
कमरेड किरणद्वारा छरिएर रहेका क्रान्तिकारीहरूलाई गोलबद्ध हुन आह्वान

फागुन १ गते जारी वक्तव्यमा भनिएको छ :
नेपाली जनतामाथि शोषण तथा उत्पीडन गर्दै आएको सामन्तवाद एवम् दलाल तथा नोकरसाही पुँजीवाद र नेपालमा विभिन्न प्रकारका हस्तक्षेप तथा प्रभुत्व कायम गर्दै आएको साम्राज्यवाद तथा विस्तारवादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नका लागि आजको ठीक चौविस वर्षअघि उद्घोष गरिएको महान जनयुद्ध छोटै अवधिमा देशका विभिन्न भागहरुमा आधार इलाका तथा जनसरकारहरुको गठन गर्दै सशक्त रुपमा विकसित भएको थियो । त्यसले नेपाल मात्र होइन, विश्वमा पनि क्रान्ति र रूपान्तरणको नयाँ सन्देश प्रवाहित गरेको थियो । परन्तु, माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खान पुगेको छ । दश वर्षको महान् जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन् ।
त्यसै गरी क्रान्तिकारीहरूलाई गोलबद्ध हुन आव्हान गर्दै वक्तव्यमा अगाडि भनिएको छ :
सामाजिक क्रान्तिको प्रक्रिया सीधा हुँदैन, क्रान्ति र प्रतिक्रान्तिका अनेकौं चक्रहरू पार गर्दै अगाडि बढ्छ । नेपाली नयाँ जनवादी क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया समाप्त भएको छैन । हाम्रो पार्टीले नेपाली तथा विश्वसर्वहारा क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले लागुगर्दे नेपाली नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको छ । महान जनयुद्धको पच्चिसौं वार्षिकोत्सवको उपलक्षमा हाम्रो पार्टी विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न आह्वान गर्दछ ।
भिडियो फिचरview all