menu

ताजा समाचार

मे दिवस विश्व सर्वहारा वर्गले आफ्नो सङ्घर्षको संकल्प व्यक्त गर्ने दिन हो: भाकपा (माओवादी)

मे दिवस जिन्दाबाद !
विश्वभरि नै क्रान्तिकारी परिस्थिति विकसित भइरहेको छ। 
विश्व सर्वहारा वर्गको तात्कालिक कार्य भनेको विध्वंसकारी साम्राज्यवादलाई परास्त गर्नु र समाजवादको  स्थापना गर्नु हो, जसमा युद्धका लागि कुनै ठाउँ छैन।

मे दिवस विश्व सर्वहारा वर्गले आफ्नो सङ्घर्षको संकल्प व्यक्त गर्ने दिन हो । यो सर्वहारा वर्गले स्वतन्त्रता, स्वाधीनता, समानता र सार्वभौमसत्ताको लागि आफ्नो शक्ति सन्तुलनको मूल्याङ्कन गर्दै अथक र थप दृढ संकल्पका साथ लड्न आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने दिन हो । यस दिनले आ-आफ्नो देशको सर्वहारा क्रान्ति र साथै विश्व समाजवादी क्रान्तिको सफलताको प्रतिज्ञा गर्दछ । मे दिवसको अवसरमा हाम्रो पार्टीको केन्द्रीय समिति साम्राज्यवाद विरुद्ध अथक रूपमा लडिरहेका विश्व सर्वहारा वर्गलाई लाल सलाम अर्पण गर्दछ ।

विश्व, वातावरण र आम जनतमाथि विध्वंश मच्चाउनु साम्राज्यवादको चरित्र हो । साम्राज्यवाद  विध्वंशमा मात्र रमाउँछ । साम्राज्यवादले विनाशकारी कोरोना उत्पन्न गर्यो , आफ्नो आर्थिक तथा वित्तीय सङ्कटलाई टार्न भूमण्डलीकरण नीतिको हिस्साका रूपमा अर्थतन्त्रको पुनर्संरचना गरी सम्पूर्ण भार जनतामा थोपरिरहेको छ । यसले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका पिछडिएका देशका नोकरसाही पुँजीपति र ठूला जमिन्दार वर्गसँग मिलेर जबर्जस्ती र असमान सन्धिका माध्यमबाट पुँजी र  प्रविधिका नाममा प्राकृतिक स्रोत, सस्तो श्रमशक्ति र बजारको अन्धाधुन्ध लुटपाट गरिरहेको छ । तर पनि यसले सङ्कटबाट मुक्ति पाउन सकेको देखिँदैन । आर्थिक मन्दी, मुद्रास्फिति र बेरोजगारी तीव्र बनेको छ ।  शिक्षा, स्वास्थ्य लगायत सम्पूर्ण जनजीवन सङ्कटमा परेको छ र जनता एकदमै कठिन स्थितिबाट गुज्रिरहेका छन् । धनी र गरिबबीचको असमानता बढ्दै गएको छ । युद्धमा निर्भर अमेरिकी अर्थतन्त्रले आफ्नो अति नाफाका लागि संसारका कुना-कुनामा अनेकौँ युद्ध भड्काइरहेको छ र हतियार बेचिरहेको छ । जीवन भयावह स्थितिमा पुगेको छ र मानिसहरू विद्रोह गरिरहेका छन् ।  साम्राज्यवादले हरेक मुलुकका फासिवादी शक्तिहरूलाई दमनका लागि उचालिरहेको छ ।  साम्राज्यवादले अवलम्बन गरेको विनाशकारी नीतिका कारण अन्तर्राष्ट्रिय र स्वदेशी स्तरका आधारभूत अन्तर्विरोधहरू तीव्र बन्दै गएका छन् र, फलस्वरूप क्रान्तिकारी परिस्थितिहरू विकसित हुँदैछन् ।

भारतमा ब्राह्मणवादी हिन्दूत्ववादी मोदी सरकारको नवउदारवादी कर्पोरेट प्रायोजित नीतिका विरुद्ध विभिन्न उत्पीडित वर्ग, जातजाति र उत्पीडित समुदायका जुझारू सङ्घर्ष भइरहेका छन् । श्रम कानुनको स्थानमा ल्याइएका चार संहिताका विरुद्ध, निजीकरण, आकस्मिक ठेक्का प्रणाली, कृत्रिम इन्टेलिजेन्स, श्रमिकमाथि कामको बोझ—कामको घण्टा बढ्ने, वास्तविक ज्याला घट्ने, काम गर्दाको दयनीय अवस्था र मजदूर हितमा कटौतीका विरुद्ध र लोक कल्याणकारी कार्यक्रम र न्युनतम ज्याला र रोजगारीको अन्त्यलाई लिएर मजदुरहरू एकजुट भएर आन्दोलनमा उत्रिएका छन् । किसान सङ्गठनहरूको व्यापक समर्थनमा ट्रेड युनियनहरूले २८-२९ मार्चमा गरेको देशव्यापी हडतालको अभूतपूर्व सफलता श्रमिक-किसान एकताको सङ्केत हो । 

साम्राज्यवादले आफ्नो संकटबाट पार पाउन सर्वहारा वर्ग र मध्यम वर्गको शोषण गरिरहेको छ । यसले कृतिम इन्टेलिजेन्स टेक्नोलोजी प्रयोग गरिरहेको छ र स्थायी रोजगारी र कल्याणकारी कार्यक्रमहरूमा कटौती गरिरहेको छ । यसले जनतामा चरम करको बोझ थपिरहेको छ । कोरोनाको सङ्कटबाट बाहिर निस्कनका लागि ‘कोभिड प्रतिबन्ध’, जागिर खारेज, कामको घण्टामा बढोत्तरी, ज्याला घटाउने र उच्च मूल्यवृद्धि गरिरहेको छ, सर्वहारा वर्ग, कर्मचारी, विद्यार्थी र वातावरणीय अभियन्तालाई ठूलाठूला आन्दोलन र हड्तालमा धकेलिरहेको छ र धेरै देशहरूमा मजदुरहरूको प्रदर्शनले  जुझारू रूप लिइरहेको छ ।  

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले अमेरिकाको घट्दो विश्व प्रभुत्वलाई कायम राख्न अत्यन्त आक्रामक निर्णयहरू लिएर कार्यान्वयन गरिरहेका छन् । यसले साम्राज्यवादी दावेदारका रूपमा उभिएका रूस र चीनलाई नियन्त्रण गर्न, नाटो गठबन्धन र जि. सेभेन देशहरूमाथि आफ्नो  आधिपत्य कायम राख्न मजबुतीका साथ ‘क्वाड’ र ‘औकस’ गठत गर्यो ।  तर युरोप, अमेरिकासँग सहकार्य गर्ने अवस्थामा देखिएको छैन ।  जर्मनी र फ्रान्स रूसबाट तेल र ग्यास आयातमा निर्भर छन् ।  अर्कोतर्फ ताइवानको मामिलामा हस्तक्षेप गर्दा ताइवानको जल क्षेत्रमा चीन र अमेरिकाको सैन्य अभ्यासको होडबाजी झन् खतरनाक बन्दै गएको छ । रूस र चीनले सैन्य सहयोगका लागि सम्झौता गरेका छन् । शीतयुद्धको अन्त्यपछि साम्राज्यवादी देशहरूबीचको तनाव र द्वन्द्व अभूतपूर्व तीव्र स्तरमा पुग्यो ।  यही प्रक्रियामा रूसले युक्रेनमाथि आक्रमणकारी  युद्ध लड्यो । अमेरिकाले रूससँग गरेको बाचा तोडेर नाटोको विस्तार गर्यो । शक्ति र प्रलोभनमार्फत ३० देशलाई आफ्नो पक्षमा बनाउनु, युरोपको तेस्रो ठूलो सैन्य शक्तिका रूपमा नाटो युक्रेनमा सामेल हुने घोषणा गर्नु र  युक्रेनसँग संयुक्त सैन्य अभ्यास गर्नु, युक्रेनको समर्थनमा नाटोको सैन्य  शक्तिसाथसाथ सैन्य जहाज र मिसाइलहरू तैनाथ गर्नुजस्ता कामकारवाही र यससँगै यता रूसले युक्रेनको सिमानामा डेढ लाख सेना तैनाथ गर्यो र यसरी साम्राज्यवादीहरूबीच चर्केको अन्तर्विरोधले युक्रेनमाथि रुसी आक्रमणका लागि बाटो खुला गर्यो  । यो युद्ध विगत दुई महिनादेखि विध्वंशकारी रूपमा चलिरहेको छ । युद्धले थप विनाश निम्त्याउने निश्चित छ । यसले जनतालाई असहनीय  उत्पीडन र सङ्कटमा धकेल्ने कुरा निश्चित छ । विश्व सर्वहारा वर्ग र अन्य उत्पीडित वर्ग र उत्पीडित राष्ट्रहरू साम्राज्यवादी देशहरूको आर्थिक र  प्रभुत्ववादी स्वार्थको खेलद्वारा पीडित छन् । तेस्रो विश्वयुद्धको खतरा बढ्दै गएको छ । 

रूसले युक्रेनमाथि गरेको आक्रमणका रूपमा आरम्भ भएको यो युद्ध साम्राज्यवादी युद्ध हो । युक्रेन अमेरिकाको हातमा रहेको चारो हो ।  हाम्रो पार्टी मजदुर, किसान, मध्यम वर्ग र अन्य उत्पीडित वर्ग र उत्पीडित जातजातिहरूलाई यो युद्धको भ्रत्र्सना गर्न आह्वान गर्दछ । यसले विश्वका सर्वहारा वर्ग, उत्पीडित वर्ग र उत्पीडित राष्ट्रियताहरूका सम्बन्धमा  कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र लेनिनको शिक्षालाई समर्थन गर्छ र त्यसैको पक्षमा उभिने दृढता व्यक्त गर्दै युद्धमा कुनै पनि साम्राज्यवादी मुलुकको पक्षमा नउभिन आह्वान गर्दछ ।  विश्वभरिका  सङ्घर्षशील जनताले अमेरिकाको नेतृत्वमा रहेको नाटोलाई फिर्ता लानुपर्छ र युक्रेनलाई बलिको बोका बनाउने अमेरिकाको विनाशकारी कदमबाट जोगाउन रूसले तत्काल निःशर्त रूपमा युद्ध बन्द गर्नुपर्छ भन्ने माग राख्दै सङ्घर्ष गरिरहेका छन् । विश्वका जनताको चाहनाको ख्याल गर्दै युक्रेनबाट रूसले आफ्नो सेना फिर्ता बोलायो । 

क्रान्तिकारी परिस्थितिको विकास  हुँदैछ ।  त्यसको सदुपयोग गर्दै साम्राज्यवाद विरोधी सङ्घर्षलाई तीव्र पार्नु विश्व सर्वहारा वर्गको काम हो । यदि रूसले आणविक युद्धमा भाग लिन्छ र तेस्रो विश्वयुद्ध सुरु गर्छ भने,  सर्वहारा वर्गले सन् १९१७ मा कमरेड लेनिन र स्टालिनको नेतृत्वमा सर्वहारा वर्गको नेतृत्वमा रहेको सम्पूर्ण उत्पीडित वर्ग र उत्पीडित राष्ट्रियताहरूको अक्टोबर क्रान्तिको सफलताको महान् अनुभवबाट सिक्नुपर्छ ।  पहिलो विश्वयुद्धलाई गृहयुद्धमा परिणत गर्दै, र यसको विरासतलाई कायम राख्दै पुटिन सरकारलाई पतन गर्नुपर्छ ।  अनि सर्वहारा वर्गको नेतृत्वमा नयाँ र उच्च समाजवादी सरकार स्थापना गर्नुपर्छ ।  अमेरिका र युरोपेली देशका उत्पीडित जनताले युक्रेनलाई यस युद्धमा उक्साउन रोक्नको माग गर्दै सर्वहारा वर्गको नेतृत्वमा जुझारू आन्दोलन गर्नुपर्छ । यदि अमेरिकी-नाटो गठबन्धन तेस्रो विश्वयुद्धमा संलग्न हुन्छ भने, यो अवश्य गृहयुद्धमा परिणत हुनेछ ।
 
हाम्रो पार्टी विश्व सर्वहारा वर्ग र उत्पीडित जनतालाई मानवीय दृष्टिकोणका साथ शरणार्थीका रूपमा अन्य क्षेत्रहरूमा जान बाध्य भएका युक्रेनीहरूलाई सहयोग गर्न अपिल गर्दछ । युक्रेनका सर्वहारा वर्ग र उत्पीडित जनताले नाटोपक्षधरहरूको निन्दा गर्नैपर्छ, विशेषगरी अमेरिकी साम्राज्यवादीहरूका लागि देशलाई नाटोको भूउपग्रहमा परिणत गर्ने जेलेन्स्की सरकारको अमेरिकी-ईयू साम्राज्यवादपरस्त नीतिहरूको निन्दा गर्नैपर्छ । आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो राष्ट्रियताको अस्तित्वको रक्षा गर्न साम्राज्यवादीहरूले थोपरेको युद्धलाई उनीहरूले गृहयुद्धमा परिणत गर्नुपर्छ ।  युक्रेनका उत्पीडित जनताले देशको सर्वहारा वर्गको नेतृत्वमा सबै प्रकारका साम्राज्यवाद विरुद्ध लड्नु पर्छ र सार्वभौमसत्ता प्राप्त गर्नुपर्दछ ।  डोनेट्स्क र लुहान्स्क गणतन्त्र डोनबास क्षेत्रका उत्पीडित राष्ट्रियताहरू र जनताले रूसी साम्राज्यवादमा भर परेर होइन, सर्वहारा वर्गको नेतृत्वमा आफ्नै शक्तिमा भर परेर आफ्नो भविष्य हासिल गर्नुपर्छ ।  पिछडिएका देशका जनताले साम्राज्यवादी देशसँग दलाल सरकारले गरेका सैन्य सम्झौता लगायतका सबै किसिमका सन्धि-सम्झौता खारेजीका लागि लड्नुपर्छ ।

विश्वको सर्वहारा वर्ग र मार्क्सवादी-लेनिनवादी-माओवादी शक्तिहरूले साम्राज्यवादी शोषण र उत्पीडनबाट मुक्ति प्राप्त गर्न र विश्व शान्ति स्थापना गर्नका लागि अहिलेको एउटै मात्र बाटो र तत्कालको कार्य भनेको यस धर्तीबाट साम्राज्यवादलाई जरैबाट उखेलेर फ्यालेर समाजवादको स्थापना गर्नु हो, जहाँ युद्धका लागि कुनै  ठाउँ छैन । 

मे दिवस जिन्दावाद !
साम्राज्यवादलाई पराजित गरेर विश्व शान्ति कायम गरौँ !
विश्वका सर्वहारा वर्गको एकता जिन्दावाद !
विश्वका सबै मजदुर एक होऔं !
मजदुर किसान एकता जिन्दावाद !
नयाँ जनवादी क्रान्ति जिन्दावाद !
युक्रेनमाथि रुसी आक्रामणकारी युद्धको कारण बनेको साम्राज्यवादलाई परास्त गरौँ र सर्वहारा राज्य स्थापना गरौँ !

अभय
प्रवक्ता
भाकपा (माओवादी), केन्द्रीय  समिति
मे१, २०२२ 
अनुवाद : ऋषिराज बराल 

भिडियो फिचरview all