menu

ताजा समाचार

कम्युनिस्ट न्युक्लिअस,नेपालको आह्वान

पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपालले हालै एक वक्तव्य प्रकाशित गरी आधारभूत विचार मिल्ने समूह तथा सङ्गठनबीच वैचारिक बहसछलफल चलाउँदै क्रान्तिकारी पुनर्गठनको अभियान चलाउने आह्वान गरेको छ । वक्तव्यमा मुलुकको स्थिति र क्रान्तिकारीहरूको दायित्वको चर्चा गर्दै क्रान्तिकारी शक्तिहरू आआफ्ना कमी कमजोरीको समीक्षा गर्दै एक ठाउँमा आउनु पर्ने आवश्यकता र औचित्यमाथि प्रकाश पारिएको छ ।  वक्तव्यमा भनिएको छ :

 ''हामी आफूलाई जनयुद्ध र माओवादी आन्दोलनको विरासतको निरन्तरताको संवाहक हुनुको दाबी गर्छौँ भने, हामी नेपाली क्रान्तिप्रति गम्भीर छौँ भने अहम् त्यागेर नयाँ किसिमले सोच्ने बेला आएको छ  ।" 

प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ :

क्रान्तिकारी पुनर्गठनको नयाँ अभियानमा सामेल होऔँ  

यतिखेर हरेक पार्टीभित्र विभाजन, विखण्डन र अन्यौलको स्थिति छ । बुर्जुवा पार्टीहरूमा सिद्धान्त र विचार भनेको जसरी पनि शक्ति र सत्ता आफ्नु हातमा लिएर विदेशी प्रतिक्रियावादी शक्तिहरूको आडमा जनतामाथि शोषण गर्नु र प्रतिरोधमा उठेका आवाजहरूमाथि दमन गर्नु हो । उनीहरूबीचको झगडाको प्रश्न पनि यसैमा केन्द्रित हुन्छ । यो प्रतिक्रियावादीहरूको सार्वभौम चरित्र हो र नेपाली समाजको विशिष्टतामा हामी अहिले यो सबै देखिरहेका छौँ र भोगिरहेका छौँ । को कुन साम्राज्यवादी तथा विस्तारवादी शक्तिको नजिक पुग्ने र शक्ति र सत्ता हात पार्ने दाउमा अहिले नयाँ पुराना प्रतिक्रियावादीहरू आफूआफूमा लडिरहेका छन् । उनीहरू कुर्सीका लागि राष्ट्रिय स्वाधीनता लगायत जुनुसकै किसिमका सौदा गर्न तमतयार छन् भन्ने कुरा हामी देखिरहेका छौँ । सिङ्गो मुलुकलाई अन्यौल र अकमण्र्यताको स्थितमा पु¥याएर उनीहरू राष्ट्रिय स्वाधीनतमाथि नै खेलवाड गरिरहेका छन् । 

यतिखेर उत्पीडित वर्ग, समुदाय तथा राष्ट्रिय स्वाधीनताप्रति गम्भीर जनताले नयाँ विकल्पको खोजी गरेका छन् । यो विकल्प भनेको क्रान्तिकारी शक्तिहरूको सङ्गठित स्वरूप र व्यवहार नै हो । माक्र्सवाद-लेनिनवाद-माओवादका आधारमा गरिने सङ्घर्षका उच्च र उच्चतम रूपबाट नै हामी जनतामा यो आस्था र विश्वास जगाउन सक्छौँ । हामीसित छरिएर रहेका क्रान्तिकारी व्यक्तिहरूका साथै सङ्गठित स्वरूपमा रहेका तीनवटा समूह छन्— कम्युनिस्ट न्युक्लिअस नेपाल, नेकपा (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी । यी समूहहरू माक्र्सवाद–लेनिनवाद–माओवाद र  सशस्त्र सङ्घर्षका पक्षधर छन् र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको बाटो भएर अघि बढ्नुपर्छ भन्ने कुराप्रति समान धारणा राख्छन् । थुप्रै कमीकमजोरी तथा वैचारिक समस्याका बाबजुद पनि यी शक्तिहरूलाई हामीले अहिलेको नेपाली समाजको सापेक्षतामा क्रान्तिकारी शक्तिका रूपमा लिनु पर्छ ।   यिनका सोचाइ र बुझाइ र व्यवहारमा नै नेपालको क्रान्तिकारी आन्दोलनको दिशा र गति निर्भर गर्दछ । 

कुरामा जेजे भने पनि र दस्ताबेजमा जे लेखे पनि स्थिति सहजता र स्वाभाविकताका साथ जान सकेको छैन । सचेतन पहलको अभाव छ र अगगाडि बढ्ने कुरालाई आत्मगत स्थितिका नाममा पर सारेर वर्तमानको सीमाभित्र सीमित रहेको अवस्था छ । कोही थाकेजस्ता भएका छन् र एकएक नाममा अब सकिँदैन भनेर ओरालो बाटो खोज्न थालेका देखिन्छन् । कोही बाटो नै तय नगरी हिँडेर जङ्गलमै हराएर बाघभालुको सिकार बनेको स्थितिमा छन् । कमरेड विप्लवको नेतृत्वमा रहेको पार्टीमाथि प्रतिबन्ध लगााइएको छ, उसका नेता–कार्यकर्ताको ठूलो पङ्त्ति, जेल र हिरासतमा रहेको अवस्था छ र  सत्ताआतङ्कका कारण कतिपय कार्यकर्ताहरू पलायन भएको अवस्था छ । कमरेड किरणको नेतृत्वमा रहेको पार्टीको दस्ताबेजमा जे लेखिएको भए पनि सो पार्टीमा क्रान्तिकारी उत्साहको अभाव र पार्टी गोलचक्करवाद र अकर्मण्ताको स्थितिमा फसेको देखिन्छ । क्रान्तिकारी शक्तिहरूमा देखिएको कार्यदिशागत अन्यौल र अकर्मण्यताको स्थिति सत्ताधारी प्रतिक्रियावादीहरूका लागि हाइसञ्चोको विषय हो । 

अहिले  भारत, फिलिपिन्स, टर्कीका माओवादी पार्टीहरूले जनयुद्ध चलाइरहेका छन् र दुस्मनका विरुद्ध ती जीवन–मरणको लडाइँ लडिरहेका छन् । त्यसैगरी ब्राजिल, पेरूलगायतका ल्याटिन अमेरिकी माओवादी पार्टीहरू तथा इटालीलगायतका युरोपेली माओवादी पार्टीहरूले आआफ्नो मुलुकको विशिष्टतामा वर्गसङ्घर्ष चलाइरहेका छन् । त्यहाँ भएका सङ्घर्षका कार्यक्रमलाई उत्साहित पार्ने तथा दमनका विरुद्ध प्रतिरोधात्मक ऊर्जा दिन सर्वहारावादी अन्तर्राष्ट्रियतावादप्रति नेपालका माओवादी क्रान्तिकारी शक्तिहरूबाट अपेक्षित चासो र जिम्मेवारी बोधको स्थिति देखिन सकेको छैन । यस किसिमको निस्पृहता क्रान्तिकारी मूल्य विपरीतको कुरा  हो  । अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धको निर्वाहको मात्र कुरा नभएर राष्ट्रिय स्तरमै पनि नजिकको शक्तिप्रति पनि हामी हार्दिक हुन सकेको स्थिति छैन । यो कुरा नेकपा (क्रान्तिकारी माओवादी) र विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी दुवैमा लागु हुन्छ ।  खास गरेर नेकपा (विप्लव) मा सहिँष्णुताका सर्वथा अभाव देखिन्छ । 

नेकपा (विप्लव) माथि लगाएको प्रतिबन्ध हटाउने, सम्पूर्ण राजबन्दीहरू रिहा गर्ने जस्ता महत्वपूर्ण कुराहरूमा साझा सहमति र सहकार्यको वातावरण बनाएर आन्दोलनलाई गति दिन नसक्नुका पछाडि सैद्धान्तिक तथा वैचारिक कारणका साथै व्यवहारको पनि समस्या हो  । विचार र शक्ति  एकअर्कासित घनिष्ठ रूपमा गाँसिएका हुन्छन् । विचारले नै शक्ति निर्माण गर्ने र हुने हो ।  कतिवटा पार्टी भन्दा पनि कस्ता पार्टी भन्ने कुराले अर्थ राख्छ । नामगाम कहिल्यै नसुनेका विचारविहीन सयौँ पार्टी भए पनि अर्थ नहुँदो रहेछ भन्ने कुरा विगतको ‘३३ दले आन्दोलन’ ले प्रस्ट पारेको कुरा हो । केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने हुन् कि भनेर चौविसै घण्टा चिन्तित भइरहने नेकपा (मसाल) जस्ता पार्टीहरूसितको सुमधुर सम्बन्धको पनि अर्थ छैन । आवश्यकता क्रान्तिकारी शक्ति तथा व्यक्तिहरूबीचहरूको सहकार्य हो । यसले मात्र सङ्घर्षलाई जुझारू स्वरूप दिन्छ । वास्तवमा कोसित एकता गर्ने, कोसित सहकार्यमा जोड दिने र कसलाई क्रान्तिको हितमा समेट्ने भन्ने प्रश्न पनि सिद्धान्त र विचारको प्रश्न हो । यसमा अन्योल भएपछि केन्द्रबिन्दु नै खजमजिन्छ ।  
 
तपाईँसित आन्दोलन र नेतृत्वको लामो अनुभव छ भन्नुको अर्थ अनुभववादमा फस्नु होइन ।  बाचुन्जेल आफू क्रान्तिकारी भइरहने, भनिइरहने र पार्टी र आन्दोलन चाहिँ सिद्धिंदै जाने भन्ने कुरा झन् होइन । अनुभवले समृद्ध हुनुको अर्थ अनुभव र ऐतिहासिक शिक्षाका आधारमा सैद्धान्तिक-वैचारिक ऊर्जा प्रदान गर्ने र  कार्यकर्तालाई उत्साहित पार्दै क्रान्तिकारी आशावादका साथ अघि बढाउन  सक्रिय हुने भन्ने हो ।   आत्मगत स्थितिका नाममा ओरालो बाटो खोज्ने होइन, माओले भनेझैँ पहाड चढ्ने हिम्मत गर्ने हो । सचेतन पहलबिना आफूले चाहेको कुरा पोल्टामा आउने भए वर्गसङ्घर्षको त्यो उदात्त इतिहास, पेरिस कम्युनदेखिको महागाथा किन निर्माण हुन्थ्यो होला र ? युवा नेतृत्वलाई अघि बढाउने, क्रान्तिकारी उत्तराधिकारीको निर्माण गर्ने कुराप्रतिको उदासीनताले पुर्याउने ठाउँ विसर्जन नै हो । भारतमा भाकपा (माओवादी) का नेता कमरेड गणपतिले शारीरिक र वैचारिक रूपमा आफू सक्षम हुँदाहुँदै पनि कमरेड बसवराजलाई पार्टीको नेतृत्व सुम्पिनुको इतिहास पनि त ताजै छ र यो निकै  अर्थपूर्ण छ ।

प्रचण्डबाट अलग्गिएपछि खास गरेर सातौँ महाधिवेशनदेखि नै कुरा बिग्रिएको हो । कमरेड विप्लवहरूले  बडो अच्चम किसिमले सम्बन्ध विच्छेद गरे  । नेतृत्वको भोक र तीव्र महत्त्वाकांक्ष पूरा गर्नुको हतारो त थियो नै, केही हदसम्म कमरेड किरणको कमजोर नेतृत्व क्षमता पनि विप्लवहरू अलग्गिनुको कारण बन्यो । 

विप्लवले सम्बन्ध विच्छेद गरेपछि पार्टीमा बादलहरू हाबी भए । अवसरवादको अर्को नाम बादल हो र हिजोदेखिको उनको इतिहास यस्तै छ । अहिले एक थरी माओले भनेझैँ ‘विप्लववाद’ (फ्युचिज्म), र ‘टुपाक अमारू’को स्थितिमा र अर्कोले  ओरालो बाटे खोज्दै हिँड्न खोजेको स्थिति छ । आवश्यकता समीक्षाको छ र दुवै थरीमा गम्भीरताको अभाव देखिन्छ । समयले दृढ इच्छाशक्ति, आत्मसङ्घर्ष र क्रान्तिकारी आशावादको माग गर्छ । समयले क्रान्तिकारी विकल्पको माग गरेको छ । हामी आफूलाई जनयुद्ध र माओवादी आन्दोलनको विरासतको निरन्तरताको संवाहक हुनुको दाबी गर्छौँ भने, हामी नेपाली क्रान्तिप्रति गम्भीर छौँ भने अहम् त्यागेर नयाँ किसिमले सोच्ने बेला आएको छ  । दिशाहीन दिशाको कार्यदिशाले कहीँ पुगिँदैन सिद्धिनु सिबाय । अनि मोहनविक्रमको लाइनले अघोषित एमाले बनाउने हो र मिलेरावादको अन्तिम परिणति ओली-प्रचण्डको मुकाम नै  हो ।

माओवादी हौँ भने क्रान्तिका तीन जादुगरी हतियारप्रति प्रतिबद्ध बनौँ । शब्दमा होइन, कर्ममा आत्मसात गरौँ । अहिलेको घडी क्रान्तिकारीहरूका लागि सबैभन्दा बढी चुनौतीको घडी हो ।  लेनिनले भनेझै पहेंला पात झर्छन र नयाँ पात आउँछन् । लामो अभियानमा थुप्रै बाटोमा छोडिन्छन्, हराउँछन् भन्ने कुरा चिनियाँ इतिहासले देखाएको छ । विसर्जित हुने हो अथवा क्रान्तिकारी उत्साहबोधका साथ अघि बढ्ने हो भन्ने कुरा हाम्रो चेतना, चिन्तन  र विवेकमा भर पर्ने कुरा हो । हरेक सङ्गठन तथा समूहका क्रान्तिकारीहरू, त्यसमा पनि युवाहरूले अब गम्भीरताका साथ सोच्ने बेला आएको छ । 

आउनुहोस्, विगतको समीक्षाका साथ नयाँ किसिमले चिन्तमनन गरौँ, कहाँ हाम्रा कमी-कमजोरी भए/रहे आत्मसमीक्षा गरौँ  र क्रान्तिकारी पुनर्गठनको नयाँ अभियानमा सामेल होऔँ । यही नै मार्क्सवाद-लेनिनवाद-माओवादले देखाएको बाटो हो ।

पुनर्गठित कम्युनिस्ट न्युक्लिअस,  नेपाल 
साउन १३, २०७७
भिडियो फिचरview all