menu

ताजा समाचार

अजय भाइले पठाएको सिलबन्दी खाम

डा. ऋषिराज बराल
 (सचेत पाठक भाइ अजय अर्थात् अजय सापकोटाले “आफूलाई सारै घत लागेको सामग्री आफूसित सुरक्षित रहला नरहला भनेर सरलाई पठाएको छु” भनेर मेलमार्फत मलाई एउटा सामग्री पठाइदिनुभयो । सामग्री युनिकोड गरिएको थियो । ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ द्वारा आयोजित पुरस्कार वितरण कार्यक्रम २०७१ मा मैले बोलेका कुराहरूको सँगालो रहेछ यो सामग्री । इच्छुक प्रतिष्ठानको स्थापना तथा यससित गाँसिएका सन्दर्भहरूको लामो कथागाथामा अहिले म प्रवेश गर्न चाहन्न ।  मैले त्यहाँ बोलेका शब्दहरू नै पर्याप्त छन् भन्ने लाग्छ । सामग्री सुरक्षित राखिदिनुभएकोमा भाइ अजयलाई धन्यवाद दिँदै यो सामग्री प्रस्तुत गर्दछु,  शीर्षक अजय भाइकै ।)
.........................................................................................................
गद्दारहरूका हातले इच्छुकलाई नछोउन्

ऋषिराज बराल खरो बोल्छ भन्छन् ।  म भन्छु, म सत्य बोल्छु, सत्य पचाउन नसक्नेहरूका लागि मैले बोलेका कुराहरू खरा हुन्छन्,  तीता हुन्छन्, गाली हुन्छन् । त्यस्तै खरा र तीता शब्दहरू आज पनि मैले भन्नुपर्छ कि भन्ने मलाई लागेको छ  ।

आततायी सत्ताले इच्छुकलाई २०५८ साल जेठ ६ गते गिरफ्तार गरेर जेठ १३ गते हत्या गरेको थियो ।  हामीले ‘सांस्कृतिक बलिदान दिवस’ जेठ १३ गते नै मनाउने निर्णय गरेका थियौँ ।  जेठ १३ गते नै इच्छुकलाई विशिष्ट किसिमले सम्झना गर्ने दिन हो । तपाईँहरूलाई थाहा छ कि छैन ‘तेस्रो स्मृति दिवस’ को सन्दर्भमा पुष्पकमल दाहालको मुड बिग्रेपछि उहाँले त्यो कार्यक्रममा सहभागी हुन्न भन्नुभयो । हामीले सम्पूर्ण तयारी गरेका थियौँ । त्यतिबेला ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ को अध्यक्ष अध्यक्ष कमरेड किरण नै हुनुहुन्थ्यो । हामीले भन्यौँ—“यो दिन विशिष्ट दिन हो, कार्यक्रम सार्ने कुरा हुँदैन, प्रचण्ड आउनु र नआउनुसँग केही सरोकार छैन, ‘इच्छुक सांस्कृतिक दिवस’ मनाइन्छ ।”

यहाँ यान्त्रिक हुन खोजेको होइन, इच्छुकको हत्या भएको  जेठ १३ लाई विशिष्ट अर्थमा लिएर कार्यक्रमलाई यताउता नपारेको भएहुन्थ्यो  भन्ने मेरो भनाइ हो । किन यसो गरिएको हो मैले बुझ्न सकिन । इच्छुकको आवाज, उहाँको बलिदानपूर्ण गाथा र मूल्यबोधलाई विश्वव्यापी गर्ने भनेर हामीले त्यसबेलाका पार्टी अध्यक्ष प्रचण्डद्वारा वेबसाइटको उद्घाटन यसै हलमा गरेका थियौँ । त्यसमा हामीले इच्छुकले दाङमा गरेको भाषण, उहाँकै आवाजमा कविता र स्लाइड पनि राखेका थियौँ ।  दुईतीन वर्षदेखि त्यो वेबसाइटको अपडेट भएन  र अहिले त्यसको नामनिसाना छैन ।  अब ती दुर्लभ सामग्रीहरू हाम्रो पहुँचभन्दा बाहिर छन् ।

म यो संस्थाको उपाध्यक्ष भएको बेला हामीले तीनवटा निर्णय गरेका थियौँ : एउटा इच्छुकको बन्दी र चन्द्रागिरी  लाई अङ्ग्रेजीमा प्रकाशन गर्ने ।  मलाई आशा लागेको थियो इच्छुकको बन्दी र चन्द्रागिरी को अङ्ग्रेजी अनुवाद आज हेर्न पाउँछु भनेर, पाइएन । त्यतिबेला अर्को पनि निर्णय गरेका थियौँ—प्रतिनिधि नेपाली समालोचना  प्रकाशनमा ल्याउने । त्यो पनि देखिएन । साथीहरू जागिरमा धेरै खट्नु परेको कारणले पनि होला यस्तो भएको  । आशा गरौँ,  अर्को वर्ष यस्तै विशिष्ट कार्यक्रममा इच्छुकको बन्दी र चन्द्रागिरीको अङ्ग्रेजी अनुवाद पढ्न पाइनेछ ।  इच्छुक पक्राउ परेदेखि हत्या हुँदाको समयसम्म विश्वव्यापी रूपमा ३०० जति वेबसाइटले नेपालको कवि तथा पत्रकारको हत्या भयो भनेर समाचार छापेका थिए । इच्छुकलाई त्यहाँसम्म पुर्याउन सक्थ्यौं, यो पनि हुन सकेन ।

इच्छुकसित गाँसिएका मेरा असाध्यै विशिष्ट क्षणहरू छन् ।  रमाइला-नरमाइला घडीहरू छन् । बेलाबेलामा हाम्रा बीच चर्काचर्की पनि पथ्र्यो । मैले २०३६ सालमा नेपाल सरकारको अधिकृत पेशा छोडेर अब कलमले जनताको पक्षमा लड्छु भनेर त्रिकोण पत्रिका सुरु गरेँ । नचिनिकन, नदेखिकन त्रिकोण पत्रिकाको तेस्रो अङ्कमा मैले उहाँको ‘त्यो प्यारो प्यारो गाउँको नाम थवाङ हो’ भन्ने कविता प्रकाशित गरेँ । त्यो कविता कालजयी बन्यो र उँहालाई क्रान्तिकारी कविका रूपमा स्थापित गर्यो ।

इच्छुक प्रतिष्ठान र पुरस्कारको कुराका सन्दर्भमा म दुइटा कुरा भन्न चाहन्छु : इच्छुकलाई लोगो नबनाइयोस् । थुप्रै माथिल्ला नेताहरूले बाँच्ने नाममा आत्मसमर्पण गरिरहेको बेलामा बलिदानका लागि उभिने पात्रको नाम हो इच्छुक ! खबरदार भन्छु,  इच्छुकलाई नेपाली क्रान्तिप्रति गद्दारी गर्नेहरूका हातले नछोऊन् । इच्छुक प्रतिष्ठानलाई आर्थिक प्रेरणाको साधन पनि नबनाइयोस् । अर्को कुरा म के पनि प्रष्टताका साथ भन्न चाहान्छु भने पूर्व झापाका डि. कौडिन्य, पश्चिम कालिकोटका हर्कबहादुर शाहीलगायत १६० भन्दा बढी सांस्कृतिक सहिदहरूको सिङ्गो आस्थाबिम्बको नाम हो इच्छुक । अर्घाखाँची अथवा प्यूठानको भूगोलमा सीमित पार्ने पात्र होइन ऊ ।  इच्छुकलाई खास भूगोलमा अथवा खास व्यक्तिहरूको सीमाभित्र खुम्च्याउन खोज्ने क्षेत्रीयतावादी प्रवृत्तिबाट पनि इच्छुकलाई टाढै राख्नु आवश्यक छ ।
 
२०६२ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को फुन्टिवाङ बैठकपछि रोल्पाको इरिवाङको एउटा गाउँमा बसेर प्रचण्डको उपस्थितिमा हामीले इच्छुक पुरस्कारको परिकल्पना गरेका थियौँ र इच्छुक प्रतिष्ठान गठन गर्ने निर्णय गरेका थियौँ ।  त्यसको माइन्युट  अझै मसँग छ ।  ‘शान्तिप्रक्रिया’ का नाममा काठमाडौँ भित्रिएपछि हामीले त्यसलाई निर्माण गरेर अघि बढ्यौँ । हामीले तीनवटा उदेश्य राखेका थियौँ : इच्छुकले अबलम्बन गरेको  विचार र जीवनमूल्यलाई स्थापित गर्ने, उहाँको नाममा पुरस्कारको स्थापना गर्ने र प्रतिष्ठानलाई प्रतिभाहरूको केन्द्रका रूपमा विकसित गर्ने । तर ‘शान्तिप्रक्रिया’ पछिका दिनमा सबै भताभुङ्ग भए । हामी महान् आदर्शका कुरा गर्छौँ, क्रान्तिका लागि ठूलाठूला पर्खाल भत्काउने कुरा गर्छौँ, तर  ६/७ वर्षको यो  अवधिलाई हेर्ने हो भने सन्तोक मान्ने ठाउँ कतै छैन ।

आवश्यकता र औचित्यअनुसार हामीले इच्छुक प्रतिष्ठानबाट प्रतिभाहरूलाई पुरस्कृत गर्यौँ । तर विडम्बना, युवराज लामाहरूलाई हामीले अविरमाला लगाएर  भित्र्यायौं, पूर्ण विरामहरूलाई हामीले हाम्रो घरभित्र अटाउँन सकेनौँ । गजबको राजनीति छ हाम्रो ! कुन आदर्शका निम्ति हामी यसो गरिरहेका छौँ, बुझीनसक्नु छ ।

प्रतिभाहरूको खोजी र निर्माणको आवश्यकता पर्छ ।  चिनियाँ क्रान्तिकारी लेखक लुसुनले प्रतिभाहरूको पहिचान  र निर्माण गर्नुपर्छ, प्रतिभाहरूलाई झारपातबाट जोगाऊ भनेर आह्वान गर्नुभयो । तर यो क्षेत्र पनि खालीखाली  देख्छु ।  कविताको मात्रै कुरा गर्दा पनि सेन र पूर्ण विरामपछि परैबाट देखिने र चिनिने पात्रहरू  किन निर्माण हुन सकेनन् ? भएका प्रतिभाहरूको पनि यसरी कसरी  पो सुरक्षा होला भन्ने प्रश्न छ ।
 
कलाकारको स्थिति हेर्यो  भने पनि त्यस्तै छ । मोहित श्रेष्ठहरूको हालत के हुने हो ? जसले जनयुद्दका हरेक मोर्चामा गीत गाए, ती कहाँ छन् अहिले ? अहिले पुरस्कृत भएका कविहरू अर्को वर्ष देख्न पाइँदैन, पत्रपत्रिकामा पनि नाम देखिँदैन । यसो हेर्यो पूर्ण विराम र सेनपछि अब के होला  भन्ने लाग्छ । कविहरू नजन्मिएको कारणले हो अथवा वर्गसङ्घर्षले ऊर्जा नदिएर हो, कवि र कविता दुवै हराएजस्ता भएका छन् । समालोचनाको क्षेत्र पनि त्यस्तै छ ।  किरण कमरेड हुनुहुन्छ, म छु, मपछिका केही साथीहरू छन् । म भन्छु, विश्वविद्यालयको पाठ्यक्रमबाट उहाँहरू बाहिर आउनु भएन भने उहाँहरूको इतिहास पनि एउटा कालखण्डमा सीमित हुने छ ।

 प्रतिभाको खोजी, रक्षा र विकास गर्ने काम सिङ्गो आन्दोलनको एउटा अंश हो । यो काम सांस्कृतिक मोर्चाले नै गर्ने हो ।  एक कालखण्डमा हाम्रो सांस्कृतिक मोर्चा, हाम्रो प्रकाशन कलम प्रतिभा उत्पादनको कारखाना  थियो  । तर यताका दिनमा सांस्कृतिक मोर्चा  विचार र सङ्गठन दुवैमा दिशाविहीन  भएजस्तो देखिन्छ  । समस्याहरू छन् जताततै । हामीले अध्यन गर्नुपर्ने थुप्रै कुराहरू छन्  । यहाँ चिन्ताले मात्र पुग्दैन, चिन्तनको पनि आवश्यकता छ  । कारणको खोजी गर्नु आवश्यक छ ।

फेरि पनि भन्छु, इच्छुक प्रतिष्ठानलाई आर्थिक उत्प्रेरणाको साधन नबनाइयोस्, हाम्रा कलाकारहरू, हाम्रा गाउँठाउँका सहिद परिवारहरूको घरहरू भत्किदै जाने, छानो टाल्ने स्थिति नहुने हाम्रा नेताहरू, त्यसमा पनि  सांस्कृतिक क्षेत्रका नेताहरूका घरको तला थपिँदै जाने स्थितिले सांस्कृतिक आन्दोलनलाई एकताबद्ध बनाएर गतिका साथ लैजाने स्थिति बन्दैन । आदर्श त माथिबाटै प्रस्तुत गर्ने हो, तल खोज्ने होइन ।
हामी इच्छुकको आदर्श कुरा गर्छौ । त्याग, बलिदान र समर्पण कुरा गर्छौँ र यसप्रति प्रतिबद्धता पनि जनाउँछौँ ।  तर विडम्बना ! ६ लाखमा आफ्नो विचार र आफूलाई विक्री गर्ने पात्रलाई शिरमा राखेर इच्छुकको आदर्शलाई अगाडि बढाउने डिंग हाँक्छौं । यो पाखण्डपन सिबाय केही होइन  ।

 इच्छुकको नाममा जनमुक्ति सेनाको बिग्रेड बन्यो । सबैलाई थाहा छ, हाम्रो जनमुक्ति सेनालाई प्रचण्ड–बाबुरामको गिरोहले आतङ्कित पारेर आत्मसमर्पण गरायो । क्यान्टनमेन्टबाट जनमुक्ति सेना हटेपछि इच्छुक र रामवृक्ष यादवको सालिक भत्काइएको छ र लात लगाएर भकुन्डो खेलिएको छ । नेपाली क्रान्तिप्रति गद्दारी गर्नेहरूको निर्देशनमा यी कामहरू भए । अनि तीनै गद्दारहरूसँग हामी पार्टी एकता गर्न चोचोमोचो मिलाइरहेका हुन्छौँ । यो पनि विडम्बना नै हो ।

हामीसँग सबैभन्दा जुझारू बुद्धिजीवी र सांस्कृतिक कर्मीहरूको तप्का छ  । विस्थापित गरिएका जनमुक्ति सेनाको क्रान्तिकारी तप्का पनि हामीसितै छ  । बलिदान गर्न तमतयार कार्यकर्ताहरू छन् । तर यसमा  हामीलाई विश्वास छैन  । डाँडाघरेको घरमा मासु पाकेको गन्ध सुँघेर चोचोमोचो मिलाउन जाने कुरा इच्छुकको आदर्शभन्दा बाहिरका कुराहरू हुन्, क्रान्ति विरोधी कुराहरू हुन् । आफ्नो घरलाई लठिबज्र पारेर छिमेकी साहुको घर रखवारी गर्ने काम नगरौँ । साँच्चै हामीले इच्छुकको बलिदान र  त्यागप्रति प्रतिबद्धता जनाएका हौँ भने जहाँबाट जनयुद्दको अन्त्य गरिएको थियो, त्यहीँबाट फेरि हामीले यात्रा सुरु गर्नुपर्छ । त्यसपछि समस्याहरू एकपछि अर्को गरेर हल हुँदैजान्छन् । हामी क्रान्तिको कुरा पनि गर्ने,  अनि त्याग पनि गर्न नसक्ने, कसरी हुन्छ ? म माथिकै कुरा भनिरहेको छु, अगुवाहरूकै कुरा भनिरहेको छु । समस्या अगुवाहरूमै छ । म पनि अब अगुवामै पर्छु  । समस्या हामीमै छ । क्रान्तिकारी विचारको केन्द्रीयतामा एक ढिक्का भएर लाग्ने कि नलाग्ने प्रश्न यहीँनेर छ ।

अघि गोपीन्द्र सरले केही कुरा उठाउनुभयो । म विनम्रताका साथ  भन्छु साथीहरूप्रति मेरो कुनै पूर्वाग्रह छैन । तर लाग्छ, “काम गर्ने कालु बसी खाने ठालु” भएको छ । “लङ्का जित्ने हनुमान, पगरी गुथ्ने ढेडु” पो हुन थालेको पो हो कि भन्ने देखिन थालेको छ । यसलाई 'बाघको छालामा स्यालको रजाइँ' पनि भन्न सकिन्छ ।

इच्छुक प्रतिष्ठानको भवन बनाउँदा “तेरो टाउको लास बनाएर यहाँ गाड्छु” भनेर धम्की खानेहरू, रातीराती २ बजे प्रतिष्ठानका जग्गा रेखदेख गर्न पुग्ने डा. नन्दीश अधिकारी, ध्रुव रूपाखेती र  रामचन्द्र हुमागाईँहरूलाई  थाहा छ कति आतङ्क र धम्की सहेर इच्छुक प्रतिष्ठानको जग्गा स्वामित्व बचाउन सकियो र भवनको आधार निर्माण गरियो भनेर । “तेरो टाउको काटेर धोबीखोलामा फ्यालिदिन्छौँ” भनेर भूमाफियाहरूले मलाई धम्की  थिएको कुरा पनि पुरानो भएको छैन  । इच्छुक प्रतिष्ठानको निर्माण गर्नेदेखि अहिलेसम्म सक्रिय भूमिका खेल्नेहरूप्रति घात गर्ने, अनि ६ लाखमा आफूलाई संशोधनवादीहरूको हातमा बिक्री गर्नेलाई टाउकोमा राख्ने र क्रान्ति र आदर्शको कुरा गर्ने  प्रवृत्ति पाखण्डपन सिबाय केही होइन ।  प्रस्टताका साथ आत्मसमीक्षा गर्नु आवश्यक छ । कहाँकहा गल्ती–कमजोरी भयो र कोकोबाट भयो भन्ने कुराको लेखाजोखा नगरी टालटुल पार्नुको अर्थ छैन ।

खरबारीको परिपरि बसिएको छ । आगो लागेको छ । यता हेर्यो आगो छ, उता हेर्यो आगो छ । क्रान्तिप्रति  गद्दारी भएको छ । दुई लाइन सङ्घर्षमा फसिएको छ । न त  सिद्धिए सिद्धियोस् भनेर छोड्न सकिने स्थिति छ,  न त समातेर बसेर मात्रै  हुने स्थिति छ । सामाजवादी निर्माण अभियानका बेला कार्यकार्तामाझ माओले भन्नुभएको थियो  : “हामीसँग तीनवटा मात्र बाटा छन्, एउटा बाटो पछाडि फर्किने, अर्को बाटो अगाडि बढ्ने र अर्को बाटो बीचमै बस्ने । पछाडि फर्कने हो भने पनि हामी सिद्धिन्छौं, बीचमै बस्छौ भने पनि सिद्धिन्छौँ, त्यसैले अघि बढौँ !” हाम्रो पनि बाटो  यही नै  हो  ।

 मलाई पुरस्कृत गर्नुभएको छ । सेनजीको नामसित जोडिएको पुरस्कारको सम्मान गर्नुपर्छ भन्ने मलाई लाग्यो र म उपस्थित भएँ । यसबारे म थप भन्दिन । समालोचना लेख्छु, सौन्दर्यशास्त्र जस्तो गहन विषयमा मेरो त्यति ठूलो दखल छैन । म सौन्दर्यशास्त्री होइन । मार्क्सवादी सौन्दर्यशास्त्रको गुरु हुनुहुन्छ किरण कमरेड-हामी सबैको गुरु । म आख्यानकार  हुँ । यसैमा म रमाउँछु । महिनामा दुई-तीनवटा कथा लेख्ने गरेको मान्छे, अहिले वर्षमा एउटा कथा पनि  लेख्न नसकेको अवस्था छ । उपन्यास लेख्छु भन्यो, यसो हेर्यो, जताततै आगो लागेको स्थिति छ । बाल्टीको पानी छचलिकएझैँ मन हल्लिएको छ । आफ्नै अनुहार पनि  राम्रोसित देखिँदैन । आफ्नै साथीले कतिबेला  सिध्याउला भन्ने स्थिति छ । र पनि दुई लाइन सङ्घर्ष भनेको आफैंमा  वर्गसङ्घर्षको बाटो हो । लेख्दै पनि जाने र सङ्घर्ष पनि गर्दै जाने हो ।

चुनौतीहरू छन् । इमान्दारीपूर्वक गोपीन्द्र सरले भन्नुभयो “आख्यान तेरो हो, आख्यानमा तैले समर्पित हुनुपर्छ....”। हो, मेरो प्रिय विधा आख्यान नै हो । म यसैमा केन्द्रित हुनुपर्छ । हेर्छु, हाम्रो कित्तामा कथा–उपन्यास लेख्नेहरूको नामगाम खोज्छु, चित्त बुझाउने ठाउँ छैन । कथा लेख्न थालेका नयाँ साथीहरू पनि कोही कता कोही कता हराए सबै, खायो उपभोक्तावादले । किरण कमरेडले एउटा सन्दर्भमा भन्नुभएको थियो : “अलि छिटै जन्मिएछ, अहिले भए केही गर्न सकिन्थ्यो होला ।” थुप्रै लेख्न बाँकी छ । आख्यानको क्षेत्रमा थुप्रै गर्न बाँकी छ । अन्त्यमा सेनजीले श्रद्धाञ्जली  खण्डकाव्यमा भन्नु भएझैँ भन्छु : “यतिबेला विरहका गीतहरू नगाउँन् कोही, तिम्रो रोहवरमा लडेको लडाइँ जित्न अझै बाँकी छ ।”

सत्य हो, लडाइँ जित्नै बाँकी छ,  होइन, लड्नै बाँकी छ ।  पार्टीले मोर्चा खोल्यो भने र खोल्नु पनि पर्छ । त्यो बेला जजसका हातमा जेजे हतियारहरू छन्, बोकेर लामबद्ध हुनुपर्छ । समयले यसै भन्छ । धन्यवाद ।
जेठ १७, २०७१

भिडियो फिचरview all