menu

ताजा समाचार

पार्टी एकता र नेतृत्व कौशल

दसबर्से महान् जनयुद्धको गरिमामय इतिहासले आर्जित गरेका मूल्य र विरासतलाई नेतृत्वको टुप्पोमा बसेकाहरूले एकपछि अर्को गरेर समाप्त पारे । जो-जो नव-प्रतिक्रियावादी अभ्यासमा लागे र लाग्ने प्रक्रियामा लामबद्ध छन्,  तिनका बारेमा थप टिप्पणी गर्नु आवश्यक छैन–‘महापतन’ को शृङ्खला निरन्तरतामा छ ।  हिजोका दिनमा टुप्पोमा बसेका र संसद्वादी राजनीतिप्रति विमति जनाउँदै आएकाहरूले क्रान्तिकारिताको कुरा गरे पनि उनीहरूको व्यावहारिक अभ्यासचाहिँ त्यसअनुरूप हुन सकेको छैन । हिजो जनयुद्धसित गाँसिएका र अझैँ क्रान्तिकारी स्पिरिट बाँकी रहेका शक्ति र व्यक्तिहरू एक जुट हुनुपर्ने अहिलेको आवश्यकता थियो र हो । अहिलेको आवश्यकता क्रान्तिकारी केन्द्र निर्माणको हो तर, स्थिति उल्टो किसिमको छ । अगुवाहरूबाट यो भूमिका पूरा हुन नसकेको यथार्थ अहिलेको सत्य हो । 

पार्टीसङ्गठन नै अस्तव्यस्त र भद्रगोलको स्थितिमा छ भने यसको प्रतिविम्बन जनवर्गीय सङ्गठन र मोर्चाहरूमा पर्नु स्वाभाविक छ । सरसरती हेर्दा यो सङ्गठन-परिचालन र कार्यशैलीको समस्याजस्तो लागे पनि सारमा यो विचारको समस्या हो । उदाहरणका रूपमा ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को सन्दर्भलाई लिन सकिन्छ । ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ महान् जनयुद्धसित गाँसिएको सांस्कृतिक मोर्चा हो । १६० भन्दा बढी सांस्कृतिक कर्मीहरूको रगतले सिञ्चित यो मोर्चा त्याग, बलिदान, समर्पण र क्रान्तिकारी आदर्शसित गाँसिएको छ । तर, यसको तेस्रो राष्ट्रिय सम्मेलन ( २०६३) पछिको इतिहास त्यति सुखद र आशलाग्दो हुन सकेन । अहिले यो संस्था सही दिशा र सक्षम नेतृत्वको अभावमा तीव्र रूपमा विघटनको स्थितिमा छ ।
 
‘शान्ति-प्रक्रिया’पछि राजनीतिक क्षेत्रमा लागेका केही टाउके र लाउकेहरूले महान् जनयुद्धको गरिमामय इतिहासलाई बदनाम र विध्वंश पारेझैँ ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलनपछि तिनै टाउके र लाउकेहरूका आसेपासे हनुमानहरू,  खाओवादी–भ्रष्ट तत्त्वहरू र हुल्लडबाजहरू (यसमा एकाध इमानदारहरू पनि रहे होलान् ) को हालीमुहाली चल्यो । यसले विस्तारै वैचारिक स्खलन, साङ्गठनिक विसर्जन र विघटनको बाटो समात्यो र, अहिले ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’(यसलाई आजभोलि महासङ्घ भन्छन् क्यार ) अस्तित्व-सङ्कटको स्थितिमा छ । सांस्कृतिक मोर्चाले जनयुद्धकालमा आर्जन गरेको गरिमामय इतिहासलाई यिनीहरूले सिध्याए नै, अब यिनीहरू निर्देशित किसिमले क्रान्तिको झण्डा उचालेर बौद्धिक- सांस्कृतिक क्षेत्रमा क्रियाशील योद्धाहरूका विरुद्ध असिनपसिन भएर  लागेका छन् । यिनीहरूका लागि हिजोको क्रान्तिकारी विरासतको अर्थ छैन । अब यिनीहरूसित क्रान्तिकारी ऊर्जा, क्षमता र ईच्छाशक्ति  छैन र पत्यार गर्ने आधार पनि छैन । अब यिनीहरू पूर्ण रूपमा उपभोक्तावादमा फसेका छन् । वैचारिक स्खलनको अन्तिम बिन्दुमा पुगेकाहरूले रेबिज लागेको कुकुरकाझैँ व्यवहार देखाउनु अनौठो कुरा होइन । वैचारिक र नैतिक स्खलनको अन्तिम बिन्दुमा पुगेपछि बाँकी रहने कुरा भनेको यही मात्रै हो । 

‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’को तेस्रो राष्ट्रिय सम्मेलनपछिको केही समय प्रचण्ड सांस्कृतिक मोर्चाको फ्र्याक्सन इन्चार्ज थिए । त्यसपछि किरण, निनु, र विभाजनपछि नारायण शर्मा फ्र्याक्सन इन्चार्ज भए । नारायण शर्मा बादलका साथ पलायन भएपछि मोहन वैद्य ‘किरण’ फेरि सांस्कृतिक मोर्चाको फ्र्याक्सन इन्चार्ज   हुनुभयो । यता विप्लवहरू निर्देशित योजनाका साथ ओरालो यात्रामा कुदेपछि दुई चिराबाट  ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ तीन चिरामा विभाजित भयो र पछिल्लो समयमा चार चिरामा पुगेको छ । यो दुःखद स्थिति हो ।

   
विप्लव समूहसित सम्बद्ध सांस्कृतिक मोर्चाले माइला लामाको अगुवाइमा पाँचौँ राष्ट्रिय सम्मेलन गर्यो । यद्यपि यसले गरेको सेवा भनेको विप्लवले अघि सारेको मार्क्सवाद विरोधी राजनीति ‘एकीकृत जनक्रान्ति’को पक्षमा थियो र हो । यसका पनि समस्या छन् । भौतिक क्रियाशीलता मात्र पुग्दो छैन, मूल कुरा विचार हो र यसले यताका दिनमा कस्तो किसिमको राजनीतिलाई सहयोग गर्यो  र पुर्यायो  भन्ने कुराले धेरै अर्थ राख्दछ । सही विचारमा आधारित क्रियाशीलता र ‘जुझारुपन’ ले मात्र सार्थक परिणाम दिन सक्छ । फलस्वरूप यसले  पनि भ्रम मात्रै उत्पन्न गरायो । यससित सम्बद्ध कतिपय सांस्कृतिक कर्मीहरू अहिले ‘पार्टीएकता’ मा मिसिएका छन् र ‘मोर्चाएकता’ को तयारीमा छन् । तर, उनीहरूको विगतको काम र भूमिका र सकारात्मक-नकारात्मक पक्षको समीक्षा गरिनुपर्छ  ।  उनीहरूले पनि यो कालखण्डको समीक्षा र आत्मालोचना गरेको पाइएको छैन, यी सबै विसङ्गतिबाट आफूहरू अलग रहेको, एकदमै शुद्ध  र क्रान्तिकारी  रहेको भनेर कसैले पनि दाबी गर्ने ठाउँ छैन । विप्लवका विसङ्गतिपूर्ण चिन्तनप्रवृत्ति र गलत राजनीतिक गतिविधिको भागीदार हुनबाट विप्लवबाट विद्रोह गरेको समूहसित सम्बद्ध सांस्कृतिक मोर्चा पृथक रहने स्थिति हुँदैन । विप्लवको गलत चिन्तनप्रवृत्ति र व्यवहारविरुद्ध धर्मेन्द्र बास्तोला ‘कञ्चन’को नेतृत्वमा भएको विद्रोहको सराहना गर्न सकिए पनि करिब दश वर्षको समय समीक्षाविहीन हुन सक्तैन । 

मोहन वैद्यको नेतृत्वमा रहेको पार्टीसम्बद्ध सांस्कृतिक मोर्चाले दश वर्षमा राष्ट्रिय सम्मेलन त के ६/६ महिनाजस्तोमा संयोजक फेरेर अस्तित्व–सङ्कट दर्शाउनेसिबाय केही गर्न सकेन । यो त झन् उपभोक्तावादमा फस्यो । चाँजोपाँजो मिलाएर ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ को बजेट व्यवस्थापन गर्ने मोर्चाभन्दा अरू केही हुन सकेन–यो मोर्चा । वैचारिक दृष्टिले स्खलन र सङ्गठनात्मक दृष्टिले विसर्जन यसको विशेषता रह्यो र हो । सांस्कृतिक मोर्चा र ‘इच्छुक प्रतिष्ठान’ मा हिजो ईश्वरचन्द्र ज्ञवाली अध्यक्ष हुँदा भ्रष्टाचारका कुरा गम्भीरताका साथ उठे–रिसोर्टमा रमाइलो गरेका सत्यतथ्यहरू पनि सतहमा आए । ती गम्भीरताका साथ  उठाउनुपर्ने खालका सन्दर्भहरू थिए र उठाइए पनि । तर, किरण र बादललाई यो यथार्थ पचेन । आफूहरूमाथि नै प्रश्न उठाएझैँ गरी आर्थिक अनियमितताको प्रश्न उठाउनेमाथि नै किरण र बादलले डन्डा लगाएर पार्टीमा बस्न नसक्ने खालको स्थिति उत्पन्न गरे, यो पनि समीक्षाको विषय हो  । अहिले पनि ‘इच्छुक प्रतिष्ठान’ का गतिविधिहरू र हरहिसाबको प्रश्न गम्भीर किसिमले  टिप्पणीको विषय बन्ने गरेको छ । “यही ताल हो भने ३/४ वर्षभित्र ‘इच्छुक प्रतिष्ठान’ ‘पेरिस डाँडा’ को हातमा पुग्ने छ, र यसको  तारतम्य पनि मिलाउन थालिसकिएको छ” भनेर ‘नयाँ पाटी’का पूर्व किरण समूहकै मझौला नेताहरूले टिप्पणी गर्न थालेका छन् । 

गरिमामय संस्था‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ किन यस्तो स्थितिमा पुग्यो त ?  ‘शान्ति–प्रक्रिया’ पछि फ्र्याक्सन इन्चार्जका रूपमा प्रचण्ड, किरण, निनु, नारायण शर्मा र फेरि किरणसम्म आइपुग्दा किन यो विसर्जको स्थितिमा पुग्यो ? यस   किसिमको स्थितिले  गम्भीर किसिमले सोच्न बाध्य पार्दछ । र, प्रश्न सोझै पार्टी प्रमुख र फ्र्याक्सन इन्चार्जमा गएर ठोकिनु स्वाभाविक हुन्छ । यथार्थ कुरा के हो भने, ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलनपछि निरन्तर रूपमा गरिएको इतिहासको भ्रष्टीकरण, विचारको विभ्रमीकरण, संरचनागत र साङ्गठनिक अराजकता र अस्तव्यस्तता, आर्थिक अनुशासनहीनता र अक्षम नेतृत्वका कारण यसले ओरालो बाटो समात्यो । सबैभन्दा प्रमुख समस्या राजनीतिक कमान्डको रह्यो र आज यो विसर्जनको स्थितिमा पुगेको छ । परिस्थितिजन्य कारणहरू हुन सक्छन् तर, मूलतः पार्टीप्रमुख, फ्र्याक्सन इन्चार्ज र मोर्चा प्रमुखका  कारण ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ यस किसिमको स्थितिमा पुगेको हो । यस अवधिमा सबैभन्दा बढी समय फ्र्याक्सन   इन्चार्ज नेतृत्व मोहन वैद्य  ‘किरण ले गर्नुभएको यथार्थ पनि स्मरणीय छ । 

अहिले किरण र कञ्चनले नेतृत्व गरेका दुई समूहबीच  ‘एकता’ भएर  नयाँ 'पार्टी'  बनेको छ– वहाँहरूकै भनाइमा पनि यसले पार्टीको रूप लिन बाँकी नै छ । अर्थात्, अहिलेको स्थितिमा यसलाई पार्टी भने पनि ‘सहमति’ को मोर्चा हो यो, त्यसैले  यो अहिले संयुक्त मोर्चाको स्थितिमा छ । यसलाई दुवै थरीले स्वीकारेको स्थिति छ ।
  
प्रचण्डसित सम्बन्ध विच्छेदपछिको समग्र स्थितिको समीक्षा गर्नु आवश्यक थियो ।  निर्देशित किसिमले विप्लवहरू झ्यालबाट हामफालेर कुदेपछिको स्थिति र कञ्चनहरू एकतामा आउनुअघिको स्थितिको पनि समीक्षा आवश्यकता थियो । फुटेर जानेले पनि कि त फुट्नुको औचित्य साबित गर्न सक्नुपर्दथ्यो, कि त आत्मालोचना गर्नु पर्दथ्यो । सबै कुरा ‘एकताको बर्को’ ले छोपेर,  वैचारिक र राजनीतिक पक्ष प्रस्ट नपारी, सबैभन्दा महत्वपूर्ण पक्ष कार्यदिशा र सङ्घर्षको स्वरूप प्रस्ट नपारी एकताका नाममा जसरी सङ्गठनात्मक संरचना बनाइयो र ‘एकता भयो’ भनेर हल्ला गरियो,  ‘एकता’ दिगो बन्ने छाँट थिएन र पछिल्ला गतिविधिले यसलाई थप पुष्टि गरेका छन् । वैचारिक अस्पष्टतामा रुमलिएको, अस्तव्यस्त साङ्गठनिक तारतम्य र भावनात्मक एकताको समस्यामा जकडिएको सङ्गठनले गति दिने र लिने कुरा त्यति सहज छैन र हुँदैन । आवश्यकता आत्मालोचनाको छ–यो नै मार्क्सवादी स्पिरिट हो र विश्वासको आधार हो । ‘एकता’ गरेका दुवै समूहमा इतिहासको समीक्षा र  आत्मालोचनाको स्पिरिट देखिएन, अलिकति पनि देखिएन ।
 
यथार्थतः यो ‘एकता’ थिएन र होइन । विप्लव समूहबाट ‘विद्रोह’ गरेपछि बोक्न सक्ने क्षमताभन्दा बढीको पदीय भारी बोकाएर जम्मा पारिएकाहरूका लागि ‘आस्रय’ को आवश्यकता थियो र अर्कोलाई विसर्जनको बिन्दुमा पुग्न थालेको सङ्गठनात्मक स्थितिमा सङ्ख्या थपथाप गर्नु थियो । दुवै थरीलाई राहतको आवश्यकता थियो । अनि  ‘एकता’ केही समय थकाइमार्ने र अवसर हेरेर बाटो चयन गर्ने चौतारी बन्नु स्वाभाविक थियो । यस किसिमको स्थितिको प्रतिविम्बन जबस मोर्चाहरूमा पर्नु स्वाभाविक छ र हुन्छ । वैचारिक र व्यावहारिक सङ्घर्षका मोर्चाहरू सांस्कृतिक, मजदुर र किसान मोर्चाबीचको ‘एकता’ मा देखिएको समस्या र विद्यार्थी मोर्चामा देखिएको भद्रगोलको मूल कारण, ‘पार्टी एकता’ को वैचारिक धरातलको अस्पस्टता, नेतृत्वपङ्क्तिको संरचना र सङ्गठन परिचालनका समस्याहरू हुन् । विद्यार्थी मोर्चाको काठमाडौँ जिल्ला प्रकरणले ३ नम्बर प्रदेश मात्र होइन, पार्टीको  केन्द्रीय ‘कार्यालय’ नै असफल हुनुको परिचय दियो । पार्टीको   ३ नम्बर प्रदेशको सङ्गठनात्मक संरचना फेरबदल गर्नुपर्ने खालका टिप्पणीहरू सडक र चिया पसलका खुला विषय बनेका छन् । यस सन्दर्भमा मूल नेतृत्व पनि अछूत रहन सकेन । यस्तो स्थितिमा ‘पार्टी निर्णय’ का नाममा प्राविधिक किसिमले सांस्कृतिक मोर्चालगायतका मोर्चाहरूबीच ‘एकता’ भए पनि यसले दिगो स्वरूप लिन सक्ने अवस्था देखिँदैन र छैन ।  विद्यार्थी मोर्चामा देखिएको जटिलता यसको थालनी मात्र हो । ऐँजेरूलाई पोस्ने प्रवृत्ति हावी भएसम्म राजनीतिक होस् अथवा सांस्कृतिक, कुनै पनि क्षेत्र फस्टाउने स्थिति बन्दैन । 

सांस्कृतिक मोर्चाको मात्रै कुरा गर्दा अब लेखिने र लेख्नुपर्ने विषय, “‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलनदेखि वर्तमानसम्म” को विश्लेषणात्मक र संश्लेषणात्मक इतिहास हो  । पहिलो आवश्यकता विश्लेषण र संश्लेषण नै हो । ऋषिराज बरालले सत्ता र संस्कृति पुस्तकमा ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलनपछिको समग्र स्थिति र अन्तर्विरोधबारे लेखेका छन्, अब त्यहीँबाट अघि बढ्नुपर्छ । प्रचण्ड र किरण दुवैलाई यो पुस्तक मन परेन । यो पुस्तक मन नपराउनुको कारण यसमा उल्लेखित यथार्थको सामना गर्न सक्ने क्षमताको अभावले हो भन्ने कुरा प्रस्ट छ, यथार्थको सामना गर्नबाट दुवै भागेकै हुन् । प्रचण्डले त ओरालो बाटो रोजिसकेका थिए तर, किरणमा पनि यथार्थको सामना गर्ने क्रान्तिकारी स्पिरिट र सामर्थ्य देखिएन ।  भगौडाहरू र ‘पौष्यपुत्रहरू लाई अघि सारेर क्रान्तिकारीको चरित्र हत्या गराउनुको कारण यही नै हो । ‘निर्देशक’ को आड नपाई भुस्याहा कुकुरहरू त्यसरी भुक्तैनन् । जहाँ पुगे पनि पुगिन्छ भनेर दिशाहीन भएर घनघोर जङ्गलमा हिँडेजस्तो गरी हिँड्नाले न त राजनीतिक आन्दोलन अघि बढ्छ, न त सांस्कृतिक आन्दोलन नै । सानो कोटरीमा निर्भर र गतिशील नेतृत्व प्रदान गर्न सक्ने क्षमता नभएको अगुवाबाट केही हुन्छ भनेर कुरेर बस्नु भनेको आन्दोलन विसर्जनको अन्तिम दुखद् घडी पर्खिनु मात्र हो । 

राजनीतिक होस् अथवा सांस्कृतिक पक्ष, मोहन वैद्य ‘किरण’को वरिपरि बसेर के-कस्ता मान्छेहरू रमाइरहेका छन् र के-कस्ता मान्छेहरू वरिपरि राखेर चाँजोपाँचो मिलाउने गरिएको छ भन्ने कुराले धेरै अर्थ राख्दछ । बाहिरबाट हेर्दा किरण मार्क्सवादी र क्रान्तिकारी देखिनुहुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनसित सम्बद्ध वहाँको इतिहासप्रति श्रद्धा र सम्मान गरिनुपर्छ, यसमा विमति छैन तर, वर्तमानका सन्दर्भमा कमरेड किरण असफल हुनु भएकै हो । वहाँमा पार्टीभित्रको अन्तर्विरोध हल गर्ने र पार्टीसङ्गठन सञ्चालन गर्ने कामकुरामा सीमा, कमजोरी र समस्या रहेछन् भन्ने कुरा प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछिका एक दशकका घटना-सन्दर्भहरूले प्रस्ट पार्दछन् । कमरेड किरणमा अनुभववाद र प्रभाववाद र  क्षेत्रीयतावादले   गहिरो गरी जरा गाडेको देखिन्छ । प्रभाववादको दार्शनिक सारतत्त्व  मनोगतवाद हो र व्यवहारमा यो व्यक्तिवादका रूपमा प्रकट हुन्छ  । सांस्कृतिक मोर्चासित सम्बद्ध मान्छेहरूका गलत  प्रवृत्ति र क्रियाकलापलाई मलजल हाल्ने काम कमरेड किरणबाट नभएको भए, सांस्कृतिक मोर्चाको स्थिति यति बेहाल किसिमको हुने थिएन र ‘इच्छुक प्रतिष्ठान’पनि यति बदनाम हुने थिएन । ‘इच्छुक प्रतिष्ठान’ सित आर्थिक अनुशासन–प्रकरण र पुरस्कार प्रकरणसित थुप्रै घतलाग्दा सन्दर्भहरू जोडिएका छन्, अहिले त्यसतर्फ नजाऔँ । 
 
अयोग्य, अक्षम र टपरे प्रवृत्तिका ‘पौष्यपुत्रहरू, मार्क्सवाद अपुरो छ भनेर ' उत्तर-मार्क्सवाद’ को वकालत गर्न थालेका 'प्राडा' हरू र जनयुद्ध र बलिदानको इतिहाससित कुनै पनि सरोकार नभएका हिजोका दिनमा तमासे बनेका 'आगन्तुक – 'खाओवादी घ्याम्पाहरू’ लाई काखमा राखेर क्रान्तिकारीहरूका विरुद्ध जथाभावी लेख्न निर्देशित गर्नेहरू जतिसुकै टुप्पामा बसेका किन नहोऊन्, उनीहरू आलोचनाका भागीदार हुनु स्वाभाविक छ । मालिकको आडभरोसा नपाइ भुस्याहा कुकुरहरूले जथाभावी टोक्ने कुरा कसरी  सम्भव हुन्छ होला र ! असन्तुलित मानसिकतामा पुगेकाहरूलाई काखमा राखेर पुलपुल्याउनेहरू कसरी ‘पानीमाथिको ओभानो’ हुने स्थिति हुन्छ र ! मेरो नीति,'‘जसको जति ठूलो टाउको, त्यति नै ठूलो घन बजार्ने’ नीति  हो । श्रद्धा र सम्मानको पनि एउटा चरण हुने रहेछ–वर्तमान यथार्थले यो चरण समाप्त भयो भनिरहेको छ  ।

वर्तमानका चुनौतीहरूको सामना गर्दै काँडाघारी फाँडेर अघि बढ्नु आजको आवश्यकता हो । आफ्नै पार्टीभित्र कहाँ–के भइराखेको छ भन्ने कुरा थाहा नहुने र नपाउनेहरूबाट  कुशल र गतिशील नेतृत्व नहुनु स्वाभाविक छ । पार्टीनेतृत्त्व, आफ्ना नेता-कार्यकर्ताको क्षमता र योग्यताबाट आतंकित र भयभित हुने होइन, बरु, प्रोत्साहित गर्ने हो । वास्तवमा आफ्नै कार्यकर्ताको क्षमता र योग्यताको पहिचान गर्न र प्रोत्साहित गर्न नसक्ने  नेतृत्वबाट धेरै आशा  गर्ने ठाउँ हुँदैन । क्रान्तिकारीहरूलाई लखेट्ने र दसबर्से जनयुद्ध र माओवाद विरोधीलाई अँगालो हाल्ने र  सङ्गठन र आन्दोलन अस्तव्यस्त रहिरहोस्, मैले चाहिँ टाउकोमा बसेर सधैँ क्रान्तिकारीताको राग अलाप्ने अवसर पाइरहनुपर्छ भन्ने मानसिकता बोकेकाहरूबाट आँधी, हुँरी र चट्टानमा फसेको जहाज कसरी पार लाग्ला र ! अनुभववाद र सारसङग्रहवादी बाटो भनेको विसर्जनको बाटो हो । आत्मालोचनाको स्पिरिट त माथिबाटै, मूल नेतृत्व र नेतृत्वपक्तिबाटै हुनुपर्ने होइन र ! मार्क्सवादले यसै भन्छ । माओवादले यसरी अघि बढ भन्छ होइन र ! 

विसर्जनको स्थितिमा पुग्न थालेको माओवादी आन्दोलनलाई नयाँ गति र दिशा प्रदान गर्न सही विचारको केन्द्रीयतामा कसरी बढीभन्दा बढी क्रान्तिकारी शक्ति र व्यक्तिहरूलाई आन्दोलनमा गोलबद्ध गर्ने र एउटा क्रान्तिकारी र मिलिट्यान्ट पार्टीको निर्माण गर्ने भन्ने कुरामा गम्भीर चिन्ता र चिन्तनको आवश्यकता थियो । यसमा अहिले एकतामा मिसिएका दुवै थरी नेताहरूद्वारा जुन किसिमको गम्भीर चिन्ता र चिन्तनको प्रस्तुति हुनुपर्ने थियो, व्यवहारमा देखिएन । कञ्चन र सुदर्शन नेकपाबाट विद्रोह गर्दाका अगुवा मात्र रहेछन्,  नेता होइन रहेछन्, विचार र व्यवहार दुवै क्षेत्रमा वहाँहरू नेता हुन र बन्न अझै धेरै समय र सङ्घर्ष बाँकी  रहेछ । वहाँहरूलाई नेता मानेर हिँड्ने कुरा विचार र व्यवहार दुवै दृष्टिले जटिल र गारो छ । यो यताका दिनमा वहाँहरूको व्यवहारले प्रतिविम्बित गरेको यथार्थ हो । प्राविधिक नेता हुनु र विचार र व्यवहारले नेता हुनु फरक कुरा हुन् । आर्थिक उत्प्रेरणा र गुटगत अभ्यासमा रमाउने प्रवृत्ति र सिङ्गो आन्दोलनको नेतृत्व गर्ने चुनौती फरकफरक कुरा हुन् । सही नेताले गुटको चिन्ता गर्दैन , आन्दोलनको चिन्ता गर्छ   ।    र, यथार्थ कुरा के पनि हो भने विक्रमको २० को दशकदेखिको अनुभव सँगालेका र आन्दोलन र टुटफूटको लामो शृङ्खला पार गरेर आउनु भएका किरण र गौरवमा पनि आजको आन्दोलनलाई नयाँ गति र दिशा प्रदान गर्ने सन्दर्भमा गम्भीरताको अभाव देखियो । “गम्भीरताको अभाव” भन्नुभन्दा पनि चुनौतीको सामना गर्ने कामकुरामा वहाँहरूमा पनि सीमा र समस्या रहे भन्नुपर्छ । भन्नु आवश्यक नठाने पनि “हामीले यहाँसम्म ल्यार्यौ, अब हामी थाक्यौँ” भनेर वहाँहरूले व्यवहारमा देखाइसक्नुभयो भनेर बुझ्नु सही हुन्छ । 

समयले नयाँ उत्तराधिकारीको माग गरेको छ । कम्युनिस्ट आन्दोलनमा उत्तराधिकारीको प्रश्न गम्भीर प्रश्न हो । क्रान्तिका उत्तराधिकारीहरू वर्गसङ्घर्षका बीचबाट जन्मन्छन् भन्नुको अर्थ स्वःस्फूर्त रूपमा पैदा हुन्छन् भन्ने होइन, यो भनेको क्षमताको पहिचान गरेर पात्रहरूको भूमिकालाई विस्तारित गर्ने र अघि बढ्ने वातावरण बनाउनुपर्छ भनेको हो  । यो नेतृत्वपङ्क्ति, अझ मूल नेतृत्वको जिम्मेवारी हो । तपाईँ तारबार लगाएर अक्षम मान्छेको कोटरीमा रमाउनुहुन्छ र अरूका लागि ‘निषेध’ को राजनीति अँगाल्नुहुन्छ भने कसरी नयाँ र सबल नेतृत्वपङ्क्तिको निर्माण हुन्छ ! कम्युनिस्ट पार्टीमा मूल नेतृत्वको भूमिकाले अहम् महत्व राख्दछ । मूल नेतृत्व प्राविधिक निर्देशक मात्र होइन, अन्वेषक र अभिभावक पनि हो र हुनुपर्दछ । पार्टीनेतृत्व पूजाका लागि होइन, व्यवहारका लागि हो  ।

चार वर्षअघि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले क्रान्तिप्रति इमानदार भए पनि शारीरिक दृष्टिले असक्त बिरामी र जिम्मेवारी ठीक किसिमले बहन गर्न नसक्ने नेतृत्व तहमा रहेका ६५ वर्षदेखि माथिका कमरेडहरूले आफूले सक्ने जिम्मेवारी मात्रै लिने, सके लेखपढ र प्रशिक्षणको जिम्मेवारी लिने र पार्टीको संरक्षणमा रहने भनेर निर्णय गर्यो  । त्यसपछि  करिब ३ दशकभन्दा बढी पार्टीको मूल नेतृत्व समालेर पार्टीलाई नयाँ गति लिन र दिन सक्षम ६८ बर्से कमरेड गणपतिले पार्टीको नेतृत्वबाट पहिले आफूले बिदा मागेर आदर्श प्रस्तुत गर्नुभएको उदाहरण पनि छ हामीसित । 

नेतृत्वको कार्यकुशलता र बहुआयामिक क्षमताले धेरै अर्थ राख्दछ । दायाँबायाँ अघिपछि हेर्न नसक्ने,  आफ्नै नेताकार्यकर्ताको क्षमता बुझ्न नसक्ने दब्बु र निस्पृह  नेतृत्वले अहिलेको समयको चुनौतीको सामना गर्ने क्षमता राख्दैन । समयले गतिशील नेतृत्वको माग गरेको छ । नेपाली समाजको सापेक्षतामा क्रान्तिकारीहरूबीच एकताको आवश्यकता छ । परन्तु, पहिलो कुरा क्रान्तिकारिताको आधार र व्याख्या तयार पार्नुपर्ने हुन्छ । क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई अघि बढाउन ‘गँजेडी’ तालबाट मुक्त हुनैपर्छ र गराउनैपर्ने हुन्छ । अबका दिनमा ‘गँजेडी’ तालले न त राजनीतिक मोर्चा चल्छ, न त सांस्कृतिक मोर्चा नै । कम्युनिस्ट पार्टीको एकता दुई जना गँजेडीहरूबीच हुने सहमतिजस्तो हुँदैन र होइन । विचारको केन्द्रीयतामा यसले थुप्रै कुराको माग गर्दछ । नयाँ चरणका नयाँ चुनौतीहरूको सामना गर्ने बेला आयो । कुण्ठाग्रस्त मानसिकता बोकेर अनुभववाद र   प्रभाववादमा फसेको नेतृत्वबाट थप कुराको आशा नगरौँ-आवश्यकता क्रान्तिकारी पुनर्गठनको छ । 
०००
(नोट : यो वैचारिक आलेखले कतिपयमा छटपटी उत्पन्न होला, कतिपयको छाती भतभती पोल्न पनि सक्छ । तर, यो “तथ्यबाट सत्य पत्ता लगाउंने” अभियान हो । अब यो अभियान  शृङ्खलामा जान्छ । मोर्चा खोलेपछि पछि हट्ने कुरा भएन ।) 

भिडियो फिचरview all