ताजा समाचार
इच्छुक गाउँको घोषणा
ऋषिराज बराल
जेठ ७, २०६२
पातरखोलाबाट फेरि दक्षिणपूर्व लाग्यौँ । मूल सम्पर्क त्यता रहेछ । पथिक कमरेड, जुम्लाको इञ्चार्ज , वहाँलाई नभेटी काम बन्ने कुरा थिएन । सम्मेलनको तयारी त्यतै गरिएको रहेछ । हामी अब पातरखोलाबाट घोसिना (घोरसाइला) आयौँ । यहाँका घरको बुनोट देखेर म छक्क परेँ । हिउँ र जाडोबाट बच्न यस्तो घर बनाएको भन्ने थाहा भयो । घरमाथि घर, एउटाको घरको आँगनमा अर्कोको घर -पिरामिडजस्तो । कसको घर छुट्याउन गाह्रो । भर्यांङ भर्याँङ भएर तलबाट एकेचोटि माथिको घर र माथिबाट एकैचोटि तलको घरमा पुग्न सकिने । दिउँसो एकछिन, त्यो पनि घाम लागेको बेला त ठीकै, तर बिहानबेलुका चिसो । जेठमा त यस्तो छ पछि के होला । यहाँ नुहाउनु चुनौती भए पनि माथिबाट छङ्छङी छहरा खोला बगेको । मैले त दिनदिनै नुहाए“ त्यही छङ्छङे छहरामा । चिसो पानी भए पनि मलाई त त्यो छङछङी बग्ने छहराले लोभ्यायो । पथिक कमरेडले त पानी तताएर नुहाउनु हुँदो रहेछ, वाथ हुन्छ भनेर । यहाँको समस्या के रहेछ भने यहाँ अरू काठपात र रुखको दाउरा नपाइने रहेछ, खाली धुपीसल्लाको मात्रै । जाडो हटाउने पनि यही, खाना पकाउने पनि यही रहेछ, धुवाँ असाध्यै । बिहान उठ्दा त आफ्नो अनुहार नै बेग्लै हुने । हातले अनुहार छाम्दा पूरै कालो हातभरि । चिसो छल्न र घर तातो पार्न फेरि घरमा झ्याल र प्वालको नराखिँदो रहेछ । सेता लुगा बिहान कालो हुने । आफ्नै लुगा हो कि होइनझैँ लाग्ने । नुहाउनु त अनिवार्य नै थियो । साँच्चै गजबको अनुभव भयो । दुई दिन बस्ता यस्तो छ, जीवन यहीं गुजार्नेलाई कस्तो होला ।
जेठ ९, २०६२
त्यहाँको जीवन-परिवेशमा आफूलाई मेल गराउने कुरा हाम्रा लागि गाह्रो थियो । तर त्यहाँका जनताको व्यवहारले सबै कुरा बिर्साइदिन्थ्यो । मैले जुम्ला टेक्ता नेपाली भाषाको इतिहास, जडान र खसानको ऐतिहासिक महŒव सबै सम्झिरहेको थिएँ । नपाली भाषासित सम्बद्ध सबैभन्दा पुराना अभिलेखहरूको सम्झना गरें । एउटा बिम्ब थियो मसित, म त्यसको मिलान पनि गरिरहेको थिएँ । घोसिनाबाट सम्मेलन हुने भनिएको ठाउँमा आयौं । पाहारिलो, घाम लाग्ने र सम्म मिलेको सुन्दर ठाउँ रहेछ सम्मेलनस्थल । यो मुगु, हुम्ला, कालिकोट र जुम्लाका साथीहरूको जमघट हुने ठाउँ थियो । साथीहरूले आउन ढिलो गरे भने कार्यक्रम समयमा हुँदैन कि भन्ने चिन्ता पनि थियो । ढिलो हुँदा सुरक्षामा असर पर्न सक्थ्यो । यो ठाउँ दैलेख, त्यसमा पनि जुम्लाको सदरमुकामभन्दा कालिकोटको सदरमुकामको नजिक रहेछ । यो ठाउँ कालिकोटको पूर्वी सिमाना, जुम्लाको पश्चिम सिमाना र दैलेखको उत्तरी सिमानामा पर्दो रहेछ । तर सुन्दर ठाउँ ।
जेठ ११, २०६२
सम्मेलन १३, २४, १५ मा गर्ने भनिएको छ । साथीहरू आउने क्रम जारी छ । तयारी पूरा चलेको छ । सम्मेलन हल एकहिसाबले स्थायी किसिमको रहेछ । यस्तो ठाउँमा कति राम्रो हल बनाएको । कति पौरखी हात । नेपाली श्रमजीवी हातहरूका उत्पादन सबै राम्रा हुन्छन् । ठाउँठाउँमा ढुङ्गामा लेखेको सहिदका सम्झना र जनयुद्धका प्राप्तिहरूलाई झल्काउने नाराहरूले उदात्तताको बोध भइरहेको थियो । पातरखोलाबाट आउँदा टिलाको छेउका हरेकजसो ढुङ्गा नाराले भरिएका थिए । वास्तवमा यो हल भएको ठाउँ त कालिकोट रहेछ । पुरानो सत्तामा कालिकोटमा रहे पनि नयाँ सत्तामा यसलाई जुम्लामा राखिएको रहेछ । यो ठाउँलाई कालिकोटको सहर भन्न मन लाग्यो । हिजो छोडेको कालिकोटभन्दा फरक । सरसफाइ पनि राम्रो रहेछ । खसहरूको बस्ती रहेछ ।
जेठ १३, २०६२
सम्मेलन आजदेखि आरम्भ भयो । जमघट राम्रो थियो । हल पनि राम्रो, महोत्सवझैं अनुभूत हुन्थ्यो । सम्मेलन भव्यताका साथ आरम्भ भयो । पार्टीको सहयोग, त्यसमा पनि पथिक कमरेड आफैँ उत्साहित भएर लाग्नुभएको थियो । राणाले खाने जुम्लेली चामल भन्थे यही हो कि कुन हो । रातो चामलको भात पनि खाइयो, तर मलाई त स्वादको लागेन यो चामल ।
जेठ १५, २०६२
दुई दिनपछि कालिकोट सदरमुकामबाट दुस्मन यता हिँडेको समाचार आयो । आकासमा दुस्मनको जासुसी हवाइजहाजले पनि चक्कर मार्न थाल्यो । हेलिले पनि आकाशमा चक्कर लाउन थाल्यो । सम्मेलनलाई निरन्तरता दिन काजु स्कुल भएतिर टिलापारि भेला हुने निर्णय गरेर फरकफरक बाटोबाट त्यहाँ पुग्ने गरी हिँड्यौँ । तल सल्ला अनि धुपीको छायाँ र आड हुँदै उकालो चढेर हामी माथि पुग्यौँ । यसलाई राताडा भन्दा रहेछन् । अग्लो र उत्तर फर्केको गाउँ थियो । घरहरू त्यही घोसिनाका जस्तै रहेछन् सरर्र माथिदेखि तलसम्म । अचानक नयाँ व्यवस्थापन गर्नु पर्दा केही समस्या हुन स्वाभाविक थियो । तर पनि साथीहरूले राम्रो व्यवस्था गर्नुभएको थियो । मुगु, हुम्लाका जिम्मेवार कमरेडहरू कमरेड सुशिल, कमरेड कालीबहादुर मल्ल, जुम्लाका सत्ताप्रमुख कमरेड कर्मा र जिल्ला सेक्रेटरी आदर्श साथै थियौँ ।
( काजु स्कुलका विद्यार्थी , शिक्षक पथिकजी र म)
अब बाँकी कार्यक्रम त्यहीँ राताडामा गर्ने निधो भयो । मुगु, हुम्ला, जुम्ला, बाँके-बर्दिया र सेम लगायतका विभिन्न टोलीले साङ्गितिक प्रस्तुति गरे । देउडा, हुड्के, थारु नाँच सबै एकसेएक । यहाँ पनि फेरि सांस्कृतिक पल्टन विवादको विषय बन्यो । सेमको मिनबहादुर सोब अर्थात् एमबी सर्वहारा जहाँ जान्छ एउटा न एउटा लफडा निकाल्छ र झगडा मात्र गर्छ । कालिबहादुरजी र सुशिलजीसमेतलाई बटालियन र ब्रिगेडको प्रभाकरी चस्का पसेको छ । दिक्क लागेको छ । यो यान्त्रिकता र जड मानसिकताबाट साथीहरूलाई कसरी पो मुक्त गराउने होला !
पहिलेपहिले राम्रो हुने भए पनि यसपल्ट भेकको सांस्कृतिक प्रदर्शन अलि खस्किएको थियो । समापन राम्रो भयो । दुस्मन कालिकोटबाट मात्र होइन, जुम्लाको सदरमुकामबाट पनि अघि बढेको सूचना र समाचार आइरहेका थिए । हामीले कालिकोट नै हान्न लागेझैँ गरी माथि आकासमा जासुसी बिमानले चक्कर लगाइरहेको थियो । हेलिहरू तल र माथि गर्दै थिए । राताडामा सम्मेलन चलिरहेको बेलामा कालिकोटबाट कान्तिपुर, नेपाल आदिआदिको नाम लिएर केही पत्रकार (?) र केही पत्रकारको भेषमा नयाँ मान्छेहरू आएकाले हामी अलि सचेत भयौं र पत्रकार भनेर स्वागतका साथ तिनलाई मञ्चमा राखेर साथीहरूको निगरानी र सचेतता पनि बढायौँ । सबैको परिचय र नाम पनि लियौँ । साङ्गितिक प्रदर्शन सकियो । सबैभन्दा राम्रो प्रस्तुति, एक नम्बरको कार्यक्रम थारू कलाकारको कार्यक्रम रह्यो— “सिसिर सिसिर बतास चली ..जनसत्ता बा ।” त्यसपछि हुम्लेली देउडा प्रदर्शनले ठाउँ लियो ।
दुस्मनले केही समस्या पारे पनि कार्यक्रम राम्रो भयो । हामीले समापन चाहिँ राताडाको स्कुलमा गर्यौं । स्कुल माथि गाउँको टुप्पोमा थियो । त्यो गाउँलाई हामीले हाम्रो सांस्कृतिक मोर्चाका पूर्व अध्यक्ष तथा महान् सहिद कृष्ण सेन ‘इच्छुक’ का नाममा इच्छुक गाउँ नामाङ्कित गर्यौं । यहाँको जनसत्तामार्फत यहाँ पार्क र सेनजीको सालिक बनाउने घोषणा पनि गर्यौं ।
कालिबहादुरजी, सुशिलजी, आदर्शजीसितको बसाइ असाध्यै कामरेडली र सुखद् रह्यो । सुर्खेतमा आदर्श र सुशिलले पाखुरा सुर्केको कुरा मैले उठाइन, परिवेश बिग्रिएला भनेर । पथिकजीसितको काम गराइ रमाइलो हुनु स्वाभाविक थियो । हामी धेरै पहिलेदेखि परिचित थियौँ र पूर्वमा काम गरेको थिएँ वहाँको कमाण्डमा । हाम्रो सम्मेलन चलिरहेको बेलामा जाजरकोटबाट कानुन विभागको बैठक सकेर आउनु भएको केही साथीहरू बसेको घरमा दुस्मनले घेरा हालेर २ जनाको हत्या गरेछ । यो समाचारले मन हुँडलियो । त्यो ठाउँ जुम्ला सदरमुकामबाट त्यति नजिक नभए पनि यताको कार्यक्रमको चहलपहलले गर्दा उसले पनि गतिविधि बढाएछ । वहाँहरू बसेको सूचना कसैले दिएर राती नै घेराबन्दी गरेर समातेर लगेर बाटामा हत्या गरेछ । यसले नमीठो लाग्नु स्वाभाविक थियो । समापन कार्यक्रमा वहाँहरूप्रति श्रद्धाञ्जली दियौँ ।
जेठ १९, २०६२
सम्मेलन सकियो । सम्मेलनपछिको बैठक सकियो । केही नयाँ निर्णयहरू भए । सेनाका साथीहरूको एउटा बटालियन हाम्रो साथ थियो । सिङ्गो सम्मेलनलाई सुरक्षा दिएर र व्यवस्थापनलगायतका काममा समेत सहयोग गरेर कार्यक्रमलाई सफल पार्न वहाँहरूको अहम् भूमिका थियो । सँगै बसेर समग्र कार्यक्रम र स्थितिको समीक्षा गर्यौं । वैचारिक पक्षलगायत अनुभव र अनुभूतिका बारेमा छलफल गर्यौं , अनुभव साटासाट गर्यौं । दार्शनिक र वैचारिक अध्ययन गर्नुपर्छ र लेख्नुपर्छ भनेर मैले जोड दिएँ । कलम र बन्दुकधारी सेनाको संयुक्त प्रयासद्वारा नै दुस्मनलाई परास्त गर्न सकिन्छ भन्ने कुरा मैले जनमुक्ति सेनाका साथीहरूका बीच राखेँ ।
कार्मा जुम्लाको जनसत्ता प्रमुख हुनुहुन्थ्यो, सोझो र सरल मान्छे । रोल्पाअभियानमा जाँदा रोल्पामा भेटघाट भएको थियो । सँगै बसियो र अभियानमा सँगै हिँडियो पनि । रोल्पाका साथीहरूले ठीक व्यवहार नगरेकाले अभियानको एउटा समीक्षा कार्यक्रममा वहाँ निकै पट्किनु भएको थियो । तर वहाँ सोझो मान्छे । आदर्शजी मसित सुर्खेत बैठकमा त निकै कस्सिनु भएको थियो । पछि कुरा बुझ्नु भएछ क्यार, जुम्लामा वहाँको व्यवहार क्षतिपूर्ति गर्ने खालको थियो । सायद पछि सबै कुरा बुझ्नुभयो होला । मैलै पनि ती सबै कुराहरू बिर्सिसकेको थिएँ ।
साँच्चै हो, जुम्ला राम्रो लाग्यो । रमाइलो लाग्यो । आहा ! भूगोल पनि राम्रो । कति सुन्दर छ हाम्रो भूमि । यो त सुन्दर भूमि मात्र होइन, सुन्दर इतिहास पनि हो । यसलाई जति प्रचारमा लानु पर्थ्यो, त्यति पुगेको छैन, हुन सकेको छैन । जुम्लाको विभिन्न किसिमले विकास सम्भव छ भन्ने लाग्यो । राताडा पुरानो भूगोलअनुसार कालिकोटमा भए पनि त्यसको हकदाबी चाहिँ जुम्लाकै हो । आहा ! काजु (कालिकोट+जुम्ला) स्कुल, त्यहाँका विद्यार्थी र सरहरूको खटाइ र गराइ, सिङ्गो परिवेश बिर्सिनसक्नु छ । नमुनालायक छ यो ठाउँ । त्यस्तो ठाउँमा त्यति राम्रो स्कुल र त्यति राम्रो परिवेश, इतिहास हो यो, हाम्रो गौरव हो यो । शिक्षक साथीहरूलाई मुरीमुरीको धन्यवाद दिनुपर्छ ।
सलाम जुम्ला ! गौरवमय इतिहास र वर्तमानका लागि ।
(सलाम रोल्पा पुस्तकबाट)
भिडियो फिचरview all