menu

ताजा समाचार

वर्गराजनीति, पहिचानवाद र ‘कोसी’ नामाङ्कन

जनमेल : टिप्पणी  
सङ्घीयता, प्रदेश, नामाङ्कन र सीमाङ्कनका सन्दर्भहरू नेपाली राजनीतिक र सामाजिक क्षेत्रमा यताका वर्षहरूमा विशेष चर्चाका विषय बनेका सन्दर्भहरू हुन् । पछिल्लो समयमा ‘एक नम्बर प्रदेश’ लाई ‘कोसी प्रदेश’ नामाङ्कन गरिएपछि यो सन्दर्भ अहिले निकै चर्चाको विषय बनेको छ । यससित जोडिएर ‘पहिचानवादीहरू’ ले गरेको आन्दोलनमा एक जनाको मृत्यु पनि भइसकेको छ । यहाँ छोटोमा बुँदागत रूपमा यस सन्दर्भप्रति धारणा गरिएको छ । 

१. हरेक जातजाति, लिङ्ग र क्षेत्रको पहिचान आवश्यक छ, यो उसको अस्तित्वबोध र अपनत्वबोधको प्रश्न हो । तर  अस्तित्वबोधको प्रश्न एउटा कुरा हो भने जातजाति, क्षेत्र र लिङ्गसित सम्बन्धित ‘पहिचानवादी राजनीति’ (identity politics) अलग प्रश्न हो,  पहिचानवादले अतिवादमा फसाउँछ । मार्क्सवादमा विश्वास गर्नेहरू झन् यसप्रति सचेत हुनुपर्छ । ‘पहिचानवाद’ को अतिवादी राजनीतिले साम्राज्यवाद र त्यसका दलालहरूका लागि खेल्ने ठाउँ सहज किसिमले उपलब्ध गराउँछ र खेल्ने ठाउँ दिइरहेको छ । 

२. ‘जनमेल’ नेपालको विशिष्ट भू-राजनीतिक  स्थिति, खास गरेर  साम्राज्यवादी र विस्तारवादी शक्तिहरूहरूले विशेष चासो राखेर आफ्नो भूमिका विस्तार गरिरहेको स्थिति नेपाली समाजले   भोगिरहेको  अवस्था भएकाले नेपालका लागि लागि सङ्घीयता आवश्यक छैन भन्ने धारणा राख्छ । साथै  लेनिनले त्यस बेलाको विशिष्ट अवस्थामा अघि सार्नु भएको कार्यनीतिक कार्य योजनालाई रणनीतिक मान्यताका आधारमा व्याख्या गरेर ‘आत्मनिर्णयको अधिकार” को गलत र भ्रमपूर्ण व्याख्या गर्ने प्रवृत्ति पनि एकदमै खतरनाक छ भन्ने ठान्दछ  । नेपाली समाजको विशिष्ट सन्दर्भ र भू-राजनीतिक पक्ष तथा समाजशास्त्रीय कोणबाट विश्लेषण गरेर निष्कर्ष निकाल्दा यहाँ ‘स्थानीय स्वायत्तता’ र  ‘स्थानीय स्वशासन’ लाई वैज्ञानिक किसिमले लागू गर्नु सही हुन्छ । 
 
३. अहिले पूर्वी नेपाल 'प्रदेश १' को नामाङ्कन 'कोसी' प्रदेशलाई लिएर आन्दोलन चर्केको र यस क्रममा एक जनाको मृत्यु भएको सन्दर्भ चर्चामा छ । सङ्घीयताप्रति विमति रहे पनि नामको सन्दर्भमा चर्चा गर्नु पर्दा हाम्रो सबैभन्दा गहकिलो पहिचान विश्वलाई चिनाउने नाम सगरमाथा नै हो र कोसी पनि हो । ‘कोशी’ इतिहास पनि हो र पुराकथा अर्थात् मिथकसित जोडिएको र सबैले जानेको, चिनेको र बुझेको नाम हो ।यसको आयाम व्यापक छ ।  कोसीले  १ देखि ३ प्रदेशसम्मको  भूगोल र जनसम्बन्धलाई समेट्छ । 'कोसी' कि ‘कोशी’ को सन्दर्भमा आजभोलि भाषिक सरलताका लागि कोसी लेख्ने गरिएको छ र हाम्रो जिब्रोले पनि ‘कोसी’ नै उच्चारण गर्छ । ‘कोसी’ लेख्दा केही फरक पर्दैन । र जहाँसम्म नामाङ्कनलाई लिएर  गरिएको अहिलेको आन्दोलनको कुरा छ, आन्दोलन तर्कपूर्ण, सबैको पहिचानलाई समेट्न सक्षम ऐतिहासिक विश्लेषणको निष्कर्षमा आधारित नभएर आवेगको उपज मात्र हो भन्ने ‘जनमेल’ को ठहर छ । 

४.जातीय मोर्चाहरूले आन्दोलनको  ऐक्यबद्धताका वक्तव्य प्रकाशित गर्नु त्यति विवादको विषय नबन्ला, तर क्रान्तिकारी भनिएका पार्टीहरू तँछाडमँछाड गर्दै वक्तव्य प्रकाशित गर्न हतारिन्छन्  भने यहाँ प्रश्न उठ्नु स्वाभाविक हुन्छ । त्यसै पनि 'मार्क्सवादको अन्त्य' र 'वर्गराजनीति असान्दर्भिक' भनेर साम्राज्यवाद र तिनका दलालहरूले मार्क्सवाद र साम्यवादी आन्दोलनका  विरुद्ध जातीय, क्षेत्रीय र लैङ्गिक पहिचानको नारा दिएर  वैचारिक र आवेगात्मक अभियान चलाएका छन् । महिला प्रधानमन्त्री भएर अथवा प्रान्त र प्रदेशको नाम जातीय आधारमा राखेर उत्पीडित जातजाति / लिङ्ग ले समानता पाउने रहेनछन् भन्ने कुरा हामीले हाम्रै  छरछिमेकबाट थाहा पाइसकेका छौँ । प्रमुख प्रश्न आर्थिक-राजनीतिक प्रश्न हो । उत्पीडनको मूल कारण के हो भनेर सार पक्षप्रति उदासीन रहने र रूपको पछि कुद्ने प्रवृत्तिले उत्पीडितहरूलाई विभाजित गरेर, टुक्रयाएर आन्दोलनलाई कमजोर पार्छ, समस्यालाई यथावत राख्छ र अन्ततः उत्पीडकहरूको स्वार्थलाई नै सहयोग पुर्याउँछ ।

५. नेपालमा पनि वर्ग राजनीतिलाई कमजोर पार्न अनेक किसिमका हतियारहरू प्रयोग भइरहेका छन् । उत्पीडित वर्ग, जात, क्षेत्र र लैङ्गिक समानताका लागि लडिने र लडिँदै आएको मूल राजनीति कमजोर हुनुका पछाडि यस्तै प्रवृत्तिहरूले काम गरेका छन् । यहाँ उत्पादन सम्बन्ध र उत्पादन शक्तिहरूबीचको अन्तर्विरोध हल गरेर समानताका लागि लडिने लडाइँ प्रमुख कि उत्पीडित समुदायका उत्पीडनको मूल कारण यथावत राखेर नामको पछाडि मात्रै  ‘पहिचान’ खोज्नु प्रधान हो ? भन्ने प्रश्न उभिनु स्वाभाविक छ । उत्पीडनको प्रमुख कारण के हो र कुन कुराको अडान लिने भन्ने प्रश्नले अहम् महत्व राख्दछ । सही किसिमले स्थिति र घटनासन्दर्भ र विश्लेषण नगरी क्रान्तिकारी भनिएका नेताहरूसमेत भावनात्मक आवेगको पछि कुद्छन भने “पाका नेताहरूको आलोकाँचो चिन्तनप्रवृत्ति’  भन्नु  अन्यथा हुँदैन । ‘मधेसवाद’ को वकालत गर्ने महन्थ ठाकुर र राजेन्द्र महतोहरूले “चुरे दक्षिण नेपाल नरहन पनि सक्छ ” भन्दै आफ्ना पार्टी घोषणामा ‘आत्मनिर्णयको अधिकार” को गलत मनसायका साथ उल्लेख गरेको यथार्थ पनि हाम्रा सामु छ । वर्गीय मुक्तिसँगै सबै उत्पीडित समुदायको मुक्तिको कुरा गर्नेले यस्ता संवेदनशील र गम्भीर मुद्दाप्रति ध्यान दिनु जरुरी छ ।घटना-सन्दर्भको भित्री तहसम्म नपुगी   वक्तव्यबाजीको लोकप्रियताबाट जिम्मेवार नेताहरू बच्नु आवश्यक छ । 

६.  माथि सही र वैज्ञानिक कुरा उठाइएको छ । यसलाई कसैले ‘बाहुनवादी’ हेराइ भन्ला । अनि कसैले ‘महेन्द्रवादी’ हेराइ पनि भन्ला । यस्ता कुरा जातिवादी-पहिचानवादीहरूले भन्दै आएका कुरा हुन्, नयाँ होइनन् । आफूलाई मार्क्सवादी भन्नेले पनि यसो भन्छ भने उसले मार्क्सवादको आवरणमा साम्राज्यवादी स्वार्थलाई सेवा पुर्याइरहेको रहेछ भन्नुपर्ने हुन्छ । खास कुरा के हो भने  सबै उत्पीडित वर्ग जातजाति, लिङ्ग र क्षेत्रको मुक्तिका लागि वर्गसङ्घर्षका विविध र उच्च रूपहरूलाई क्रियात्मक रूपमा लैजानु नै अहिलेको  आवश्यकता हो । सबै उत्पीडित  वर्ग र समुदायको मुक्तिका  लागि वर्गसंघर्ष कि 'पहिचानवादी'  वितन्डा अबको कित्ता यसरी छुट्टिनु आयश्यक छ । मार्क्सवादले भन्ने कुरा यही हो । 




०००

भिडियो फिचरview all