ताजा समाचार
टुटफूट र विभाजन: मोहनविक्रमदेखि विप्लवसम्म
जनमेल विश्लेषण
नेपालमा नयाँ-पुराना प्रतिक्रियावादी पार्टीहरूका साथै संशोधनवादी र क्रान्तिकारी पार्टी, समूह र व्यक्तिहरू छन् । प्रतिक्रियावादी र संशोधनवादी पार्टीहरूमा हुने विभाजन विचारमा भिन्नतामा भन्दा पनि पद, सुविधा र मुलुकको साधन, स्रोत र शक्ति कसले हात पार्ने र प्रभुत्व कायम गर्ने भन्ने कार्यमा केन्द्रित हुन्छ । कतिपय सन्दर्भमा क्रान्तिका लागि फूट र विभाजन आवश्यक र अनिवार्य हुन्छ तापनि क्रान्तिकारी भनिएकाहरू पनि विचारको आवरणमा व्यक्तिवादी महत्वाकाङ्क्षा पूरा गर्न निर्देशित परियोजनामा चलेर फूटको बाटोमा लागेका हुन्छन् ।
आजभोलि विभिन्न सञ्चारमाध्यमहरूमा अमुक सङ्गठनबाट अमुक सङ्गठनमा कार्यकर्ताहरू ध्रुवीकृत भए, अमुक सङ्गठनले अमुक नेतालाई पार्टीबाट निष्कासन गर्यो अमुक समूहमा विभाजन आदिआदि किसिमिका समाचारहरू पढ्न पाइन्छ । टुटफुट निर्देशित र व्यक्तिवादी महत्वाकाङ्क्षा पूरा गरेर आन्दोलनलाई कमजोर पार्न कि क्रान्तिका लागि भन्ने प्रश्नले अहम् महत्व राख्दछ । अहिले भएका टुटफूट, विभाजन र ध्रुवीकरणलाई यसै सन्दर्भमा हेर्नु र बुझ्नु आवश्यक हुन्छ ।
कम्युनिस्टका नाममा बजार-व्यवसाय गरिरहेका प्रचण्ड, माधव नेपाल र ओलीहरूका पार्टीमा देखिएका फूट र विभाजन प्रतिक्रियावादी कित्ताभित्रकै प्रवृत्ति र प्रक्रियाका उपज हुन् । यी पार्टीहरूबीच देखिने झगडा र विभाजन मूलतः वैदेशिक प्रतिक्रियावादी शक्तिहरूलाई रिझाएर मुलुकको साधान र स्रोतलाई कब्जा गरेर व्यक्तिगत सुखसुविधा आर्जन गर्नु हो । यिनका बारेमा चर्चा गर्नुको यहाँ आवश्यकता छैन ।यहाँ मूलतः आफूलाई मार्क्सवाद-लेनिनवाद-माओवाद/माओ विचारधाराका पक्षधर भन्न चाहने पार्टी र समूहमा देखिएका टुटफूट, विभाजन र ध्रुवीकरणको चर्चा गरिएको छ ।
नेकपा (मसाल) र जनमोर्चाको विभाजन
क्रान्तिको कुरा गर्ने तर सापेक्षतावादमा रमाउँदै कहिले कसको र कहिले कसको पछि लागेर, मूलतः नेकपा (एमाले) को पिछलग्गू भएर निजी स्वार्थ पूरा गर्दै आएको, मोहनविक्रमको नेतृत्वमा रहेको नेकपा (मसाल) र उसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चामा २०५२ देखि निरन्तर फूट र विभाजन हुँदै आएको छ र पछिल्लो समयमा यो विभाजन निकै वृहत् किसिमको छ । फरक मतप्रति अति असहिंष्णु हुने र व्यक्तिवादी स्वार्थका लागि पार्टीलाई बजारको माल बनाउने भनेर टिप्पणी गरिने गरिएको मोहनविक्रमको नेतृत्वमा रहेको नेकपा (मसाल) पछिल्लो समयमा सन्तबहादु नेपाली र कृष्ण पौड्यालको नेतृत्वमा विभाजन भएको छ । यस क्रममा यही माघ १५ गते भएको भेलाले कृष्णराज पौड्यालको अध्यक्षतामा ५१ सदस्य केन्द्रीय समन्वय समिति गठन गरेको छ । सो केन्द्रीय समन्वय समितिद्वारा जारी वक्तव्यमा भनिएको छ :
''हामीले २०५१ सालमा यो संसदिय व्यवस्था मूलरुपमा प्रतिकृयावादी व्यवस्था हो । यो व्यवस्थाबाट नेपाली जनताको मुक्तिसम्भव छैन । हामीले यो व्यवस्थालाई सडक र सदन दुबै ठाउँबाट नालायक सावित गर्न, भण्डाफोर गर्न भनी संसदीय व्यवस्थालाई कार्यनीतिक रूपमा उपयोग गरेका थियौँ । तर नेकपा (मसाल) नेतृत्वले पार्टीको उद्देश्यअनुरूप काम नगरी संसदीय व्यवस्थामा यसरी फस्यो कि ऊ त्यहाँबाट उम्कनै नसक्ने, संसदीय व्यवस्थाबिना उभिनै नसक्ने भएपछि पार्टीको क्रान्तिकारी लाइनको रक्षा र सुदृढीकरणको लागि हामीले आकस्मिक र बाध्यात्मक रूपमा आज यो विशेष राष्ट्रिय भेला गरी केन्द्रीय समन्वय समिति गठन गर्नु परेको छ ।”
त्यसै गरी सो भेलामा प्रमुख अतिथि रहेका नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका संयोजक सन्तबहादुर नेपालीले शुभकामना दिले क्रममा भनेका छन् :
''इतिहासमा हामीले कहिलै नसोचेको कुरा पनि भोग्नुपर्ने र गर्नुपर्ने रहेछ । हामीले सोचेका थियौँ कि हाम्रो पार्टीले इतिहासको कालखण्डमा एउटा क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने छ र सारा शोषित पिडित वर्गको मुक्तिको लागि अग्रणि भूमिका खेल्ने छ । तर हाम्रो पार्टीको नेतृत्वले दक्षिणपन्थी दिशा समात्यो र त्यसले नेपाली जनताको मुक्ति आन्दोनमा गद्दारी गर्न पुग्यो । त्यसकारण त्यो हाम्रो पार्टीको गौरवमय क्रान्तिकारी विरासतलाई निरन्तर अगाडि बढाउनका लागि, त्यो महान् उद्देश्यलाई पूरा गर्नका लागि हामीले यो कदम चाल्न बाध्य भएका छौं ।''
विभाजनपछिको समूह अन्य कुनै समूहमा विलय हुन्छ कि आफ्नै अस्तित्वका साथ अघि बढ्छ, समयले बताउला । तर फूट र विभाजनका कारण विसर्जनको अवस्थामा पुगेको मोहनविक्रम समूह अब करिबकरिब सिद्धिनुको स्थितिमा पुगेको यथार्थचाहिँ प्रस्ट भएको छ ।
ऋषि कट्टेल आफ्नै समूहबाट आउट
विगतमा कुनै गतिविधि नगरेको र विप्लव समूहले ‘आठौँ महाधिवेशन’ पछि माओवादी नाम परित्याग गरेर नेकपा मात्रै राखेपछि विशेष महत्व दिएको ऋषि कट्टेलको नेकपा नामको समूहमा पनि विभाजन आएको छ । चुनाव आयोगमा पार्टी दर्ता गरेर बेलाबेलामा यसै सन्दर्भलाई लिएर चर्चामा आउने गरेको ऋषि कट्टेलको समूहलाई वैचारिक दृष्टिले प्रस्ट नभएको, जनयुद्धको राजनीतिलाई अस्वीकार गर्ने र माओवादलाई लिनप्याओवाद भन्दै चिनियाँ कम्युनिस्ट पार्टी र विश्व कम्युनिस्ट आन्दोलनबारे सामान्य ज्ञान पनि नभएको समूहका रूपमा लिइने गरिन्छ । सो पार्टीका अध्यक्ष ऋषि कट्टेल पार्टीहित विपरीत गएको भनेर साधारण सदस्य पनि नरहने गरी कार्यवाहक अध्यक्ष लोकनारायण सुवेदीको नेतृत्वमा रहेका सदस्यहरूले कारवाही गरेका छन् । कट्टेलले पार्टीहित विपरीत गरेको काम के हो भन्ने कुरा चाहिँ वक्तव्यमा प्रस्ट पारिएको छैन । जस्तो सो पार्टीका कार्यवाहक अध्यक्ष लोकनारायण सुवेदीद्वारा जारी वक्तव्यमा भनिएको छ :
“७ माघमा सोधिएको स्पष्टीकरणको कुनै पनि जवाफ नदिनुभएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८, नेपाल कम्युनिस्ट पार्टीको विधान २०६९ को धारा १७.११ बमोजिम दलको साधारण सदस्यसमेत सम्पूर्ण पद र जिम्मेवारीबाट छानविन समितिको सिफारिसबमोजिम आजैका मितिदेखि निष्कासन गरिएको व्यहोरा जानकारी गराइन्छ ।”
लोकनारायण सुवेदीलाई एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक भनिएकाले सुवेदीको नेतृत्वमा रहेको नेकपाले कुनै खास पार्टीसित एकताको तयारी गर्न थालेको बुझिन्छ तापनि त्यो एकता हो अथवा कुनै पार्टीमा विलय हो, त्यो चाहिँ प्रस्ट छैन ।
पहिरो जानुको सङ्कटमा विप्लव समूह
प्रचण्ड समूहबाट सम्बन्ध विच्छेद गरेर आएपछि बौद्धमा भएको २०६९ को राष्ट्रिय भेलामै पार्टी नेतृत्वका लागि तीव्र छटपटी प्रदर्शन गरेका नेत्रविक्रम चन्दले क्रान्तिकारी आवरणमा दक्षिणपन्थी प्रवृत्तिको प्रदर्शन गर्दै कमरेड किरणको नेतृत्वमा रहेको नेकपा-माओवादीबाट सम्बन्ध विच्छेद गरेको ७ वर्ष पुगिसकेको छ र यो सात वर्षमा उनले गरेको खास काम चाहिँ के हो भनेर पत्रकारहरू र राजनीतिक विश्लेषकहरूले समयसमयमा चर्चापरिचर्चा र खरो टिप्पणी पनि गर्ने गरेका छन् ।
खास गरेर त्यति बेलाको संयुक्त पार्टीको पोखरा बैठक, त्यसपछिको दोस्रो संविधान सभाको चुनाव वहिष्कार र त्यसपछिको पार्टीभित्र चलेको अन्तरसङ्घर्षसँगै विप्लवको वैचारिक तथा राजनीतिक उद्देश्य र सोचाइ र बुझाइ खुलेर बाहिर आएका थिए । वैचारिक रूपमा असाध्यै कमजोर भए पनि भरिसक्के उनी पार्टी कब्जा गर्न चाहन्थे नभए पार्टी फुटाएर भने पनि मूल नेता हुन चाहन्थे भन्ने कुरा बुझिने गरी बाहिर आएको थियो । कमरेड किरणको दस्ताबेजमा थुप्रै कमीकमजोरी थिए, तर त्यसप्रति विमति जनाउँदै आएको विप्लवको दस्ताबेजको राजनीतिमा त मार्क्सवाद नै थिएन । यसो भएपछि विप्लवको राजनीतिक सोचाइ र बुझाइलाई लिएर प्रश्न उठनु स्वाभाविक थियो । दस्ताबेजलाई तलसम्म लगेर व्यापक छलफल गर्नुसाटो पार्टी अनुशासनविपरीत नवलपरासीमा भेला गरेपछि उनी कतैबाट निर्देशित र प्रायोजित किसिमले पार्टी फुटाउने योजनामा छन् भन्ने कुरा प्रस्ट भएको थियो । यसपछि बसेको केन्द्रीय समितिको बैठककै बीचमा उनले पार्टीसित सम्बन्ध विच्छेद गरेर केही नेता-कार्यकर्तासहित झ्यालबाट बुद्रुक्क हामफालेर आफ्नो समूहको नाम घोषणा गरेका थिए ।
आकर्षक नारा र चर्का कुरा गरेर आरम्भमा केही कार्यकर्तालाई भ्रम दिए पनि, खास गरेर युवाहरूका नाममा चर्का कुरा गरेर चन्दा उठाउने अभियान चलाए पनि उनको विचार र नियत बुझ्दै गएपछि त्यहाँबाट पहिले राजनीतिक किसिमले केही नेता तथा कार्यकर्ता बाहिरिए भने पछि क्रान्तिका नाममा उठाएको पैसा सुरक्षित राख्ने उद्देश्यले एक थरी र्कार्यकर्ताहरू एकपछि अर्को गरेर बाहिरिन थाले । राजनीतिक चर्का कुरा गरेर हातमा बम थमाउने र पैसा उठाउन लगाउने सन्दर्भमा एनसेल प्रकरणदेखि म्यानपावर प्रकरण सतहमा आएका हुन् । विप्लवको राजनीतिक चिन्तन गुण्ड नाइके भनेर कुख्यात चक्रेमिलनसित सामूहिक फोटो खिच्नुदेखि, राप्रपा कि नेता रेखा थापा र राजतन्त्र फर्काउनु पर्छ भनेर लागेका बस्न्यात थरका भूतपूर्व नपाली सेनाका अधिकृतसितको विशेष सम्बन्धसम्म पुग्यो र यो निकै टिप्पणीको विषय बन्यो । उनका गतिविधिको अन्तर्वस्तु बुझ्दै गएपछि एकपछि अर्को गरेर कार्यकर्ताहरूले छोड्दै गए । एनसेल प्रकरणपछि विप्लव समूहमाथि ओली सरकारले प्रतिबन्ध लगायो र यसपछि सामान्यदेखि पोलिटब्युरो नेतासम्मले विप्लव समूह परित्याग गरे । नेता-कार्यकर्ताहरूमा एकअर्काको पोलापोल गर्ने प्रतिस्पर्धा नै चल्यो र चलिरहेको छ । क्रान्ति गर्ने भन्दै अमुकले छोरा र भाइका नाममा, अमुकले श्रीमतीका नाममा ब्याङ्कमा, अमुकले अमुकका नाममा राखेको पैसाको तथ्याङ्क नै बाहिर आयो । अमुकले अमुक ठाउँ घडेरी जोडेको र अमुकले घर बनाएको जस्ता सन्दर्भहरू सार्वजिनक चर्चाका विषय बने ।
यस्तैयस्तै सन्दर्भहरूबीच रहस्यमय किसिमले नेत्रविक्रम चन्दहरूले शान्तिपूर्ण राजनीति गर्ने, ‘ वैज्ञानिक समाजवादका लागि जनमत सग्रहमा जाने’ भनेर बालुवाटारमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसित फोटो सेसन गरे । अर्थ न बर्थको एकीकृत क्रान्तिका नाममा १० /१२ जना युवाहरूलाई सहिद बनाइसकेपछि र राजनीति अनकन्टार जंगलमा हिँडेको स्थितिमा पुगेपछि एकएकवटा नाम दिएर ओरालोको यात्रा चुन्नुबाहेक विप्लवका सामु विकल्प पनि थिएन । वास्तवमा आर्थिक मामिलामा केहीले राम्रो व्यवस्थापन गरेसँगै जनमत सङ्ग्रहबाट वैज्ञानिक समाजवाद ल्याउने मार्क्सवाद विरोधी हावादारी राजनीति नै ७ वर्षको नेत्रविक्रम चन्दको चिन्तन र व्यवहारको विकास हो ।
पार्टी विभाजन गर्दाताकाको विप्लवको दस्ताबेजमा पेरिस कम्युनदेखि माओसम्मको चिन्तन र क्रान्तिको कार्यदिशा खारेज गरेर अमूर्त नारा अघि सारिएको थियो । ‘आठौँ महाधिवेशन’ मा पार्टीभित्र दुईलाइन सङ्घर्ष हुँदैन भन्दै माओवादी लाइन खारेज गरिएको थियो, र साम्राज्यवादको अन्त्यको सिद्धान्त अघि सारेर ‘उत्तर–साम्राज्यवादी’ धारणा अघि सारिएको थियो । माओवादी नाम नै घाँडो लागेर पार्टीको नामसित जोडिएको माओवादी पदावली खारेज गरेर नेकपा मात्र राखिएको थियो । अर्थात् माओवादसित जोडिएका समग्र मान्यतालाई परित्याग गरिएको थियो । र अब आएर बलपुर्वक सत्ता प्राप्त गर्ने मालेमावादी लाइन त्यागेर शान्तिपूर्ण किसिमले वैज्ञानिक समाजवाद ल्याउने हावादारी कार्यदिशा अघि सारिएको छ । वैचारिक पतनको यो भन्दा टडकारो उदाहरण अरू हुन सक्तैन । ओली सरकारबाट हटेपछि विप्लव समूह टुहुरो भयो भनेर गर्ने गरिएका टिप्पणीहरू केही होइन भन्न सकिने स्थिति छैन । यस्तो अवस्थामा विप्लवका चर्का नारा, युवाहरूको नाममा गरिने गरिएको भ्रमबाट इमानदार कार्यकर्ता भ्रममुक्त भएर क्रान्तिकारी विकल्प सोच्नु र खोज्नु स्वाभाविक थियो र हुन्छ ।
विप्लव समूहका सम्बन्धमा टिप्पणी गर्ने गरिन्छ : विचारका आधारमा विप्लव समूभित्र कुनै विभाजन छैन र पनि विभाजनका दृष्टिले त्यहाँभित्र मूलतः तीनवटा गुट छन्, एउटा पैसा टन्न उठाएको समूह, अर्को अलिअलि हात पार्न सक्षम समूह र अर्को पछिपछि कुदेको तर हात लाग्यो शून्य समूह मात्र छ । पहिले पनि हुँदैनथ्यो र अहिले त्यहाँ क्रान्तिका सम्बन्धमा चर्चा/ परिचर्चा हुँदैन भनेर कार्यकर्ताहरू भन्ने गर्छन् । अहिले त्यहाँ नयाँ किसिमले जानुपर्छ भन्दै चुनावी राजनीतितिर जान चाहनेहरू छन् र यसका लागि कोही प्रचण्ड कित्तामा र कोही ओली कित्तामा उभिनेहरू छन् भनेर पनि टीकाटिप्पणी हुने गरेको छ । अनि ७ वर्ष ‘एकीकृत क्रान्ति’ का नाममा नेताहरूले फेरि भ्रम दिए, अब तिनको भण्डाफोर गर्दै क्रान्तिकारी धारमा जानुपर्छ भन्ने इमानदार कार्यकर्ता पनि छन् । यस्तै स्थिति, गति र प्रवृत्तिहरूबीच अहिले विप्लव समूह डोलायमान छ । ‘महापतन’ लेख्दालेख्दै मिहिन पाराले त्यसै दिशातिर उन्मुख विप्लव समूहले आगामी दिनमा कुन दिशामा छलाङ हन्छ भन्ने कामकुराका लागि धेरै दिन पर्खिनुपर्छ जस्तो लाग्दैन ।
अहिले त्यसभित्रका कतिपय कार्यकर्ताहरू नेकपा (क्रान्तिकारी माओवादी) मा ध्रुवीकृत भएका छन् । यसलाई सकारात्मक नै मान्नु पर्छ । नेतृत्वपङ्क्ति नै विचारविहीन र दिशाहीन स्थितिमा भएपछि टुटफूट र विभाजनको शृङ्खला निरन्तर चल्नु स्वाभाविक हुन्छ । विप्लव समूहको अहिलेको स्थिति यही नै हो ।
गोलचक्करमा नेकपा (क्रान्तिकारी माओवादी)
प्रचण्डको गद्दारीपूर्ण चिन्तन र व्यवहारका विरुद्ध विद्रोह गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने भनेर कमरेड किरणको नेतृत्वमा गठित पार्टी अहिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नाममा क्रियाशील छ ।यसले पनि विद्रोहपछिको दस वर्षको समय पार गर्न लागेको छ । सुरुमा यो वैचारिक र सङ्गठनात्मक दुवै दृष्टिले आशलाग्दो थियो । तर समयक्रममा विद्रोह गर्नुका पछाडि निहित सबैका नियत र उद्देश्य प्रस्ट हुँदै गए । एकपछि अर्को गरेर बादल, विप्लव सबैका असली रूप सतहमा आए । यो हामी सबैले देखेको र भोगेको यथार्थ हो ।
नेकपा (क्रान्तिकारी माओवादी) ले राष्ट्रिय सम्मेलन गर्दैछ भनेर कतै पढेजस्तो लाग्छ । यसले यो दस वर्षका सकारात्मक र नकारात्मक समग्र समीक्षा गर्ला नै । इमानदारीपूर्वक विश्लेषण र संश्लेषणको आवश्यकता छ । आफ्नो व्यक्तिवादी-महत्वाकाङ्क्षी प्रवृत्ति र निर्देशित योजनाबद्धतालाई कार्यान्वयन गर्ने क्रममा नेकपा-माओवादीबाट विप्लवले सम्बन्ध विच्छेद गरेपछि बादलको नेतृत्वमा रहेको खाओवादी अर्को दक्षिणपन्थी समूहले क्रान्तिकारीहरूलाई टिक्न नदिने र चुनाववादी दक्षिणपन्थी समूहलाई भित्र्याउनमा बढी जोड दियो । बादलको मूल जोड दक्षिणपन्थीहरूलाई भित्र्याएर सिङ्गो पार्टी प्रचण्डकोमा विलय गराउने भन्ने थियो । बादल समूहले यो स्वार्थ पूरा नहुने देखेपछि सो समूह प्रचण्ड समूहमा विलय भयो । नेकपा (क्रान्तिकारी माओवादी) भित्रको माओवाद र जनयुद्ध पक्षधर शक्तिको स्थिति र गतिको टीठलाग्दो स्थिति सो पार्टीको पोखरा सम्मेलनले प्रस्ट पारेको कुरा सार्वजनिक भइसकेको हो । यसको पनि सो पार्टीले समीक्षा गर्ला नै ।
नेकपा (क्रान्तिकारी माओवादी) को अब हुने राष्टिय सम्मेलनमा सो पार्टीले यो दस वर्षको समीक्षा कसरी गर्छ हेर्न बाँकी छ । विप्लव र बादलहरू समूहगत रूपमा बाहिरिए । अनि जनयुद्धसित गाँसिएका र जनयुद्ध र पछिका दिनमा पनि महत्वपूर्ण भूमिकामा रहेका कतिपय कमरेडहरू पनि एकपछि अर्को गरेर पार्टीबाट बाहिरिए । किन बाहिरिए ? कहाँ रह्यो मूल नेतृत्वको कमजोरी ? यो पनि समीक्षाको विषय हो । पछिल्लो समयमा वैचारिक हिसाबले असाध्यै कमजोर र विरोधाभासपूर्ण स्थितिमा रहेका समूहसहितको राणनीतिक मोर्चा बन्यो । यस किसिमको मोर्चाको अर्थ थिएन l यसले नेकपा (क्रान्तिकारी माओवादी) को अपरिपक्व र अधिभौतिकवादी चिन्तनलाई मात्र प्रतिविम्बत गरेको थियो । पछिल्लो समयमा मोहनविक्रम र विप्लव समूहसित एकताका कुरा भए पनि व्यवहारमा अघि बढ्न नसकेको र अब यो चरण समाप्त भएर ध्रुवीकरणको चरण भएको भनेर नेकपा (क्रान्तिकारी माओवादी) ले धारणा सार्वजनिक गरेको छ । यसै क्रममा विप्लव समूहको रहस्यमय राजनीति र गोपाल किरातीको मार्क्सवाद विरोधी राजनीति परित्याग गरेर केही कार्यकर्ता ध्रुवीकृत भएका छन् । यो सकारात्मक पक्ष हो ।
अहिले अरू पार्टीभन्दा नेकपा (क्रान्तिकारी माओवादी) वैचारिक सन्दर्भमा प्रस्ट र माओवाद र जनयुद्धको राजनीतिसित जोडिएका अनुभवी नेताहरू भएको पार्टी हो । यो पार्टी मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति र क्रान्तिका तीन जादुगरी हतियारबारे प्रस्ट छ, तर फेरि पनि प्रश्न कार्यदिशाका बारेमा नै छ । सशस्त्र जनविद्रोह भनेर पुग्दो छैन, सशस्त्र सङ्घर्षको स्वरूप कस्तो हुने भन्ने कुरालाई सारसङ्ग्रहवादी शैलीमा होइन, यसलाई मुर्त किसिमले प्रस्ट्याउनु पर्छ र शृ्खलामा जानुपर्छ ।
कमरेड किरणले छलाङमा जाने भन्नुभएको छ, सही हो अर्को बाटो छैन,तर दुईचार जना मिसिदैमा छलाङको स्थिति बनिहाल्छ भन्ने भन्ने लाग्दैन । कार्यदिशा र कार्यतत्परता सँगसँगै जोडिएर आउँछन् । नेकपा (क्रान्तिकारी माओवादी) क्रान्तिका कुरा गर्छ, तर व्यवहारमा जाँदैन, सङ्गठन परिचालनका सम्बन्धमा पनि समस्या छन, उत्तराधिकारीको समस्या छ , कार्यकर्ताको योग्यता र क्षमता पहिचानमा पनि समस्या छन् भन्ने गरिन्छ । प्रभाववादमा फस्नु र मान्छे चिन्न नसक्नु मूल समस्या हो भनेर भन्ने गरिन्छ र यस्ता सन्दर्भहरू मूल नेतृत्वसित पनि जोडिेने गरेका छन् । यी सबै कुरालाई सो पार्टीले कसरी लिन्छ र लान्छ, यो भोलिको कुरा हो, तर अहिले पार्टीमा देखिएको गोलचक्करवादी प्रवृत्तिका कारण पार्टीलाई गति र नयाँ जीवन दिने कुरा प्रश्नको विषय बनेको छ ।
छलाङले धेरैधेरै कामकुराको माग गर्दछ । एउटा पुस्ता थाकेको जस्तो देखिन्छ। इच्छाशक्तिहीन र रुटिनबद्धतामा छ । नयाँ पुस्तामा अध्ययन छैन, टपर्टुइयाँ प्रवृत्ति छ र फेसबुकमा रमाउने र सेलिब्रटी हुन खोज्ने घातक मानसिकता र हुटहटीको रोगले ग्रस्त छ । उनीहरूमा भिन्नै ग्रन्थी विकसित हुन थालेको देखिन्छ । निर्मम शुद्धीकरण र सुदृढीकरणबिना छलाङले कसरी गति लिन सक्छ भन्ने प्रश्न तगारो बनेर उभिनु स्वाभाविक छ ।
अबको बाटो
ध्रुवीकरण आफैँमा पूर्ण र सम्पूर्ण हुँदैन र होइन । धु्वीकरणका नाममा केकस्ताहरूको जमघट भएको छ भन्ने कुरा पनि जोडिएर आउँछन् । सङ्ख्या चाहिन्छ, तर मूल कुरा गुणामा जोड दिनुपर्छ । माओले भनेझैँ ‘एकमा-तीन’ हो र लाल र निपूणको संयोजन हो । यस अर्थमा प्रधान पक्ष हिजो जनयुद्धसित गाँसिएको पङ्क्ति र शक्ति हुनु पर्दछ । माओवाद विरोधी, जनयुद्ध विरोधी र ‘उत्तर-मार्क्सवादी’ जातीयतावादीहरूलाई टाउकामा राखेर कसरी छलाङको उद्देश्य पूरा गर्न सकिएला र ?
अवश्य पनि अबको बाटो भनेको क्रान्तिकारी छलाङको बाटो हो । तर यो दुईचार जना थपिँदैमा हुने होइन, आधारभूत रूपमा नीति, योजना, कार्यदिशा र व्यावहारिक तत्परताको कार्य हो । प्रचण्डको समूहको माथिल्लो पङ्क्तिले गद्दारीको बाटो समाते पनि क्रान्ति हुनुपर्छ भन्ने चाहना राख्नेहरू तल्लो पङ्क्तिका छन् , तिनमा विश्वास जगाउनु आवश्यक छ । विप्लव समूहको माथिल्लो तह ‘शान्तिपूर्ण राजनीति’ को फोहोरमैलामा लुटपुटिएको भए पनि युवाहरूको एउटा पङ्क्ति क्रान्तिप्रति आस्थावान् छ र त्यसलाई समेट्न सक्नुपर्छ र यसले व्यवहारको माग गर्छ ।
ध्रुवीकरणको पक्रियाले मनोवैज्ञानिक विश्वास र क्रान्तिकारी आशावादलाई जगाउँछ तर, यसले मात्र आजको आवश्यकता पूरा गर्न सक्तैन । यसका लागि क्रान्तिकारी पुनर्गठनको आवश्यकता छ । अब पुरानो बनिबनाउ संयन्त्रबाट काम चल्नेवाला छैन भन्ने कुरा यताको दस वर्षको इतिहासले प्रस्ट पारिसकेको छ । यसबारे पहिलो चरणमा क्रान्तिकारीहरूको नयाँ केन्द्र (न्युक्लिअस) निर्माण गरेर कामको थालनी गर्न सकिन्छ । अबको सही र वैज्ञानिक तयारी क्रान्तिकारी पुनर्गठन नै हो र यसमा नेकपा (क्रान्तिकारी माओवादी) सहितका शक्ति र क्रान्तिकारी व्यक्तिहरूको तत्परता र पहलकदमी आवश्यक छ र हुन्छ ।
०००
भिडियो फिचरview all