशित भइसकेको यो चिठी अहिले पनि त्यतिकै सान्दर्भिक छ । यो महत्त्वपूर्ण चिठी  बढीभन्दा बढी पाठकसम्म पुग्नु आवश्यक छ भन्ने ठानेर यसलाई पुनः  प्रस्तुत गरिएको छ

:................................................................................................................................

नेपाल कम्युनिस्ट पार्टी-माओवादी गठनको स्वागत
 
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेपाल कम्युनिस्ट पार्टी—माओवादी केन्द्रीय समितिलाई सन्देश

कमरेड किरण,
अध्यक्ष, नेपाल  कम्युनिस्ट पार्टी—माओवादी

नेपाली क्रान्तिप्रति गद्दारी गर्ने अवसरवादी र नवसंशोधनवादी नेतृत्वविरुद्ध लामो वैचारिक सङ्घर्षपछि उनीहरूसित सम्बन्ध विच्छेद गरेर तपार्इँहरूले नयाँ पार्टी गठन गर्नु भएकोमा हाम्रो भारतीय कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समिति तपाईँ र केन्द्रीय समितिका कमरेडहरू साथै समग्र पार्टीपङ्क्तिप्रति न्यानो क्रान्तिकारी अभिवादन प्रकट गर्दछ ।

नेपाली क्रान्ति रणनीतिक आक्रमणको चरणमा पुगिसकेको अवस्थामा एकीकृत (माओवादी) को नेतृत्वले, राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको मनोगत व्याख्या गरेर गलत रणनीति अँगाल्दै पार्टीलाई सन् २००५ को अन्त्यदेखि विर्वाध रूपमा संसद्वादी र पुँजीवादी दलदलको भासमा पुर्यायो । पार्टीमा  हाबी रहेको अवसरवादी गुटले तीव्ररूपमा आधुनिक संशोधनवादी दिशा समात्तै १२ बुँदे, ८ बुँदे सहमति र 'बृहत् शान्ति सम्झौता' मार्फत नेपाली जनता र नेपाली क्रान्तिप्रति गद्दारी गर्यो  र नयाँ जनवादी क्रान्तिलाई ठूलो नोक्सान पुर्यायो । नेपाली जनताको हितलाई नोक्सान पुर्याउने नवसंशोधावादी गुटका विरुद्ध एकीकृत (माओवादी) भित्रको कमरेड किरणको नेतृत्वमा रहेको क्रान्तिकारी समूहलगायत अन्य क्रान्तिकारीहरूले नेपाली जनता र क्रान्तिप्रति धोका दिने नेतृत्वका विरुद्ध विभिन्न समयमा सङ्घर्ष गर्दै संशोधनवादी नेतृत्वबाट आफ्नो सम्बन्ध विच्छेद गर्दैआएका छन् ।  एकीकृत (माओवादी) को नवशंसोधनवादी नेतृत्वले लिएको गलत लाइनका विरुद्ध त्यहाँका क्रान्तिकारीहरूले समयसमयमा गरेका यस्ता सम्बन्ध विच्छेदलाई हाम्रो पार्टी सही कदम ठहर गर्दै यसले नेपाली क्रान्तिलाई अगाडि बढाउनुका साथै नेपालका समग्र उत्पीडित वर्ग र उत्पीडित विविध सामाजिक तह र तप्काको हित गर्छ भन्ने ठान्दछ । हाम्रो पार्टीको केन्द्रीय समिति सर्वहारावादी अन्तर्राष्ट्रियतावादका साथ नयाँ कम्युनिस्ट पार्टी–माओवादीको गठनप्रति हार्दिकतापूर्वक स्वागत गर्दै यसप्रति सहयोग र ऐक्यबद्धता जाहेर गर्दछ । हामी फेब्रवरी २०१३ मा निर्धारित भएको तपाईँहरूको महाधिवेशनले (यो महाधिवेशन सन् २०१३ को जनवरीको दोस्रो सातामा सम्पन्न भयो : अनुवादक । )  सही वैचारिक र राजनीतिक लाइन लिन सफल हुनेछ र यसैका आधारमा मुलुकका अन्य क्रान्तिकारी शक्तिहरूलाई गोलबद्ध गर्नेछ भन्ने विश्वासका साथ महाधिवेशनको सफलताको हार्दिक शुभकामना प्रकट गर्न चाहन्छौँ ।

यस किसिमको सुखद् अवसरमा हामी आफूहरूले अनुभव गरेका केही कुरा राख्न चाहन्छौँ । नेकपा (माओवादी) र नेपालका वीर जनताले राज्यसत्ता प्राप्तिका लागि दीर्घकालीन जनयुद्धको आरम्भ गरेर आफूलाई धारिलो र इस्पातिलो बनाउँदै युद्धमा महान् सफलता  हाँसिल गरे । तर यताका ७ वर्षभन्दा बढी हुन थालेको छ, जनयुद्ध परित्याग गरिएको छ र पार्टी र जनतालाई संसदीय, शान्तिपूर्ण र वैधानिक गतिविधिमा सीमित गरिएको छ । यस्तो विशिष्ट स्थतिमा जनयुद्धका क्रममा आर्जित महान् गुणहरू हराउँदै जानु स्वाभाविक छ । लामो अवधिसम्म वैधानिक क्षेत्रमा संलग्न रहनुको कारण नयाँ पार्टी गठन गरेपछि पनि ती क्रान्तिकारी गुणहरू हराउँदै जाने सम्भावना प्रवल रूपमा रहेको छ । तसर्थ, ती गुणहरूलाई सही वैचारिक र राजनीतिक लाइन, क्रान्तिकारी दिशा, वर्गसङ्घर्ष, सचेतन प्रयास र सर्वहारावादी जीवनशैली र कार्यशैलीको अभ्यासद्वारा मात्र पुनः प्राप्त गर्न र  दीर्घजीवी बनाउन सकिन्छ । अन्तर्सङ्घर्षका क्रममा वैचारिक, राजनीतिक र सङ्गठनात्मक क्षेत्रमा गरिएका गल्तीहरूलाई सही किसिमले पहिचान गरिनु र तिनको गम्भीरतापूर्वक शुद्धीकरण हुनु आवश्यक छ । नयाँ पार्टी गठन गर्ने सन्दर्भमा तपार्इँहरूले आफ्ना गल्ती-कमजोरी पत्ता लगाउने र सच्याउने जुन प्रयास गर्नुभयो, यसले हामीलाई आशावादी बनाएको छ र तपाईँहरू यस दिशामा जसरी अघि बढिरहनु भएको छ  र यसलाई थप निरन्तरता दिनु हुनेछ भन्ने कुराप्रति हामीलाई थप आशावान बनाएको छ ।
 
नव संशोधनवादी प्रचण्ड समूहभित्र अझै पनि केही क्रान्तिकारीहरू रहेका हुन सक्छन्, र त्यहाँभित्र पनि अन्तर्सङ्घर्ष चर्काउँदै जाने र महाधिवेशनसम्म ढोका बन्द नगर्ने तपाईँहरूको ठम्याइ सही छ । हाम्रो विचारमा यसलाई पछि पनि निरन्तरता दिनु आवश्यक छ, जसबाट सही अर्थका क्रान्तिकारीहरू क्रान्तिकारी पार्टीमा समाविष्ट हुने वातावरण निरन्तर बनिरहोस् । तपाईँहरूभन्दा अगाडि नै कतिपय क्रान्तिकारी कमरेडहरूले नवसंशोधनवादीहरूसित सम्बन्ध विच्छेद गरेका हुन् (यहाँ मातृका यादवहरूप्रति सङ्केत गरिएको हो–अनुवादक) । हाम्रो विचारमा तपाईँहरूले ती कमरेडहरूलाई गोलबद्ध गर्ने प्रयास गर्नुहुनेछ ।  क्रान्तिको हितमा व्यापक जनतालाई गोलबद्ध गर्न र नवसंशोधनवादीहरूलाई एक्ल्याउन सही वैचारिक, राजनीतिक आधारमा सही क्रान्तिकारीहरूसितको एकता आवश्यक हुने गर्दछ । कुनै एउटा देशको कम्युनिस्ट पार्टीले अर्को कुनै देशको कम्युनिस्ट पार्टीले अबलम्बन गरेको राजनीतिक कार्यदिशा, कार्यनीति र रणनीतिलाई लिएर हस्तक्षेप गर्न मिल्दैन भन्ने कुरा हामीलाई थाहा छ । तर त्यसका सम्बन्धमा तपाईँहरूसामु अन्तर्राष्ट्रिय माओवादी पार्टीहरूले सर्वहारावादी अन्तर्राष्ट्रियतावादका आधारमा राखेका आलोचनात्मक विचार/ध्यानाकर्षणलाई चाहिँ तपाईँहरूले गम्भीरतापूर्वक सुन्नु र ध्यान दिनु आवश्यक हुन्छ ।

तपाईँहरूको पार्टीले दक्षिण-एसियाका उत्पीडित जनताको मुक्तिका लागि अन्तर्राष्ट्रियतावादी सर्वहारावादका साथ  पहिलेजस्तै भूमिका खेल्नेछ भन्ने कुराप्रति पनि हामी  आशावान छौँ । केही वर्षअघिसम्म मात्र नेपाल विश्वसमाजवादी क्रान्तिको आधार बन्ने सँघारमा उभिएको थियो   र  अब यो नयाँ पार्टीले आफ्नो  सशक्त प्रयासमार्फत बाँकी रहेका कार्यभार पूरा गरेर नेपाली क्रान्तिलाई विजयमा पुर्याउने  छ भन्ने कुरामा हामी विश्वस्त छौँ । सारै जोखिमपूर्ण स्थिति रहँदारहँदै पनि नेपालमा नयाँ किसिमले सत्ता कब्जा गर्न सकिने सम्भावना विद्यमान छ भन्ने कुरामा हामी आशावान छौँ । हामी दुई पार्टीलगायत दक्षिणएसियाका अन्य भाइचारा पार्टीहरू भारतीय विस्तारवाद, साम्राज्यवाद र सबै प्रकारका प्रतिक्रियावादका विरुद्ध दरिलो र कडा सङ्घर्षका लागि एकताबद्ध हुनु पर्दछ भन्ने कुराप्रति हामी विश्वस्त छौँ ।

हामी आशा गर्छौँ, नयाँ पार्टीले मालेमालाई दृढताका साथ ग्रहण गर्नेछ र नेपाली समाजको विशिष्टता र नयाँ सन्दर्भमा यसलाई सिर्जनशीलतामा लागू गर्नेछ, सबै प्रकारका संशोधनवाद खासगरेर प्रचण्ड–बाबुरामको आधुनिक संशोधनवादका विरुद्ध उभिँदै यसले नेपाल र विश्वका उत्पीडित जनता र सर्वहारा वर्गको मुक्तिको कार्यभार पूरा गर्नेछ ।

हामी आशा गर्छौँ, नेकपा-माओवादीले नेपालका उत्पीडित जनता र सर्वहारा अन्तर्राष्ट्रियतावादको क्रान्तिकारी परम्परालाई समात्ने छ र नेपाली क्रान्तिका महान् सहिदहरूको सपनालाई पूरा गर्नेछ ।

क्रान्तिकारी अभिवादनसहित
(अभय)
प्रवक्ता : केन्द्रीय समिति, भाकपा (माओवादी)
अगस्त ३१, २०१२

भिडियो फिचरview all