menu

ताजा समाचार

नेपाली साहित्य र ‘समालोचना सङ्कट’का कुरा

  डा. ऋषिराज बराल
  आमुख

 आजभोलि खास गरेर एक थरी स्रष्टाहरू नेपाली साहित्यमा समालोचना सङ्कटका   कुराहरूलाई लिएर ‘चिन्ता’ जाहेर गरेको पाइँन्छ । यो लेख मूलतः यसै विषयको   सेरोफेरोमा केन्द्रित छ । उद्धरण अलि लामै भए पनि यो लेखलाई चिनियाँ समालोचक   साओ झेङ्लुका भनाइबाट आरम्भ गर्नु सान्दर्भिक ठान्दछु :

 सबै काम र क्षेत्रहरू चारैतिर भ्रष्टाचार विद्यमान छ, र साँचो कुरा के हो भने साहित्यिक   जगत् पनि यसको अपवाद छैन । माध्यमहरूमा देखिने विविधताका कारण विश्वासको   अभाव छ र आलोचकहरूको गुटउपगुटको विकास भएको छ । मेरो विचारमा   साहित्यिक  समालोचनाको आधारभूत आन्तरिक  समस्या भनेको समालोचना सम्बद्ध   मूल्यको मानदण्ड भताभुङ्ग हुनु हो ।  समालोचकहरूले कालो र सेतोमा भेद गर्न   छोडेका  छन्,  उनीहरू केवल अरूका शब्दहरूको सुगा रटाइ गरिरहेका छन् । ...ठोस    रूपमा भन्नु पर्दा आधुनिकीकरणको प्रक्रियामा एक थरी चिनियाँहरूले आफ्नो राष्ट्रिय   आत्मविश्वासलाई गुमाएका छन्, सांस्कृतिक सार्वभौमिकतालाई परित्याग गरेका छन्, र   आफ्नो स्वत्वलाई खारेज गरेका छन् । ... एकपल्ट सात्रले “शब्दहरूको अत्याचार” को   चर्चा गरेका थिए–संस्थापन पक्षसित सम्बद्ध आजका समालोचकहरू र  सिद्धान्तकारहरू यही “अत्याचार”को अभ्यास गरिरहेका छन् । उनीहरू यातनादायी र बन्ध्याकृत केही पदावलीहरूमार्फत आफ्नो विचार पछ्याउन अरूहरूलाई बाध्य पारिरहेका छन् । १ 

समालोचक साओ झेङ्लुले चिनियाँ आधुनिकीकरण र सुधारका नाममा साहित्य तथा समालोचनाका क्षेत्रमा देखिएको वैचारिक विकृतिलाई  ‘भ्रष्टाचार’  र ‘शब्दहरूको आतङ्क’ सित जोडेका छन् । चिनियाँ  लेखक-समालोचकहरू आफ्नो समग्र इतिहास बिर्सेर विजातीय प्रवृत्तिलाई भित्र्याउन र ‘पश्चिमा स्यावासी” पाउन हतारिएका छन् भन्ने उनको भनाइ छ । साओ झेङ्लुको चिन्ता चिनियाँ समाजको क्रान्तिकारी विरासतलाई खारेज गर्नु र साहित्य तथा समालोचनाबाट समाज र सामाजिक चिन्ता र चिन्तन  गायब गरिनुसित छ । 

चीनमा माओको मृत्युपछि १९८० दशकमा आधुनिकीकरण, सुधार र नयाँका नाममा सबै ढोकाहरू खुला गरिए ।  पश्चिमा प्रदूषित हावा सहज किसिमले भित्र पस्ने वातावरण मिलाइयो  । माओकालीन समाजले स्थापित गरेका राजनीतिक, आर्थिक र सांस्कृतिक मूल्यमाथि राज्यउत्प्रेरित आक्रमणहरू भए/गरिए ।  प्रतिक्रान्तिको हावाले राजनीतिक तथा आर्थिक पक्षलाई मात्र प्रभावित नपारी सिङ्गो साहित्यिक–सांस्कृतिक आन्दोलनलाई प्रदूषित तुल्यायो । थामी नसक्नु पश्चिमी हावाले कलावादका पछिल्ला नयाँ नयाँ संस्करणहरू, खास गरेर ‘उत्तर-वाद’ का सबै अङ्गप्रत्यङ्गहरूलाई चिनियाँ समाजमा प्रवेश गरायो । आधुनिक र नयाँ हुने र पश्चिमाहरूबाट स्वीकृत हुने नाममा माओकालीन साहित्यिक–सांस्कृतिक मूल्यहरूलाई खारेज गर्ने काम मात्र भएन, पश्चिमीकरण र ‘उत्तर-वादी’ प्रवृत्तिहरू नै सम्पूर्ण हुन् भनेझैँ गरी अँगालो हाल्ने काम भयो ।  खास गरेर १९९० को दशकको पछिल्लो अवस्थादेखि आजसम्म ‘नव-मार्क्सवादी   ’ सिद्धान्त र थरीथरीका ‘उत्तर-वादहरू’ , उत्तरसंरचनावाद, उत्तरऔपनिवेशिकवाद, र उत्तरआधुनिकतावादलाई चीनमा भित्र्याइयो र चिनियाँ जनममानसमा विनियोजन गरियो । यी सङ्कथनहरू चिनियाँ प्राज्ञिक क्षेत्रमा प्रभुत्वशाली सङ्कथन बने । एक थरी चिनियाँ बुद्धिजीवीहरूले फ्रायड, नित्से, हाइडेगर,  विटगेन्स्टिाइन, सात्र्र, सुसान सोन्ताङ  र नयाँ समीक्षा  सम्बद्ध लेखक समालोचकका रचनाहरू अनुवाद गर्ने कार्यलाई तीव्र बनाए । सन् १९६०को दशकको माओवादसित सम्बद्ध क्रान्तिकारी सन्दर्भ र सामग्रीलाई भरिसक्के खारेज नै गर्ने नभए न्युनीकरण गर्ने प्रयास निरन्तर रूप जारी रहे र रहिरहेका छन् । 

चिनियाँ सन्दर्भ भए पनि यो एक किसिमले साझा भोगाइ र बुझाइ हो । सबै राजनीतिक परिवर्तनहरू सही उद्देश्यमा आधारित भएर आएका हुँदैनन्, कतिपय परिवर्तनले उल्टो दिशा लिएका हुन्छन् । आम जनताको हितसित गाँसिएका ऐतिहासिक उपलब्धिहरूलाई उल्टाएर गलत दिशा दिने प्रक्रिया  प्रतिक्रान्तिको प्रक्रिया हो ।  राजनीतिले गलत दिशा लिन थालेपछि यसको प्रभाव सामाजिक जीवनका विविध क्षेत्रमा पर्नु स्वाभाविक हुन्छ । यस्तो बेला सबैजसो क्षेत्र त्यसमा पनि बौद्धिक–सांस्कृतिक क्षेत्रमा तीन किसिमका प्रवृत्तिहरू देखा पर्ने पर्दछन् । एउटा प्रवृत्ति त्यही गलत प्रवृत्तिका पछि लागेर रमाउने खालको हुन्छ, त्यही नै सत्य र सुन्दर भनेर कुदिरहेको हुन्छ । अर्को प्रवृत्ति केही पनि होइन र कतै पनि होइन, यस्तै हो भन्दै निस्पृहताको स्थितिमा हुन्छ । यो भनेको एक हिसाबले यथास्थितिवादप्रति समर्पण भाव हो ।  प्रगतिशील विचार राख्नेहरू चाहिँ गलतका विरुद्ध संचेतनाका साथ वैचारिक हतियारका साथ अगाडि आउँने गर्छन्  ।
 
ऐतिहासिकता

नेपाली साहित्यको इतिहास पनि यस्तै किसिमको छ । नेपालको सन्दर्भमा २०१७ सालपछिको स्थिति पनि यस्तै खालको हो । नेपाली साहित्यमा २०१७ सालपछि एउटा धारा पंचायती व्यवस्था नै सम्पूर्ण हो भनेर लाग्यो । २००७ सालपछि मार्क्सवादी   क्षेत्रमा सक्रिय भएका र  प्रगतिशील लेखक-समालोचक भनेर चिनिएकाहरूसमेत  त्यसमा हामफालेर डुबुल्की मार्न थाले । यो धाराको सक्रियता ‘रजत कवि महोत्सव’ सम्म पुग्यो । अर्का थरीहरू प्रयोगवादका नाममा चरम निरासावादको अभ्यासका साथ अस्तित्ववादी-विसङ्गतिवादी प्रवृत्तिको शरणामा पुगेर मनलाई शीतल बनाउन थाले । उनीहरू यथास्थितिमा टाउको लुकाएर संतोषको सास लिन थाले ।  प्रतिरोधको साटो उनीहरूले सम्झौताको बाटो रोजे ।मार्क्सवादप्रति    आस्थावान् लेखक-साहित्यकारहरू चाहिँ वैचारिक सङ्घर्षका साथ जनसङ्घर्षका कथाहरूलाई विभिन्न विधा रूपमार्फत प्रस्तुत गर्न क्रियाशील रहे । 

राजनीतिक रूपमा नेपाली समाज राणाशासन विरोधी आन्दोलन, पंचायती व्यवस्था विरोधी आन्दोलन , गणतन्त्र र जनगणतन्त्र प्राप्तिको आन्दोलनबाट गुज्रियो र गुज्रिरहेको छ । समाजको आधारभूत चरित्र अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्वरूपमा गुणात्मक परिवर्तन हुन नसके पनि राजनीतिक घटना र व्यवस्थामा भने फेरबदल भएको छ र यसको  प्रभाव साहित्यकलामा पर्नु स्वाभाविक छ । त्यसै गरी विश्व साहित्य तथा समालोचनाका क्षेत्रमा देखा परेका विविध प्रवृत्तिहरूको प्रभाव पनि नेपाली साहित्य तथा समालोचनामा परेको छ । भूमण्डलीकृत चरित्रका कारण सांस्कृतिक साम्राज्यवादी प्रभाव हिजोभन्दा आज बढी विस्तारित भएको छ । 

२००७ सालपछि मार्क्सवादी   चिन्तनसँगै साहित्यका क्षेत्रमा पाश्चात्य साहित्यमा प्रचलित विविध वाद र प्रवृत्तिहरू प्रवेश गरे । खास गरेर २०१७ सालसम्मको लेखन मार्क्सवाद, यथार्थवाद, फ्रायडवाद र विम्बवादको सेरोफेरोमा केन्द्रित रह्यो । साहित्यिक तथा सौन्दर्यशास्त्रीय चिन्तनका दृष्टिले ‘कला जीवनका लागि’ अथवा ‘कला कलाका लागि’ भन्ने प्रश्न नै मूल प्रश्न बन्यो । देशकाल परिस्थिति अनुसार यी  प्रवृत्तिहरू निरन्तरतामा रहे र अहिलेको वैचारिक सङ्घर्षको मूल मुद्दा पनि यही नै हो । २०१७ को राजनीतिक ‘कु’ पछि मार्क्सवादी लेखन प्रतिबन्धित स्थितिमा रह्यो र स्तुतिवादी लेखन र शून्यवादी दर्शनमा आधारित विसङ्गतिवादी र अस्तित्ववादी लेखन फस्टाउनका लागि अनुकूल वातावरण बन्यो ।

२०३६ सालको आन्दोलनपछि यथार्थ र कलात्मक प्रतिविम्बिनमा आस्था राख्नेहरूका लागि नयाँ सम्भावनाको स्थिति देखा पर्यो । २०३६ सालपछिको एक दशकमा समालोचनाका क्षेत्रमा भाषावादी समालोचना शैलीविज्ञान मार्फत  साहित्य र समालोचनाको सामाजिक चिन्तनको भूमिकालाई निषेध गर्ने प्रयास गरिए पनि यसको प्रभाव त्यति व्यापक हुन सकेन ।  बढीभन्दा बढी यसको प्रभाव पठनपाठनको क्षेत्रमा सीमित भयो  । २०४६/०४७ को जन-आन्दोलनपछि  मार्क्सवादइतर कित्ता नित्सेको शून्यवादमा आधारित ‘उत्तर–वादी’ (poist-ism)  प्रवृत्ति उत्तरसंरचनावाद र उत्तरआधुनिकतावादी हतियारका साथ देखा पर्यो  । 

२०५२ सालमा आरम्भ भएको नेपाली जनताको जनयुद्धसँगै सत्ताधारीहरूले माओवादी आन्दोलन र जनयुद्धमाथि  निमर्म दमन, हत्या र चौतर्फी राज्यआतङ्कका शृङ्खलाबद्ध अभियान चलाएर बहुलवादी चिन्तन प्रवृत्तिलाई मलजल प्रदान गरे । यस समयमा ‘उत्तर-वादी’ विभ्रम फैलिने र प्रगतिवादका नाममा प्रगतिवादको भ्रष्टीकरण गर्ने प्रक्रियाले अनुकूल वातावरण पायो र मार्क्सवादी  साहित्यिक स्वरूपका रूपमा बुझिने प्रगतिवाद बहुलवादी भ्रष्टीकरणको सिकार बन्यो । र पनि, क्रान्तिकारी मार्क्सवादी सौँन्दर्य चिन्तनका विविध पक्ष र पाटालाई नियन्त्रित र निषेधित गर्न सक्ने स्थिति थिएन र भएन  । राज्यआतङ्क र प्रगतिवादको भ्रष्टीकरणका विविध  शृङ्खलाहरूको सामना गर्दै वर्गसङ्घर्षको तीव्रता र उच्चतासँगै मार्क्सवादी  लेखन अझ बढी क्रियाशील, गतिशील र उध्र्वगामिताका साथ अघि बढ्यो । थुप्रै आरोहअवरोह, घुम्ती र मोडहरू पार गरेर अघि बढेको  मार्क्सवादी  धार अहिले दुइटा मोर्चा—‘उत्तर-वाद’ र यसका सह-उत्पादन विविध प्रवृत्तिहरू, ग्लेन रिकोस्कीका भनाइमा पुनर्नवीकृत अर्थात् रिसाइक्लिङ गरिएका नयाँ स्वरूपहरू३   र बहुलवादी प्रवृत्तिहरूको अभ्यासमा सक्रिय संसदवादी– ‘प्रगतिवादीहरू’ का गलत चिन्तनका विरुद्ध  सङ्घर्ष रत छ । 

मार्क्सवाद र ’उत्तर-वादी’ विभ्रम

समालोचनाको चर्चाका सन्दर्भमा नव-मार्क्स वादी समालोचक फ्रेडरिक जेमसनले भाषावादी संरचनावाद र रूपवादी समालोचना पद्धतिको आलोचना गर्दै ‘शब्दहरूको झ्यालखान’ नामाङ्कित गरेका थिए ।नेपाली साहित्यमा पनि यस किसिमका  प्रयासहरू नभएका होइनन् । उत्तरआधुनिकतावाद आफैँले आफ्नो मृत्युको घोषणा गरिसकेपछि पनि  अनेक नाममा साहित्य र समाजको अन्तर्सम्बन्धलाई निषेध गर्ने प्रयासहरू भइरहेका छन् । आजभोलि समालोचनाका क्षेत्रमा देखिएका ‘नयाँ प्रवृत्तिहरू’  ‘उत्तर–औपनिवेशिकवाद’ र ‘उत्तर- मार्क्सवाद’ का आवरणमा क्रियाशील छन् । ‘कल्चरल स्टडिज’ लगायत  ‘अन्तर्विषयक समालोचना’ का विविध रूपहरू यसैका पछिल्ला उपज हुन्
साहित्यलाई वर्ग चिन्तन र यसको समाजरूपान्तरणकारी भूमिकाबाट कटाएर जात, क्षेत्र, लिङ्ग, रङ, जीउडाल र शारिरीक बनोट, स्थानीयता, समुदाय आदिआदिमा सीमित गर्ने प्रवृत्तिहरू नेपाली साहित्य तथा समालोचनाका क्षेत्रमा मिहिन किसिमले विस्तारित हुने प्रयास गरिरहेका छन् । नेपाली समाजको विशिष्ट स्वरूप, सामाजिक चिन्तनको गतिशील इतिहास, लेखक-साहित्यकारहरूको पक्षधरता र सङ्घर्षशील चरित्रका कारण ‘उत्तर-वाद’ र बहुलवादका नाममा शब्दहरूको आतङ्क मच्चाउने र ‘शब्दहरूको झ्यालखान’ खडा गर्ने काम सफल हुन सकेको छैन र  हुन सक्ने स्थिति पनि छैन । मार्क्सवादी  लेखन-चिन्तनका सामु यस किसिमका प्रवृत्तिहरू कमजोर  साबित भएका छन् । 

आर्थिक, राजनीतिक र सांस्कृतिक विभेद र असमानता  र जातीय, क्षेत्रीय तथा लैङ्गिक उत्पीडनका विरुद्ध मार्क्सवादीहरू सशक्त प्रतिरोधका साथ उभिनु पर्छ । मार्क्स वादीहरूले यस किसिमका उत्पीडनको विरोध गर्दै यसलाई वर्गीय उत्पीडन विरुद्धको राजनीतिसित जोडेर अघि बढाउँदै आएका पनि छन्  । विभेदयुक्त समाजको सदस्यको नाताले  उत्पीडि वर्ग, जात र  लिङ्गले आफ्नो अस्तित्वबोध गर्न पाउनु तथा अस्तित्वको खोजी गर्नु अस्वाभाविक होइन, यो एकदमै आवश्यक छ । उत्पीडनबाट मुक्ति उनीहरूको सार्वभौम अधिकार हो । अस्मिताबोध तथा पहिचानबोधका सम्बन्धमा कतै विमति छैन ।  प्रश्न ‘पहिचानवाद’ (identity politics) र ‘भिन्नतावाद’  को हो । जब जात, क्षेत्र, लिङ्ग, रङ, जीउडाल र शारिरीक बनौटको प्रश्नलाई निरपेक्ष रूपमा लिएर यो बाहेक अरू केही पनि होइन भनेर पहिचानवादमा फसिन्छ, त्यसले दिने परिणाम नकारात्मक हुनु स्वाभाविक हुन्छ । 

पहिचान र पहिचानवाद फरक कुरा हुन् । पहिचानवाद अफिमको नसाझैँ हो । यो ‘भिन्नता’ को ‘उत्तर-वादी’ सिद्धान्तमा आधारित छ । यसमा फसेपछि त्यसले दिने परिणाम भनेको अराजकतावाद र  यथास्थितिवाद नै हो । यसको दार्शनिक सारतत्व शून्यवाद हो । वर्ग र पहिचानको खोजीले मार्क्स वादको नजिक पुर्याउँछ    र पहिचानवादी भिन्नताको सिद्धान्तले नित्से र हाइडेगरको नजिक पुर्या उँछ ।  साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिहरूले चाहेको कुरा पनि अराजकता, भद्रगोल र जात-जातिगत द्वन्द्व र विच्छिन्नता नै हो । यो हरेक मुलुकको विशिष्टतामा प्रतिविम्बित हुन्छ । मार्क्सवाद पहिचानवादको पक्षमा होइन, पहिचानसहित उत्पीडित वर्ग तथा समुदायको मुक्तिमा पक्षमा उभिन्छ र यसलाई सिङ्गो समाजको मुक्ति आन्दोलनसित जोडेर अघि बढाउनु पर्ने कुरामा जोड दिन्छ । यसका सन्दर्भमा मार्क्सवादी चिन्तक जेम्स पेट्रास एकदमै सही छन् : 

वर्गभित्र जातीय र लैङ्गिक विभेदको अर्थलाई  मार्क्सवादीहरूले कहिल्यै अस्वीकार गरेका छैनन् । र पनि माक्र्सवादीहरूको जोड भनेको यस्ता विभेदहरूको जन्म दिने विभेदकारी सामाजिक प्रणाली, समाज, श्रमस्थल, छिमेक, परिवारजस्ता जताततै रहेका असमानताहरूलाई नामेट पार्न वर्गीय शक्तिहरू एक हुनु पर्ने आवश्यकतामा जोड हो । वर्गीय संरचनाबाहिर रहेर लैङ्गिक र जातीय असमानताहरूको विश्लेषण र हल गर्न सकिन्छ र गर्नुपर्छ भन्ने विचारप्रति सबै मार्क्सवादीहरूको विमति रहेको छ ।

आफूलाई मार्क्सवादी भन्नेले यो सत्यलाई आत्मसात गर्नुपर्ने हुन्छ । अन्यथा मार्क्सवादी हुनुको उसको ढोङ र स्वाङको आलोचना हुनु स्वाभाविक हुन्छ ।  

साम्राज्यवादी तथा प्रतिगामी शक्तिहरू विचारको लडाइँमा परास्त भएपछि बन्दुकको माध्यम अँगाल्छन् । यो पनि असफल भएपछि  विभाजन, विभ्रम, बेमेल र विध्वंसका अनेक तानाबाना अघि सार्छन् । उनीहरूले सबैभन्दा बढी प्रहार गर्ने वर्ग र वर्गचेतना हो । उनीहरू एकैचोटि दुइटा हतियार प्रयोग गर्छन् । उनीहरू ‘लाल झण्डाका विरुद्ध लाल झण्डा’ प्रयोग गर्छन् । ‘भिन्नता’ र पहिचानको राजनीति नाममा उनीहरू उत्पीडित जात-जातिगत, लैङ्गिक तथा क्षेत्रीय उत्पीडन र सङ्घर्षलाई उत्पीडित वर्गको सङ्घर्षबाट अलग्याउँछन् । उत्पीडितहरूको समग्र र सङ्गठित शक्तिलाई खण्डित गर्ने प्रवृत्तिलाई मार्क्सवादीहरूले वैचारिक चिरफार गर्दै डटेर  सामना गर्नु पर्ने हुन्छ । सही अर्थका मार्क्सवादीहरूले यसो गर्दै आएका पनि छन् । विडम्बनाको कुरा के छ भने यस किसिमको आतङ्कका पछाडि निहित परिपञ्चका विरुद्ध वैचारिक सङ्घर्ष गर्नु साटो मार्क्स वादी भनिएका कतिपय समालोचक मार्क्सवादमा अपूर्णता देख्दै पहिचानवादको पङ्क्तिमा उभिन पुगेका हुन्छन् र छन् । अरू त अरू भइहाले माओवादका पक्षधर भनेर  चिनिएकाहरूमा समेत यस किसिमको आतङ्कित मानसिकताको समस्या देखिएको छ । यो आत्मविश्वासको अभाव हो । पहिचानवादी आतङ्कबाट भयभित भएर आफूलाई मार्क्सवादी भन्ने कुनै लेखक-समालोचक पहिचानवादको पुर्पक्ष गर्न    थाल्छ भने यो मार्क्सवादीप्रतिको उसको  विश्वासको समस्या हो  । यो मार्क्सवादप्रतिको सतही ज्ञानको उपज हो । उसको मार्क्सवाद बोक्रे मार्क्सवाद हो । मार्क्सवाद भनेको मार्क्सवाद हो । जातैपिच्छे , लिङ्गैपिच्छे अलगअलग मार्क्सवाद हुन सक्तैन । यस अर्थमा ‘पहिचानवादी मार्क्सवाद’ हुन सक्तैन । मार्क्स वादबाट 'माथि उठेर'  जातीय, लैङ्गिक तथा क्षेत्रीय समस्या हल हुन सक्तैन र जनतन्त्र पनि प्राप्त गर्न सकिँदैन । सत्य यही हो । 

‘उत्तर-वाद’ को सम्बन्ध साहित्य तथा समालोचनामा मात्र सीमित छैन । यो दार्शनिक, वैचारिक तथा राजनीतिक पक्ष पनि हो । खास गरेर दार्शनिक तहमा उत्तरआधुनिकतावाद अझ बढी गम्भीर प्रश्न हो । यसका पक्षधरहरूले मार्क्सवादको दार्शनिक विकल्पमा मात्र यसलाई अघि नसारेर क्रान्तिकारी र नयाँ भन्दै राजनीतिक पक्षमा ‘उत्तर-मार्क्सवादी’ धारणा अघि सारेका छन् । मार्क्सवादी चिन्तक ऐजाज अहमदले भनेझैँ हाम्रो चिन्ता मूलतः उत्तरआधुनिकतावादको सैद्धान्तिक तथा दार्शनिक पक्षले राजनीतिमा पारेको असरप्रति केन्द्रित हुनु पर्दछ  । 

जता हेर्यो मार्क्सवादी नै मार्क्सवादी, माओवादी नै माओवादी हुनुको स्थिति भएको बेला मार्क्सवादी हुन उछिनापाछिन गर्ने र, जब विविध कारणवस मार्क्सवादी आन्दोलनले धक्का खान्छ, जतिबेर मार्क्सवाद विरोधी भित्री र बाहिरी दुस्मन शक्तिका विरुद्ध दृढतासाथ उभिनु पर्ने अवस्था हुन्छ , त्यतिबेर चाहिँ खुट्टा कमाउने र विभिन्न बहना बनाउँदै मार्क्सवादबाट पलायन हुने कुरा नयाँ होइन । सन् ६० को दशकमा जताततै माओवादी आन्दोलन देख्नेहरू, माओवादले नै विश्वका उत्पीडित वर्ग र समुदायलाई मुक्ति दिलाउँछ भन्नेहरूले नै ‘महाख्यानको अन्त्य’ को निष्कर्षसहित ‘उत्तर-वाद’ को घोषणा गरेका थिए । सोभियत सामाजिक साम्राज्यवादको अवसान र बर्लिनको पर्खाल ढल्नेबित्तिकै एक थरीले विश्वबाट साम्यवाद ढलेको देखे र बुझे । युरोप-अमेरिकाबाहिर खास गरेर ‘तेस्रो विश्व’ का मुलुकहरू पेरू, फिलिपिन्स, भारत, टर्की, नेपाल लगायतका मुलुकहरूमा मार्क्सवाद-लेनिनवाद-माओवादको आलोकमा जनयुद्ध लडिरहेका जनता र पार्टीहरूलाई तिनले देखेनन् । आफूवरिपरि जे देखे त्यसैलाई सत्य माने र ठाने । उत्तरआधुनिकतावाद, उत्तरसंरचनावाद र लकानवादी मनोविश्लेषणवादको भेलमा रमाउँदै अर्नेस्टो लक्लाउ र चन्ताल मुफले मार्क्सवादको अन्त्यको निष्कर्षसहित ‘उत्तर-मार्क्सवाद’ को घोषणापत्र अघि सारे ।   लक्लाउ, मुफ, जुडिथ बटलर, जाक्विज रैनसरे, बालिबरका साथै युरो-अमेरिकी ‘मार्क्सवादीहरू’को एउटा जत्था यसको पछि कुदेको इतिहास हाम्रा सामु छ । एक समयका ‘माओवादी’ एलेन बेदु र एक समयमा  मार्क्सवादी –लेनिनवादी’ भनेर परिचित स्लावोज जिजेकले समेत लक्लाउ र चन्ताल मुफले उपहार  दिएको ‘उत्तर-मार्क्सवादी’ थोत्रो कोटमा रङरोगन गरेर को भन्दा को कम भन्दै प्रदर्शन गरिरहेको इतिहास झन् ताजै छ । त्यति मात्र नभएर हिजोका दिनमा ‘उत्तर-वादी’ प्रवृत्तिको डटेर सामना गर्ने टेरी इगलटनले समेत बेदु र जिजेक हिँडेको बाटो समातेको सामग्रीहरू प्रकाशमा आइसकेका छन् । 

त्यसैले नेपालको सन्दर्भमा पनि यस्ता घटनाहरू घटे भने आश्चर्यको विषय हुने छैन,  आत्मसङ्घर्ष र वैचारिक सङ्घर्षको अभावमा यस्तो हुन्छ । मिहिन पाराले यो प्रवृत्ति सतहमा आइसकेको पनि छ । नेपालको माओवादी आन्दोलनले धोका र धक्का खाएको छ र एकथरीहरू कम्युनिस्टका नाममा निकृष्ट किसिमको व्यवसाय गरिरहेका छन् भन्ने कुरा पनि सबैलाई थाहा छ । कम्युनिस्टका नाममा गरिएको निकृष्ट किसिमको व्यवसायले मार्क्सवाद र कम्युनिस्ट आन्दोलनप्रति वितृष्णा जगाउन मलजल प्रदान गरेको छ । वैचारिक दृढता, धैर्य र इच्छाशक्तिको अभाव भएकाहरूलाई ओरालो लाग्ने बहाना पनि भएको छ । त्यसैले हिजो मार्क्सवाद र वर्ग राजनीतिका पक्षमा उभिएकाहरू यसमा अपूर्णता देख्दै पहिचानको राजनीतिको पुर्पक्षका साथ आउँछन् भने आश्चर्यको विषय होइन । इतिहासमा यस्तो हुँदै आएको छ । कोही आत्मसङ्घर्षको अभावमा र कोही मार्क्सवादको कष्टसाध्य बाटोमा  आफ्नो ‘भूमिका र अविष्य’ सुनिश्चित नदेखेर ‘सुनिश्चित भविष्य’ का लागि ओरालो बाटो लाग्ने गर्छन् । यथार्थ यही नै हो ।  एजाज अहमदले भनेझैँ कुरा  ‘मार्क्सवादको अन्त्य’ तथा खारेजीमा मात्र सीमित छैन, ‘उत्तर-मार्क्सवाद’ का नाममा यहाँ दार्शनिक तथा राजनीतिक रूपमै  मार्क्सवाद भन्दा क्रान्तिकारी र समाजवादी विचार भन्दै अराजकतावाद र बहुलवादी शून्यवादको पुर्पक्ष गरिएको छ, यसलाई अहिलेको सत्य भनेर साबित गर्न खोजिएको छ  । यो नै सबैभन्दा गम्भीर प्रश्न हो ।
  
एक थरी आफूलाई ‘उत्तर-मार्क्सवादी’ भनेर सोझै  घोषणा गर्नेहरू छन् ।  ‘उत्तर-मार्क्सवाद’ को पक्षधर भनेर घोषणा नगरे पनि कतिपयको लेखन–चिन्तनमा ‘उत्तर–मार्क्सवादी’ बुझाइ र सोचाइ प्रतिविम्बित भइरहेको हुनछ । एक थरीहरू आफू मार्क्सवादी भएको दाबी गर्ने, तर अब वर्ग अवधारणाको काम छैन भनेर वर्ग र वर्गसङ्घर्षप्रति विमति जनाउनेहरू छन् र अर्का थरीहरू सोझैँ वर्ग निषेधको कुरा नगर्ने तर, जात, लिङ्ग र वर्गलाई समान रूपमा लिएर वर्गको भूमिकालाई न्युनीकरण गर्ने अन्तर्जेलाइ (intersectionality)  सिद्धान्तका पक्षधरहरू छन् । मार्क्सवाद सार्वभौम र विशिष्ट, प्रधान र गौण अन्तर्विरोधलाई वैज्ञानिक किसिमले हल गर्ने सिद्धान्त र पद्धति हो । वर्ग र वर्गसङ्घर्षप्रतिको विमति जनाउनु, यसमा अपूर्णता देख्नु र अन्तर्जेलाइ र मिलान धारणाको वकालत गर्नु भनेको ‘उत्तर-मार्क्सवादी' जुत्ता लगाउनु हो ।  ‘पहिचानवादीहरू’ ले यस्तो धारणा राख्नु  स्वाभाविक छ । आफूलाई माओवादी भन्नेहरूले समेत  मार्क्सवादमा अपूर्णता देख्नु र संशय प्रकट गर्नु चाहिँ साँच्चिकै विडम्बनाको विषय हो । 

उत्तरआधुनिकतावाद र उत्तरसंरचनावादको विरोध गर्ने, तर ‘उत्तर-मार्क्सवाद’ लाई सकार्नेहरू मार्क्सवादी हुन सक्तैनन् । राजनीतिक क्षेत्रमा ‘उत्तर-मार्क्सवाद’ ले सवैभन्दा प्रहारको केन्द्र वर्ग  र उत्पादन सम्बन्ध र उत्पादन शक्तिबीचको अन्तर्विरोधको गति र दिशा सम्बन्धी मार्क्स     वादका आधारभूत मान्यतालाई बनाएको छ भने यथार्थ र प्रतिविम्बनका सन्दर्भमा चाहिँ आधार र उपरिसंरचना सम्बन्धी मार्क्सवादी आधारभूत मान्यतालाई बनाएको छ ।  वर्गीय प्रश्नभन्दा जातीय, जातगत, क्षेत्रीय र लैङ्गिक प्रश्नलाई जोड दिनेहरू मार्क्सवादी हुन सक्तैनन् । जातीय, जातगत, क्षेत्रीय र लैङ्गिक प्रश्नलाई सम्बोधन गर्न वर्गभन्दा माथि उठ्नु पर्छ भन्नेहरू मार्क्सवादी हुन सक्तैनन् । माओवादी भनेर चिनिएकाहरूसमेत मार्क्सवादमा अपूर्णता देख्दै वर्गभन्दा माथि उठेको मार्क्सवादको  खोजीको कुरा गर्छन् भने यसलाई ‘उत्तर-मार्क्सवादी’ प्रवृत्तिबाट आतङ्कित मानसिकताको उपज भन्न सकिन्छ । यो आत्मविश्वासको अभाव हो । नित्सेको शून्यवादको जग संशयवाद हो । संशयवादले मार्क्सवादमा विश्वास राख्दैन । यसलाई दमित रूपमा रहेको ‘उत्तर-मार्क्सवादी’  सम्मोहनको प्रकटीकरण भन्दा पनि हुन्छ । 

मार्क्सवादमा विश्वास गर्नेले कुनै पनि आतङ्कसित भयभित हुनु आवश्यक छैन । यो समय आतङ्कित भएर मार्क्सवादमा अपूर्णता देख्ने र ओरालो लाग्ने समय नभएर मार्क्सवाद विरोधी प्रवृत्तिका विरुद्ध सशक्त प्रतिरोध गर्ने समय हो । विशिष्ट परिस्थितिमा सत्यका पक्षमा एक्लै उभिनु पर्ने अवस्था पनि आउँछ । समस्या र सङ्कटकै घडीमा मार्क्सवादी हुनुको परीक्षण हुन्छ । वैचारिक दृढता र आत्मसङ्घर्ष यतिबेला सबैभन्दा आवश्यक हतियार हो । अहिलेको समय झन् दृढताका साथ मार्क्सवादका पक्षमा उभिने बेला हो । क्रान्तिकारी आशावाद हराएपछि त्यसको ठाउँ निराशावादले लिन्छ । चाहे ‘उत्तर–वादी’ आतङ्क र  यसको उपज बजारशास्त्र र उपभोक्तावाद होस्, चाहे प्रगतिवादका नाममा गरिएको बहुलवादी–संसदवादी अभ्यास होस्, सही विचारको जगमा उभिएर आत्मसङ्घर्षका साथ अघि बढेर मात्र यिनको सामना गर्न सकिन्छ । प्रश्न कहाँनेरी उभिने भन्ने मात्र हो । 

यतिखेर सबैभन्दा सशक्त हतियार भनेकै आत्मसङ्घर्ष हो । यसले वैचारिक दृढताको माग गर्छ । सामाजिक सम्बन्ध र सामाजिक चिन्तनको सक्रिय यथार्थवादी धार नेपाली साहित्य तथा समालोचनाको आधारभूत पक्ष हो । यसका विरुद्ध उभिने कि यसको पक्षमा भन्ने प्रश्न अहिलेको सबैभन्दा टड्कारो प्रश्न हो । सबैतिर ठीक हुने र सबैको हाइहाइ हुने अवसरवादी प्रवृत्तिको म्याद गुज्रिसकेको छ । मार्क्सवाद समात्ने कि अवसरवादी बाटो रोज्ने भन्ने प्रश्न यतिखेरको अहम् प्रश्न हो । छर्लङ्ग हुने गरी पक्षधरता छुट्टिएको छ । शब्दखेल लामो समयसम्म टिक्ने स्थिति छैन । अहिलेको समय प्रस्टताका साथ आफू उभिएको ठाउँ घोषणा गर्ने समय हो ।  अन्य क्षेत्रका झैँ साहित्य तथा समालोचनाका क्षेत्रमा पनि कित्ता प्रस्ट छ  र सुतुरमुर्गका झैँ लामो समयसम्म टाउको लुकाउने अवस्था छैन । 

सिर्जना, समालोचना  र विचौलिया प्रवृत्ति

आजभोलि नेपाली समालोचना र  साहित्यका सम्बन्धमा अनेक थरी टीका-टिप्पणी गरिएको पढ्न पाइन्छ । टिप्पणी हुनु तथा बहसछलफल हुनु अनौठो कुरा नभए पनि  यो किन र कसरी आएको छ भन्ने कुराले अर्थ राख्दछ । यस किसिमका टिप्पणीहरू बढी कविता र उपन्यास लेख्नेहरूले गरेका छन् ।   नेपाली साहित्यमा निकै राम्रा कविता लेखिएका छन् । देवकोटा, रिमाल, भूपी, पारिजात, विमल निभा, कृष्ण सेन, पूर्णविरामहरूको एउटा समृद्ध इतिहास छ ।  यो निरन्तरतासित जोड्न सकिने अरू थुप्रै नामहरू छन् । पछिल्लो समयमा केही राम्रा कविता लेखिएका पनि छन् । सङ्ग्रहकै नाम लिनु पर्दा महाकालीकी द्रौपदी, मनसरा, युद्धरत सगरमाथा, झन्डालाई डिभी पर्यो  भने के हुन्छ ?, जन्मजात बाहुनको विज्ञप्ति, समुन्द्र साउती लाई लिन सकिन्छ ।  र पनि कविता लेखनको पछिल्लो स्थितिको समग्र अभिरेखाङ्कन गर्दा  कविता लेखन बजारको भीडमा हराएको जस्तो भएको छ । 

कवि राम्रो कविता लेख्न आत्मसङ्घर्ष र साधना गर्नुको साटो प्रचार र होहल्लामा रमाउन खोज्छ र चाहन्छ । कवि कविताको हाटबजारमा रमाउन खोज्छ । दीर्घकालीन प्रभावको कविता भन्दा तात्तातो प्रभावमा कवि रुमलिएको छ ।  यो बजारशास्त्रको प्रभाव हो । थोरै मात्र कवि र कविताहरू सही अर्थका समालोचकहरूको ध्यानाकर्षण गर्न सक्षम छन् । अनि समालोचकहरूको ध्यानाकर्षण गर्न अक्षम एक थरी कविहरू समालोचकहरूलाई धारे हात लगाउन थाल्छन् । त्यतिले पनि नपुगरे समालोचना नामको टिपोट लेख्न थाल्छन् । समालोचनाका नाममा  समीक्षामूलक टिपोट बन्ला, अनलाइनहरूका भित्तामा ठाउँ पनि पाउला । अनलाइन टिप्पणीकारहरू र फेसबुकमा प्रतिक्रिया लेख्नेहरूले समेत आफू समालोचक हुनुको दाबी गर्ने (अझ आफूलाई सबैभन्दा सक्षम दाबी गर्ने) गरेको समयमा ‘कवि–समालोचकहरू’ को टिप्पणी  कवि–पीडा बुझन् उपयोगी हुन पनि सक्ला तर, यति मात्र पर्याप्त छैन । 

पाठ्यपुस्तकका ‘गाइड’ लेख्नमा सीमित रहेकाहरूले समेत आफूलाई समालोचक भन्ने गरेको अवस्थामा कविहरूको पीडा अर्थहीन छैन, यो पीडामा सत्यताको केही मात्रा छ भन्न सकिए पनि समालोचना लेखन कुण्ठा र आक्रोसको अभिव्यक्ति होइन । कसैले कसैलाई समालोचक भनेर लेखिदिनु र भनिदिनु मात्र पुग्दो छैन । चर्चामा आउन कर्पोरेट माध्यमहरू तथा अनलाइनहरूमा गरिने टिप्पणीको आयु त झन्  चौबिस घण्टा पनि हुँदैन ।  सत्य के हो भने स्नातकोत्तरको डिग्री र  विद्यावारिधिको उपाधि लिँदैमा अथवा प्रा.डा. हुँदैमा र दुईचार टिप्पणी लेख्दैमा समालोचक भइहाल्ने कुरा हुँदैन । समालोचनाले तपाईँसित उच्च सौन्दर्यचेत र कलाचेत, गहिरो सामाजिक अध्ययन र पाठको गहन विश्लेषण क्षमताको माग गर्छ । कथा-कविताहरू लेख्नेहरू हुन् अथवा समालोचना, दुवैका लागि कलाचेत र सौन्दर्यचेतको भूमिका अहम् हुने गर्दछ । 

उपभोक्तावाद र बजारशास्त्रको मेलोमेसो मिलाउन सक्षम  प्रकाशकहरूले कर्पोरेट माध्यमहरूको चाँजोपाँजो मिलाउँदै एक समयमा उपन्यासका नाममा पाठकहरूलाई निकै ठग्ने काम गरे । कनिकुथी लेखिएका भए पनि उपन्यास नाममा बजारमा थरीथरीका किताबहरू देखिए । उपन्यासका नाममा झारपात पतिङ्गर समेत बिक्री हुने वातावरण बन्यो/बनाइयो । हिजोका दिनमा हिन्दीमा लेखिने बजारु उपन्यासझैँ नेपाली साहित्यमा पनि हिजोका युधिर थापालाई बिर्साउने गरी उपन्यासहरू लेखिए र  लेखिँदै छन् । दसबर्से माओवादी जनयुद्धका विरुद्ध लेखे चर्चामा आइन्छ,  पुरस्कृत भइन्छ भन्ने भ्रम पनि थुप्रैमा देखियो र अहिले पनि देखिँदैछ ।  तर नक्कली लोगो र ट्रेड मार्कहरूको बजार लामो अवधिसम्म चलेन ।  बजारशास्त्रको भ्रम लामो अवधिसम्म टिकेन । खोटा मोहोरहरूलाई चम्काउने कर्पोरेट माध्यमहरूको ‘कलाबाजी’ पनि काम लागेन । पाठकले यथार्थ थाहा पाएपछि तिनको हाटबजार सुक्तै गयो र गइरहेको छ । कविहरूले झैँ आजभोलि उनीहरूले पनि भन्न थालेका छन् : ''नेपाली साहित्यमा पठन संस्कृति नै छैन, राम्रा समालोचकहरू नै छैनन् ।" यथार्थ  के हो भने पछिल्लो समयमा उपन्यासभन्दा कथा लेखन बढी प्रभावकारी छ र जीवनसित पनि बढी गाँसिएको छ । उदाहरणका रूपमा कम्युनिस्ट, अब्बा बर्की नम्बर १३९९९ जस्ता सङ्ग्रहहरूलाई लिन सकिन्छ । यी सङ्ग्रहहरूले समकालीन कथा लेखनको प्रतिनिधि प्रवृत्तिलाई प्रतिनिधित्व गर्छन् । 

साओ झेङ्लुले चिनियाँ समाजको विशिष्ट स्थितिमा साहित्य तथा समालोचनाका क्षेत्रमा देखा परेको विसङ्गत पक्षलाई अगाडि ल्याए । उनले अघि सारेको  भ्रष्टाचारको सन्दर्भ विचारको भ्रष्टीकरण थियो र हो । सन् १९८० पछिको चिनियाँ समाजको  स्थिति र हाम्रो स्थिति फरक भए पनि  हामीले सामना गर्दै आएको मूल समस्या पनि वैचारिक समस्या हो । विचारप्रति विश्वास घट्तै गएपछि, आफ्नै सिर्जन क्षमतामा विश्वास नभएपछि, लेखक होस् अथवा समालोचक शब्दशब्ददेखि आतङ्कित हुन थाल्छ, छटपटिन थाल्छ र समस्याबाट मुक्त हुने नाममा भौँतारिन थाल्छ । त्यसपछि लेखक बजारशास्त्र र उपभोक्तावादी रमझमतिर लहसिन्छ, हाटबजारमा रमाउन थाल्छ । लेखक रातारात महान् बन्ने आकाङ्क्षा राख्छ र फेसबुकका कमेन्ट हेरेर आफ्नो लेखनको लोकप्रियताको आयाम नाप्न थाल्छ । अहिले साहित्यिक बजारको स्थिति कस्तो छ भने गम्भीर पाठक र सही अर्थका समालोचकहरूलाई कुन लेखक कतिबेर आयो र कतिबेर हरायो भन्ने थाहा हुँदैन । माइक बजाएर गरिने होहल्लाप्रति गम्भीर पाठक र समालोचकहरूको ध्यान जान छाडेको छ । यस्तो लाग्छ, साहित्यकार भनिने आजभोलिका कतिपयलाई आफू उभिएको धरातल नै थाहा छैन र हुँदैन । आजभोलिका अधिकांश लेखकहरू त्यसमा पनि कविहरूमा देखिएको छट्पटीको मूल कारण यही नै हो । समालोचकलाई धारे हात लगाउनु साटो कविहरूको भीडमा आफू कहाँनेरी उभिएको छु भन्ने कुरामा प्रस्ट हुनु आवश्यक छ । 

समकालीन साहित्य सिर्जना र समालोचनाको कुरा गर्दा निबन्ध लेखनको सन्दर्भको चर्चा हुनु आवश्यक छ । अहिले निबन्ध लेख्ने कार्यमा वृद्धि भएको छ । अनुभव र अनुभूतिको आलोचनात्मक प्रस्तुतिका दृष्टिले निबन्ध प्रभावकारी माध्यम पनि हो । आख्यान र कविता लेखनका क्षेत्रमा स्थापित भएकाहरूको पनि यसतर्फ रुचि बढेको देखिन्छ । तर, कविहरू र उपन्यासकारहरू आफ्नो लेखनको समालोचना भएन भनेर जसरी छटपटिएका देखिन्छन्, यस किसिमको छटपटीको स्थिति निबन्धकारहरूमा देखिएको छैन । साथै निबन्ध लेखन्तेहरूको  वृद्धिसँगसँगै यसमा केही अन्योल पनि थपिएको छ । के निबन्ध हो र  के निबन्ध होइन भन्ने प्रश्न पनि उब्जेको छ । निबन्ध सीमाहीन भएको र यसका नाममा व्यक्तिगत गन्थन–गुनासाहरू बढी लेखिन थाले भन्ने टिप्पणीहरू पनि हुन थालेका छन् । निबन्धको सैद्धान्तिक स्पष्टता, नेपाली साहित्यमा निबन्ध लेखनको सिङ्गो इतिहासको वस्तुपरक अध्ययन र समकालीन निबन्ध लेखनका सम्बन्धमा जे-जति मात्रामा कलम चलाउनु पर्ने थियो, समालोचकहरूको यसतर्फ ध्यान अलि नपुगेको कुरा चाहिँ सत्य हो । 

साहित्य तथा समालोचना क्षेत्रमा देखिएको अन्योलका पछाडि  केही हदसम्म मुलुकको अस्तव्यस्त र विशृङ्खलित स्थिति पनि जिम्मेवार छ । सबैतिर भताभुङ्ग र अन्योलको स्थिति छ । भ्रष्ट र उपभोक्तावादी प्रवृत्तिको चौतर्फी आक्रमण छ ।  नैतिक पक्ष र इमानदारीको प्रश्न जटिल बनेको छ । योजनाबद्ध लेखन र अभियानहरू लथालिङ्ग अवस्थामा छन् । लेखक, पाठक र समालोचकबीच सहज किसिमको सम्बन्ध र अन्तर्क्रियाको स्थिति बन्न सकेको अवस्था छैन ।  यसमा सबैभन्दा बढी सम्बन्ध बिगार्ने काम ‘विचोलिया समालोचकहरू’ अर्थात् साहित्यिक टिप्पणीकारहरू र अनलाइन समालोचकहरूले गरेका छन् । पुस्तक समीक्षा तथा टिप्पणी लेखनमा सीमित कतिपय व्यक्तिले  आफूलाई महान् समालोचक ठानेको टिप्पणीहरू कर्पोरेट माध्यमहरूमा पढ्न पाइन्छ ।  ‘विचोलिया टिप्पणीकारहरू’ को सम्बन्ध खासखास कर्पोरेट माध्यमहरूसित हुन्छ । यसलाई सिन्डिकेट प्रवृत्ति पनि भन्ने गरिएको छ । हिजो काठमाडौँवाद र मोफसलका कुरा खुबै हुन्थे ।  आज पनि स्थिति त्यति सहज छैन । काठमाडौँभित्रै पनि थुप्रै सेयबजारका केन्द्र छन् । चार भन्ज्याङमा मात्र नभएर उपत्यका भित्रै पनि ठाउँठाउँमा गौँडाहरू निर्मित छन्  र साहित्यिक बिचौलियाहरू गौँडा ढुकेर बसेका हुन्छन् । कतिपय लेखकहरू यिनै  ‘विचोलिया समालोचकहरू’ को गौँडा कुराइको सिकार बनेका छन् । 

बिचौलिया प्रवृत्ति कर्पोरेट माध्यमहरूमा मात्र सीमित छैन, यसको सङ्क्रमण प्राज्ञिक क्षेत्रमा पनि विस्तारिन हुन थालेको छ । यहाँ लामो तथ्याङ्क प्रस्तुत गर्नु आवश्यक नभए पनि विचौलया प्रवृत्तिको अर्को संस्करणको उत्पादन केन्द्र  साझा प्रकाशन तथा नेपाल प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाहरू हुन् । बिचौलिया प्रवृत्ति साझा प्रकाशन तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूसित  ‘राम्रो सम्बन्ध’ बनाएर सिन्डिकेट निर्माण गरेर बसेका  त्रिभुवन विशवविद्यालयसित सम्बद्ध केही तालिमे प्रवृत्तिका टापटिपे ‘समालोचकहरू’ को लेखन तथा सम्पादन कार्यमा पनि पाउन सकिन्छ ।  यस्ता प्रवृत्तिहरूले पनि समकालीन लेखन र समालोचनालाई प्रदूषित पारेका छन् । 

प्रायोगिक समालोचनाको सन्दर्भ

समालोचना क्षेत्रका पनि केही समस्या तथा कमजोरी नभएका होइनन् । समालोचनामा लामो इतिहास निर्माण गरेको एउटा पुस्ता विश्रामको स्थितिमा छ । राजनीतिक तथा साहित्यिक भद्रगोल स्थितिको मुक दर्शक बनेको छ । ‘प्राध्यापक-समालोचकहरू’ को चिन्ता र चिन्तन अर्कै छ, त्यहाँ आवश्यकता भन्दा ‘उन्नयन’ को चिन्ता बढी छ । समालोचना लेखनले गहिरो सैद्धान्तिक तथा व्यावहारिक अध्ययनको माग गर्छ । समालोचक हुन रहर गरे पनि नयाँ पुस्तामा अध्ययन-चिन्तनप्रति त्यति सारो रुचि देखिँदैन । यो पनि अहिलेको जटिल समस्या हो । साथै वर्तमान अवस्थामा नेपाली समालोचनाको क्षेत्रमा सैद्धान्तिक समालोचनाको तुलनामा व्याहारिक समालोचनाको क्षेत्रमा ध्यान कम पुगेको  र पुस्तक समीक्षा र ‘गाइड’ लेखनमा प्रायोगिक समालोचना सीमित हुन थालेको हो कि जस्तो पनि देखिन्छ । व्यावहारिक समालोचना लेखिँदै नलेखिएका होइनन्, तर बढी स्थान सैद्धान्तिक बहसछलफलले पाएको छ । यसमा सत्यताको केही मात्रा छ र यसका पछाडि केही  खास कारणहरू पनि छन् ।  यो नेपाली साहित्य तथा समालोचनाको मात्र कुरा नभएर अन्यत्र पनि यस विषयमा चर्चापरिचर्चा र टीकाटिप्पणी हुने गरेका छन् । 

विश्व साहित्यका सन्दर्भमा पनि सन् ९० को दशकयताको समालोचनाको इतिहास बढी सैद्धान्तिक बहसका केन्द्रित रहेको भनेर टीकाटिप्पणी हुने गरेका छन्   । तुलनात्मक साहित्य तथा विश्व साहित्य सम्बन्धी बहसका सन्दर्भमा  चिनियाँ समालोचक झाङ लोङ्सीले यसबारेमा प्रकाश पारेका छन् । उनका  भनाइ सन् १९९० को दशक र त्यसपछिको समय साहित्यिक अध्ययनमा सिद्धान्तहरू बढी हाबी भए र साहित्यिक समालोचनाहरू समालोचना सिद्धान्तहरूको बहसमा फेरिए र पाठकेन्द्री समालोचना कम भयो भन्ने छ । उनका भनाइमा साहित्यिक कृति पढ्ने कुरा समस्याको विषय बन्यो र साहित्यिक अध्ययन विस्तारै ‘कल्चरल स्टडिज’ मा विस्थापित भयो ।
 
समालोचनाका नाममा ‘कल्चरल स्टडिज’ हाबी भएको र साहित्यिक पाठहरूको सघन अध्ययनमा भन्दा सैद्धान्तिक बहसमै समालोचकहरू केन्द्रित भएको कुरामा विमति छैन । यसले समालोचनाका क्षेत्रमा सैद्धान्तिक तथा वैचारिक प्रश्न प्रमुख बहसको विषय बनेको कुराको पनि द्योतन गर्छ । समालोचनाका क्षेत्रमा यो प्रश्न नयाँ होइन तापनि अहिले सैद्धान्तिक-वैचारिक प्रश्न अहम् प्रश्न बनेको कुरा सत्य हो । ‘कल्चरल स्टडिज’ को सन्दर्भ सामान्य सांस्कृतिक अध्ययन होइन, समकालीन समालोचना लेखन  तथा प्राज्ञिक बहसमा यसले विशिष्ट अर्थ राख्दछ । ‘कल्चरल स्टडिज’ आफैँमा गलत कुरा होइन, तर यसका नाममा जेजस्तो मान्यता र अध्ययनलाई केन्द्र बनाइएको छ, त्यो सांस्कृतिक अध्ययन मात्र होइन । यसका नाममा वर्गचिन्तनको विरोध गर्दै विनर्माणवाद, भिन्नतावाद, पहिचानवाद, बहुसंस्कृतिवाद (मल्टिकल्चरलिज्म) वर्णसङ्करता जस्ता चिन्तनप्रवृत्तिलाई जसरी जोड दिने गरिएको छ, विधागत दृष्टिले मात्र नभएर चिन्तनका दृष्टिले पनि यो टिप्पणीको विषय बन्नु स्वाभाविक छ । ‘कल्चरल स्टडिज’ का नाममा एक थरी पश्चिमाहरूले अघि सारेको  ‘स्टडिज’ ‘भिन्नताको सिद्धान्त’ र ‘उत्तर–वादी’ प्रवृत्तिको महत्वपूर्ण कार्यक्षेत्र हो । एकहिसाबले  यो ‘उत्तर-वादी’  चिन्तन प्रवृत्तिको कृडाभूमि हो, यो ‘उत्तर-औपनिवेशिकवाद’ र ‘उत्तर-मार्क्सवादी’  प्रयोगशाला हो ।  

हरेक साहित्य तथा समालोचनाको जगमा खास दार्शनिक तथा वैचारिक पक्ष हुन्छ  र हुनु स्वाभाविक छ । पाठ पनि निरपेक्ष हुँदैन, यसको सामाजिक आधार हुन्छ । पाठमै मात्रै केन्द्रित भएर गरिने समालोचना कार्यमा पनि खास समालोचना सिद्धान्त आकर्षित हुन्छ ।  समालोचना सिद्धान्त र मान्यताकै आधारमा खास कृतिको अध्ययन-विश्लेषण तथा मूल्य निरूपण गर्ने हो । यस अर्थमा सैद्धान्तिक बहस र छलफल आफैँमा खराब कुरा होइनन्,  सैद्धान्तिक आधार, सौन्दर्यशास्त्रीय मान्यता समालोचना कार्यका जग हुन् ।  पछिल्लो समयमा समालोचकहरू बढी सैद्धान्तिक पक्षमा केन्द्रित हुनु परेको छ । लेखक र समाज,  पाठ र पाठकबीचको दुरी बढाउने र लेखकको मृत्यु, पाठको मृत्यु र पाठककै मृत्युको घोषणा गर्ने र साहित्य तथा समालोचनालाई शब्दखेल र काला चिन्हहरूको डङ्गुरमा परिणत गर्ने प्रवृत्तिलाई एक थरी समालोचहरूले जसरी अघि बढाइरहेका छन्, यसको वैचारिक प्रतिवाद हुनु स्वाभाविक थियो र छ । यसले गर्दा समालोचनालाई सिद्धान्तहरूको बहसमा केन्द्रित हुनु परेको स्थिति छ ।

समालोचनाकै मृत्युको घोषणा गरेर उत्सव मनाउने प्रवृत्तिका विरुद्ध वैचारिक सङ्घर्ष गर्नु पर्ने अवस्थाका कारण पनि पछिल्लो समयमा व्यावहारिक समालोचना भन्दा सैद्धान्तिक बहसछलफलले ठाउँ ओगटेको कुरा सही हो । सैद्धान्तिक जग प्रस्ट नपारी गरिने समालोचनाले सही अर्थमा कृतिको सही विश्लेषण र संश्लेषण गर्न सक्तैन । तर साहित्यिक अध्ययन र पाठहरूको सघन अध्ययनबिनाको समालोचनाको इतिहास खण्डित समालोचना सीमित  हुन्छ भन्ने कुरामा  पनि ध्यान दिनु आवश्यक हुन्छ । समालोचना समालोचनात्मक सिद्धान्तको व्यावहारिक प्रयोग हो, समालोचनात्मक सिद्धान्तको व्यावहारिक प्रयोग साहित्यिक पाठहरूमा हुने हो । साहित्यिक पाठहरूको न्यूनीकरण गर्न मिल्दैन र हुँदैन । पाठहरूको अध्ययन-विश्लेषणबिना यसले पूर्णता पाउँन सक्तैन । यो दायित्व पूरा गर्ने काम मार्क्सवादी सौँन्दर्य चिन्तनको क्षेत्रमा काम गरिरहेका समालोचकहरूको हो । 

समालोचना सङ्कटका कुरा

पुस्तक तथा पत्रपत्रिकाको नियमित प्रकाशनको समस्या, पाठकहरूको विशृङ्खलित मानसिक स्थिति, लेखन-प्रकाशनमा योजनाबद्धताको अभाव, वितरणको समस्या र ‘सामाजिक सञ्जाल’ को होहल्ला पनि समकालीन साहित्य तथा समालोचनाले भोग्नु परेको समस्या हो । अध्ययन-चिन्तनमा रुचि नराख्ने, छिटै लाभ खोज्ने, समालोचनालाई दायित्वका रूपमा लिने भन्दा फुर्सतको उपज तथा अर्थोपार्जनको माध्यम बनाउन खोज्ने प्रवृत्तिहरू पनि अहिलेका समस्यासित जोडिएका छन् । साथै जुन मात्रामा कथा, कविता र निबन्ध लेख्नेहरू जन्म हुन्छ, त्यही अनुपातमा समालोचकहरू जन्मने तथा विकसित हुने गर्दैनन् । यो कुरा विश्व साहित्यका सन्दर्भमा पनि सत्य हो । 

केही समय एउटा सन्दर्भ  चलाउने र त्यसको चर्चापरिचर्चा सेलाउन थालेपछि  फेरि नयाँ सन्दर्भ र विषयको उठान गरेर त्यसलाई नयाँ र भिन्नै किसिमको भनेर फूलबुट्टा भरेर प्रस्तुत गर्ने, अनि यस्ता बहसमा आफूलाई केन्द्र बनाउने र यसैका आधारमा बौद्धिक क्षेत्रमा आफ्नो परिचय बनाउन खोज्ने प्रवृत्ति एकथरी पश्चिमा बुद्धिजीवीहरूको विशिष्ट प्रवृत्ति हो । उनीहरू एउटा सन्दर्भ सकिने बित्तिकै अर्को सन्दर्भ निकालेर बौद्धिक बहसलाई आफ्नै वरिपरि केन्द्रित गर्ने गर्दछन्  । वैचारिक बहसभन्दा पनि चर्चामा आउने हुटहुटी हुन्छ । अनि ‘तेस्रो विश्व’ का बुद्धिजीवीहरू चाहिँ त्यसैलाई नयाँ, पछिल्लो र विशेष भन्दै अन्धाले हात्ती छामेझैँ व्याख्या गरेर त्यसैमा चाकाचुली खेल्न थाल्छन् । आजभोलि साहित्यिक अध्ययन तथा समालोचनाका क्षेत्रमा देखा परेका विविध प्रवृत्तिहरूको साइनोसम्बन्ध यही ‘नयाँ’ सित चाकाचुली खेल्ने प्रवृत्तिसित छ र यसले नेपाली साहित्य तथा समालोचनालाई पनि प्रदूषित पारेको छ । 

मैले भन्न खोजेको कुरा के हो भने पश्चिमाहरूले अघि सारेका कतिपय कुरा सही भए पनि सबै कुरा नयाँ, राम्रा, विशेष र वैज्ञानिक हुन्छन् भन्ने कुरा सही होइन ।  जानकारी राख्ने कुरा एउटा हो र आवश्यकता अर्को कुरा हो ।  हामीले आलोचनात्मक दृष्टिकोण अँगालेर निफननाफन गरेर के लिने र के नलिने भन्ने कुराको निक्र्यौल गर्नु पर्छ । तर हामीकहाँ त्यस्तो भइरहेका हुँदैन । सबैभन्दा बढी सचेत  र योजनाबद्ध हुनु पर्ने उच्च शिक्षाको क्षेत्र सबैभन्दा बढी भद्रगोलको स्थितिमा छ । सबैभन्दा बढी उपभोक्तावादी प्रवृत्ति त्यहीँ क्रियाशील छ । अहिलेको उच्च शिक्षाको पाठ्यक्रम र समालोचना सम्बन्धी बुझाइ हेर्दा यस किसिमको भद्रगोल स्थिति सहजै बोध गर्न सकिन्छ । नेपाली समालोचना बढीभन्दा बढी प्राध्यापन क्षेत्रमा निर्भर छ र यो क्षेत्र समालोचनालाई जिम्मेवारीका रूपमा भन्दा पनि व्यक्तिगत रुचि र पेशागत प्राप्तिसित जोड्नमा रुचि राख्दछ । यस किसिमको प्रवृत्तिले नेपाली साहित्य तथा समालोचनाको क्षेत्रलाई प्रदूषित पार्नु स्वाभाविक छ । 

आजभन्दा तीन दशकअघि नै मार्क्सवादी चिन्तक एजाज अहमदले ‘तेस्रो विश्व’ को साहित्यिक, बौद्धिक  र समग्र शैक्षिक स्थितिको निर्धारण ‘पहिलो विश्व’ अर्थात् पश्चिमा मुलुकहरूले गरिरहेका छन् र उनीहरू ‘तेस्रो विश्व’ लाई आफ्ना प्रभुत्वकारी विचारको हाटबजारका उपभोक्ता बनाउन चाहन्छन् भनेर प्रश्न उठाएका थिए ।  आज पनि स्थिति यो भन्दा खासै फरक  छैन । ‘तेस्रो विश्व’ र बौद्धिक-सांस्कृतिक पक्षका सन्दर्भमा एजाज अहमदले जाहेर गरेको चिन्ता र चिन्तन सार्वभौम र साझा बुझाइ हुन् । पश्चिमाहरूका रङ्गिविरङ्गी विचारका विचौलियाहरू ‘तेस्रो विश्व’ का उच्च शिक्षा र नीति नर्माणका क्षेत्रमा सक्रिय भइरहेका हुन्छन् । यस सन्दर्भमा प्राध्यापक सञ्जीव उप्रेतीले उठाएका प्रश्नहरू निकै सान्दर्भिक छन् ।१० उनले त्रिभुवन विश्व विद्यालयको स्नातकोत्तर अङ्ग्रेजी विषयको पाठ्यक्रमको स्वरूपको चर्चा गर्दै “औचित्य” माथि  प्रश्न उठाएका भए पनि नेपाली विषयको पाठ्यक्रमका सन्दर्भमा पनि यो कुरा सही हो । यहाँ पनि आवश्यकता र औचित्य भन्दा नक्कल, प्रभाव र निर्देशित मानसिकताको प्रभाव देखिन्छ । उच्च शिक्षा, साहित्य  र समकालीनता सम्बन्धी बुझाइ यसैको परिणाम हो ।
 
नेपाली साहित्य र समालोचनालाई प्रभावित पार्ने एउटा पक्ष शिक्षा क्षेत्रको पाठ्यक्रम पनि हो । स्तरीय, ज्ञानबर्धक, व्यापकता र आवश्यकतामा आधारित भएर रचनाहरूको चयन र पाठ्यक्रम निर्माण गर्ने भन्दा जब अमुकअमुक पार्टी, अमुक जात र क्षेत्र, अमुक लिङ्ग र समुदायमा जोड दिन थालिन्छ त्यहीँबाट भद्रगोल आरम्भ हुन्छ । अवश्य पनि व्यापकतातर्फ सोच्नु पर्छ, खोजअनुसन्धान गरेर  सबैलाई समेट्नु पर्छ । काठमाडौँ उपत्यकामा बसेर लेख्नेहरूले मात्रै राम्रो लेख्ने हुँदैन । यो स्तरीयताको आधार हुन सक्तैन । राजधानी बाहिर बसेका, माध्यमहरूमा प्रचारको ठाउँ नपाएका, समालोचकहरू तथा नीति–निर्माताहरूको ‘ध्यानाकर्षण’  गर्न नसकेका, तर राम्रो लेख्ने स्रष्टा-समालोचकहरूलाई पनि अगाडि राखेर समग्र रूपमा अध्ययन गरिनु पर्छ । समेट्नुको आधार रचनाको स्तर र गुणवत्ता हुनु आवश्यक छ ।  यसो नगरी अमुक पार्टीको लेखक, सत्ताधारी लेखक, अमुक जात र समुदायको लेखक भन्दै  पार्टीगत र समुदायगत ‘समावेशी’  का  नाममा स्तरहीन रचनाहरू दिनु भनेको विद्यार्थीको चेतनामाथि खेलवाड गर्नु हो ।  यो  राम्रा लेखकहरूमाथि अन्याय हो र विद्यार्थीहरूबीच राम्रा रचना पुग्न वञ्चित गर्ने परिपञ्च हो । अहिले उच्च शिक्षाको पाठ्क्रम निर्माणमा केही मात्रामा यस्तो भइरहेको छ । स्तरीयता र चयनको मापदण्ड वैज्ञानिक छैन । 

त्यसै गरी नाम चलेका संस्थाहरूले पुरस्कृत गरेका  रचना पाठ्यक्रमका लागि र योग्य र समालोचना गर्न लायक हुन्छ भन्न सकिँदैन । नाम चलेका भनिएका संस्थाहरूले पुरस्कृत गरेको  पुस्तक भन्दैमा उत्कृष्ट हुनुको मानदण्ड बन्न सक्तैन । पुरस्कार  कसरी र कसलाई दिइन्छ/दिइने गरिएको छ र कस्ताकस्ता पुस्तकहरू पुरस्कृत भएका छन् र  हुने गर्दछन् भन्ने कुरा पनि सबैलाई थाहा भएको कुरा हो ।  यो पनि बजार–व्यवसाय, लेनदेन र विशेष सम्बन्धको आधार बन्ने गरेको छ भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो ।  यस किसिमको स्थितिले पनि लेखन तथा समालोचना कार्यलाई प्रभावित पारेको छ । 

यस किसिमको स्थितिमा स्रष्टाहरूले नेपाली समालोचनाको स्थिति र गतिका बारेमा प्रश्न उठाउनुलाई अन्यथामा लिनु  हुँदैन । प्रश्न उठाउने ठाउँहरू छन् ।  यसलाई अन्यथा भन्न नमिले पनि प्रश्न कुन कोण र मनसायका साथ आएको छ भन्ने कुराले चाहिँ विशेष अर्थ राख्दछ । 
समालोचनाको क्षेत्रमा समस्या छन्, सङ्कट होइन । यसलाई सापेक्षतामा स्वीकार गर्नु आवश्यक छ । साथै समालोचकहरूमाथि उठेका प्रश्नहरू आफ्ना बारेमा समालोचना लेखिएनन्, आफ्नो चर्चा भएन भन्ने कोणबाट पनि उठेका हुन सक्छन्, यसप्रति पनि ध्यान दिनु आवश्यक छ । अहिले उठेका ‘समालोचना सङ्कट’ का सन्दर्भहरूका पछाडि केही कारणहरू छन् । यिनका पछाडि निहित कारणहरूको विश्लेषण र सश्लेषण नगरी समालोचकहरूलाई धारे हात लगाउनु तथा छटपटिनुको अर्थ छैन । जसरी ‘समालोचना सङ्कट’ का कुरा उठाउने गरिएको छ, यो वैज्ञानिक बुझाइमा आधारित छैन । 

 नेपाली समालोचनाको उज्यालो पक्ष 

नेपाली समालोचनाको आधुनिक इतिहास प्रभाववादबाट आरम्भ भएर यथार्थवाद हुँदै अघि बढ्यो । २००७ देखि हालसम्म साहित्य तथा समालोचनाका क्षेत्रमा थुप्रै खाले समालोचनात्मक प्रवृत्तिहरू देखा परेका छन्  । कतिपयको इतिहास सारै छोटो छ, कतिपयको इतिहास केही लामो भए पनि तिनको आयाम त्यति विस्तारित हुन सकेन । मार्क्सवादी लेखन-चिन्तनको इतिहास आरम्भदेखि निरन्तरतामा गतिशील छ । 
 वैचारिक सङ्घर्ष तथा आत्मसङ्घर्ष नेपाली मार्क्सवादी समालोचनाको आधारभूत पक्ष हो ।  भिन्न मतका विरुद्ध मात्र नभई मार्क्सवादी कित्ताभित्रका गलत चिन्तन प्रवृत्तिका विरुद्ध पनि सङ्घर्ष गर्नु नेपाली मार्क्सवादी समालोचनाको विशेषता हो । यसले नै यसलाई थप ऊर्जाशील  र गतिशील बनाएको छ । यथार्थतः वैचारिक सङ्घर्ष तथा आत्मसङ्घर्ष नेपाली मार्क्सवादी समालोचनाको विशिष्ट पक्ष  हो । 

अवश्य पनि पछिल्लो समयमा विविध कारणवस मार्क्सवादी लेखनको क्षेत्रमा कलम चलाउनेको सङ्ख्या घटेको छ,  त्यसमा पनि समालोचनाका क्षेत्रमा कलम चलाउनेको सङ्ख्या झन् घटेको छ । सबलताको सम्बन्ध मात्रा र गुण दुवैसित छ तापनि सबलताको सम्बन्ध मूलतः गुणात्मक पक्षसित हुन्छ । मार्क्सवादी समालोचना क्षेत्र पनि एकदमै समस्यारहित छ भन्न सकिने स्थिति छैन, समस्या छन् । र पनि वैचारिक दृढताका साथ क्रियाशील समालोचकहरूले यसको क्रान्तिकारी निरन्तरता र ऐतिहासिक सातत्यलाई जसरी थामेका छन्,  यो नेपाली समालोचनाको उज्यालो पक्ष हो । 

अहिलेको स्थितिमा नेपाली साहित्यको सबैभन्दा सबल क्षेत्र भनेको समालोचना क्षेत्र हो र यसमा पनि मार्क्सवादी समालोचनाको क्षेत्र हो । उत्तरआधुनिकतावादले मोर्चा छोडिसकेको अवस्था भए पनि  ‘मिसमास सिद्धान्त’ र ‘उत्तर-मार्क्सवादी’ घुसपेठिया प्रवृत्तिले मिहिन पाराले मार्क्सवादी सौन्दर्यचिन्तनलाई प्रदूषित पारिरहेको  छ । त्यसै गरी मार्क्सवादका नाममा विचारको भ्रष्टीकरण अहिले सबैभन्दा जटिल समस्या बनेको छ । प्रगतिवादका नाममा क्रियाशील बहुलवादी भ्रष्ट प्रवृत्तिको महामारी पनि कम घातक छैन । मार्क्सवादका नाममा मार्क्सवादकै भ्रष्टीकरण झन् घातक प्रवृत्ति हो । यो अहिले मार्क्सवादी सर्जक र समालोचक दुवैले भोग्नु परेको साझा समस्या हो । हिजोका दिनमा मार्क्सवादी समालोचक जर्ज लुकासले भनेझैँ आज पनि लेखक-साहित्यकारहरूलाई भ्रष्ट तुल्याउने शक्ति र प्रवृत्तिहरू त्यत्तिकै सक्रिय छन् । प्रश्न तिनका सामु आत्मसमर्पण गर्ने कि सङ्घर्ष गर्ने भन्ने नै हो । आवश्यकता आत्मसङ्घर्ष र वैचारिक सङ्घर्षको छ ।  सही अर्थका मार्क्सवादी समालोचकहरूले दुवै मोर्चामा लड्नु परेको अवस्था छ र यो कार्य कम जटिल छैन । यी दुवै थरी प्रवृत्ति विरुद्धको वैचारिक सङ्घर्षलाई तीव्र बनाएर नै नेपाली साहित्य तथा समालोचनाको ऐतिहासिक मूल्यलाई निरन्तरता दिन सकिन्छ । 

टिप्पणी 
१.साओ झेङ्लु, ‘ऐट कि टर्मस् इन लिटररी क्रिटिसिज्म, डिबेटिङ द सोसियलिस्ट लिगेसी एन्ड क्यापिटलिस्ट ग्लोबलाइजेसन इन चाइना, (सम्पा.) सुइपिङ झोङ र बान वाङ, ( न्यु योर्क : पालग्रेभ म्याकमिलन, सन् २०१४), पृ. १३७/१३८ । 
२. लिउ काङ, ‘अ (मेटा) कमेन्ट्री अन वेस्टर्न लिटरेरी थ्योरिज एन चाइना : द केस अफ जेमसन एन्ड चाइनिज्म जेम्सोनिज्म, मोडर्न लङ्वेज क्वाटर्ली, ७९: ३ (२०१८), पृ.३२३–३४० । अनलाइन : 
https://www.researchgate.net/publication/327373870_A_Metacommentary_on_Western_Literary_Theories_in_China_The_Case_of_Jameson_and_Chinese_Jamesonism
३. ग्लेन रिकोस्की, ‘पोस्टमोडर्निज्म’, रेड चकः अन स्कुलिङ, क्यापिटलिज्म एन्ड पोलिटिक्स, (संयुक्त लेखन), माइक कोले, देव हिल, पिटर म्याक लारेन र ग्लेन रिकोस्की, (लन्डन : द इस्टिच्युट अफ एजुकेसन पोलिसी स्टडिज, सन् २००१), पृ ४३ ।
४.फ्रेडरिक जेमसन, द प्रिजन हाउस अफ लङ्वेज अ क्रिटिकल अकाउन्ट अफ स्ट्रक्चरलिज्म एन्ड रसियन फर्मालिज्म, (प्रिन्सटन : प्रिन्सटन युनिभर्सिटी प्रेस, सन् १९७२) ।
५. जेम्स पेट्रास, ‘उत्तरमाक्र्सवादका सम्बन्धमा माक्र्सवादी आलोचना, मार्क्सवाद र परिचयको राजनीति, (सम्पा.) ऋषिराज बराल र नन्दीश अधिकारी, ( काठमाडौँ : भक्तबहादुर प्रतिष्ठान, २०७१), पृ.३२ । 
६.एजाज अहमद, ‘पोस्टमोडर्निज्म’, द माक्र्सिस्ट, भो. हहखष्ष् (सन् २०११), पृ. ३२ । अनलाइन 
http://www.cpim.org/marxist/201101-postmodernism-Aijaz.pdf
७.अर्नेस्टो लक्लाउ र चन्ताल मुफ, हेजेमनी एन्ड सोसियलिस्ट स्ट्राटेजी टुवार्डस अ -याडिकल डेमोक्रेटिज पोलिटिक्स, (लन्डन, न्यु योर्क :  भर्सो, सन् १९८५) ।  
८. झाङ लोङ्सी, ‘वल्र्ड लिटरेचर, क्यानोन एन्ड लिटरेरी क्रिटिसिज्म, टेन्सन्स इन वल्र्ड लिटरेचर बिट्विन द लोकल एन्ड युनिभर्सल, (सम्पा.) वेइगुइ फाङ ( सिङ्गापुर : पालग्रेभ म्याकमिलन, सन २०१८),पृ. १७३ ।
९.एजाज अहमद, इन थ्योरी क्लासेज, नेसन्स, लिटरेचर्स, (न्यु दिल्ली : अक्सफोर्ड युनिभर्सिटी प्रेस, सन् २००६)
१०.सञ्जीव उप्रेती, ‘विश्वव्यापीकरणको अध्ययन’, सिद्धान्तका कुरा, (काठमाडौँ : अक्षर क्रियसन्स नेपाल, २०६८),पृ. २०८–२३३ ।    
भिडियो फिचरview all