ताजा समाचार
मिलन राईको टोलीलाई बधाइ र शुभकामना !
ऋषिराज बराल
‘एकता’ मा मिसिएका दुइटा पार्टी सम्बद्ध जन वर्गीय सङ्गठन र मोर्चाहरूको एकता प्रक्रियाका क्रममा भर्खरै विद्यार्थी मोर्चाको एकता भेला सम्पन्न भएर मिलन राईको नेतृत्वमा १३७ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको समाचार प्रकाशमा आएको छ । यस सन्दर्भमा यो टिप्पणीकार संयोजक मिलन राईसहित सिङ्गो टोलीलाई बधाइ तथा शुभकामना दिन चाहन्छ ।
एक समय विद्यार्थी आन्दोलनको खुबै चर्चा हुन्थ्यो । यो जनआन्दोलनको अग्र भागमा थियो । विद्यार्थीबीच पाचौँ र छैटौँको सन्दर्भलाई लिएर मारामार पनि चल्थ्यो र प्रशिक्षण पनि चलाउनु पर्थ्यो । म आफैँले पनि पूर्वमा प्रशिक्षण दिएको छु-पाचौँ र छैटौँको सन्दर्भ र माओवादको आवश्यकता र औचित्यका सन्दर्भमा । योद्धा र सङ्गीनका पुराना प्रतिहरू अब फेला पार्न गारो छ । भानु, भरत पोख्रेल, कृष्ण सेन, देव गुरुङ, हितमान, कृष्णध्वज, लेखनाथसम्मको एउटा सोलोडोलो इतिहास छ-म यी सबैसित जसो गाँसिएँ प्राध्यापक भूमिकाका तर्फबाट । समय जनयुद्धको थियो, कृष्णध्वजले आफ्नै महिला विद्यार्थी नेतामाथि आसक्ति देखाएपछि कारवाहीमा परे । देवेन्द्र चलेनन् । हितमानपछि सम्झिन लायक नाम लेखनाथजीको मात्रै रह्यो ।
एक समयमा शैक्षिक क्षेत्रमा गरिने आन्दोलन र अभियानमा प्राध्यापक र विद्यार्थीबीच सहकार्य र सहयोग हुन्थ्यो र एकअर्कालाई जान्ने अवसर पनि हुन्थ्यो । आन्दोलन पनि सशक्त हुन्थ्यो । हितमानपछि , अझ लेखनाथ पछि यो कडी टु्ट्यो । त्यसपछि त पार्टी धेरै, विद्यार्थी नेता पनि धेरै, चिन्न पनि गारो, बुझ्न पनि गारो । वास्तवमा त्यतिबेर विद्यार्थी, महिला, मजदुर, बौद्धिक-सांस्कृतिक मोर्चाहरू सबै जुझारू र बलिदानीभावले ओतप्रोत हुन्थे र थिए । युद्धको बेलामा पनि मोर्चाहरू सशक्त थिए-त्रिचन्द्रको विद्यार्थी सम्मेलन र रेखा शर्माको समयको महिला मोर्चा सम्झनलायक थिए । प्राध्यापकहरूको ठूलो सङ्ख्या महिला सम्मेलनको पूर्व तयारीको भेलाबाट पक्राउ परेको थियो-बराल लगायतकाहरू जेल पनि परे । ओहो अहिलेका त टुप्पाबाट पलाएका ? अहिलेका मोर्चाका नेताहरूले आफू सम्बद्ध मोर्चाहरूको इतिहास मात्रै पढे पनि हुन्थ्यो- कति ओजिलो छ विद्यार्थी आन्दोलनको इतिहास ! आन्दोलनलाई अहिले सेलिब्रेटी हुने अवसर बनाइएको छ । दर्शन, सिद्धान्त र इतिहास पढ्ने फुर्सत नै कहाँ हुन्छ र ! राजनीतिक र बौद्धिक-सांस्कृतिक क्षेत्रका त पढ्दैनन् -सब टपरटुइँया, विद्यार्थीको के कुरा !
अब त विद्यार्थी आन्दोलन भनेको क्याम्पस र बोर्डिङ स्कुलबाट पैसा उठाउने र आधी आफूलाई राख्ने आधी नजिकको नेतालाई खुसी पार्ने आन्दोलन भनेर व्यङ्ग्य गर्ने विषय बनेको छ । यस्तो बेलामा भर्खरै ‘एकता’ मा आएका दुई पार्टीका विद्यार्थी मोर्चाबीच एकता अधिवेशन भएको छ । नेता र नेतृत्व टोली चयन भएको छ । विद्याथी नेताहरूलाई भन्न चाहन्छु : माओ पनि छाङ्सा नर्मल स्कुलका पढ्दा विद्यार्थीको सचिव हुनुहुन्थ्यो ।
अरू विद्यार्थी सङ्गठनको त कुरै छाडौँ, क्रान्तिकारी भनिएका पार्टीका विद्यार्थी मोर्चाहरू पनि भद्रगोल स्थितिमा छन् । चुनौतीको घडी छ । विद्यार्थी मित्रहरू! तपाईँहरूको उमेर छ, समय छ, आफ्नो समय मार्क्सवाद-लेनिनवाद-माओवादको अध्ययन, नेपाली समाजको अध्ययन र आफैँ वरिपरिको समय र अन्तर्विरोधको अध्ययनमा लगाउनोस्, अध्ययनले नोक्सानी गर्दैन आत्मबल र मनोवल बढाउँछ । बाटो बिराएको बेला सचेत गराउँछ, खबरदारी गर्छ । चारैतिर फोहारमैलाले भरिएको छ, स्थिति सुन्दर छैन । मिलन राईको टिमलाई चुनौती पनि छ र अवसर पनि । ‘बहुमत’ बाट आउनेहरूसित पनि विरासतीय विसङ्गति होलान् , त्यति थाहा छैन तर, ‘यता’ को त कुरै नगरौँ, देखिने गरी र बुझिने गरी विकृति र विसङगतिको डङगुर छ । कमरेडहरू ! ध्वंश र निर्माणको चुनौती छ, शुद्धीकरण र क्रान्तिकारी रूपान्तरण बिना सम्भव छैन ।
खास गरेर नेतृत्व समाल्ने विद्यार्थी नेताहरूलाई भन्छु, संयोजक मात्र नेता होइन, १३७ जनाले आफूलाई जिम्मेवार ठान्नु पर्दछ, नेता ठान्नु पर्दछ । तपाईँहरू लेखनाथपछि टुटेको कडीलाई जोड्ने प्रयास गर्नुस् । बाहिरको भन्दा भित्रको लडाइँ झन् पेचिलो हुन्छ भन्ने कुरा मेरो अनुभव हो । एक्लै लडेको र लडिरहेको अनुभव मसित छ । हाम्रो आन्दोलनको समस्या के छ भने पार्टीका नेताहरू अगाडि आएर लडे त लड्न पनि मज्जा आउँथ्यो । तर तिनले केही सिखण्डीहरू विकसित गर्छन् र ' पौष्य पुत्र हरू ' निर्माण गर्छन् र तिनलाई छद्म किसिमले प्रयोग गर्छन्-आफ्ना प्रतिस्पर्धीहरूसित लड्न । यो मैले सांस्कृतिक मोर्चाका सन्दर्भमा अनुभूत गरेको यथार्थ हो । सति साल मात्र आँधी र हुरीका बीच एक्लै पनि उभिन सक्छ-यो मेरा अनुभव हो । म तपाईँहरूलाई भन्छु— व्यक्तिगत स्वार्थ र व्यक्तिवादी महत्वाकाङक्षाबाट माथि उठेर आफूलाई नयाँ मोर्चाको कमान्डरका रूपमा विकसित गर्ने प्रयास गर्नुस्- यात्रा निकै लामो छ । हाम्रो आन्दोलनलाई फेसबुके र यु ट्युबे प्रवृत्तिले खाइसकेको छ ।
पार्टी होस् अथवा मोर्चा , सङ्गठनलाई सेलिब्रेटी बनाउने र हाइ काढेर समय बिताउने मेसिन ठानेपछि हुने कुरा भनेको सिद्धिनु हो । यो रोग अहिले पार्टी र मोर्चा सबैतिर छ । यो विद्यार्थीको मात्र प्रश्न होइन, सिङ्गो आन्दोलनको प्रश्न हो । लडाइँ आफैँभित्रबाट, आफ्नै मोर्चाबाट आरम्भ नगरी काँढाघारी छिचोल्न गारो छ । हेर्नुस् त त्यो गरिमामय संस्था, बलिदानको उच्च आदर्श निर्माण गरेको मोर्चा-सांस्कृतिक मोर्चा आज कुन हालतमा छ ? 'अखिल नेपाल जनसांस्कृतिक सङ्घ' को तेस्रो राष्ट्रिय सम्मेलनबाट आरम्भ भएको वैचारिक र साङ्गठनिक स्खलनका कारण आज कहाँ छन् क्रान्तिकारी भनिएका पार्टीहरूका सांस्कृतिक मोर्चा, कहाँ छन् तिनका ‘सांस्कृतिक सेना’ भनेर खोज्नु पर्ने स्थिति छैन त ? कसले पुर्यायो सांस्कृतिक आन्दोलनलाई विसर्जनको यस्तो पीडादायी स्थितिमा ? प्रश्न मोर्चाको मात्र होइन, प्रश्न मोर्चालाई निर्देशित गर्ने राजनीतिक कमान्डरहरूसित पनि हो । समय र परिस्थितिलाई अगाडि सारेर कोही पनि उम्किने स्थिति छैन । अत्तर छर्केर दुर्गध हराउनेवाला छैन । समय इतिहासको गम्भीर समीक्षा र संश्लेषणको छ । अबको निसाना कमाण्डरहरूमाथि पनि हो ।
त्यसैले यो टिप्पणीकार एकतावाला पार्टीहरूको सांस्कृतिक मोर्चाको एकता अधिवेशनको समाचार सुन्नलाई बडो व्यग्रताका साथ र धैर्यताका साथ पर्खिरहेको छ । माओले सन् १९५६ को सेरोफेरोमा भन्नु भएको थियो : पश्चिमी हावालाई पूर्वी हावाले जितिसकेको छ । हेरौं हाम्रोमा कुन हावाले जित्छ –विश्वास छ ढिलो-चाँडो पूर्वी हावाले नै जित्छ । 'एकलव्य अब गुरुभेटीमा औंला चढाउंदैन, गुरुको कुटिल चाल बुझिसकेको छ । अब गुरुलाई नै मोर्चाको सामना गर्न आमन्त्रण गर्छ
०००
भिडियो फिचरview all