menu

ताजा समाचार

यसकारण क्रान्तिकारी पुनर्गठन अभियान

ऋषिराज बराल 
यतिखेर पार्टीहरू विभाजन, विखण्डन र अन्यौलको स्थितिमा छन् । बुर्जुवा पार्टीहरूमा सिद्धान्त र विचार भनेको जसरी पनि शक्ति र सत्ता आफ्नु हातमा लिएर विदेशी प्रतिक्रियावादी शक्तिहरूको आडमा जनतामाथि शोषण गर्नु र प्रतिरोधमा उठेका आवाजहरूमाथि दमन गर्नु हो । उनीहरूबीचको झगडा पनि यसैमा केन्द्रित हुन्छ । यो प्रतिक्रियावादीहरूको सार्वभौम चरित्र हो र नेपाली समाजको विशिष्टतामा हामी अहिले यो सबै देखिरहेका छौँ र भोगिरहेका छौँ । को कुन साम्राज्यवादी तथा विस्तारवादी शक्तिको नजिक पुग्ने र शक्ति र सत्ता हात पार्ने दाउमा अहिले नयाँ पुराना प्रतिक्रियावादीहरू आफूआफूमा लडिरहेका छन् । उनीहरू कुर्सीका लागि राष्ट्रिय स्वाधीनता लगायत जुनुसकै किसिमका सौदा गर्न तमतयार छन् भन्ने कुरा हामी देखिरहेका छौँ । लिपुलेक र लिम्पियाधुराको सन्दर्भ यथावत रहेको अवस्थामा एमसिसी सन्दर्भलाई लिएर अमेरिकी साम्राज्यवादले दिएको धम्कीले राष्ट्रिय स्वाधीनताको  पक्षधरहरूमाथि थप चुनौती बढेको यथार्थ हाम्रा सामु छ । 

अहिले उत्पीडित वर्ग, समुदाय तथा राष्ट्रिय स्वाधीनताप्रति गम्भीर जनताले नयाँ विकल्पको खोजी गरेका छन् । यो विकल्प भनेको क्रान्तिकारी शक्तिहरूको सङ्गठित स्वरूप र क्रान्तिकारी व्यवहार नै हो । मार्क्सवाद–लेनिनवाद–माओवादका आधारमा गरिने सङ्घर्षका उच्च र उच्चतम रूपबाट नै जनतामा नयाँ विश्वास र उत्साह जगाउन सकिन्छ । नेपाली समाजमा मार्क्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्ध व्यक्ति, समूह र पार्टी छन् र ती नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको बाटो भएर अघि बढ्नुपर्छ भन्ने कुराप्रति समान धारणा राख्छन् । थुप्रै कमीकमजोरी तथा वैचारिक समस्याका बाबजुद पनि यी शक्तिहरूलाई हामीले अहिलेको नेपाली समाजको सापेक्षतामा क्रान्तिकारी शक्तिका रूपमा लिनुपर्छ । 
 
यथार्थ के पनि हो भने, कुरामा जेजे भने पनि र दस्ताबेजमा जे लेखे पनि अहिलेको स्थिति सहजता र स्वाभाविकताको स्थिति चाहिं होइन ।  “बुढाहरूले क्रान्ति गर्दैनन्” भनेर त्यतिबेर झ्यालबाट हामफालेर कुदेको नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेकपा अहिले ६ वर्षपछि “जनमत सङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद ल्याउने” घोर दक्षिणापन्थी– विसर्जनवादी लाइनमा क्रियाशील छ । दस्ताबेजबाट मार्क्सवाद–लेनिनवाद–माओवाद नहटाए पनि  व्यवहारमा यसले मार्क्सवाद–लेनिनवाद–माओवादको उपहास गरेको छ l  बाटो नै तय नगरी हिँडेर जङ्गलमा भौँतारिइरहेको स्थितिमा छ अहिले यो समूह l  यसले संसदीय व्यवस्था ठीक हो भनेको छैन तापनि अब ''सकिंदैन" भनेर नेताहरूले विचलनको दिशा समातेको यथार्थ प्रस्ट छ । जनमत सङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद ल्याउने”  घोषणा गर्नु यसैको उपज हो । कमरेड किरणको नेतृत्वमा रहेको पार्टीको दस्ताबेजमा  लेखिएका कुराहरू आधारभूत रूपमा सही छन्  । तर सो पार्टीमा संगठन परिचालनमा समस्या छन् र पार्टी गोलचक्करवाद र अकर्मण्यताको स्थितिमा फसेको देखिन्छ । क्रान्तिकारी शक्तिहरूमा देखिएको विचलन र अकर्मण्यताको स्थिति सत्ताधारी प्रतिक्रियावादीहरूका लागि हाइसञ्चोको विषय बनेको छ । 

अहिले  भारत, फिलिपिन्स, टर्कीका माओवादी पार्टीहरूले जनयुद्ध चलाइरहेका छन् ।  दुस्मनका विरुद्ध तिनले जीवन–मरणको लडाइँ लडिरहेका छन् । त्यसैगरी ब्राजिल, पेरूलगायतका ल्याटिन अमेरिकी माओवादी पार्टीहरू तथा इटालीलगायतका युरोपेली माओवादी पार्टीहरूले आआफ्नो मुलुकको विशिष्टतामा वर्गसङ्घर्ष चलाइरहेका छन् । त्यहाँ भएका सङ्घर्षका कार्यक्रमलाई उत्साहित पार्ने तथा दमनका विरुद्ध प्रतिरोधात्मक ऊर्जा दिन सर्वहारावादी अन्तर्राष्ट्रियतावादप्रति नेपालका माओवादी क्रान्तिकारी शक्तिहरूबाट अपेक्षित चासो र जिम्मेवारी बोधको स्थिति देखिन सकेको छैन । यस किसिमको निस्पृहता क्रान्तिकारी मूल्य विपरीतको कुरा  हो  । यो कुरा नेकपा (क्रान्तिकारी माओवादी) र विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी दुवैमा लागू  हुन्छ । विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी त अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सन्दर्भमा मात्र नभएर साम्राज्यवादका सन्दर्भमा पनि अन्योलमा छ । 'उत्तर-साम्राज्यवाद' सम्बन्धी सो पार्टीको बुझाइले त्यसको कमजोर चेतना स्तर र वैचारिक दरिद्रतालाई दर्साउँछ ।

विचार र शक्ति  एकअर्कासित घनिष्ठ रूपमा गाँसिएका हुन्छन् । विचारले नै शक्ति निर्माण गर्ने र हुने हो ।  कतिवटा पार्टीभन्दा पनि कस्तो पार्टी भन्ने कुराले अर्थ राख्छ । नामगाम कहिल्यै नसुनेका विचारविहीन सयौँ पार्टी भए पनि अर्थ नहुँदो रहेछ भन्ने कुरा विगतको ‘३३ दले आन्दोलन’ ले प्रस्ट पारेको कुरा हो । वास्तवमा कोसित एकता गर्ने, कोसित सहकार्यमा जोड दिने र कसलाई क्रान्तिको हितमा समेट्ने भन्ने प्रश्न पनि सिद्धान्त र विचारको प्रश्न हो । नेकपा (क्रान्तिकारी माओवादी) सहित विगतमा बनेको  'रणनीतिक मोर्चा' जस्तो मोर्चा बनाउनुको अर्थ छैन l 
हामीसित आन्दोलन र नेतृत्वको लामो अनुभव छ भन्नुको अर्थ अनुभववादमा फस्नु होइन ।  बाचुन्जेल आफू क्रान्तिकारी भइरहने, भनिइरहने र पार्टी र आन्दोलन चाहिँ सिद्धिंदै जाने भन्ने कुरा हुँदैन  । अनुभवले समृद्ध हुनुको अर्थ अनुभव र ऐतिहासिक शिक्षाका आधारमा सैद्धान्तिक–वैचारिक ऊर्जा प्रदान गर्ने र  कार्यकर्तालाई उत्साहित पार्दै क्रान्तिकारी आशावादका साथ अघि बढाउन  सक्रिय हुनु भन्ने हो ।  माओले भनेझैँ पहाड चढ्ने हिम्मत गर्ने हो । सचेतन पहलबिना आफूले चाहेको कुरा पोल्टामा आउने भए, 'जनमत संग्रह' बाट वैज्ञानिक समाजवाद आउने भए वर्गसङ्घर्षको त्यो उदात्त इतिहास, पेरिस कम्युनदेखिको बलिदानको महागाथा किन निर्माण हुन्थ्यो होला र ? 

प्रचण्डबाट अलग्गिएपछि सातौँ महाधिवेशनदेखि नै कुरा बिग्रिएको हो । हामीले विचारलाई केन्द्र बनाएर विद्रोह गरेको भनेका थियौं । तर, कतिपयको अर्कैअर्कै नियत रहेछ । कमरेड विप्लवहरूले  बडो रहस्यमय किसिमले सम्बन्ध विच्छेद गरे  । विप्लवमा नेतृत्वको भोक र तीव्र महत्वाकाङ्क्षा पूरा गर्नुको हतारो त थियो नै यस मामिलामा केही हदसम्म कमरेड किरणका पनि कमीकमजोरी रहे । र पनि त्यतिबेला  नेकपा- माओवादीबाट विप्लवले ‘सम्बन्ध विच्छेद’ गर्नु  निर्देशित योजनाबद्धता रहेछ  भन्ने कुरा समयले प्रस्ट पारेको छ ।   विप्लवले सम्बन्ध विच्छेद गरेपछि पार्टीमा बादलहरू हाबी भए । अवसरवादको अर्को नाम बादल हो । बादलसित खाओवादीहरूको राम्रो झुन्ड थियो । समयले विप्लवको मात्र होइन, बादलको मूल चरित्रलाई पनि सतहमा ल्याइदिएको छ । 

समयले क्रान्तिकारी विकल्पको माग गरेको छ । समयले दृढ इच्छाशक्ति, आत्मसङ्घर्ष र क्रान्तिकारी आशावादको माग गर्छ । हामी आफूलाई जनयुद्ध र माओवादी आन्दोलनको विरासतको निरन्तरताको संवाहक हुनुको दाबी गर्छौँ भने र  हामी नेपाली क्रान्तिप्रति गम्भीर छौँ भने अहम् त्यागेर नयाँ किसिमले सोच्ने बेला आएको छ  । दिशाहीन दिशाको कार्यदिशाले कहीँ पुगिँदैन सिद्धिनुसिबाय । समग्र आत्मसमीक्षा सहित विप्लवहरूले सोच्नु आवश्यक छ । अनि उपयोगवाद र मिलेरावादको अन्तिम परिणति ओली–प्रचण्डको मुकाम नै  हो । कमरेड किरणको पार्टीले अहिले गर्नु परेको सङ्घर्षमध्ये एउटा पक्ष मिलेरावाद पनि हो भन्ने लाग्छ । संगठनात्मक अराजकताबाट मुक्त हुन सकेन भने विसर्जनको परिणाम स्वाभाविक छ ।

माओवादी हौँ भने क्रान्तिका तीन जादुगरी हतियारप्रति प्रतिबद्ध बनौँ । शब्दमा होइन, कर्ममा आत्मसात गरौँ । विवाद छैन, अहिलेको घडी क्रान्तिकारीहरूका लागि सबैभन्दा बढी चुनौतीको घडी हो ।  लेनिनले भनेझैँ पहेंला पात झर्छन् र नयाँ पात आउँछन् । लामो अभियानमा थुप्रै बाटोमा छोडिन्छन्, हराउँछन् भन्ने कुरा चिनियाँ इतिहासले देखाएको छ । विसर्जित हुने हो अथवा क्रान्तिकारी उत्साहबोधका साथ अघि बढ्ने हो भन्ने कुरा हाम्रो चेतना, चिन्तन  र प्रतिबद्धतामा भर पर्ने कुरा हो । हरेक सङ्गठन तथा समूहका क्रान्तिकारीहरूले अब गम्भीरताका साथ सोच्ने बेला आएको छ । क्रान्तिकारी पुनर्गठनबिना क्रान्तिको गाडी बघि बढ्न सक्ने स्थिति छैन । चुनाववादी र मिलेरावादी प्रवृत्तिबाट मुक्त हुनु आवश्यक छ । कम्तीमा पनि पहिलो चरणमा मार्क्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियारप्रति प्रतिबद्ध भएकाहरूबीच वैचारिक छलफल र समझदारीको वातावरण बन्नु पर्दछ । कार्यदिशाका सन्दर्भमा सशस्त्र सङ्घर्ष नै हो र योबिना नेपाली क्रान्ति सम्भव छैन । सारतः  नेपाली क्रान्तिको कार्यदिशा नयाँ विशेषतासहितको जनयुद्ध नै हुन्छ । मूल समझदारी जनयुद्धको  इतिहाससित गाँसिएका क्रान्तिकारीहरूबीच हुनु आवश्यक छ  l यस अर्थमा सशस्त्र सङ्घर्षको स्वरूप कस्तो हुने भन्ने प्रश्नमा क्रान्तिकारीहरूबीच समान धारणा बन्नु आवश्यक छ । होइन भने क्रान्ति–क्रान्ति भन्दै गोलचककरवादमै सीमित हुने र टुटफूट र विसर्जनबाट सिद्धिने मेलो मात्र हुन्छ ।  
 
विगतको  समीक्षाका साथ नयाँ किसिमले चिन्तमनन गरौँ, कहाँ हामी ठीक रह्यौँ र कहाँ हाम्रा कमी–कमजोरी भए÷रहे आत्मसमीक्षा गरौँ  र नयाँ संश्लेषणका साथ क्रान्तिकारी पुनर्गठनको अभियानमा सामेल होऔँ । यही नै मार्क्सवाद–लेनिनवाद–माओवादले देखाएको बाटो हो । प्रस्टताका साथ भन्नुपर्ने हुन्छ :

अवश्य पनि ध्रुवीकरण एउटा प्रक्रिया हो l  यसले  केही मात्रामा मनोवैज्ञानिक विश्वास र क्रान्तिकारी आशावादलाई जगाउँछ । तर, यसले मात्र आजको आवश्यकता पूरा गर्न सक्तैन र हुँदैन पनि ।  कुनै खास समूहमा  दस-बिस जना थपिँदैमा छलांगको स्थिति बन्न सक्तैन l यसका लागि क्रान्तिकारी पुनर्गठनको आवश्यकता छ । अब पुरानो बनिबनाउ संयन्त्रबाट काम चल्नेवाला छैन भन्ने कुरा यताको इतिहासले प्रस्ट पारिसकेको छ । यसबारे पहिलो चरणमा क्रान्तिकारीहरूको नयाँ केन्द्र (न्युक्लिअस) निर्माण गरेर कामको थालनी गर्न सकिन्छ । अबको सही र वैज्ञानिक तयारी क्रान्तिकारी पुनर्गठन नै हो  र यसमा नेकपा (क्रान्तिकारी माओवादी)  सहितका शक्ति र क्रान्तिकारी व्यक्तिहरूको तत्परता र पहलकदमी आवश्यक छ र हुन्छ  ।

फागुन १ २०७८
भिडियो फिचरview all