menu

ताजा समाचार

ठोरीमा लडिरहेका अमरसिंहहरू

अनिल शर्मा ‘विरही’
लामो समयदेखि भारतले नेपाली सीमा अतिक्रमण गरिरहेको छ । ठोरी त्यसको अपवाद छैन । भारतीय डाँका र लुटेराहरूले नेपाली भूमिमा दिउँसै लुटपाट, हत्या, बलात्कार गर्ने गर्दछन् । चिता खोला र ठुटे खोलाको सङ्गमबाट निर्माण सामग्री र चितवन राष्ट्रिय निकुञ्जबाट काठ तस्करी भारतीयहरूको लामो समयदेखि जारी हर्कत हो । २०५१ सालमा त्यो खबर सुनेर माडीका दिवाकर भुसालसहित हामी त्यहाँ पुगेका थियौँ । बालुवा चोरी गरिरहेका बाहनको तस्बिर लिएर हामी निर्मलबस्तीतिर गयौँ । फर्किंदा भारतीय गुन्डाहरू बाटो ढुकेर बसेका रहेछन् । हाम्रो क्यामेरा खोसेर पिटेर गएका थिए । त्यसबेला हामी पैदल दुई दिन लगाएर बाँसको तामा झोलामा बोकेर खनायो खाँदै गएका थियौँ । बीस वर्षपछि त्यतातिर लाग्दा म ती दिनहरू सम्झिरहेको थिएँ । 

हाम्रो टोलीमा लक्ष्मी मुडभरी, नारायण शर्मा, देवीलाल पौडेल, सी.पी. सुवेदी, रघुवीरसहित ६ जना थियौँ । माडी र निकुञ्जको बीचमा बगई खोला पर्छ । त्यो रेवा नदीको शिर पनि हो । हाल ठोरी–नारायणगढ माडीमा बस चल्न थालेपछि बगई घाटमा छाप्रे होटेलहरू खुलेका छन् । हामी खाजा खान त्यहाँ रोकिएको बेला ठोरीका साथीहरूलाई फोन गरेँ । ठोरीतिर मुसलधारे पानी परिरहेको रहेछ । तर जसरी पनि काम पूरा गरेर फर्कने हाम्रो योजना थियो । खाजा खाएर हामी तीनओटा भटभटेमा ठोरीतिर लाग्यौँ । 

बिहान ७.३० मा बगईबाट हिँडेका हामी ९ बजे ठोरी भन्सार पुगेका थियौँ । कच्ची बाटो, खोला, खोल्सा, हिलो माडीको पुरानो चिनारी हो । तर आज माडीको पुरानो दुःखी परिचय छैन । बगई खोला तरेपछि कमरेड विपीनले “बल्ल माडी पुगेझैँ लाग्यो” भन्दै हुनुहुन्थ्यो । एउटा वर्गका लागि भौतिक सम्पन्नता बढ्दैगएको छ । धनी र गरिबको दूरी बढ्दैछ । ठोरी पुग्दा मेरो मानसपटलमा कुँदिएको २० वर्षअगाडिको ठोरी कतै भेटिएन । गणेशमानसिंह भद्रगोल जेल तोडेर भेष बदलेर धादिङ, गोर्खा, चितवन हुँदै भारत पस्न लाग्दा त्यही ठोरीमा गिरफ्तार भएका थिए । सीमा अध्ययनको थालनी प्रहरी चौकीबाटै गर्नु उचित होला भनेर हामी त्यता लाग्यौँ ।
 
२०५१ सालतिर ठोरीमा यातायातको सुविधा थिएन । बाहिरका मान्छेहरू पुग्दैनथे । अहिले ठोरीबाट वीरगन्ज, नारायणगढ र काठमाडौँका लागि सार्वजनिक यातायातको सुविधा छ । पुँजीवादी प्रभावसँगै सामाजिकता कमजोर बन्दैगएको महसुस भयो । कार्यक्रममा स.ई. रामप्रकाश मोचीले— “सीमा समस्याको विषयमा नेपाल सरकारले ध्यान नै नदिएझैँ लाग्छ । प्राविधिक टोली पठाएर समाधान गर्नुपर्छ” भने । प्रहरीसँग सामान्य छलफल सकेर स्थानीय साथीहरूसहित सीता गुफातिर लाग्यौँ । 

ठोरीको पश्चिमतिरबाट चुरे पर्वत र निकुन्जको बीचबाट दक्षिणपूर्व हुँदै बग्ने खोलालाई चिता खोला भनिन्छ । सीतागुफामाथि चुरेको अन्तिम नाकामा ३५ नम्बर स्तम्भ छ । २०७० वैशाख ७ (चैत्र नवमी) का दिन बिहारका मुख्यमन्त्री नीतिशकुमार सीमा निरीक्षणका क्रममा सो क्षेत्रमा आएका थिए । सोही क्रममा बगरमा बाटो बनाएर भारतीय दाबी रहेका विवादित क्षेत्रमा मुख्यमन्त्री नीतिशकुमारले भ्रमण गरेका थिए । नीतिश कुमारले भ्रमण गरेको क्षेत्रको बाटोलाई आधार मानेर भारतीय सीमा सुरक्षा फौज र भारतीय सञ्चारसहितको भारतीय पक्षले विवादित नेपाली भूमि हडपिरहेको छ ।

नेपाल-भारत सिमानामा भारतले २०५९ वैशाख २१ गते १० हजार अर्धसैन्य बल तैनाथ गरेको थियो । २०७० साल चैतसम्ममा त्यो सङ्ख्यालाई ७० हजार पुर्याउने भारतीय लक्ष्य रहेको बताइन्छ । २०६३ सालमा परेवा डाँडाको तल ठुटे खोलाको दक्षिणपूर्व सडक क्षेत्रसमेत कब्जा गरी शिविर खडा गरेको थियो । सो शिविरका कारण वीरगन्ज–ठोरी सुवर्णपुर-ठोरी, नारायणगढ यातायातसमेत अवरुद्ध भएको थियो । ठोरीको पूर्व, निर्मलबस्ती पश्चिम चितवन राष्ट्रिय निकुञ्जबाट सीधा दक्षिण बग्ने नदीलाई ठुटे खोला भनिन्छ । नेपालको ठोरी र भारतको भिखना ठोरीको बीच दसगजा क्षेत्रमा पुगेर ठुटे खेला र चिता खोला मिसिन्छन् । त्यसपछि भारतमा त्यो खोलालाई पण्डई नदी भनिन्छ । सो दोभानको ८४ नम्बरको स्तम्भ खोलाले बगाएका कारण पनि विवाद बढ्नगएको हो । भारतीय अर्धसैन्य बल बस्न थालेपछि नै सीमा विवाद चर्केको हो । ठोरी डाँडालाई आदिबासीहरूले “उजला पहाड” भन्ने गरेका छन् । त्यही पहाडको तल सडक कब्जा गरेर भारतीय अर्धसैन्य बल बसेपछि पदमलाल श्रेष्ठ, केशव खड्का, कमल तिमल्सिना, कृष्णगोपाल कुँवरलगायतको नेतृत्वमा त्यस क्षेत्रका देशभक्त जनताले नेपाली भूमि कब्जा गरेर बसेको भारतीय अर्धसैन्य बललाई त्यहाँबाट लखेटेका थिए । भारतीय ज्यादतीका विरुद्ध सबै जनता र दलहरू ठोरी क्षेत्रमा एकै ठाउँमा रहेछन् ।
 
भारतले खुला सिमानाका कारण समस्या भएको गुनासो गरिरहन्छ । तर सीमा नियमनको पहल गर्दैन । १ फरवरी २०११ मा भारतका मुख्यमन्त्रीहरूको सुरक्षा सम्मेलनमा बिहारका मुख्यमन्त्री नीतिशकुमारले नेपालबाट अपराधका घटनाहरू निर्यात हुने गरेको बताएका थिए । यदि त्यसै हो भने सीमा नियमनको प्रस्ताव किन गर्दैनन् ? भारतले सिमानामा एकतर्फी र अनौपचारिक रूपले नियन्त्रणको प्रयास गर्नथालेको छ । यसबाट के बुझ्न सकिन्छ भने सीमा सुरक्षा र नेपालको बाटो हुँदै भारतमा तेस्रो देशबाट असुरक्षा बढेको र नेपालले भारतविरोधी गतिविधि नियन्त्रण गर्न नसकेको दोषारोपण गर्दै भारत नेपालको सुरक्षा मामिला नियन्त्रण गर्न चाहन्छ । तर नेपालको सुरक्षा मामिला कब्जा गर्ने षड्यन्त्र छोडेर भारत चाहन्छ भने खुला सीमाना बन्द गरी काँढे तारबार लगाउन पहल गर्नुपर्छ । सीमा क्षेत्रमा फौज बस्नासाथ चौतर्फी सीमा अतिक्रमण बढ्नुले भारतीय रणनीति बुझ्न सकिन्छ । 

ठोरी डाँडाको पूर्व ठुटे खोलाको परम्परागत बाटोमा पक्की पुल निर्माण गर्न भारतीय अर्धसैन्य बलले रोक लगाएको छ । त्यसैगरी निर्मलबस्तीतिरबाट विस्तार हुँदै ठोरी लग्ने विद्युत्को खम्बा भारतीयहरूले उखेलेर फालेका छन् । उखेलेका खम्बा पुनः नेपाली जनताले ठड्याएका छन् । विवाद रहेको क्षेत्रमा विद्युत् प्राधिकरणले तार टाँगेको छैन् । सीतागुफाको ३५ नम्बर सहायक स्तम्भ र ठोरीडाँडा तलको ८३ नम्बर जङ्गे स्तम्भको बीचमा ती विवादित क्षेत्रहरू पर्दछन् । २०६३ सालसम्म त्यहाँ विवाद थिएन । तर २०६३ सालमा भारतीय सीमा सुरक्षा बलको प्रवेशपछि विवाद बढ्दैगएको हो ।
 
चितवन राष्ट्रिय निकुञ्जबाट बगेर आउने ठुटे खेलाबाट तीनओटा कुलो (नहर) निकालिएको छ । त्यसमध्ये एउटा नेपालको निर्मलबस्ती र दुईओटा कुलाहरू भारततिर जान्छन् । नेपाललाई बढी भएको पानी नेपालीहरूले सदासयताका साथ भारतलाई दिँदैआएकोमा भारतीय अर्धसैन्य बलको आडमा गत वर्ष सबै पानी भारतीय पक्षले कब्जा गर्न खोजेपछि नेपाली र भारतीयबीच झडप भयो । त्यसक्रममा चितवन, गीतानगर घरमै ठोरी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान कृष्ण सुवेदीलगायत दर्जनौँ नेपालीलाई भारतीय अपराधीहरूले आक्रमण गरेका थिए । ठोरी पहाडलाई कब्जा गरेर ठुटे खोलाको पानी लुट्ने भारतीय रणनीति देखिन्छ । जसअनुसार ठोरी पहाडमा उनीहरूले आँखा गाडेका छन् । त्यस क्षेत्रको विवादका कारण सिँचाइ, बत्ती, पुल, बाटोलगायतका समस्या पैदा भई ठोरी क्षेत्रको समग्र विकासमै प्रतिकूल प्रभाव परेको छ । भारतीय अर्धसैन्य बलले ठुटे खोलामा पुल निर्माण गर्न नेपालीलाई रोकेपछि ठोरी प्रहरी प्रमुख मुक्ति चौधरीले प्रतिवाद गर्दै, “विवादित क्षेत्रमा किला गाड, होइन भने नेपाली जनताले सयौँ वर्षदेखि हकभोग गर्दैआएको ठाउँ हामी छोड्दैनौँ । हाम्रा जनताले भनेका कुरा म मान्छु तिमीहरूले भनेर हुँदैन” भनेका थिए । देशभक्त धारा सबैतिर छ । ती सुरक्षाकर्मी सम्झन्छन्—२०२१ सालमा पुनरवास खुल्नुअघि ठोरीमा थारू जाति मात्र बस्थे । वि.सं. १९८० सम्मका जग्गाका पुर्जाहरू छन् त्यहाँ । मिश्रित बस्ती रहेको ठोरी क्षेत्रमा २० वर्षअघि भन्दा राष्ट्रियताको भावना र जनचेतना निकै उठेको अनुभूति  गर्यौं  हामीले । 

२०५० सालतिर ठोरी भन्सारमा मानवबस्ती थिएन । अहिले बजार विस्तार भएको रहेछ । सीतागुफाबाट फर्किनासाथ स्थानीय कृष्णगोपाल कुँवरले पिपलको बोट देखाउँदै भने—“सर, ऊ त्यो पीपलको बोटसम्म भारतीयहरूले दाबी गरेका छन् ।” २०५१ सालमा ठोरीका एक वृद्धले अहिले भारतीय अर्धसैन्य बलको शिविरसम्म नेपाल रहेको बताएका थिए । उनले एउटा सिमलको ठुटो देखाउँद, “यही बोटमुनि बसेर बाख्रा चराउँथेँ । यहाँसम्म नेपाल हो भन्थे”, भनेका थिए । केशव खड्का, रामबहादुर बिष्ट, कमल तिमल्सिना लगायतले त्यो प्रसङ्ग आज पनि उठाएका थिए । २०५१ सालमा ठोरीबाट फर्केपछि मैले “अस्तित्व रक्षाको खोजीमा तड्पिरहेको सिमलको ठुटो’ शीर्षकमा जनादेश साप्ताहिकमा लेखेको थिएँ । आज २० वर्षपछि त्यो सिमलको रूखबाट १ कि.मि. उत्तरमा रहेको ठोरी डाँडामा भारतीय अतिक्रमण विस्तार भएको छ । सन् १९७५ मा भारतले सिक्किम कब्जा गरेपछि गाउने साइँलाले एउटा गीत गाएका थिए :
 
अब पूर्वी पाकिस्तान र नेपाल रोजेको छ
भित्रभित्रै कैँचीमारी निहुँ खोजेको छ ।

भारतले नेपालमा जहाँजहाँ सीमा अतिक्रमण गरेको छ; ती स्थानमध्ये थोरै स्थानमा मात्रै भारतीय जनताले एक्लै अतिक्रमण गरेका छन् । कालापानीमा भारतीय सुरक्षा फौजले अतिक्रमण गरेको छ । ठोरी, सोमेश्वरगढी, सुस्तालगायतका अधिकांश स्थानमा भारतीय जनता र सुरक्षाकर्मीको संयुक्त टोलीले अतिक्रमण गरेको छ । भारत सरकारले धेरैजसो स्थानमा भारतीय जनतालाई अघि सारेर विवाद सिर्जना गर्दै हस्तक्षेप बढाउँदैगएको छ । तर नेपाल सरकार रमिते देखिन्छ । नेपाली जनता एक्लै सीमा अतिक्रमणका विरुद्ध लडिरहेका छन् । उता भारतीय पक्षबाट भने भारत सरकार नै लडिरहेको छ । एकातिर भारत सरकार, सुरक्षाकर्मी र भारतीय जनता सीमा अतिक्रमण गरिरहेका छन् भने अर्कोतिर नेपाली जनता एक्लै लडिरहेको दुर्भाग्यपूर्ण स्थिति छ । नेपाली सुरक्षाकर्मी रक्षात्मक छन् । उनीहरू सरकारले समाधान गरोस् भन्दै पछाडि हट्दै गरिरहेका छन् । जुनसुकै दर्शन, राजनीति र दलसँग आबद्ध भए पनि ठोरीबासीमा राष्ट्रियताका विषयमा समान धारणा देखिन्छ । निर्मलबस्ती निवासी केशव खड्का भन्छन्— “पुल अन्यत्रबाट बनाउन परे पनि यो माटोको रक्षा गर्छौँ । हाम्रो त मरनघाट हो ।” स्थानीय देशभक्त राजनीतिकर्मी कृष्ण कुँवर माटोका लागि अन्तिमसम्म लडिरहने दृढता व्यक्त गर्छन् । ठोरी क्षेत्रका जनताले लडिरहेको राष्ट्रियताको लडाइँबाट हामी गौरव अनुभूति गरिरहेका थियौँ । 

अपरान्ह ३ बजे हामी ठोरीबाट चितवनतिर फर्कियौँ । कमरेड लक्ष्मी मुडभरीले “भारतीय ज्यादती कस्तो रहेछ; सीमाका जनताले देश बचाउन कसरी लडिरहेका छन् राम्रो चित्र मनसपटलमा बन्यो” भन्नुभएथ्यो । हामीले राष्ट्रिय स्वाधीनताका विषयमा प्रकाशनहरू बोकेका थियौँ । ती सामग्री स्थानीय साथीहरूलाई छोड्यौँ । फर्किँदा बगईमा पानी खान रोकिएका बेला कसैले माइला लामाको गीत गुनगुनायो : 

तन्काएर नेपाललाई टिस्टासम्मै पुर्याउँछौँ
स्वाभिमानको झन्डा हामी काँगडामै फहराउँछौँ

(राष्ट्रियता र राप्तीदून निबन्ध सङ्ग्रहबाट)

भिडियो फिचरview all