ताजा समाचार
कलम, बारुद र भूगोलको आयाम
ऋषिराज बराल
जब 'ब्ल्याक एन्ड ह्वाइट’ फोटो देख्छु, म निकै बेर घोरिन्छु ।
मान्छेका आआफ्ना अर्थ लगाइ र बुझाइ हुन्छन् । यो बोधको प्रश्न हो । यस्तो हुन्छ नै ।
समुद्र साउतीका चर्चित कवि बद्री भिखारीले 'इन्द्रेणी अभियान’ अन्तर्गत सानो टिप्पणीसहित आफ्नो फेसबुकमा हरेक दिनजसो एकएकवटा कविता राखेका छन् , कवितासँगै कवि पनि राखेका छन् । कसको राख्ने, कसको नराख्ने यो उनको रुचि र चयनको कुरा हो । अहिलेको जस्तो प्रविधि नभएको 'ब्ल्याक एन्ड ह्वाइट’ मा मात्रै फोटो आउने जमानामा कविको रूपमा तालि पिटिने अधिकांश कविका रचना त्यसमा परेका छन् । उनले बम देवानको कविता ‘नङ्ग्याइँदा आजकी द्रोपदी हरेक क्षण’ राखे । अभिधा र लक्षणा दुवै छ यसमा । लेख्ने कुरा, बोध गर्ने कुरा दुवै कलाचेत र सौन्दर्यचेतका उपज हुन् । उनले राखे जसराज किराँतीको कविता पनि । जसराजको एउट कविता सायद त्यो आक्रोस पत्रिकामा छापिएको थियो । मैले धेरै अघि पढेको थिएँ– ‘काठमाडौँ हेर्न जाँदा’ । शीर्षक यस्तै थियो जस्तो लाग्छ । विद्यावारिधिका सन्दर्भमा पुराना पत्रिका खोजखाज गर्दा फेला पारेको थिएँ । मञ्जुलको पनि यस्तै शीर्षकको कविता थियो जस्तो लाग्छ । सायद जसराजको राजनीतिक इतिहास पनि त्यस्तैत्यस्तै रह्यो क्यार–उबडखाबड । तर, कविता निकै घत लागेको थियो । फेरि पढ्न मन लागेको छ । अहिले पनि बिरानो विरानो लाग्छ, यो काठमाडौँ खाल्डो, हत्तपत्त चिन्दैन यसले बाहिरकालाई । त्यो त झन हिजो थियो–जसराजले पहिलोपल्ट अनुभूत गरेको काठमाडौँ । बेइमान छ यो काठमाडौँ सहर आज पनि ।
समय त्यस्तै हो कि मलाई त्यस्तो लागेको हो । नाँच्तै-गाउँदै थुप्रै साथीहरू रेलको डिब्बामा चढेका थियौँ । हेर्दाहेर्दै बाटाबाटामै साथीहरू झर्दै गए, पुग्नु पर्नै ठाउँमा नपुगी । रेल त कुदिरहेको छ, ड्राइभर पनि फेरिइरहेका छन्, तर कुन दिशामा कुदेको छ पत्तै छैन । यसो हेर्छु डिब्बामा मान्छे त थुप्रै छन्, तर, एकाध मात्र छन्, चिनेका अनुहारहरू । भाषा पनि के के बोल्छन्–बुझनै गारो । ठम्याउनै गारो । यस्तैयस्तै समयमा कवि भिखारीले 'ब्ल्याक एन्ड ह्वाइट’ समय सम्झाएका छन् ।
कुरा कवि र कविताको हो र सन्दर्भ इँटहरी र धरानको हो ।
कसैले टिप्पणी गर्यो : कविले आफ्नै ठाउँकालाई मन पराएछन् ।
कसैले टिप्पणी गर्यो : कविले पुरानालाई मन पराएछन् ।
म भन्छु कविले कविता मन पराएछन् ।
खोइ कुन हो सिमाना पूर्व र पश्चिमको ? पुण्य कार्कीको गाउँबाट हेर्दा इँटहरी पूर्व पर्छ । डि. कौडिन्यको गाउँबाट हेर्दा इँटहरी पश्चिम पर्छ । काठमाडौँबाट हेर्दा खोमा तरामुको गाउँ पश्चिम पर्छ, आरपी तिमिल्सिनाको गाउँ अछामको विनायकबाट खोमा तरामुको गाउँ हेर्दा त्यो पूर्व पर्छ । प्रश्न कहाँ उभिएर हेर्ने भन्ने मात्रै हो । ठाउँ भूगोल हो र भूगोल, भूगोल मात्रै पनि होइन, हेराइ पनि हो र बुझाइ पनि हो । सुखानी ठाउँको नाम पनि हो, बिम्ब पनि हो । ऋषि देवकोटालाई गोली हानेको ठाउँ पुग्दा सबैको छाती कहाँ तातो हुन्छ होला र ? यो त सौन्दर्यबोधको कुरा हो । प्रश्न कहाँ उभिएर हेर्ने भन्ने मात्र होइन, कसरी उभिएर हेर्ने भन्ने पनि हो–यसैलाई भन्छन् आफू उभिएको धरातल ।
इतिहासको सन्दर्भमा साहित्य र बौद्धिक गतिविधिमा मात्र नभएर धरान राजनीतिक दृष्टिले पनि छुट्याउनै नसकिने भूगोल हो । यो लेखन्ते धरानलाई खास ठाउँ नभनेर 'भूगोल’ भन्दछ । अहिले त इँटहरीले आफ्नै स्वत्त निर्माण गरेको छ, तर मैले भनेको र मानेको 'भूगोल’ भित्र इँटहरी पनि पर्दछ । धरानसित कृष्ण पोख्रेलको ‘झोडाको गीत’, “खोकु छिन्ताङ दुख्यो कि” देखि सबैसबै थुप्रै इतिहासहरू गाँसिएका छन् । यी सबै मिलेर यो भूगोल बनेको छ । यो भूगोलको आयाम दृश्यमा भन्दा बोधमा भिन्न हुन्छ ।
धरान एक समय बौद्धिक-साहित्यिक र वैचारिक केन्द्र थियो । माथि पहाडबाट 'भविष्ण निर्माण’ का लागि आउनेहरूको चेतनाको स्कुल थियो धरान । धरान पुग्दा डिपी अधिकारीको उपन्यास धरती अझै बोल्दैछ को सम्झना हुन्छ मलाई —लेख्छन् उनी आरा काट्नेहरूको हूलका हूल र बङ्गाली मास्टरको कथा । प्रस्टताका साथ भन्छु,— इँटहरीलाई बोल्न र हिँड्न सिकाएको त धरानले नै हो । किन हो धरान चुपचाप छ आजभोलि । सायद, आफ्नै इतिहासको राप र तापले पोलेर होला ।
एक समयमा, राजनीतिक कुराकानीको सन्दर्भमा धरान पुग्दा 'मित्रहरू’ भन्थे— “धरान हाम्रो आधारइलाका हो, अरू आए नालीमा बगाइदिन्छौँ” । 'उनीहरू’ को धम्कीको भाषा सुन्दै छाताचोकमा ‘हामीहरू’ ले गरेको भाषण, त्यो 'साहसिलो कदम’ चाहिँ बिर्सेको छैन । भानु पत्रिकाका पुराना अङ्क पल्टाउँदा भेटिन्छन् आर.पी श्रेष्ठहरू । कविको मात्रै कुरा गर्दा बम देवान, नरेश शाक्य, बेणु आचार्य, कुन्ता शर्मा, गोविन्द विकल, अजम्मर काङमाङ, राजेश वान्तबा काठमाडौँ उपत्यका हल्लाउने थुप्रैथुप्रै नामहरू पो छन् त धरानको इतिहाससित । जति पर गयो उति नामहरू थपिन्छन् । अलिअलि राजनीतिको जोडघटाउले खायो । अलि बढी पहिचानवादी–उत्तर-मार्क्सवादी राजनीतिले खायो । त्यो सग्लो 'भूगोल’ रहेन । 'खोयाबिर्के’ प्रवृत्ति हाबी भयो तलदेखि माथिसम्म—छिचोल्नै नसक्ने गरी ।
खोकु-छिन्ताङ पनि झारपातले छोपिएर इतिहासमा मात्रै बाँच्यो—सालिकहरू नचिनिने भएका छन् । विचारको कुरा छाडौँ भावनात्मक पक्ष पनि बाँकी रहेन—टुक्राटुक्रा मानसिकता । अब धरानसित 'नोस्टाल्जिया’ मात्र बाँकी छ–'प्लाटोनिक लभ’–‘ब्ल्याक एन्ड ह्वाइट’ को धमिलो शब्दचित्र । र फेरि बद्रिजीले सम्झाउनु भयो, धरान मरिसकेको छैन है भनेर ।
महान् दसबर्से जनयुद्धमा पूर्वको जिम्मेवारी समाल्दा यो मान्छे चैनपुर मोर्चाको तयारीका क्रममा खोकु-छिन्ताङ हुँदै हरि नेपालको गाउँ पुगेथ्यो र बासु शाक्यबाट सुनेको थियो रक्तिम इतिहास–गरिमामय इतिहास । बाटोभरि सुनेको थिएँ 'किताब बा’ बाट ‘खोकु-छिन्ताङ’ को गाथा । सम्झना हुन्छ, चारैतिरबाट दुस्मनले घेरेर सङ्खुवासभाको एउटा गाउँमा राती सेल्टर लिएको बेला घरका बुढाबाले भनेको महान् वाक्य : “तिमारु पनि त त्यस्तै हुन्छ होला, तिनारुजस्तै’ । “ हुन्नौँ बा हुन्नौँ हामी फरक हौँ” –ओहो ! मुख देखाउन पनि गारो भएको छ । “तिमारु” र “तिनारु” अहिले छुट्याउन नसकिने भएका छन्–एउटै रङमा मिसिएर नचिनिने भएका छन् ।
अहिले फर्केर हेर्दा सबै कुरा कस्तोकस्तो लाग्छ, हो कि होइनझैँ लाग्छ । 'सङ्कटकाल’ को समय थियो । पुर्बेली अभियानका ती दिनहरू, मोरङबाट नहरको डिलैडिल सुनसरीको चतरा, बराहक्षेत्र, लेगुवा हुँदै हामी सङ्खुवासभाको आँखीभुइँ पुगेका थियौँ । आधा घण्टा यताउति गरेको भए इतिहास नै अर्कै हुने रहेछ । गौँडा ढुकेर बसेका रहेछन् वैरीहरू । मुस्किलले उम्किएछन् परवाना र बलराम कमरेडहरू । फेरि पुग्यौँ मादी । हेलिकप्टरबाट दुस्मनको घेराबन्दी, अनि गुफा पोखरी, नुनढाकी, तीनजुरे, माङ्सिमा, सभापोखरी, गिद्धे लेक र चैनपुर मोर्चा—यात्राको एउटा चरण यस्तो थियो ।
थुप्रै साथीहरू गुमायौँ । ताप्लेजुङका भीरपहराहरू—इम्फुदिन, सावाँ, लेलेप, ओलाङचुङगोला चौँरी गोठहरू र कञ्चनजङ्घाको काख हुँदै सिनाम, कालीखोला र च्याङ्थापु भएर सिक्किम र दार्जीलिङको छेउछाउ पुगेका थियौँ हामी । फालोट (फालेलुङ) को डाँडामा उभिएर मैले परपरको क्षितिजतिर हेरेको थिएँ । घाम उदाउनेतिर पनि हेरेको थिएँ र अस्ताउनेतिर पनि हेरेको थिएँ । हाम्रा वीर योद्धाहरूले निर्माण गरेको यो देश । आलेको नाम हरायो र बन्यो आलिपुरद्वार । सतलजमा पुगेर खुँडा पखालेका थियौँ हामीले, अहिले त कालापानी पनि जोगाउन सकेनौँ । रगतले निर्माण गरेको त्यो नासो’ जोगाउन सकेनौँ । हिमालबाट बगेको पानी, सुनाखरीको वास्ना बोकेको महाभारतको लेकबाट बहेको हावा पुग्ने ठाउँ त मेरो प्यारो फाँट, पूर्वदेखि पश्चिमसम्म फैलिएको तराई नै रहेछ । पर्नु हुन्न त्यहाँ पराईका आँखाहरू । कुन 'पापी’ ले घुसायो यो चिरैचिरा पार्ने सिद्धान्त ! मार्क्सवाद-लेनिनवाद-माओवादको शब्दकोशमा त कतै भेटिदैन यो–यसलाई खोज्न पुग्नु पर्छ 'उत्तर-मार्क्सवाद’ अर्थात् मार्क्सवादको अन्त्यमा । विरताको इतिहास, विश्वलाई आश्चर्यचकित पार्ने मेरो माटो, मेरो भूगोलभन्दा उच्च ‘पहिचान’ मेरो देशको अर्को परिचय छैन र हुन सक्तैन पनि । साँच्चै कसले घोल्यो मेरो भूगोलभित्र यो 'पहिचानवाद’ को विषाक्त झोल !
‘जनयुद्ध’ को त्यो गौरवशाली इतिहास लुटतन्त्रमा फेरिएको छ । सुखानी होस् अथवा खारा केहीले सहिदको रगतमाथि मोजमस्ती गर्ने माध्यमा बनाएका छन् । तर म भन्छु दसबर्से महान् जनयुद्ध नोस्टाल्जियामा बाँच्न सक्तैन, यो ‘ब्ल्याक एन्ड ह्वाइट’ संस्मरण बन्न सक्तैन । यो त निरन्तरतामा छ –अविरल, अविरल । अहिले पनि कुमार पौडेलहरूको रगत बगिरहेको छ । प्रश्न छ, किन बगाउनु परिरहेको छ कुमार पौडेलहरूले रगत ? कसले बगाइरहेको छ कुमार पोडेलहरूको रगत ? यो प्रश्नको सही उत्तर प्राप्न नहोउन्जेल जनयुद्ध धमिलो 'शब्दचित्र’ बन्न सक्तैन । तीनजुरेका हजुरबा ! छातीमा हात राखेर भन्छु, अहँ बन्न सक्तैन ! कहिले सेतीझैँ कुलकुल तलतल बग्ला, कहिले कर्णालीझैँ गडगडाउला, तर चलिरहन्छ निरन्तर, निरन्तर –माओले अविरल बग्ने लामो नदी याङ्त्सेका बारेमा भनेझैँ ।
साक्षी छ धरान 'खोकु-छिन्ताङ’ को । खोर्साने, चकरघट्टी ठाउँ मात्र होइनन् यी । मर्ने छैनन् सपनाका सपनाहरू। “हजार माइलको लामो यात्रा...” का रोहित र अनन्तहरूको रगत मिसिएको छ त्यहाँ । धरान त्यसरी सुस्ताउन मिल्दैन ।
खुलेर भन्छु, धरानले काठमाडौँ ताकेन, बरू काठमाडौँलाई बोलायो धरानमै । नरिसाउनु होला ! इँटहरी आफ्नो अस्तित्वका लागि, भूमिकाका लागि काठमाडौँलाई हेरीबस्छ, कुरीबस्छ । धरानलाई चिनाउन काठमाडौँ खोज्नु पर्दैन । यो लेखन्ते सङ्घीयता स्वीकार गर्दैन, सङ्घीयता नेपाली भू-राजनीति अनुकूल छैन भन्छ र अर्थतन्त्र चौपट पार्न र परजीवी बनाउने योजनाबद्धता मात्र हो भन्छ । साँच्चै हो, सङ्घीयता टुक्राटुक्रा मानसिकता र भूगोलमा नेपाल र नेपालीलाई विभाजित गर्ने चालबाजीबाहेक केही होइन । सङ्घीयतवादीहरूलाई सोध्छु, खोइ '२ नम्बर प्रदेश’ को साहित्यिक राजधानी ? सङ्घीयता नभए रगत बगाउन पछि नपर्ने भनेर मुड्की बजार्नेहरूलाई पनि हेरिहेको छु । ती पनि काठमाडौँ खाल्डोमै आफ्नो अस्तित्व र भूमिका खोजिरहेका छन्, ती झन् बढी आशे छन् । सबै कुराको केन्द्र काठमाडौँ खाल्डोलाई नै मान्ने हो भने पहिचानवाद र केन्द्रवादको रडाकोको के अर्थ होला र !
बद्रिजी ! पहिले पढेको, फेरि पढ्न मन लाग्यो बम देवानको कविता— 'आगोको खेती’ । शीर्षक 'आगो’ मात्रै हो अथवा 'आगोको खेती’, एउटा पुरानो लेखमा 'आगो’ मात्रै लेखेको रहेछु । मेरो पुस्तक मार्क्सवाद र सबाल्टर्न अध्ययन को एउटा शीर्षक 'कवितालेखनका समकालीन चुनौतीहरू’ मा यस्तो लेखेको रहेछु, “ 'आगो’ र ‘नाङ्गिदा द्रोपदी हरेक क्षण’ जस्ता कवितामार्फत भूपीको सम्झना गराउने बम देवानले आफ्नो विचार र कवितालेखनलाई निरन्तरता दिन सकेनन् । नेपाली कविताका लागि यो दुःखद पक्ष हो ” । सही लेखेँ कि गलत लेखेँ, तर लेखेँछु ।
कुनै दिन ठूला ‘भित्ताहरू” मा देखिन्थे ‘आगोको खेती’ का कुरा । अब त भित्ताहरू पनि बासी भैसके । भरिएका छन् ती बहुराष्ट्रिय कम्पनीका विज्ञापनका नाराजुलुसले । आइएन्जीओवादीहरूका सञ्जालभित्र हराएजस्ता भएका छन्— अक्षरका राता जुलुसहरू पनि । सडकमा राता झण्डाहरू पनि मौसमी बनेका छन् । सबै रङमा मिसिएको छ, जे जे केमिकल हाले पनि नजाने एकदमै, गाढा रङ–उपभोक्तावाद ।
जनयुद्धको समयमा आतङ्कारी भनिएर घरीघरी पक्राउ पर्दा, जेल पर्दा 'एन्टि-टेरोरिस्ट सेल’ का प्रहरी हाकिमहरू रामकाजी बान्तवा र आमोद गुरुङको एउटै प्रश्न हुन्थ्यो—“ अमुकअमुक नेताहरूसित सिलिगुडीमा तपाईँले भेटेको प्रमाण छ हामीसित, अमुकअमुक नेता कहाँ छन्...? ” ‘म कलम चलाउने मान्छे, चक-डस्टरमा समय बिताउने मान्छे, मलाई कसरी थाहा हुनु नेताहरूका बारेमा”– मेरो उत्तर हुन्थ्यो । “ रोल्पा–रुकुममा चलेका बन्दुक भन्दा खतरनाक छन्, माओवादीका कलम चलाउनेहरू”—उनीहरू आतङ्कित पार्न खोज्थे मलाई । सेनहरू इतिहास निर्माण गरेर गए, एक हिसाबले जिम्मेवारी पूरा गरेर गए ।'‘मिस्टर बुटम्यान’ लेखेर करूप सत्तालाई थर्काउने कोहीहरू एकेडेमीको आजीवन भत्तामा रमाउन थाले, अनि कोही ‘चुनाबी गीत’ मा नाचगान गर्न थाले । इतिहास निर्माण गर्न जत्तिकै गाह्रो रहेछ इतिहास जोगाउन । इतिहास त सेनको मात्रै होइन रहेछ, मणि र पूर्ण विरामको पनि रहेछ । ठीकै हो, सतिसाल मात्रै आँधी र हुरीको सामना गर्दै एक्लै उभिन सक्छ ।
खोइ कलम र मादलहरू ? कहाँ हराए कलम र मादलहरू ? हराए अथवा हराएजस्ता भए !
यो निस्पृहता डरलाग्दो छ–कामु-काफ्काका उपन्यासहरूमा वर्णित शून्यता र भयबोधको स्थितिजस्तै । मरेका हुन् र सपना ? मलाई त त्यस्तो लाग्दैन । अवतार सिंह पासको कविताले हामीलाई घरीघरी चिमोटिरहेको छ –“मरे तिमीहरूका सपनाहरू” ? नवारुणको कविताले खबरदारी गर्छ– “कविताको गाउँबाट कविताको सहरलाई घेर्ने समयमा कता को हो यात्रा !” त्यसैले त कविजी ! मैले गरेको हुँ 'आगोको खेती’ को कुरा ।
धेरैले भन्छन् अब आगो निभ्यो भनेर । छैन, छैन, अहिले पनि रगत बगिरहेको छ । मारिइरहेका छन् निहत्था कुमार पौड्यालहरू । कुमार पौडेलहरूले रगत बगाइरहनु पर्ने स्थिति रहेसम्म आगो निभ्ने छैन । बन्दुक पो बुझायौँ त, कलम त बुझाएका छैनौँ । बुढा मार्क्स भन्छन् : “विचार जब मान्छेको मनमस्तिष्कमा पुग्छ, त्यो भौतिक शक्तिमा फेरिन्छ । ” “तिमारुहरू” अब “तिनारु” भएका छन्, तर हाम्रो कलम 'हामेरू” सितै छ ।
छ आगो । आगोसित बारुद मिसिएपछि के हुन्छ सबैलाई थाहा छ । कलमहरू, कलम मात्रै रहँदैनन् र मादलहरू मादल मात्रै रहँदैनन् । अनि भूगोल पनि ठाउँ मात्र रहँदैन, विचार बन्छ, फेरिन्छ भूगोलको आयाम । कुरा पूर्वको होइन, कुरा पश्चिमको पनि होइन, धरानको पनि होइन, इँटहरीको पनि होइन । जब भूगोल विचार बन्छ, त्यो सबैको हुन्छ । सहिदको सपनासित जोडिएको भूगोल, गाँसिएको विचार कहिल्यै ‘ब्ल्याक एन्ड ह्वाइट’ बन्दैन । सत्य कुरा के हो भने जबसम्म यो धरतीमा दुइटा कित्ता रहिरहन्छन्, ‘आगोको खेती’ को कुरा कहिल्यै ‘ब्ल्याक एन्ड ह्वाइट’ हुँदैन ।
कलम होस् कि बन्दुक, अबको मोर्चा भनेको मुठभेडको मोर्चा हो । प्रतिरोध कि आत्मसमर्पण, ढिलोचाँडो अबको बाटो भनेको यही नै हो । कुन बाटो रोज्ने प्रश्न यति मात्र हो । अब शब्दजालले काम चल्नेवाला छैन ।
000
भदौ २४,२०७७
(शाल्मलि अंक ७५, बाट)
भिडियो फिचरview all