ताजा समाचार
मे दिवस र क्रान्तिकारी सांस्कृतिक आन्दोलन
कसको प्रशंसा गर्ने, कसको भण्डाफोर गर्ने, कसलाई अगाडि बढाउने र कसको आलोचना गर्ने भन्ने कुरा विचारको प्रश्न हो, पक्षधरताको प्रश्न हो भनेर माओले ‘एनान प्रवचन’ मा प्रस्टताका साथ भन्दै क्रान्तिकारीहरू कहाँनेरी उभिने भन्ने कुरा खुलस्त पार्नुभएको थियो । कुरा त ‘तिनीहरू’ माओवाद, नयाँ जनवादी क्रान्ति, चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको गर्छन् । तर ‘तिनको’ सांस्कृतिक मोर्चा कब्जा गरेकाहरू चाहिँ “मार्क्सवाद अपुरो छ” भन्दै ‘उत्तर-मार्क्सवाद’ को पक्षपोषणा गर्छन् ।अनि ‘उत्तर-मार्क्सवाद’ का पक्षधरलाई अघि लगाएर सांस्कृतिक प्रतिरोधात्मक मोर्चाको कुरा गर्छन्, त्यस्तै परे पुरस्कृत गर्ने वातावरण पनि तयार पार्छन् ।
संसदवादीहरूको उदाहरण त रेणु दाहाललाई जिताउने प्रकरणदेखि दीपक मनाङ्गे प्रकरणसम्म आइपुग्दा सबै खुलस्त भएको छ । तर, ‘उत्तर-वाद’ प्रतिको मोहले क्रान्तिकारी भनिएकाहरूप्रति पनि प्रश्न उठ्न थालेको छ । क्रान्ति कहिले हुन्छ भन्दा पनि विचारको रक्षा प्रधान बन्न थालेको छ । हामीले बुझेको मूल कुरा भनेको, विचार हो, ''पोलिटिक्स इन कमाण्ड" हो । यसले ठाउँ छोड्न थालेपछि सांस्कृतिक मोर्चा मात्र नभएर सबै मोर्चाहरू भताभुंग- लथालिंग हुन्छन् । यो इतिहास र हाम्रै अनुभवले पुष्टि गरेको यथार्थ हो ।
‘उत्तर-वाद' का विरुद्ध हामी निरन्तर लड्दै औएका छौं । तर, दुखको कुरा, ‘उत्तर-मार्क्सवाद’ माओवादी क्याम्पभित्र पनि मिहिन पाराले पसिसकेको छ । ‘उत्तर-मार्क्सवादी’ भाइरस कोरोना भाइरसभन्दा कम खतरनाक छैन । यसको उपभोक्तावादी प्रवृत्तिले अक्टोपसका झैँ माओवादी भनिएकाहरूलाई पनि गाँजिसकेको छ l व्यवहारममा हामीले यसको अनुभूत गर्न थालिसकेका छौं । एक थरी त ''उत्तर- साम्राज्यवाद' को वकालत गर्दागर्दै वर्ग समन्यववादी, सारमा विसर्जनवादी धरातलमा पुग्न थालेको स्थिति छ । 'उत्तर-वाद' को पनि नाङ्गो स्वरूप देखिन थालेको अवस्था छ त्यहाँ । जसले क्रान्तिकारी धार अझै छोडेको छैन भनेर बुझ्ने गरिएको छ, त्यहाँ पनि 'पहिचानवादी ' प्रवृत्ति प्रभावशाली हुन थालेको देखिन्छ । सांस्कृतिक मोर्चामा त यो प्रवृत्ति खुलेरै आएको छ । ‘वरिष्ठ’ को निरीहता (?) पनि बुझिनसक्नु छ । कुरा माओवादको, व्यवहार ‘उत्तर-मार्क्सवादी’ विसर्जनवादको हुन गएको छ ! निर्मम बन्नु पर्ने ठाउँमा उदारतावाद हाबी भएको छ । माओले ''उदारतवादको विरोध गरौँ " भन्दै थुप्रै थरीका उदारतावादी प्रवृत्तिको चर्चा गर्नुभएको थियो । उपयोगितावाद र उपभोक्तावाद यसका डरलाग्दा स्वरूप हुन्।
यतिबेर विचारको प्रश्न अहम् प्रश्न बनेको छ । श्रमजीवी वर्गको पक्षधर क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई अघि बढाउँन उदारतावाद र उपभोक्तावादवादबाट मुक्त भएर नयाँ कदम चल्नु आवश्यक छ l पहिलो कुरा आफ्नो टाउकामा आफैंले आगो लगाउने हो । अनि मात्र बुर्जुवा ''चमक-दमक" बाट मुक्त हुन सकिन्छ । माओवादी आन्दोलन कथित सेलिब्रेटीहरू, बुर्जुवा सेलिब्रेटीहरू उत्पादन गर्ने कारखाना होइन र हुन सक्तैन । माओवादी सांस्कृतिक आन्दोलन मार्क्सदेखि माओसम्मको विम्ब-विदृपीकरण गर्ने जत्थाको खेलमैदान होइन र हुन सक्तैन । अहिलेको समय माओवादका नाममा 'उत्तर-मार्क्सवाद' को अभ्यास गर्ने प्रवृत्तिप्रति निर्मम बन्ने समय हो । गलत चिन्तनलाई संरक्षण दिने टाउको जतिसुकै ठूलो किन नहोस्, विचारको प्रश्नमा उदारतावाद मान्य छैन । यथार्थ के हो भने जसको टाउको जति ठूलो छ, त्यसमाथि त्यति नै ठूलो घन बजाउनु आवश्यक छ ।
यस अर्थमा थोरै भए पनि क्रान्तिकारी विचारका पक्षधरहरू एकै ठाउँमा उभिऔँ । मे दिवसका सन्दर्भमा हामी यही कामना गर्दछौँ । विचारको रक्षाका लागि निमर्म बन्ने समय आएको छ । क्रान्तिकारीहरू जो जहाँ छौँ, त्यही अन्तर्सङ्घर्ष र वैचारिक सङ्घर्ष चर्काउने र नयाँ किसिमले धुवीकृत हुने समय आएको छ ।
मार्क्सले भन्नुभएको र माओले बारम्बार दोहोर्याउनु भएको एउटा वाक्य छ : विद्रोह गर्नु जायज छ ।”
यही नै १३२ औं मे दिवसका सन्दर्भमा ‘जनमेल’को अपिल हो ।
मे १, २०२१ ( वैशाख १८, २०७८ )
भिडियो फिचरview all