
मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङलगायत नेकपा (बिप्लव) का ठूलो सङ्ख्यामा नेताहरू पक्राउ

‘इः रातोखबर’ ले जनाएअनुसार राप्ती ब्युरो बैठक बसिरहेको समयमा बैठकस्थललाई घेराबन्दी गरेर सो पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ’, अर्का केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशरबहादुर बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जङ्गली, पार्टीका सल्यान जिल्ला इन्चार्ज डिल्लीराज शर्मा, राप्ती ब्युरो सदस्य तिलक पुन। बिक्रम लगायतका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ । समाचारमा जनाइएअनुसार सो बैठकमा राप्ती ब्युरोका पाँचै जिल्लाका जिल्ला इन्चार्ज तथा सेक्रेटरीहरूको उपस्थिति थियो ।
प्राप्त समाचारअनुसार बैठक दाङको दक्षिण क्षेत्र राजापुर भन्ने स्थानमा बसरिहेको थियो र रातको समयमा पक्राउ गरिएको थियो । यसरी पक्राउ पर्नेको सङ्ख्या २१ जना रहेको छ ।
नेकपा (बिप्लव) ले पार्टीमा शुद्धीकरण र सुदृढीकरणको अभियान चलाइरहेको भनिएको समयमा भएको यो गिरफ्तारीमा बिप्लवका नजिकका र विश्वासिला पात्रहरू भनेर भनिने पात्रहरू परेका छन् । रणनीतिक दृष्टिले पनि राप्ती ब्युरोको विशेष महत्व रहेको छ । वीरजङ्ग बिप्लवका दाजु हुन् र केशरबहादुर जनयुद्धकालदेखि नै विद्यार्थी नेता हुँदै पार्टी नेतामा विकसित भएका रोल्पाली जुझारु नेता हुन् ।
भिडियो फिचरview all