menu

ताजा समाचार

अहिलेको आवश्यकता क्रान्तिकारी पुनर्गठन

 यताका तीनचार महिना नेपालको राजनीति संसदीय राजनीतिको घेराबन्दीमा घुमिरह्यो । संसद विघटन, पुनस्र्थापना, प्रचण्ड र ओली नेतृत्वमा रहेको नेकपा (नेकपा) विभाजन, ओली र माधव नेपालबीचको चर्काचर्की,  विश्वास   र अविश्वासको मतको सेरोफेरोमा नेपालको राजनीति घुमिरह्यो । ओली फेरि प्रधानमन्त्री भएका छन् । थरीथरीका टिप्पणीहरू आएका छन्, 'देउबा-प्रचण्डको हार  ओलीको जीत'  भनेजस्ता समाचार छापिएका छन् । सबैभन्दा बढी टिप्पणीको विषय प्रचण्ड बनेका छन्  र यो स्थितिको कारक पक्ष पनि उनै हुन् ।

विचलनको प्रमुख सैद्धान्तिक आधार चुनवाङ बैठक नै थियो र हो । तर पनि घिसार्दै घिसार्दै  प्रचण्डलाई पालुङ्टार बैठकसम्म लगिएको हो । तर त्यसको मसी सुक्न नपाउँदै निर्णय खारेज गरेर खरिपाटी बैठकमा कमरेड किरणले नेतृत्व गरेको शक्तिलाई लात मारेर बाबुरामलाई अँगालो हालेपछि नै प्रचण्डको विचलनले तीव्र गति समातेको थियो । यो गतिको अन्तिम परिणाम एकताका नाममा एमालेमा विलय अर्थात् ओलीका सामु आत्मसमर्पण थियो । अब रोइकराइ  गर्नुको अर्थ छैन ।

 उनीसित रहेको शक्तिलाई उनले जोगाउन सकेनन् । कमरेड किरणको नेतृत्वमा विद्रोह गरेर  बादलसहितको टोली आए पनि बादललाई  आधी प्रचण्ड, आधी किरण भनेर व्यङ्ग्य गरिन्थ्यो । उनी फर्केर उतै गए, तर प्रचण्डले उनलाई पनि टिकाउन सकेनन् । बादलले किरणको पार्टीलाई पनि क्षतविक्षत पारेर गए । अहिले भिजेको मुसो भएर ओलीको दास बनेका छन् , यो भिन्नै कुरा हो । ओली हट्लान् र मन्त्री खान पाइएला भनेर बसेका हरिबोल र सुनिल पौड्यालले कति दिन साथ दिने हुन्,  टुङ्गो छैन । विचार छोडिसकेको जमात   जता व्यक्तिगत लाभ हुन्छ, उतै लहसिन्छ ।  बादल र भट्टबाहेक प्रचण्डलाई छोड्ने सबै पातलो मसालको लिगेसी  बोकेका हुन्   भन्ने कुरा पनि   यहाँ स्मरणीय छ ।

अवश्य पनि, जनयुद्धको नेतृत्व प्रचण्डले गरे, तर त्यसको इतिहास र मूल्यलाई ध्वस्त पार्न प्रचण्ड र बाबुराम दुवै कस्सिएर लागे । अब माओवादी आन्दोलनको विरासतको हकदार प्रचण्ड हुन सक्तैनन् र होइनन् ।  जे-जस्ता कमीकमजोरी भए पनि नेपाल कम्युनिस्ट पार्टी (मशाल) र जनयुद्धको क्रान्तिकारी राजनीतिको विरासतको नेतृत्व र निरन्तरता कमरेड किरणसित मात्र छ । यो अहिलेको यथार्थ हो । त्यसैले “सबै माओवादी एकै ठाउँमा” को नारा प्रचण्डबाट दिन सुहाउँदैन र उनलाई कसैले मतलब पनि राख्दैन । यो त हाँसोको विषय मात्र हुन सक्छ ।  मार्क्सवादमा अलिकति विश्वास हुनेहरू कोही पनि उनको पछि लाग्छ जस्तो लाग्दैन  । कसैलाई उनीप्रति अझै विश्वास लाग्छ भने बिनासर्त आँखा चिम्लेर घुस्रिन जान ऊ स्वतन्त्र छ ।  वास्तवमा अब प्रचण्डले संस्मरण लेखेर बसे हुन्छ ।

प्रचण्डकै  पार्टीमा पनि उनीपछि कसको नेतृत्व भन्ने प्रश्न उठिसकेको छ । बादलले टुकुचामा मुन्टो जोतिसकेको र महरा नैतिक दृष्टिले कमजोर भइसकेको अवस्थामा अर्को चुनावसम्म चल्ला, तर  चुनावपछि सो पार्टीको भविष्य के हुने हो भन्न सकिने स्थिति छैन ।

माओवादी क्रान्तिकारीहरूका लागि अबको समय  निकै चुनौतीपूर्णं छ । आवश्यकता शुद्धीकरण र सुदृढीकरणको छ र यो सामान्य लिपपोतले नभएर नयाँ किसिमले पुनर्गठित प्रक्रियालाई अघि बढाएर मात्र सम्भव छ । चौथो महाधिवेशनको विरासत बोकेका, नेपाल कम्युनिस्ट पार्टी (मशाल) को नेतृत्व गरेका, जनयुद्धको शीर्ष नेतृत्व तहमा रहेका र अहिलेसम्म पनि मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति र क्रान्तिका तीन जादुगरी हतियारप्रति सैद्धान्तिक प्रतिबद्धता जनाएर आफ्नो शक्ति र सामथ्र्यका साथ सङ्घर्ष गरिरहेका नेताहरू छन्,   इमान्दार  कार्यकर्ताहरू पनि छन्, तर यतिले मात्र   पुग्ने स्थिति छैन । क्रान्ति लामो र दीर्घकालीन प्रक्रिया हो, यसले वैचारिक दृढताका साथै, धैर्यको माग गर्छ  ।  शीघ्र विजयको मानसिकता. अधैर्य, तीव्र महत्त्वाकांक्षी र एक्लेवीर   प्रवृत्तिलाई पनि हामीले देखिसक्यौं , भ्रमको पर्दा खुलिसक्यो  । यस अर्थमा   क्रान्तिकारी विरासतको निरन्तरतालाई अघि बढाउने समर्थवान उत्तराधिकारीहरूको निर्माण र नेतृत्वको समस्या अहिलेको समस्या हो ।

उत्तराधिकारीको समस्या  किरणको पार्टीमा  पनि छ । समयको चुनौतीको सामना गर्न सक्ने  भावी   नेतृत्त्वको समस्या त्यहाँ पनि छ । उत्तराधिकारीहरू वर्गसङ्घर्षका बीचबाट जन्मिन्छन्, यो सैद्धान्तिक प्रस्थापना हो, तर साथै उत्तराधिकारीहरू निर्माण पनि गरिन्छन्, प्रश्न योग्यता र क्षमताको पहिचानको हो, मूल नेतृत्त्वको यो जिम्मेवारी पनि हो   । त्यसैले पुनर्गठन भनेको केही व्यक्तिहरू, केही टाउकाहरूको जमघट, अथवा विभिन्न सङ्गठनहरू एकै ठाउँमा मिसिनु होइन, तथाकथित 'रणनीतिक मोर्चा' को नाटकीय तारतम्य  पनि होइन ।  पुनर्गठन भनेको क्रान्तिकारी केन्द्र निर्माणको प्रक्रिया हो, जसको वरिपरि अन्य सहयोगी शक्तिहरू  गोलबद्ध हुन्छन्  । यसमा वैचारिक, साङ्गठनिक र नेतृत्व पक्षको अहम् भूमिका हुन्छ, हुनु पर्छ । यसमा इतिहासबाट शिक्षा लिने कुराले अहम् अर्थ  र महत्त्व राख्दछ ।

अहिले क्रान्ति कहिले हुन्छ भन्दा पनि क्रान्तिकारी विचार मार्क्सवाद-लेनिनवाद-माओवादको रक्षा प्रधान बनेको छ । एकातिर संसदवादी उपयोगितावाद र उपभोक्तावादको जगजगी छ र अर्कोतिर समय फेरिएको, वर्गसङ्घर्षको युग समाप्त भएको भन्ने नाममा ‘उत्तर-मार्क्सवादी’ विसर्जनवादी खतरा  मडारिदो छ, यो झन् खतरनाक किसिमले क्रियाशील हुन थालेको छ  । कर्पोरेट माध्यमहरू मार्क्सवादका विरुद्ध  योजनाबद्ध किसिमले लागेका छन् ।   यस्तो बेला केही गम्भीर सोचाइ, बुझाइ र पहलकदमीको आवश्यकता छ । स्थिति जटिल र  चुनौतीपूर्ण पनि छ र क्रान्तिकारीहरूको पहिचान र परीक्षण पनि यस्तै बेला हुन्छ ।
०००   


भिडियो फिचरview all