
राष्ट्रघाती षड्यन्त्र विरुद्ध देशव्यापी प्रदर्शन

भारत नेपालको दक्षिणी सिमाना चुरे उताको भाग आफनो बनाउन चाहन्छ, नभए त्यहाँको स्थिति आफू अनुकूल बनाउन चाहन्छ । मेचीदेखि महाकालीको तराईको भागलाई आधार मानेर ‘अघि सारिएको भारतीय नारा ‘मधेस एक प्रदेश’ यसैको उपज हो । यो नारासित भूगोल, पानी र जङ्गल सबै स्वार्थ जोडिएको छ । भारतको अर्को एजेन्डा नागरिकता हो र यो प्रक्रिया पनि काइते पाराले संविधानमा घुसाउने प्रयास गरिएको छ । अर्को मुद्दा भाषा हो । हिन्दी भाषालाई नेपालमा बोलिने मातृभाषाका रूपमा संविधानमा घुसाउने षड्यन्त्र भइरहेको कुरा सबैका सामु छर्लङ्ग छ । संविधान संशोधनका नाममा हुनलागेको षड्यन्त्र विरुद्ध नेपालका जनता सडकमा निस्कनु र भारतीय माध्यम र सत्ताधारीहरूले हर्षबढाइं गर्नुलाई सहज रूपमा लिन मिल्दैन ।
यो संशोधनमा कतै पनि किसान, सुकुम्बासी र युवा बेरोजगारीसित सम्बद्ध समस्याहरू छैनन् । वैज्ञानिक भूमिसुधारलगायत राष्ट्रियतासम्बन्धी मुद्दाहरू पनि यसमा परेका छैनन् । अर्थात नेपाली समाजका अन्तर्विरोधहरू हल गर्ने कुनै पनि मुद्दाहरू यसमा परेका छैनन् । नेपाली समाजको विशिष्ट संरचनात्मक स्थितिलाई ध्यानमा राखी सङ्घीयताको आवश्यकता र औचित्यमाथि नै प्रश्न उठिरहेको अवस्थामा सङ्घीयता र सिमाङ्कनका नाममा प्रचण्ड सरकार भारतीय विस्तारवादको इसारामा मुलुकलाई तहसनहस र अराजकताको बाटोमा लगेर भारतीय हस्तक्षेपका लागि वातावरण सहज बनाइरहेको छ ।
सरसरती हेर्दा संशोधनको मूल पक्ष सिमाङ्कनमा हेरफरजस्तो लागे पनि संशोधनका नाममा अघि सारिएको अहिलेको सिमाङ्कन हेरफेरले दीर्घकालीन रूपमा असर पार्छ र यो असल नियत र समस्या हल गर्ने किसिमले आएको छैन । यस अर्थमा यसको चौतर्फी विरोध हुनु स्वाभाविक छ । यसलाई लिएर रोल्पा, कपिलवस्तु, गुल्मी, पाल्पा, बुटवल, प्युठान, अर्घाखाँची, काठमाडौँमा व्यापक जनप्रदर्शनहरू भएका छन् ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष कमरेड किरणले ''सिमाङ्कन लगायतका विषयको विरोधमा जनताद्वारा राखिएका जायज माग र आयोजित प्रदर्शन तथा हड्तालको कार्यक्रमप्रति पार्टी दृढतापूर्वक समर्थन र ऐक्यबद्धता जाहेर गर्दछ" भन्नुभएको छ ।
त्यसैगरी राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले एउटा कार्यक्रममा बोल्दै भारतको इसारामा संविधान संशोधन गर्न लागिएको र तराईबाट पहाडलाई अलग गरेर देशलाई सिक्किमीकरण गर्न खोजेको आरोप लगाउनुभएको छ ।
भिडियो फिचरview all