menu

ताजा समाचार

कमरेड किरणद्वारा क्रान्तिकारीहरूबीचको सिद्धान्तनिष्ठ ध्रुवीकरण र एकतामा जोड

नेकपा (क्रान्तिकारी माओवादी ) का महासचिब कमरेड किरणले एक वक्तव्य जारी गरेर   विशेष उत्सवका साथ माओदिवस मनाउन र माओले देखाएको बाटोमा निरन्तर अगाडि बढिरहन अपिल गरेका छन्  । माओदिवसका सन्दर्भमा जारी वक्तव्यमा महासचिब कमरेड किरणले विश्व सर्वहारा क्रान्तिमा माओले वैचारिक, राजनीतिक तथा व्यवहारका सम्बन्धमा माओले पुर्याएको ययोगदानको चर्चा गर्दै  ''आज, कुनै पनि कम्युनिस्ट पार्टी मार्क्सवादी-लेनिनवादी-माओवादी नबनी सच्चा मार्क्सवादी बन्न सक्दैन' भन्ने कुरामा जोड दिएका छन् । त्यसैगरी  वक्तव्यमा उनले '' क्रान्तिको विकासका लागि यतिबेला संशोधनवादको निर्मम भण्डाफोर र क्रान्तिकारीहरुका बीचको सिद्धान्तनिष्ठ ध्रुवीकरण तथा एकता अनिवार्य आवश्यकता बन्न गएको छ" भन्ने यथार्थमा पनि जोड दिएका छन् ।

प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ:

आज डिसेम्बर २६, २०२१, तदनुसार २०७८ पुस ११ गते विश्व सर्वहारावर्गका नेता तथा आम उत्पीडित जनताको मुक्तिका कमान्डर कमरेड माओत्सेतुङको १२९औं जन्मदिवस हो । आज विश्वभरि सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु, विश्व सर्वहारावर्ग तथा उत्पीडित जनसमुदायका विभिन्न परिवर्तनकामी सङ्गठनहरुले उत्साहका साथ माओदिवस मनाइरहेका छन् । माओदिवसको यस ऐतिहासिक सन्दर्भमा हाम्रो पार्टी नेपाली सर्वहारावर्ग उत्पीडित जनसमुदाय एवम् सम्पूर्ण समर्थक, शुभचिन्तक जनता लगायत विश्वभरिका श्रमजीवी वर्गप्रति लालसलाम अर्पण गर्दछ ।

कमरेड माओले चिनियाँ प्रतिक्रियावादी शासक वर्ग र विश्व साम्राज्यवादका विरुद्धको निर्मम वर्गसङ्घर्ष तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय संशोधनवादीहरुका विरुद्धको भीषण दुईलाइन सङ्घर्षका बीचबाट चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी सफलतापूर्वक वैज्ञानिक समाजवादको अभ्यास गर्नुभयो । यो समग्र प्रक्रियामा माओले माक्र्सवादका तीनवटै सङ्घटक अङ्गहरु दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासमा सार्वभौम महत्वको योगदान गर्नु भयो । विश्वको तत्कालीन परिस्थिति र चीनको विशिष्ट सन्दर्भमा मार्क्सवाद–लेनिनवादलाई सिर्जनात्मक ढङ्गले प्रयोग गर्ने क्रममा विश्व सर्वहारा वर्गको अखण्ड क्रान्तिकारी सिद्धान्त मार्क्सवाद-लेनिनवाद-माओवादमा विकास भएको छ । आज, कुनै पनि कम्युनिस्ट पार्टी मार्क्सवादी-लेनिनवादी-माओवादी नबनी सच्चा मार्क्सवादी बन्न सक्दैन ।

देशमा राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या दिन प्रतिदिन विकराल बन्दै गइरहेका छन् । भारतीय विस्तारवादसित पटकपटक गरिएका असमान सन्धि संझौताहरुप्रति मौन समर्थन जनाएर र लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता लगायतका भारतीय विस्तारवादद्वारा अतिक्रमित भूमि फिर्ता गराउने कामलाई थाँति राखेर नेपाली काङ्ग्रेसको नेतृत्वमा गठित गठबन्धन सरकारले अमेरिकी सैन्य रणनीतिको अंश रहेको एमसीसीलाई सदनबाट पारित गराउन घुँडा धसिरहेको छ । महान् जनयुद्ध, ०६२/०६३को जनआन्दोलन लगायत नेपाली जनताले चलाउँदै आएका विभिन्न सङ्घर्षहरुबाट प्राप्त सिमित जनवादी अधिकारहरु खोसिँदै गएका छन् । महङ्गी, बेरोजगारी व्याप्त छ र व्यापार घाटाले अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गइरहेको छ । यो विग्रँदो स्थितिका लागि आफूलाई लोकतन्त्रवादी भन्ने नेपाली काङ्ग्रेस लगायतका प्रतिक्रियावादी पार्टीहरु र प्रतिक्रियावादमा पतन भइसकेका कम्युनिस्ट नामका संशोधनवादी पार्टीहरु जिम्मेवार छन् । वस्तुतः संसदीय पार्टीहरुका बीचमा नाममा बाहेक आर्थिक तथा राजनीतिक कार्यक्रम र तिनको अन्तर्वस्तुमा कुनै फरक छैन । उनीहरुका बीचको प्रतिस्पर्धा सत्ता स्वार्थका लागि साम्राज्यवाद र विस्तारवादको चाकडी गर्नुमा सिमित हुन पुगेको छ ।

आज विश्वभरि दक्षिणपन्थी संशोधनवादीहरू प्रतिक्रियावादमा पतन भएर साम्राज्यवादी नवउदारवादका पक्षपोषक बन्न गएका छन् र उनीहरुले कम्युनिस्टको नाममा जनताका बीचमा भ्रम छरिरहेका छन् । क्रान्तिको विकासका लागि यतिबेला संशोधनवादको निर्मम भण्डाफोर र क्रान्तिकारीहरुका बीचको सिद्धान्तनिष्ठ ध्रुवीकरण तथा एकता अनिवार्य आवश्यकता बन्न गएको छ । यो स्थितिमा संशोधनवादको भण्डाफोर गर्दै र क्रान्तिकारीहरु एकताबद्ध हुँदै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद तथा विस्तावादका विरुद्ध नयाँ जनवादी क्रान्तिको दिशामा दृढताकासाथ अगाडि बढ्नुमा नै माओदिवस मनाउनुको विशेष ऐतिहासिक अर्थ र महत्व रहन्छ । अतः म केन्द्रीय समितिको तर्फबाट सबै पार्टी कमरेडहरुसित विशेष उत्सवका रुपमा माओदिवस मनाउन र माओले देखाएको बाटोमा निरन्तर अगाडि बढिरहन हार्दिक अनुरोध गर्दछु  ।

मोहन बैद्य (किरण)
महासचिब

नेकपा (क्रान्तिकारी माओवादी )

मिति २०७८,पौष ११        
           
भिडियो फिचरview all