ताजा समाचार
मसाल जुलुस, पुत्ला दहन र व्यापक धरपकड
भारतीय र चिनियाँ प्रतिक्रियावादी सत्ताको मिलेमतोमा नेपाली भूमि लिम्पियाधुरा क्षेत्र कब्जा गरेर भारतीय विस्तारवादले बाटो निर्माणलाई तीव्रता दिएपछि नेपालका प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्ति र व्यक्तिहरू उद्वेलित र आन्दलित भएका छन् । ओली सरकारले जनआक्रोसलाई मत्थर पार्न विरोध वक्तव्य र अनेक बहाना गरे पनि नेपाली जनताले त्यसलाई झारा टार्ने र जनतालाई भ्रमित गर्ने काम मात्र गरेको भनेर बुझेका छन् । अझ ओलीका पछिल्ला अभिव्यक्तिले सरकार भारतीय विस्तारवादका विरुद्ध केही पनि गर्न नसक्ने स्थितिमा पुगेको निष्कर्ष निकाल्न थालेका छन् । वैदेशिक हस्तक्षेपका बेला सरकारलाई जनताको साथ हुनु पर्ने हो, तर यो सरकारप्रति जनताको असाध्यै वितृष्णाको स्थिति छ ।
धेरै पहिलेदेखि नै कालापानीको सन्दर्भलाई लिएर नेपाली जनता आन्दोलित भएका हुन् र पछिल्लो समयमा ‘नक्सा प्रकरण’ र नेपाली भूमिमा बाटो खन्न थालेको विषयलाई लिएर आन्दोलनली तीब्र रुप लिएको हो । तर प्रधानमन्त्री ओलीले नेपाली भूमिमा बाटो खनेको कुरा थाहा नभएको भनेर उल्टै दिउँसै रात पार्ने काम गरेका छन् र जनतालाई थप आक्रोसित भनाए छन् । त्यति मात्र नभएर सम्बद्ध मन्त्री अर्यालले नेपालको नक्साको विषयमा बोलेको कुरालाई लिएर व्यापक विरोध भएको स्थिति छ । प्रत्रानमन्त्री ओली र उनका मन्त्रीहरूको स्थिति र गति प्रस्ट भएको छ र यसले ओली सरकार नेपालको राष्ट्रिय स्वाधीनताप्रति अलिकति पनि गम्भीरता नभएको नालायाकहरूको सरकार भन्ने कुरा प्रमाणित भएको छ ।
नक्सा प्रकरण र बाटो निर्माणको प्रकरणमा भारतीय स्वार्थमा काम गर्ने भनेर नेपाली जनताबीच परिचित कतिथ तराईवादी नेताहरूको मुकुण्डो पनि राम्रोसित उघ्रेको छ । ती नेपाली माटोमा टेकेर, नेपाली जनताले तिरेको कर र मालपोत डकारेर भारतको गुनगान गाउँने कपूतहरू हुन्, नेपाली नागरिकता बोकेर भारतीय तिरङ्गा छातीमा सजाउने राष्ट्रद्रोही शक्ति हुन् भन्ने कुरा महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो लगायतकाहरूको चरित्रले एकपल्ट फेरि प्रस्ट पारेको छ ।
अरू बेला भारतको तावेदारी गर्ने कतिपयहरू पनि अहिले सडकमा राष्ट्रियताको कुरा गर्दै सडकमा निस्केका छन् । उनीहरू निहित स्वार्थबाट उत्प्रेरित छन् । तर यो देशलाई सही अर्थमा माया गर्नेहरू, राष्ट्रिय स्वाधीनतका लागि मरिमेट्न तयार हुनेहरू अहिले इमानदारीपूर्वक सडकमा निस्केका छन् । ओली सरकार शब्दजालमार्फत जनतालाई भ्रमित पार्दैछ भनेर खबरदारीका साथ नेपालका प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरू अहिले सडकमा निस्केका छन् । यसै क्रममा सुदूर पश्चिमका क्षेत्रहरूमा मात्र होइन, काठमाडौँमै पनि मसाल जुलुस निस्केका छन् र मोदी र ओलीका पुत्लाहरू दहन गरिएका छन् । खास गरेर नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (विप्लव) का कार्यकर्ता तथा नेताहरू सही अर्थमै राष्ट्रिय स्वाधीनताप्रति गम्भीर भएर सडकमा निस्केका छन् ।
नेकपा (विप्लव) ले देशव्यापी रूपमा आन्दोलनको घोषणा गरेको छ भने नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरू पनि अहिले सडक सङ्घर्षमा सक्रिय देखिन्छन् । यसरी सडकमा निस्केका कायकर्ताहरू माथि सरकारी दमन र धरपकड पनि जारी छ । मुलुकले ठूलै आन्दोलन र उथलपुथलको माग गरेको छ । कोरोना महामारीका कारण आम जनता तथा कार्यकर्ताहरू समग्र रूपमा खुलेर सडकमा आउने स्थिति छैन तापनि जसरी राष्ट्रिय स्वाधीनताका पक्षमा सडकमा आवाज उठेका छन्, यो निकै सराहनीय छ ।
भारतीय विस्तारवादले आफ्नो नव-उपनिवेशवादी प्रभुत्त्व लाद्न खोज्ने कुरा नयाँ होइन । प्रश्न ओली सरकार र लिम्पियाधुरा सन्दर्भमा मात्र सीमित छैन । भारतीय विस्तारवादलाई खुसी पारेर सत्तामा पुग्ने हिजोका दिनदेखिका सत्ताधारीहरू र उनीहरूको चरित्रसित अहिलेको सन्दर्भ जोडिएको छ । यो सिंगो राज्यसत्ताको चरित्रसित जोडिएको छ । मूल प्रश्न राष्ट्रिय स्वाधीनता र जनतन्त्रको हो । यी एक-अर्काका परिपुरक छन् । मुलुकले नयाँ किसिमको ध्रुवीकरण खोजेको छ र नेपालको वर्तमान स्थितिको सापेक्षतामा क्रान्तिकारी शक्ति र व्यक्तिहरूले पहलकदमी लिनु आवश्यक छ । यसका लागि अल्पकालीन र दीर्घकालीन सोचाइ र बुझाइको आवश्यकता छ ।
भिडियो फिचरview all