ताजा समाचार
सांस्कृतिक मोर्चा: क्रान्तिकारी विकल्प
दसबर्से महान् जनयुद्धमा फासिवादी सत्ताले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सम्बद्ध सांस्कृतिक मोर्चा 'अखिल नेपाल जनसांस्कृतिक संघ' का अध्यक्ष कृष्ण सेन 'इच्छुक' को हत्या गर्यो । यो निकै ठूलो क्षति थियो । त्यसपछि उपाध्यक्ष ढकालले कायरता र पलायनताको बाटो रोजे । र पनि क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई जीवन्त, गतिशील र उच्चताका साथ अघि बढाउने सशक्त टिम हामीसित थियो । तर, 'शान्ति-प्रक्रिया' पछि , 'अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलनपछि यसले लिएका वैचारिक, साङ्गठनिक र नीतिगत विसङ्गतिका कारण 'अखिल नेपाल जनसांस्कृतिक सङ्घ' (हाल महासङ्घ) छ/छैनको अवस्थामा छ । नमिलेका केही पक्ष पहिले पनि थिए, तर ठोस रूपमा वैचारिक विचलन, मार्क्सवादी सौन्दर्य मूल्यहरूको निषेध, सांगठनिक भद्रगोल, इतिहासको भ्रष्टीकरण र उपभोक्तावादी प्रवित्तिको थालनी यसपछि नै भएको हो ।
तेस्रो राष्ट्रिय सम्मेलनपछि प्रचण्ड, किरण, निनु, आहुति, नारायण शर्मा यसका फ्र्याक्सन इन्चार्ज भए । त्यसपछि पार्टीका झैं संस्कृतिक मोर्चामा पनि थुप्रै टुक्राटुक्री भए र नामगाम थाहा नभएकाहरू नेता-अभिनेताहरू ठालु बनेर देखा परे । यिनले स्थितिको के-कति जिम्मा लिन्छन्, यो अध्ययनको विषय भयो, टाउकादेखि नै समीक्षा गर्नु पर्छ ।
अहिले बेलोबलामा निस्कने वक्तव्यबाहेक क्रान्तिकारी विरासत बोकेको क्रान्तिकारी सांस्कृतिक मोर्चाका गतिविधि र क्रियाशीलताको प्रश्न गम्भीर विषय बनेको छ । कहाँ पुग्यो त्यत्रो महान् विरासत बोकेको त्यो मोर्चा ? त्यो समृद्ध इतिहासलाई कसले भाताभुङ्ग र लथालिङ्ग पार्यो ? निर्मम समीक्षा आवश्यक छ । हिजोका अगुवा मणिजीले एमाले नामको प्रतिक्रियावादी टुकुचामा शरण लिए । ज्ञवाली नव-प्रतिक्रियावादी प्रचण्ड गिरोहको पाउमा लुटपुटिन पुगे । क्रान्तिकारी भनिएकाहरूले नै सिध्याउन खोजे पनि सतिसालहरू भने अडिग भएर लडिरहेका छन् । यो अहिलेको यथार्थ हो-जीवन्त यथार्थ !
अबको समय भनेको 'अखिल नेपाल जनसांस्कृतिक सङ्घ' को तेस्रो राष्ट्रिय सम्मेलनपछिको समग्र स्थिति, वैचारिक, साङ्गठनिक, इतिहासगत र व्यक्तिसमेतको समीक्षा गरेर नयाँ किसिमले अघि बढ्ने समय हो । अब यो समय आएको छ । अहिले नेकपा (क्रान्तिकारी माओवादी) को सांस्कृतिक मोर्चामा हिजोको '‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलनअघिको केन्द्रीय समितिमा रहेका कोही पनि छैनन्, एकाधलाई छाडि दिने हो भने सबै आगन्तुक र एक समयमा पलायन भएकाहरूको जमघट मात्र छ त्यहाँ । नेकपा 'बहुमत’ सम्बद्ध सांस्कृतिक मोर्चाको कुरै नगरौँ, असरल्ल र छेउटुप्पो हराएको स्थिति देखिन्छ त्यहाँ ।'पोलिटिक्स इन कमान्ड’ त हो । तर यो नै भद्रगोलको स्थितिमा छ । प्रस्टताका साथ भन्नुपर्ने हुन्छ, सम्बद्ध पार्टीहरूले बिगारे, सकेनन्/ गरेनन् । र पनि, फेरि पनि 'पोलिटिक्स इन कमान्ड’ नै हो । पहिलो पाइला क्रान्तिकारी कार्यदिशाका आधारमा मार्क्सवाद-लेनिनवाद-माओवाद र क्रान्तिका तीन जादुगरी हतियारप्रति प्रतिबद्ध पार्टीहरूबीच क्रान्तिकारी पुनर्गठन नै हो ।
त्यसै गरी पार्टीलाई जस्तै सांस्कृतिक मोर्चाहरूलाई क्रान्तिकारी विचार, सङ्गठन र कार्यक्रमिक नीति र योजनाका साथ नयाँ किसिमले पुनर्गठन गर्नु पर्ने आवश्यकता छ । यस कायर्मा कम्तीमा पनि दुई पार्टीहरू नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) सम्बद्ध क्रान्तिकारी सांस्कृतिक कर्मीहरू र यी समूहसित आबद्ध नभए पनि निरन्तर रूपमा क्रान्तिकारी सांस्कृतिक आन्दोलनमा क्रियाशील भएका माओवादी सांस्कृतिक कर्मीहरूले पहलकदमी लिनु आवश्यक छ । आन्दोलनको आवश्यकतालाई ध्यानमा राखेर अब 'पानी बाराबार','‘छुवाछुत’ को स्थितिबाट मुक्त भएर बैठक, भेटघाट, बहसछलफल, अगाडि बढाउनु आवश्यक छ । यो कार्यको थालनी इतिहासको सही समीक्षाबाट हुनु पर्दछ र यसले नै हामीलाई वैज्ञानिक संश्लेषणमा पुर्याउँछ । हिजोको क्रान्तिकारी विरासतसित सम्बन्ध विच्छेद गरेर होइन, त्यसैको विरासतलाई निरन्तरता दिएर मात्र अघि बढ्न सकिन्छ ।
सत्य के हो भने सबैको स्थिति प्रस्ट छ र सबैको अनुहार पनि प्रस्ट छ । 'अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ ले तेस्रो सम्मेलनमा बिराएको र विगारेको बाटोलाई सच्याएर अघि नबढी धरै छैन । अर्को उपाय छैन । क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई उपभोक्तावादी प्रवृत्ति र ‘उत्तर-मार्क्सवादी’ विसर्जनबाट बचाउने हो भने नयाँ यात्राको थालनीको विश्लेषण र संश्लेषण त्यहीँबाट आरम्भ गर्नुपर्छ । केही खराब मान्छेहरूबाट आन्दोलनलाई मुक्त गराउनु पर्छ । आफ्नै टाउकोमा पहिले आगो नलगाई यो कार्य सम्भव छैन । माओवादी सांस्कृतिक क्षेत्रलाई नयाँ गति र दिशा दिने हो भने इतिहासको विश्लेषण र संश्लेषणका साथ क्रान्तिकारी पुनर्गठनको दिशा समात्नु पर्दछ । यसको थालनी नयाँ संयोजन समितिबाट हुनु पर्दछ ।
०००
भिडियो फिचरview all