
नेपाल प्रज्ञा प्रतिष्ठानको दादागिरी विरुद्ध लेखकहरू आक्रोसित

पहिलेपहिले यसरी सम्पादन गर्दा लेखकसित सोध्ने तथा जसका रचना राखिएको हो, उसलाई पारिश्रमिक दिने नीति.नियम थियो ‘ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ मा । अहिले ओली र प्रचण्डहरूका कारिन्दाहरूले प्रज्ञा प्रतिष्ठानहरू भरिएपछि लेखकहरूलाई पारिश्रमिक दिने कुरा त परै जाओस्, लेखकलाई सोध्ने र पुस्तक दिने चलन पनि हराएको छ । उदाहरणका रूपमा समसामयिक प्रगतिवादी नेपाली कथा र नेपाली कथामा दलित जस्ता संग्रहलाई लिन सकिन्छ ।
समसामयिक प्रगतिवादी कथा को सम्पादन बिन्दु शर्माले गरेकी हुन् भने नेपाली कथामा दलित को सम्पादन चाहिँ तेजविलास अधिकारी र पुरुषोत्तम रिजालले गरेका हुन् र यी दुवै सङ्कलनको प्रधान सम्पादक चाहिँ त्तकालीन ‘प्राज्ञ’ मातृका पोखरेल हुन् ।
प्रधान सम्पादकले सबैभन्दा बढी पैसा लिने, सम्पादकहरूले पनि पैसा लिने, तर, जसका रचनाहरू राखेर सङ्कलन तयार पारिएको छ, उसलाई रचना राख्ने कुरामा नसोध्ने, छापिइसकेपछि जानकारी पनि नदिने र पारिश्रमिक तथा -वायल्टी को कुरा गर्दा दिने नियम छैन भन्ने गरेपछि लेखकहरूले यसलाई नेपाल प्रज्ञा प्रतिष्ठानको दादागिरीको संज्ञा दिएका छन् , जमिन्दारी प्रवृत्ति भनेका छन्।
यसैबीच हामीले केही सम्बद्ध लेखकहरूसित सम्बन्ध राखेका थियौँ । उनीहरूका भनाइमा लेखकहरूको शोषण गर्ने अहिलेका प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूको प्रवृत्ति पञ्चायती कालका पदाधिकारीहरूको भन्दा पनि निकृष्ट रहेको र उनीहरूका विरुद्ध मुद्दा हाल्नुबाहेक विकल्प नरहेको भन्ने छ । कथाकारका रूपमा परिचय नै नबनाएकाहरूका लागि कथा छापिनु नै ठूलो कुरा हुनसक्छ, अमुक लेखकले दाबी नगर्न पनि सक्छ । तर कथाकारका रूपमा स्थापित भएकाहरूका लागि र आफ्नो सत्त्वप्रति सचेत लेखकका लागि भने यो अति नीच प्रवृत्तिको व्यवहार हो ।
यसै क्रममा हामीले कथाकार ऋषिराज बरालसित सोद्धा उनको जवाफ यस किसिमको थियो :
“समसामयिक प्रगतिवादी कथा मा ‘खत्री बालाई आजभोलि निन्द्रा लाग्दैन’ र नेपाली कथामा दलितमा ‘कदमलाल ततमाको गीत’ राखिएको छ । तर सङ्कलनमा यी रचना राख्दा मसित एक शब्द पनि सोधिएन र पछि किन यसो गरियो भन्दा चित्तबुझ्दो जवाफ पनि पाउन सकिएन । पारिश्रमिकको कुरा गर्दा उल्टै उपेक्षाभाव प्रदर्शन गर्ने व्यवहार गरियो र नियम छैन भनेर टकटकिने काम भयो ।”
प्रमुख सम्पादक मातृका पोखरेलसित सम्पर्क राख्न खोज्दा सम्पर्क हुन सकेन ।
'प्रगतिवाद' को असली परिभाषा के हो र कस्तालाई मात्र 'प्रगतिवादी' लेखक भन्न सकिन्छ र के-कस्ताहरू प्रगतिवादका नाममा समावेस भएका छन्, त्यतातिर नजाउँ, यो अर्कै चर्चा र टिप्पणीको विषय हो,मूल कुरो त,शोषणका विरुद्ध लेख्ने कथाकार नै शोषणमा परेभन्ने कुरा हो ।
भिडियो फिचरview all