menu

ताजा समाचार

फुट, विसर्जनको छटपटी र आत्मसमीक्षा

२०४० मा चौथो महाधिवेशनमा फुट आउँदा ‘जनमेल’ भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा आयोजित ' एकता समाज' अन्तर्गत   अभानेवि संघको कार्यक्रममा सहभागी भएको  थियो । ‘ सामाज विकासमा साहित्यकलाको भूमिका’ सम्बन्धी विचारगोष्ठिमा नेपालका तर्फबाट जाने पारिजात दिदी, शक्ति लम्साल ऋषिराज बराल लगायतका हुनुहुन्थ्यो । महेश मास्केजी हर्ताकर्ता हुनुहुन्थ्यो ।  विश्वनाथ साह, गिरिराजमणी सबै विराटनगरबाट दिल्ली गएका थियोँ । कमरेड किरणसित  चैतन्यका रूपमा पहिलो भेट र चिनजान त्यहीँ भएको थियो । लामा समूह र अरूबीच वैचारिक सङ्घर्ष चर्किएको थियो । फुट र विभाजनका कुरा थिए । 

केही दिनपछि फुटका  कुरा आए । को कता भन्ने आयो । अहिले बहुमतका सल्लाहकार नेता चित्रबहादुर आले  लामाजीका कट्टर प्रवक्ता, सिराहा टिम, गिरिराजहरू लामा समूहमा थिए । भरत  पोख्रेल , रमेश शर्मा ऋषिराज बरालहरू मशाल पक्षधर   थिए । २०४१-४२ मशालमा पनि विभाजन भएर कमरेड किरणको नेतृत्वको मशाल र मोहनविक्रमको मसाल बन्यो  । २०४६ पछि फेरिएको परिस्थितिमा नयाँ किसिमले जाने भनेर लामा समूहसित एकता भयो । तर लामा समूहको संसदीय पलायनताका कारण अघि बढ्न नसकेपछि क्रान्तिकारीहरू नेकपा (माओवादी) का साथ जनयुद्धको दिशामा अघि बढे । पछि ‘शान्तिप्रक्रिया’ मा आएपछि आफूहरू अल्मतमा परेको स्थिति भएपछि प्रचण्ड-बाबुरामले नारायणकाजी समूहलाई भित्र्याए , पार्टी संसदीय भासमा पर्न थालेको बोध भएपछि  क्रान्तिकारीहरूले विचारसमूह निर्माण गरे र कमरेड किरणको नेतृत्वमा विद्रोहका साथ  अघि बढे । 

पार्टीले नयाँ गति लिन पाएको छैन नेत्रविक्रम चन्द ‘विप्लव’ को    वितन्डा सुरु भयो । पार्टीको सातौँ   महाधिवेशनमा खुलेरै आयो ।  पहिले उनी 'सत्ता साझेदारी' को नाराका साथ आए,   सुरुमै सत्तामुखी चरम  आसक्ति,  नेतृत्त्वको तीव्र  भोक, व्यक्तिवादी   अति महत्त्वाकांक्षा, निम्नपुँजीजवादी अधैर्यले उनलाई चारैतिर कुदायो –ठाउंकुठाउँ  ढोका चाहार्न पुगे ।    देशी-विदेशी प्रतिक्रियावादी शक्तिको उक्साहट र  माओवादी आन्दोलन सिध्याउने निर्देशित योजनाबद्धताको गोटी बनेर नेत्रविक्रम चन्दा ‘विप्लव’ एउटा झुन्ड लिएर पलाएन भए । पछिल्लो चोटी उनी ओलीको शरणमा पुगे ।  आज उनको   स्थिति के छ सबैलाई थाहा छ । त्यसपछि बादल समूह पनि पलायन भएर संसदीय राजनीतिको टुकुचामा प्रवाहित हुन पुग्यो । यो त झन् बेकामे साबित भयो। 

 एकै ठाउँमा हुँदा महान् कमरेड, क्रान्तिकारी कमरेड  र विभाजन हुनेवित्तिकै गद्दार, दलाल, साम्राज्यवादको एजेन्ट आदिआदि भन्ने नेपालको कम्युनिस्ट आन्दोलनको रोग नै भयो । सारत:  यो वैचारिक समस्याको उपज  हो ।  २०४० सालदेखि अहिलेसम्मको फुट र विभाजनको इतिहास हेर्दा पहिले   बढी वैचारिक मतभेत  र केही  घोचपेच  हुने गरेको भए पनि अहिले विप्लवको नेतृत्वमा रहेको समूह फुटेर  नेकपा (बहुमत)  का नाममा अर्को पार्टी अस्तित्वमा आएपछि जे-जस्तो छरपस्ट स्थिति, भाँडभैलो  र चरित्र  हत्याको   वातावरण देखियो, यो दुनियाँ हँसाउने, लाजमर्दो स्थिति बन्यो/बनिरहेको छ  । मार्क्सवादी भाषा- शैली र विधि र प्रक्रियाको   त कुरै नगरौं , सामान्य बुझाइमा पनि समस्या देखियो । तर त्यतिबेर कमरेड किरणको नेतृत्त्वमा रहेको  नेकपा - माओवादीबाट  बहस-छलफलबिना त्यसरी हतारिएर बहिरिनु नै गलत थियो भनेर चाहिं दुवै थरीले (विप्लव-कन्चन ) ले    कतै बोलेको/  लेखेको  पाइएको छैन र  कार्यकर्ता पनि भेडाझैं  हिजो पनि ठीक, आज पनि ठीक भनेर कुदेका छन् । आधारभूत   विचार मिल्नेहरूबीच  एकता हुनुपर्छ भन्ने कुराप्रति 'जनमेल'  को समर्थन र सहयोग छ/हुन्छ  । तर,पार्टीहरूबीच  संगठनात्मक व्यवस्थापन कम समस्यामूलक छैन, भन्ने 'जनमेल' को ठहर छ   ।  पार्टीफुट र एकता   केही अयोग्य, अक्षम र विवादास्पद मान्छेहरू नेता बन्ने  घरेलु उद्योग  बन्ने गरेको इतिहासको   पुनरावृत्ति हुनेगरेको छ /भैरहेको छ ।

 विप्लव समूहले दस्ताबेजमा कुरा उठाएपछि अर्को समूहले वैचारिक प्रतिवाद गर्नु स्वाभाविक हुन्छ । तर खण्डनको प्रतिखण्डनमा विप्लव समूहका  सल्लाहाकार नेता र   माथिल्लो  समितिका नेता भनेर चिनिनेहरूबाट जे-जस्तो भाषा, शैली र काला अक्षरहरूको  थुप्रो देखिएको छ , यो विप्लव समूह र नेकपा (बहुमत) बीचको सन्दर्भ मात्र होइन, सिंगो  माओवादी आन्दोलनसित गाँसिएको सन्दर्भ हो- मार्क्सवादीहरूले कस्तो   संस्कृति अंगाल्ने भन्ने  प्रश्न   पनि हो  ।
 
हामी आफूलाई उन्नत संस्कृतिको सम्बाहक भन्छौं , तर ओहो काहाँ पुगेछ हाम्रो आन्दोलन !!!  खासमा  सबैले गम्भीरताका साथ वैचारिक प्रश्न उठाएर आत्मालोचनासहित आउनु आवश्यक थियो । यस किसिमको प्रस्तुतिबाट कार्यकर्ता, शुभचिन्तक र आम समर्थकले कस्तो धारणा बनाउने होला ? सल्लाहकारको काम त अझ भत्केको र बिग्रेको ठाउँ बनाउने र मिलाउने हो । कठै ! सल्लाहकारको स्थिति भन्नुपर्ने अवस्था छ । 
  
नेपालको माओवादी आन्दोलन सिध्याउन साम्राज्यवादी र विस्तारवादी शक्तिहरू र घरेलु नयाँ-पुराना प्रतिक्रियावादीहरू लागेकै छन् ।यहाँ त माओवादी आवरणमा  अन्तरध्वंशको  थालनी पो भयो  ।  आवश्यकता वैचारिक प्रश्नलाई केन्द्रमा राखेर संयमित र गम्भीर समीक्षाका साथ अघि बढ्नुमा थियो ।खास गरेर   विप्लव समूहमा देखिएको  बेचेनी र छटपटाहट विसर्जनको स्थितिमा पुग्न लाग्दा देखिएको छटपटी हो र यसको वैचारिक विश्लेषण र संश्लेषण गर्नु आवश्यक छ । यता  एकताको प्रक्रिया अघि बढ्दै जाँदा यो छटपटी अझ तीव्र बनेको छ  ।  स्थितिको गम्भीरतालाई आत्मसात गर्ने समस्या नेकपा(बहुमत) मा पनि छ ।  यसले  पनि आफू उभिएको धरातललाई आत्मसात  गर्नु आवश्यक छ  ।  एकताको प्रक्रिया भनेको जोडजाडको विधि नभएर इतिहासको समीक्षा र  वैचारिक संश्लेषण हो  । एकता थकाइ मार्ने चौतारी होइन र बन्नु हुँदैन । 

केपी ओलीसित चोचोमोचो मिल्नु, जनमत संग्रहबाट वैज्ञानिक समाजवाद ल्याउने कुरामा विप्लव-कंचनहरूको कुरा मिल्नु र फेरि चुनावमा भाग लिने  कुरालाई लिएर पार्टी विभाजित हुनु अचम्मको कुरा छ ।  विप्लव समूह वैचारिक र आर्थिक भ्रष्टतामा  चुर्लुम्म डुबेको  देखियो, तर    बहुमतका नेताहरूप्रति लागेको आर्थिक अनियमितताप्रतिको  आरोपको चित्तबुझ्दो उत्तर कंचन कमरेडहरूको वृत्तबाट   आएको स्थिति चाहिं  होइन  । यस अर्थमा  अहिलेको आवश्यकता समीक्षा , आत्मसमीक्षा र फेरि पनि  समीक्षा हो  ।   यसले मात्रै  संश्लेषणतर्फ लैजान्छ  ।  यो नै मालेमावादले देखाएको बाटो हो  ।



भिडियो फिचरview all