menu

ताजा समाचार

विप्लव कमरेडको निवेदनपत्र

जनमेल विश्लेषण
नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले लिम्पियाधुरा क्षेत्र र भारतीय अतिक्रमणलाई लिएर यही जेठ ६ गते भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिलाई निवेदनपत्र लेखेको छ । चिठी कुनै क्रान्तिकारी पार्टीले लेखेको भन्दा संसदीय शैलीको छ  । औपचारिक चिठी भएकाले चिठीको सम्बोधनको भाषा कूटनीतिक र सरकारी भाषा प्रकृतिको भएको होला । प्रतिबन्धित र यतिखेर क्रान्तिकारी भनिएको पार्टीले यसरी अनुरोधपत्र लेख्नुको आवश्यकता र औचित्यबारे पनि टिप्पणी भएका छन् ।  कतिपयले पार्टीलाई चिनाउने मेलो भनेका छन् भने कतिपयले चर्चामा आउन गरिएको प्रयास पनि भनेका छन् । अनि कतिपयले क्रान्तिकारी पार्टीको चरित्रअनुरूप नभएको भन्ने टिप्पणी पनि गरेका छन् ।

जे-जे टिप्पणी भए पनि भारतीय प्रधानमन्त्रीलाई लेखेको चिठीको तलको व्यहोराप्रति चाहिँ सहमति जनाउनु सही हुन्छ:

“हाम्रो दृष्टिकोणमा लिम्पियाधुरा, कालापानीलगायत सयौँ स्थानमा भारतले नेपालको भूमि अतिक्रमण गर्नु भनेको नेपालमाथि साम्राज्यवादी आक्रमण र हमला हो । हाम्रो जिम्मेवार पार्टी नेपाल कम्युनिस्ट पार्टी जोडदार माग गर्दछ– भारत सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत नेपाल–भारत सीमामा अतिक्रमित सबै भूभाग तत्काल छोडोस् र नेपाली सार्वभौमिकतामाथिको साम्राज्यवादी आक्रमण बन्द गरियोस् ।”

यो स्पिरिटको स्वागत गर्नुपर्छ । तर चिनियाँ सत्ताधारीहरूलाई लेखेको चिठीको भाव र भाषाका सम्बन्धमा भने टिप्पणी गर्नु पर्ने नै हुन्छ । नेपालीभूमि अतिक्रमणमा  प्रमुख दोषी भारतीय विस्तारवाद नै हो, तर  सन् २०१५ देखि भारतीय विस्तारवादले सो क्षेत्रमा जे गरिरहेको छ, त्यो सबै चिनियाँ सामाजिक साम्राज्यवादसितको मिलेमतोमा भएकाले  अहिलेको लिम्पियाधुरा–कालापानी अतिक्रमणमा भारत चाहिँ खराब र चीनचाहिँ शुद्ध छ भनेर भन्न मिल्दैन/ सकिंदैन । तर विप्लवले लेखेको चिठी हेर्दा सो अपराधबाट चिनियाँ प्रतिक्रियावादीहरूलाईं  अलग्याइएको छ र उल्टै  निवेदन र अनुरोधको भाषा र भाव प्रयोग गरिएको छ । अपराधीले याचना गर्नु पर्नेमा अपराधीसित हात जोडिएको छ । आवेदनमा अलिकति पनि मार्क्सवादी स्पिरिट र जुझारुपन छैन ।

जस्तो सो चिठीको अन्यमा लेखिएको छ: “... हामी हाम्रो पार्टी र नेपाली जनताका तर्फबाट चीन सरकारसँग आग्रह गर्दछौँ– नेपालको भूमि लिपुलेकको प्रयोग गर्ने चीन–भारतबीचको सम्झौता पुनरावलोकन गरियोस् र नेपालको सार्वभौमिकताको सम्मान गरियोस् ।”

विषयवस्तुलाई  प्रस्ट पार्न इतिहासतिर फर्केर वर्तमानमा आउनु पर्ने हुन्छ ।

माओको मृत्युपछि देङ सियाओ पिङको नेतृत्वमा पुँजीवादीहरूले माओका अनुयायी क्रान्तिकारीहरूको धरपकड, जेल र हत्या गरेर चिनियाँ पार्टी र सत्ता कब्जा गरेपछि विश्वभरिका  माओवादका पक्षधर क्रान्तिकारीहरूले ‘चीनमा प्रतिक्रान्ति’ भएको निष्कर्ष निकालेर त्यसैअनुरूपको व्यवहार गर्दै आएका हुन् । क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी आन्दोलन ‘रिम’ को गठनपछि यसलाई संस्थागत रूप लिएर विश्वव्यापी बनाइयो । नेपालमा कमरेड भक्तबहादुर श्रेष्ठ महामन्त्री भएको समयमा नै चीनमा प्रतिक्रान्ति भएको निर्णय गरिएको यथार्थ ‘चौथो केन्द्रीय समितिको प्रथम प्लेनम’ २०३८ सालको दस्ताबेजबाट थाहा हुन्छ ।  पछि यसलाई नेकपा (मशाल) ले दृढताका साथ अघि बढायो ।

चिनियाँ प्रतिक्रान्तिकारी पुँजीवादीहरूका पछिल्ला गतिविधिहरू खास गरेर भूमण्डलीकृत आर्थिक प्रभुत्वमार्फत नव–उपनिवेशवादी प्रभुत्व कायम गर्ने चरित्रका कारण विश्वभरिका क्रान्तिकारी माओवादीहरूले चिनियाँ वर्तमान सत्ताधारीहरूलाई सामाजिक साम्राज्यवादीका रूपमा परिभाषित गरेका छन् र नेपालका सही अर्थका क्रान्तिकारीहरूले पनि यस यथार्थलाई आत्मसात गरेका छन् । भारतसित मिलेर नेपाली भूमि कब्जा गर्नुबाट पनि चिनियाँ प्रतिक्रान्तिकारीहरूको चरित्र प्रस्ट हुन्छ । 

नेपालको सन्दर्भमा भारतकै तहमा चिनियाँ हस्तक्षेप र प्रभुत्वको स्थिति छैन यो यथार्थलाई स्वीकार गर्नु पर्छ, तर यो उसले नचाहेर भन्दा पनि आवश्यकता नदेखेर हो । यसको कारण भारत र चीनको नेपालसितको भोगौलिक स्थितिमा भएको भिन्नता पनि हो । अवस्था आउँदा आफ्नो  स्वार्थका लागि उसले जे पनि गर्छ र गर्दो रहेछ भन्ने कुरा अहिले प्रस्ट भएको छ । भारतकै जस्तो भोगौलिक स्थिति हुने हो भने चीनले भारतभन्दा कम गर्ने रहेनछ भन्ने कुरा प्रस्ट भएको छ । त्यस्तै  पर्यो भने  सगरमाथामा आँखा नगाड्ला भन्न सकिँदैन । 

चीन बनियाँ हो–चतुर बनियाँ, नाफानोक्सान सबै बुझेको व्यापारी ।  चीनले नेपालका अमुकअमुक पार्टीहरूलाई खर्चबर्च बाँड्थ्यो र बाँड्छ भन्ने कुरा राजनीति बुझेकालाई थाहा छ । “पार्टी वैधानिक बनाउनुस् र सरकारमा सामेल हुनु्स् जति पनि सहयोग गर्न  तयार” भनेर अर्तिउपदेश दिने चीनलाई विचारसित मतलब छैन । चीनमा माओवादी पार्टी गठन र मजदुर  विद्यार्थी क्षेत्रमा यसको लोकप्रियता र प्रभाव विस्तार हुँदै गएपछि सि जिनपिँङले माओको नाम  लिएर, माओको गुनगान गरेर सहानुभूति लिने, समर्थन बटुल्ने र विरोधको स्वरलाई मत्थर पार्न खोजेका मात्र हुन् । आफ्ना प्रतिस्पर्धी दुई जना पोलिटब्युरो सदस्यलाई एकएक बहाना बनाएर जेल हालेर दोहोर्याएर  राष्ट्रपति भएका सि जिनपिँङको चतुर्याइँ   सबै प्रस्ट भएको छ ।

चिनियाँहरूलाई विचार, माओवाद केहीको मतलब छैन ।  चिनियाँहरूको स्वार्थ गतिलो र भरपर्दो पार्टी र स्थायी सरकार हो । राजावादी होस् वा माओवादी चिनियाँहरू नेपालमा स्थायी किसिमको सरकार होस्  भन्ने चाहन्छन्-आफ्नो स्वार्थका लागि । अन्तिम कुरा यही हो ।

नेकपा (माओवादी) ‘शान्तिप्रक्रिया’ मा आएपछि नेपालका माओवादीहरूले चीनसित र चिनियाँहरूले नेपालका माओवादीहरूसित सम्बन्ध बढाउन खोजेका हुन् र महरा र टेप प्रकरणपछि महरा मात्र नभई प्रचण्डहरूकै दोहोरो भूमिका त छैन ? भनेर चिनियाँहरू झस्केका र हच्केका हुन् । प्रचण्डप्रति चिनियाँहरूको विश्वास कम भएपछि ( विश्वास नै छैन, थिएन भन्दा पनि हुन्छ) प्रचण्डले टाइसुटमा 'आधुनिक' बनाएर डोर्याउँदै कमरेड बैद्यलाई चीन पुर्याएका हुन् भन्ने कुरा दोहोर्याइरहनु पर्दैन ।

प्रचण्ड-बाबुरामहरूले एकपछि अर्को गरेर गद्दारीको बाटो समातेपछि विद्रोह गर्नु आवश्यक थियो र कमरेड किरणको नेतृत्वमा विद्रोह भयो । कमरेड किरणलाई विचार र क्रान्तिका कुरा छोड्नोस् र प्रचण्डसित मिलेर पार्टीलाई बलियो बनाउनुस्, सरकार बनाउनुस् अनि हामी सक्तो सहयोग गर्छौँ भनेर चिनियाँहरूले बारम्बार भनेकै हुन्  । प्रचण्डबाट    विद्रोह गरेपछि पनि प्रचण्डसित एकता गर्न, संविधान सभा र पछिका  चुनावमा सहभागी हुन चीनले जोड गरेकै हो। हरेक भेटमा जोड गरेको हो  ।

बढी वैचारिक र सैद्धान्तिक कुरा गर्ने र व्यवहारवादी नहुने भनेर चिनियाँ शासकहरूले किरणलाई पछिका दिनमा त्यति मन नपराउन थालेको कुरा पनि सत्य हो ।  पार्टी फुटेपछि चीनले बढी आशा गरेका पात्रहरूमा किरणभन्दा पनि  बादल र विप्लव हुन् । खुलेर नआउने, निर्णायक घडीमा धोका दिने, सुतुवा, अल्छी र राजनीतिमा पनि ‘अर्काले पस्केर दिएको खान मात्र अघि सर्ने र आफू पछि बसेर अरूमार्फत  खुराफात गर्ने" भनेर जनयुद्धकालदेखि नै पार्टीभित्र टिप्पणीको विषय बन्ने गरेका पात्र हुन् बादल । समग्र स्वभाव र चरित्र अध्ययन गरेका चिनियाँहरू बादलप्रति पनि त्यति आशावान हुन सकेनन् । कमरेड किरणको पार्टीमा छँदा पछिल्लो समयमा उनीहरूले  विप्लवलाई च्यापेकै हुन् । विप्लवमा रहेको गतिशीलता र महत्वाकाङ्क्षालाई बुझेर उनीहरूले विप्लवसित सम्बन्ध बढाउन खोजेका हुन्  । यो पनि सत्य हो ।
 
अन्य नेताका तुलनामा विप्लव धेरैपल्ट चीन पुगे पनि । पछिल्लो पटक उनलाई बोलाएको ठाउँमा सोनाम गएपछि विप्लव किन नआएको भनेर चिनियाँहरूले चासो राखेको कुरा पार्टीभित्र निकै चर्चाको विषय बनेको थियो । वास्तवमा चिनियाँहरू प्रचण्ड, किरण र विप्लव एकै ठाउँ रहेको देखन चाहन्थे । विचारको तहबाट भन्दा भोलिको नेपालमा आफ्नो विश्वासिलो र भरपर्दो सत्ताधारी शक्तिको खोजीमा चिनियाँहरू थिए । वैचारिक पक्षभन्दा अनुभववाद, व्यक्तिवाद र शीघ्र शक्ति आर्जनमा  विश्वास गर्ने विप्लव प्रवृत्ति नै  चिनियाँहरूका लागि  सकारात्मकताको जग थियो ।  प्रचण्डसित एकता गर्न जोड दिने चिनियाँहरू विप्लव किरणबाट अलग्गिएकोमा  सन्तुष्ट थिएनन् र यसमा नेपालभित्र बाबुराम र बाहिर भारतीयहरूको उक्साहटले काम गरेको भन्ने   उनीहरूको बुझाइ थियो ।

विप्लवका पछिल्ला गतिविधिप्रति चिनियाँहरूले बेवास्ता गर्दै गए ।  विप्लवले संसदीय राजनीतिप्रति विमति जनाउँदै हतियारबद्ध राजनीतिको कुरा गर्न थालेपछि सघाउन नसकिने भन्दै चिनियाँहरू पछि हटेर उनीहरू र विप्लवबीचको सम्बन्ध पहिलेजस्तो रहेन । पछिल्लो समयमा विप्लवभन्दा पनि चिनियाँहरूको विप्लवप्रति रुचि घट्तै गएको स्थिति पनि यथार्थ हो ।
 
विप्लवहरूले आफूलाई मालेमाका पक्षधर र नेपालमा सबैभन्दा क्रान्तिकारी भन्छन् र नयाँ किसिमले क्रान्ति गर्न लागेको पनि भन्छन् । तर अचम्मको कुरा के भने, विश्वका सम्पूर्ण माओवादी क्रान्तिकारीहरूले चिनियाँ पुँजीवादी सत्ताले सामाजिक साम्राज्यवादी चरित्र ग्रहण गरेको      निष्कर्ष    निकाल्दा पनि  आफूलाई मालेमाको  पक्षधर र वैज्ञानिक समाजवादको कुरा गर्ने विप्लवको पार्टीले चिनियाँ पार्टी र सत्तालाई चिनियाँ विशेषताको कम्युनिस्ट पार्टी र चिनियाँ विशेषताको समाजवाद भनेर दस्ताबेजीकरण गरेको छ र विप्लवले पछिल्लो समयमा ‘रातोपाटी’ अनलाइनसितको कुराकानीमा पनि  यही कुरा दोहोर्याएका छन् । अमेरिकालाई  'उत्तर–साम्राज्यवादी अमेरिका'  भन्नु, चिनियाँ सामाजिक साम्राज्यवादलाई साम्यवादी पार्टी र साम्यवादी सरकार भन्नु, क्रान्ति सम्पन्न भएको झैँ गरी क्रान्तिको कार्यक्रमबाट नयाँ जनवादी क्रान्तिलाई हटाउनु र कार्यदिशा विहिन हुनुले विश्वका क्रान्तिकारी माओवादीहरूले विप्लव नेकपाप्रति अलिकति पनि रुचि राखेका छैनन् । फलस्वरूप  विश्वका  क्रान्तिकारी माओवादी पार्टीहरूको साझा र संयुक्त कार्यक्रममा नेकपा (विप्लव) को उपस्थिति देखिँदैन ।

नेकपा (विप्लव) माथि नव-प्रतिक्रियावादी ओली सरकारले प्रतिबन्ध लगाएको छ । हामी  यसको विरोध गर्छौं । जनताका लागि केही गर्नुपर्छ भन्ने अठोट र स्पिरिटको पनि हामी  कदर गर्छौं । समस्या विचारमा छ, अनि जति स्पिरिट र अठोट भए पनि केही अर्थ छैन ।  सैद्धान्तिक-वैचारिक क्षेत्रमा कमजोर र अध्ययन-चिन्तनको अभावका कारण विप्लव पार्टीले न त नेपाली समाजको सही विश्लेषण गर्न सकेको छ,   न त उसमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको राम्रो  ज्ञान छ, न त विश्व साम्राज्यवादको वर्तमान चरित्रको बारेमा नै गहिरो जानकारी देखिन्छ । जताततै उनीहरू  छिपछिपे ज्ञानमा छन्  ।  यो कुरा विप्लव पार्टीको सिद्धान्त र व्यवहारमा मज्जले प्रस्टिएको छ । मार्क्सवाद बुझेको मान्छेले, साम्राज्यवादबारे ज्ञान भएको मान्छेले “उत्तर-साम्राज्यवादी अमेरिका” भनेर कहिल्यै पनि लेख्दैन ।  सामाजिक साम्राज्यवादी चीनलाई समाजवादी  चीन पनि  भन्दैन र लिपुलेक प्रकरणमा त्यस्तो भक्तिभावपूर्ण निवेदन पनि लेख्दैन ।

हामीले  भारतीय विस्तारवाद लेख्दै र भन्दै आएका छौँ र विप्लवले आफ्ना दस्ताबेजहरू र लेखहरूमा भारतीय साम्राज्यवाद भनेर लेखेका छन् । नेपालका सन्दर्भमा भारतको पछिल्लो व्यवहार देख्दा यसमा विमति जनाउनु पर्ने कुरा छैन । चीनबारेको नेकपा (विप्लव) को  धारणा चाहिं वैचारिक  नभएर भावुकतामा आधारित छ ।

लिम्पियाधुरा-कालापानी क्षेत्रमा भारतले यसरी कब्जा गर्नुमा नेपालका सत्ताधारीहरू हिजोका पञ्च र २०४६ पछिका सबै सरकारहरू दोषी छन् । पहिले खुट्टा, अनि जीउ, अनि टाउको गरेर सिङ्गै  शरीर भारतले नेपालमा पसाएर सेना तैनाथ गर्यो र नेपालका भूभाग भन्ने थाहा हुँदाहुँदै पनि चीनले भारतीय भूमिका  रुपमा सहीछाप ठोक्यो । अर्काको जमिनमा यसरी सहीछाप ठोक्ने काम विस्तारवादी र साम्राज्यवादीहरूले मात्र गर्छन् । यो  सामान्य कुरा होइन । यो याचनाको कुरा होइन, औंला ठड्याएर चुनौती दिने विषय हो ।

विश्वका बारेमा सम्पूण जानकारी राख्ने, नेपाली  सिमानाको कुरा मात्र नभएर सिङ्गो नेपालका बारेमा विशिष्ट जानकारी राखने विशेषज्ञहरू भएको चीनलाई नेपाली भूभागको बारेमा थाहा छैन र थिएन भन्ने कुरा होइन  ।  मोहनविक्रमले समेत चीनलाई साम्राज्यावादी भनेको सन्दर्भमा आफूलाई माओवादी र क्रान्तिकारी भन्नेले चिनियाँ सामाजिक साम्राज्यवादप्रति भक्तिभाव देखाउनु भनेको शक्तिपूजक प्रवृत्तिको द्योतक हो  ।  विप्लवको मार्क्सवाद शक्तिपूजक भक्तिभाव प्रवृत्तिमा फेरिएको छ । यो सकारात्मक पक्ष होइन ।

 


भिडियो फिचरview all