ताजा समाचार
कमरेड रामवृक्ष यादव : लाल सलाम !
यतिखेर हामी कमरेड रामवृक्ष यादवको सम्झना गरिरहेका छौँ । वहाँ मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । आजभन्दा २७ वर्षअघि अर्थात् २०५१ साल भदौ २ गते, फासिवादी काङ्ग्रेसी सरकारद्वारा निर्देशित गुन्डाहरूद्वारा धनुषाको बर्मझियामा वहाँको हत्या गरिएको थियो । यस घडीमा हामी सबैभन्दा पहिले महान क्रान्तिकारी योद्धा, नेपालको कम्युनिस्ट आन्दोलनका अगुवा कमरेड रामवृक्ष यादवप्रति श्रद्धान्जली अर्पण गर्दछौं ।
महान दसबर्से जनयुद्धको तयारीको अगुवाइ गर्ने कमरेडहरूमध्येका एक कमरेड रामवृक्ष यादवप्रति हामीले जेजति सम्झना र सम्मान गर्नुपर्ने थियो, त्यसो गर्न सकेका छैनौं । सम्झना पनि औपचारिकता मात्र भएको छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि तराईका जनता र बलिदानको चिप्ला कुरा गर्ने, तर बलिदानको सम्मान गर्नुपर्ने र मूल्यबोध गर्नुपर्ने बेलामा परिवारवाद र उपभोक्तावादमा फसेका पार्टी र नेताहरूका लागि रामवृक्ष यादव अब सन्दर्भहीन बन्न पुग्नु कुनै आश्चर्यको विषय भएन । त्यसमा पनि रामवृक्षका हत्याराहरूसित घाँटी जोडेर राष्ट्रघात र जनघातको मतियार बनेका प्रचण्ड र उनको समूहका लागि कमरेड रामवृक्ष असान्दर्भिक बन्नु अनौठो कुरा होइन । कमरेड रामवृक्षका नाममा उनीहरूले गर्ने गतिविधि कमरेड रामवृक्षको अपमानसिवाय केही होइन ।
स्थिति हिजोको भन्दा झन् जटिल बन्दै गइरहेको छ । दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने नयाँ-पुराना दलालहरूको पार्टी अहिले सरकारमा छ । 'वाम' र 'लोकतन्त्रवादी' सरकारका नाममा प्रतिक्रियावादी सत्ताको अभ्यास गर्दै यसले जनतामा ठूलो भ्रम दिइरहेको छ । राष्ट्रिय आत्मसमर्पण र दलाली यसका सार्वभौम चरित्र हुन् ।
कोरोना महामारी, महँगी, भ्रष्टाचार र आर्थिक बोझको असह्य पीडा खप्न जनता वाध्य छन् । स्थितिले नयाँ किसिमको आन्दोलनको माग गरेको छ । जनतामा नयाँ किसिमले विश्वास जगाउनु पर्ने आवश्यकता छ l एकातिर सत्ताधारीहरूका विरुद्ध संयुक्त आन्दोलनको आवश्यकता छ भने अर्कोतिर गद्दारहरूले भताभुंग र लथालिंग पारेको माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ किसिमले पुनर्गठन गर्नु पर्ने दायित्त्व पनि क्रन्तिकारीकारीहरूका सामु उपस्थित छ ।
राष्ट्रिय स्वाधीनता र जनतन्त्रको प्रश्न जटिल बन्दै जानुका साथै नयाँ-पुराना प्रतिक्रियावादी शक्तिहरूबीच ध्रुवीकरण बढदै जानुले क्रान्तिकारी शक्तिहरूका सामु नयाँ चुनौती उभिएको यथार्थप्रति क्रान्तिका पक्षधरहरू प्रस्ट हुनु आवश्यक छ । यस यथार्थलाई आत्मसात गरी मार्क्सवाद- लेनिनवाद-माओवादप्रति प्रतिबद्ध नयाँ जनवादी क्रान्तिका पक्षधरहरू आआफ्ना कमीकमजोरी स्वीकार्दै र इतिहासको वैज्ञानिक समीक्षा गर्दै नयाँ किसिमले पुनर्गठित हुनु अहिलेको टडकारो आवश्यकता हो । यसैमा नै कमरेड रामवृक्ष यादवप्रति श्रद्धा र सम्मान गर्नुको सार्थकता निहित छ ।
आउनुहोस्, कमरेड रामवृक्ष यादवको वर्गचेत, भविष्यदृष्टि, समर्पणभाव र बलिदानी मूल्यलाई आत्मसात गरौं ।
संयोजक
(कम्युनिस्ट न्युक्लिअस, नेपाल)
भदौ २, २०७८
भिडियो फिचरview all