menu

ताजा समाचार

भाकपा (माओवादीको) विशेष अपिल

 (मे दिवस विश्वका सम्पूर्ण सर्वहाराको उत्सवको दिन हो । अहिले विश्वका क्रान्तिकारी पार्टी तथा सङ्गठनहरू  तथा श्रमजीवी वर्ग  र उत्पीडित समुदाय आआफ्नो देशको विशिष्टतामा मे दिवसको तयारीमा जुटिरहेका छन् । यसै क्रममा भारतमा दीर्घकालीन जनयुद्ध लडिरहेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले मे दिवसको  महत्वका साथै आजको सन्दर्भमा मे दिवस मनाउनुको आवश्यकता र औचित्य र विश्वका क्रान्तिकारीहरूले गर्नु पर्ने कार्यका सन्दर्भका प्रकाश पार्दै पार्टीका केन्द्रीय प्रवक्ता अभयका नामबाट एउटा प्रेस वक्तव्य जारी गरेको छ । प्रस्तुत छ सो वक्तव्यको नेपाली अनुवाद ।)

राज्यसत्ता प्राप्तिका लागि सर्वहाराले रातो झण्डा माथि उठाएको पेरिस कम्युनले १५० वर्ष पूरा गरेको बेलामा विश्वका श्रमजीवी वर्ग, त्यसमा पनि खास गरेर सर्वहारा वर्ग मे दिवस मनाइरहेको छ । यो विश्वका सम्पूर्ण सर्वहाराको उत्सवको दिन हो ।  यो विश्वका सर्वहाराको हकअधिकारको दिन हो ।

 मे दिवस यस्तो  दिन हो, जुन दिन सर्वहारा वर्गले आफ्नो शक्तिको स्थितिको समीक्षा गर्दछ र थप दृढ संकल्पका साथ निरन्तर  लागि पर्दै स्वतन्त्रता, समानता र भ्रातृत्वको लागि आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेर सर्वहारा क्रान्ति र विश्व समाजवादी क्रान्ति पूरा गर्ने वाचा गर्दछ । मे दिवसको अवसरमा हाम्रो पार्टीको केन्द्रीय समितिले विश्व सर्वहारा वर्गलाई हार्दिक क्रान्तिकारी अभिवादन व्यक्त गर्दछ । यस सन्दर्भमा पार्टीले ती सबै श्रमजीवीहरूलाई श्रद्धाका साथ क्रान्तिकारी श्रद्धाञ्जलि अर्पण गर्दछ जसले अधिकार प्राप्तिका लागि आफ्नो जीवन समर्पण गरे ।
अहिले साम्राज्यवादले विश्वभरि नै गम्भीर सङ्कटको सामना गरिरहेको छ । शोषणकारी शासक वर्गले यस सङ्कटको बोझलाई सर्वहारा वर्गमा थोपर्न र श्रम शक्तिमाथिको शोषणलाई तीव्र पार्न धेरै प्रहार गरेका छन् र षडयन्त्रहरू रचेका छन् ।  सन् २००८ को आर्थिक सङ्कट भन्दा पनि अहिलेको विश्व सङ्कट झन् गम्भीर हुँदै गइरहेको अवस्थामा कोभिड महामारीले सम्पूर्ण विश्वलाई आफ्नो नियन्त्रणमा लियो । यो एक घातक भाइरसहरूमध्येको एउटा यस्तो भाइरस हो, जसलाई साम्राज्यवादीहरूले नाफाको खोजीमा तयार पारेका थिए । यतिखेर समकालीन विश्व महामारीले ग्रस्त छ, करोडौं आप्रवासी कामदारहरूले आफ्नो जीविका गुमाएका छन् र सडकमा छन्, तर बहु–राष्ट्रिय कर्पोरेट उद्यमहरू र उनीहरूका दलाल कम्पनीहरू खोप व्यवसायको लागि प्रतिस्पर्धा गरिरहेका छन् र बहुपक्षीय विशेष नाफा कमाइरहेका छन् ।

साम्राज्यवादी भूमण्डलीकरणको परिणामस्वरूप पूँजीवादी विश्व अर्थव्यवस्था अभूतपूर्व तहमा विस्तारित भयो र यसले साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनता, पुँजिपति वर्ग र सर्वहारा वर्ग र अन्तरसाम्राज्यवादी शक्तिहरूबीच अन्तर्विरोध चरम सीमामा पुर्यायो  । उत्पीडित राष्ट्रहरू र जनतामा साम्राज्यवादी आक्रमण र पुँजीवादी नृशंसताको वृद्धि भएको छ । साम्राज्यवादीहरू, विशेष गरी अमेरिकी साम्राज्यवाद र चिनियाँ सामाजिक साम्राज्यवादका बीच विश्वव्यापी प्रभुत्व कायम गरेर विश्वका देशहरूको प्राकृतिक सम्पत्तीको शोषणका लागि शत्रुतापूर्ण किसिमले विश्वका देशहरू र बजारहरूको भागबन्डा चलिरहेको छ । ‘व्यापार युद्ध’ ले पिछडिएका देशहरू र  उत्पीडित जनतामाथि गम्भीर आर्थिक बोझ पारेको छ । सर्वहारा वर्ग, किसान, मध्यम वर्गीय जनता, महिला, धार्मिक अल्पसङ्ख्यकहरू, उत्पीडित जातजातिहरू र अन्य समुदायहरू जातीय भेदभावका साथै धेरै गम्भीर आर्थिक, राजनीतिक, सामाजिक-संस्कृति शोषण र उत्पीडनबाट आक्रान्त छन् । धनी र गरिबबीच असमानताको तह अभूतपूर्व स्थितिमा पुगेको छ । अहिले विश्वका श्रमजीवीहरू गरिबी, बेरोजगारी, भोकमरी, असमानता र जातीय विभेदबाट ग्रस्त छन । यी सबै साम्राज्यवादी भूमण्डलीकरणले उत्पन्न गरेका खराब परिणामहरू हुन् ।

पिछडिएका देशका मजदुरहरूलगायत साम्राज्यवादी र पुँजीवादी देशका मजदुरहरू पनि नव-औपनिवेशिक शोषण नीतिको कारण निर्मम शोषणको पीडा भोगिरहेका छन् । विश्व सर्वहारा वर्गको एकताका लागि वस्तुस्थिति र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । भूमण्डलीकरणको नीतिको अन्त्यका लागि यो समय दृढ सङ्घर्षको समय हो । साम्राज्यवादी र पुँजीवादी देशहरूका सर्वहारा वर्ग लगायत थुप्रै अर्ध औपनिवेशिक तथा नव-औपनिवेशिक देशहरूमा रहेका सबै तह र तप्काका मानिसहरू साम्राज्यवादी भूमण्डलीकरण नीतिहरूको बिरूद्ध सङ्घर्ष गरिरहेका छन् । सर्वहारा वर्गको अग्रदस्ता अर्थात् क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले यी  सङ्घर्षहरूको नेतृत्व गर्नुपर्दछ । आज यस दिशामा थप  एकताबद्ध र सङ्गठित रूपमा अघि बढ्नु पर्ने आवश्यकता झन् बढेको छ ।

हाम्रो देशमा सर्वहारा वर्ग र किसान लगायत सम्पूर्ण उत्पीडित वर्ग, सामाजिक वर्ग र उत्पीडित जातिहरूले साम्राज्यवादद्वारा समर्थित ब्राह्मणवादी-हिन्दूत्ववादी फासिवादका रूपमा रहेको मोदी सरकारको क्रूर आक्रमणको सामना गरिरहेका छन् । मजदुर, कर्मचारी र किसानहरूको सङ्घर्ष दिनप्रतिदिन तीव्र हुँदै गइरहेको छ । साम्राज्यवादी वित्तीय पुँजीको स्वार्थमा मोदी सरकारले रोबोटिक, थ्रिडी प्रिन्टि र कृत्रिम बुद्धिमत्तालाई अगाडि  सारेको छ, जसले श्रमिकलाई रोजगारीको सुरक्षाबाट वञ्चित गरेको छ र विद्यमान ४४ श्रम कानुनलाई ४ वटा संहिता  (लेबर कोड) मा संकुचित गरी श्रम शोषणलाई मान्य बनाएको छ । सङ्गठित र असङ्गठित कामदारहरू यस दोहोरो मारका बिरूद्ध दुवै मोर्चामा जुझारू आन्दोलन गरिरहेका छन् ।

भारतका किसानहरूले देशको राजधानी सहरमा केन्द्रित एक अभूतपूर्व  सम्झौताहीन सङ्घर्ष गरिरहेका छन् ।  व्यापारीहरू जिएसटीको बिरूद्धमा छन् । लाखौँ सङ्गठित र असङ्गठित मजदुर र कर्मचारीहरूले ब्याङ्कहरू मर्जर र सार्वजनिक क्षेत्रको निजीकरणको विरोधमा हडताल गरिरहेका छन् । विद्यार्थी, शिक्षक  प्राध्यापकहरू केन्द्रीय तहमा हिन्दू प्रतिक्रियावादी शक्तिहरूले अघि सारेको ‘राष्ट्रिय शिक्षा नीति २०२०’ को विरूद्धमा छन् । क्रान्तिकारी आन्दोलनको एक सशक्त केन्द्रबिन्दुका रूपमा कार्य गरिरहेका रणनीतिक क्षेत्रलगायत देशका विभिन्न क्षेत्रका आदिवासीहरू आफ्नो न्यायोचित अधिकारका लागि सशक्त सङ्घर्ष गरिरहेका छन् । उत्पीडित जातहरूले, जातिवादी-ब्राह्मणवादी व्यवस्था, जुन चाहिँ भारतको विशिष्ट चरित्र हो, जसको काम शोषण, उत्पीडन, दमन र भेदभाव गर्नु हो, त्यसका विरुद्ध एकताबद्धका साथ सङ्घर्ष गरिरहेका छन् । मुलुकका सङ्घर्षशील जनताको समर्थनमा उभिएका जनवादी र प्रगतिशील शक्तिहरूमाथि राज्यले निर्मम दमन गरेको छ र जेल हालेको छ । धर्मनिरपेक्ष शक्तिहरू फासिवादी ब्राह्मणवादी–हिन्दूत्ववादी शक्तिहरूको साम्प्रदायिक हिंसात्मक नीतिहरूका बिरूद्ध लडिरहेका छन् । थुप्रै अधिकारवादी संस्थाहरूले सङ्घर्षरत जनतामाथि जबर्जस्ती लादिएका फासिवादी  कानुनहरू फिर्ता लिन आवाज उठाइरहेका छन् ।

यसरी विश्वका सबै पिछडिएका देशका सरकारहरूले बहुराष्ट्रिय कर्पोरेट कम्पनीहरूको हितमा एकै खाले व्यवहार गरिरहेको यथार्थ हामी देखिरहेका छौँ ।  त्यसकारण क्रान्तिकारी सर्वहारा पार्टीहरू र सङ्गठनहरूका लागि सबै देशका सम्पूर्ण सङ्घर्षरत उत्पीडितहरूको सङ्घर्षलाई नेतृत्व गर्नु अझ थप  आवश्यक र महत्वपूर्ण भएको छ ।

विगत दुई वर्षदेखि विश्वभरका उत्पीडित जनता र जातजातिहरूले गरेको व्व्यापक तहको सङ्घर्षले परिस्थिति क्रान्तिको पक्षमा रहेको यथार्थ प्रस्ट पार्दछ । विश्व सर्वहारा वर्गले यी अनुकूल परिस्थितिहरूको उपयोग गरी विश्व समाजवादी क्रान्ति पूरा गर्ने आफ्नो मुख्य कार्यभार पूरा गर्ने दिशामा आफूलाई अघि बढाउन सक्नु पर्छ । अहिले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका सही अग्रदस्ता सङ्गठनहरूका सामु दुई रणनीतिक कार्यहरू विद्यमान छन् ।  पहिलो भनेको पुँजीवादी–साम्राज्यवादी देशहरूमा मजदुर र अन्य उत्पीडित वर्गहरूको क्रान्तिकारी आन्दोलन सञ्चालन गर्नु हो ।  प्रत्येक अर्ध औपनिवेशिक, अर्ध-सामन्ती देशका सर्वहारा वर्ग, किसान, अन्य जनवादी वर्ग र सामाजिक  तह र तप्का सङ्गठित हुनुपर्दछ र राष्ट्रिय जनवादी आन्दोलनको निर्माण र नेतृत्व गर्नुपर्दछ । दोस्रो भनेको पुँजीवादी देशहरूमा कम्युनिस्ट आन्दोलनको दरिलो साम्राज्यवाद विरोधी मोर्चा निर्माण गर्नु र नव-औपनिवेशिक, अर्ध औपनिवेशिक देशहरूमा साम्राज्यवाद र यसका समर्थकहरूको विरूद्ध राष्ट्रिय जनवादी मोर्चा निर्माण गर्नु हो ।  यस उद्देश्यका लागि सच्चा सर्वहारा पार्टीहरू र  सङ्गठनहरूले वर्तमानको ठोस स्थितिअनुरूप एउटा सही अन्तर्राष्ट्रिय क्रान्तिकारी सर्वहारा सङ्गठन स्थापना गर्नु आवश्यक छ । यसका लागि माओवादी शक्तिहरू हरेक मुलुकमा समग्र प्रगतिशील, जनवादी शक्तिहरू र विश्वव्यापी दुस्मनका विरूद्ध सम्पूर्ण साम्राज्यवाद विरोधी जनवादी शक्तिहरूसँग एकताबद्ध हुनु पर्दछ । यी दुबै रणनीतिक कार्यहरू परस्पर सम्बन्धित छन् र यिनले विश्व समाजवादी क्रान्तिलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्छन् ।

यद्यपि, सर्वहारावर्गीय अग्रदस्ता सङ्गठनहरूले अहिलेको स्थितिमा उत्पीडित जनताका मागलाई समेट्न र स्वतन्त्रताको दिशामा उनीहरूको आन्दोलनलाई  संयुक्त नेतृत्व प्रदान गर्न त्यति सबल हुन सकिरहेको अवस्था छैन ।  हाम्रो पार्टीले विश्वका सर्वहारा वर्गको अग्रदस्ताहरूबीच एकता र ऐक्यबद्धता विकास गर्न एक अन्तर्राष्ट्रिय फोरमको गठन गर्नु पर्ने आवश्यकताका पक्षमा आफ्नो धारणा प्रकट गरेको छ । हाम्रो पार्टी, पार्टीका भगिनी सङ्गठनहरूलाई हाम्रो धारणाप्रति गम्भीर हुँदै यस दिशामा प्रयासहरूलाई अघि बढाउन अपिल गर्दछ ।

हामी साम्राज्यवादीहरूका सबै प्रकारका आक्रमणहरूलाई  प्रत्याक्रमण गरौँ । आउनुहोस्, साम्राज्यवाद विरोधी सङ्घर्षको नेतृत्व गर्न र  विश्व समाजवादी क्रान्तिको सफलताको प्रयासका लागि वचनबद्ध बनौँ । थप एकताबद्ध बनेर यस दिशामा सङ्गठित बनौँ ।  यो समयको आवश्यकता हो ।

मे दिवस अमर रहोस् ।
विश्वका क्रान्तिकारी मजदुरहरू, उत्पीडितहरू र तिनका सङ्गठनहरूबीच एकताका लागि अझ प्रयासरत होऔँ ।

१७ अप्रिल, २०२१
अभय
प्रवक्ता
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)

अनु : ऋषिराज बराल
भिडियो फिचरview all