ताजा समाचार
बिप्लव, वार्ता र सञ्चारमन्त्रीको पाखण्डपन
ऋषिराज बराल
दुस्मन शक्ति नेकपा (बिप्लव) लाई नेपालका अन्य क्रान्तिकारी शक्तिहरूबाट एक्ल्याएर सिध्याउन चाहन्छ भन्ने भन्ने कुरालाई उसले बुझ्नु आवश्यक छ । एउटा कुरा प्रस्ट रूपमा के पनि देखिएको छ भने, सबैले, खास गरेर नेकपा (बिप्लव) ले आफ्ना सीमा र कमीकमजोरीहरूको समीक्षा र संश्लेषण गर्दै समयले निर्देशित गरेको नयाँ किसिमको ध्रुवीकरणतर्फ आफूलाई प्रवृत्त गराउनु आवश्यक छ । गम्भीर समीक्षा गर्नु जरूरी छ ।यो भनेको मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति र क्रान्तिका तीन जादुगरी हतियारप्रतिको प्रतिबद्धता हो ।
०००
आजभोलि नव-प्रतिक्रियावादी सत्ताका प्रधानमन्त्री केपी ओली माओवादी जनयुद्धका बारेमा मात्र नभई नेकपा (बिप्लव) का विरुद्ध पनि खुला किसिमले बोल्ने कुरामा केही संयमित भएजस्तो देखिन्छ । माओवादी आन्दोलन र जनयुद्विरुद्ध बोल्दा मान्छे हुनुको नाम मात्र रहेका प्रचण्डलाई नदुखे पनि माओवादी जनयुद्धको इतिहासलाई माया गर्ने तलका कार्यकर्ताहरू भड्किन सक्छन् भनेर पनि ओलीले आफूलाई केही संयमित राखेको हुन सक्छ । तर उनले यो जिम्मेवारी उनका विश्वासपात्र सञ्चारमन्त्री गोकुल बास्कोटालाई दिएको कुरा चाहिँ गोकुल बास्कोटाका अभिव्यक्तिबाट सहजै बुझ्न सकिन्छ ।
यताका केही दिनमा सञ्चारमन्त्री बास्कोटा ओलीको सिको गरेर सिङ्गो माओवादी आन्दोलन र जनयुद्धको महान् अभियान र बलिदानको इतिहासमाथि प्रहार गरिरहेका छन् । खास गरेर नेकपा (बिप्लव) माथि प्रहार गर्ने नाममा उनी सिङ्गो माओवादी आन्दोलन र जनयुद्धको बलिदानी इतिहासप्रति तल्लो स्तरमा प्रस्तुत भएका छन् । मन्त्री परिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पनि उनले माओवादी आन्दोलन र जनयुद्धप्रतिको आफ्नो निच प्रवृत्तिलाई दोहोर्याएका छन् ।
पछिल्ला दिनमा ओली सरकार र नेकपा बिप्लवबीच वार्ताको सन्दर्भ चलिरहेको छ । वार्ताकै सन्दर्भको सेरोफेरोमा नेता-कार्यकर्ता पक्राउ परेका छन् । वार्ताबारे नरम र गरम पात्रहरू छुट्याएर सरकारले व्यवहार गरेको बुझ्न सकिन्छ । कतिपय नेताले ''आफूहरू निरपेक्ष रूपमा वार्ता विरोधी होइनौँ भनेर खासखास किसिमका सर्त पूरा भएमा वार्तामा बस्न सकिन्छ'' भनेका छन् भने कतिपयले “वार्ताको विकल्प छैन” भन्दै शान्तिपूर्ण राजनीतिको वकालत गरेका छन् । यसो भन्नेहरू जेलबाट रिहाइ पनि भएका छन्, उदाहरणका रूपमा मोहन कार्की 'जीवन्त' लाई लिन सकिन्छ ।
हरेक पोलिटब्युरो सदस्य प्रवक्ताजस्तो बनेर अन्तर्वार्ता दिने नेकपा (बिप्लव) ले स्यायी समिति भङ्ग गरेको, पहिलेको पोलिटब्युरो सदस्यहरूलाई के.स.मा झारेको लगायत १८ जनालाई कारबाही गरेको र यसको सम्बन्ध अनुशासन, गोपनीयता र वार्तासम्बन्धी बुझाइसित रहेको भनेर पत्रपत्रिकामा आएका छन् । सो पार्टीले यसका सम्बन्धमा यथार्थ बाहिर नल्याएका कारण खास कुरा प्रस्ट छैन तापनि पत्रपत्रिकामा आएका समाचारबारे पार्टीबाट कुनै प्रतिक्रिया नआउनुले समाचार सत्यताको नजिक छ भनेर चाहिँ आकलन गर्न सकिन्छ । मन्त्री बाँस्कोटा वार्ता र बिप्लव पार्टीका सम्बन्धमा त्यति निच किसिमले आउनुका पछाडि सो पार्टीभित्रको यथार्थस्थिति थाहा भएर पनि हुन सक्छ । नेकपा (बिप्लव) राजनीतिक पार्टी हो भन्ने बिर्सेर मन्त्री बास्कोटा सो पार्टीविरुद्ध जे-जस्ता पदावली र व्यवहार प्रदर्शन गरिरहेका छन्, त्यसले जनयुद्धको समयको सङ्कटकालका काङ्ग्रेसी गृहमन्त्रीहरूको झल्को दिन्छ । उनी स्थितिलाई एकदमै उत्तेजित पारिरहेका छन् । बिप्लवका नाममा उनी सिङ्गो माओवादी आन्दोलन र जनयुद्धमाथि प्रहार गरिरहेका छन् ।
नेपाली जनताको मुक्तिको बाटो सशस्त्र सङ्घर्षबाहेक अर्कौ छैन । एक थरीले गद्दारी गरे भन्दैमा क्रान्तिको यात्रा रोकिनेवाला छैन । तर पनि, क्रान्तिका आफ्ना नियमसङ्गतिहरू हुन्छन् । यसको प्रस्ट निर्देशक सिद्धान्त हुन्छ, यसको ठोस कार्यदिशा हुन्छ । यो काम नेपाली समाज र यहाँको अन्तर्विरोधको वैज्ञानिक विश्लेषण र संश्लेषणबाट तय गर्ने गरिन्छ । अहिलेको संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था हो र यसलाई ध्वस्त पारेर वैज्ञानिक समाजवाद स्थापित गर्नुपर्छ भन्ने कुरामा विमति छैन । क्रान्तिकारी कम्युनिस्टहरूको अन्तिम लक्ष साम्यवाद हो । तर यसका लागि वैचारिक, राजनीतिक, साङ्गठनिक र प्राविधिक तयारीको चरण हुन्छ । माओवादी जनदिशा लागू गर्दै कार्यनीतिहरू रणनीतिक उद्देश्यअनुरूप तय गरिन्छन् र कार्यदिशा अर्थात् क्रान्तिसम्पन्न गर्ने बाटो जनताका सामु प्रस्ट हुन्छ/पारिन्छ । यसका पनि शृङ्खला र चरणहरू हुन्छन् ।
नेपाली समाज अहिले पनि आधारभूत रूपमा अर्ध-सामन्ती तथा अर्ध-औपनिवेशिक अवस्थामै छ । क्रान्तिको कुरा गर्नेले यस्तो समाजमा अँगालिने कार्यदिशा र क्रान्तिका तीन जादुगरी हतियार बारे प्रस्ट हुनु आवश्यक छ । क्रान्तिको चालक शक्ति, भाइचारा सम्बन्ध, सत्रु र मित्रबारे प्रस्ट हुनु आवश्यक छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र आजको साम्राज्यवादको चरित्रबारे पनि प्रस्ट हुनु आवश्यक छ । यस्ता आधारभूत पक्षहरूलाई अगाडि राखेर नेकपा (बिप्लव) को अध्ययन-विश्लेषण गर्न थालेपछि भने निराशा मात्र हात लाग्छ । तथापि, नेकपा (बिप्लव) राजनीतिक समूह भएकाले यसले कार्यदिशा लगायतका कमीकमजोरी र त्रुटिहरू सच्याएर सही दिशा समातोस् भनेर नेपालका क्रान्तिकारी शक्ति तथा व्यक्तिहरूले भन्दै आएका छन् । उनीहरूले यसमाथि लागेको प्रतिबन्ध छिटोभन्दा छिटो हटाउनुपर्छ भनेर पनि माग गरेका छन् ।
नेकपा (बिप्लव) ले आफ्ना गल्तीकमजोरी सच्याएर माओवादी क्रान्तिकारी दिशा समात्ला अथवा कुन दिशातिर जाला यो उसको कुरा हो, केही समय पर्खनै पर्ने हुन्छ, संगठनात्मक स्खलनको स्थितिले त्यहाँ जटिलता उत्पन्न हुनु स्वाभाविक छ । हामीले सही दिशा समातोस् भनेर कामना मात्र गर्ने हो । तर बिप्लवका नाममा प्रतिक्रियावादी सत्ताका मन्त्री गोकुल बास्कोटाले जसरी माओवादी आन्दोलन र जनयुद्धको राजनीतिमाथि प्रहार र व्यङ्ग्य गरेका छन्, यो एकदमै निन्दनीय छ । उनले जनयुद्धमा बन्दुक हारेको कुरा उठाएका छन् । साँच्चै भन्ने हो भने हारेको त ओली सरकार छ, उसको बन्दुक छ । दुईतिहाईको सरकार जसरी छट्पटिएको स्थितिमा देखिन्छ, एकहिसाबले उसको बन्दुक हारिसकेको छ । उसको बन्दुक नहारेको हुन्थ्यो भने सर्लाहीमा कुमार पौड्याललाई समातेर कुटीकुटी मरणासन्न पारेर गोली ठोक्ने काम हुँदैनथ्यो ।
बन्दुक आत्मसुरक्षाको, दैनिक जीवीका र सत्ताको हतियार हो । ढुङ्गे युगदेखि आवश्यकताअनुसार मान्छेले हतियारको निर्माण गर्दै गयो । हतियारहरू आवश्यकताका उपज हुन् । आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा पुग्ने माध्यमहरू हुन् । जब निहत्था हातहरूमाथि बन्दुकले दमन गर्न थालिन्छ, जनताले नयाँ बाटो खोज्नु स्वाभाविक हुन्छ । अनि प्रतिरोधमा उठ्छन् नै बन्दुकहरू- जनताका आफ्ना हतियारहरू ।
माओवादी जनयुद्ध नहुँदो हो त, जनताले बन्दुक नउठाउँदा हुन् त, अहिलेका सत्तामा बसेर जनताको सम्पतिमाथि रजाइँ गर्ने भ्रष्ट र अनैतिक तत्वहरू कुन दुलामा हुन्थे, अथवा ज्ञानेन्द्रका रैती भएर उसको आदेशमा चलिरहेका हुन्थे-आधी सच्चिएको भन्दै । जनयुद्धकै समयमा रोल्पा गएर प्रचण्डहरूलाई भेटेर— “ज्ञानेले खाने भयो, सिध्याउने भयो’, लौन केही गरिदिनु पर्यो ” भनेर निवेदन हाल्ने बामदेव जिउंदै छन् । यसको साक्षी बिप्लव स्वयं छन् । विडम्बनाको कुरा, तिनैका कार्यकर्ता मन्त्री बास्कोटा माओवादी आन्दोलन, जनयुद्धमा उठेको बन्दुक र बगेको रगतको खिसिट्युरी गरिरहेका छन् । योभन्दा पाखण्डपन अरू के हुन सक्छ !!!
सञ्चारमन्त्री जसरी वतावारणलाई उत्तेजित बनाइरहेका छन्, वार्ता र बिप्लव सन्दर्भलाई लिएर माओवादी आन्दोलन, जनयुद्ध र जनताले उठाएको बन्दुकविरुद्ध जसरी उभिएका छन, यस किसिमको स्थितिले प्रतिरोधमा थुप्रै हातहरू उठ्ने र उठ्नुपर्ने स्थिति आउन सक्छ । नेकपा (बिप्लव) सित हाम्रा थुप्रै विमति छन्, तर बिप्लवका नाममा हिजोको जनयुद्ध माओवादी आन्दोलन र जनताले उठाउने बन्दुकहरूमाथि प्रहार गरिन्छ भने, बिप्लवका नाममा मान्छे समात्तै मुठभेड भन्दै हत्या गरिन्छ भने, समयले नयाँ किसिमको धुवीकरणको माग गरेको रहेछ भनेर बुझ्नुपर्ने हुन्छ ।
सञ्चारमन्त्रीका भनाइ सुन्दा उनलाई क्रान्ति र माओवादी जनयुद्धबारे सामान्य ज्ञान पनि रहेनछ भन्नु पर्ने हुन्छ । माओवादी पार्टी र त्यतिबेलाको गिरिजा सरकारबीच भएको ‘विस्तृत शान्तिसम्झौता’ बारे पनि केही ज्ञान रहेनछ भन्नु पर्ने हुन्छ । उनी त भट्टी पसलमा मातेको, होस गुमाएको मान्छे जसरी छाडा किसिमले बोलिरहेका छन् । ओलीका बफादार कारिन्दा हुनुबाहेक उनीसित सामान्य सामाजिक ज्ञान पनि छजस्तो लाग्दैन । मार्क्सवादको सामान्य अध्ययन गरेको मान्छेले त्यति निच किसिमले बोल्दैन । उनले के के बोलेका छन्-छन् । लाजै नमानी उनले बोलेका छन् : “जनयुद्धमा बन्दुक हारेको होइन ?”
प्रस्ट हुनुहोस् सञ्चार मन्त्रीज्यू, न त जनयुद्धले हारेको थियो, न त जनसेना हारेको र थाकेको थियो । यो त प्रचण्ड-बाबुरामहरूले गद्दारी गरेको हो, उनीहरूको दिमागले आत्मसमर्पण गरेको हो, उनीहरूको दिमाग हारेको हो, जनताले उठाएको बन्दुक हारेको होइन । सहिदको रगतसित गाँसिएको बन्दुक हारेको होइन । जनताले उठाएको बन्दुक केही समय कमजोर होला । केही समय हारेजस्तो पनि होला । तर संसारमा जनताले उठाएको बन्दुक हारेको छैन र हार्दैन पनि । एक थरीले गद्दारी गरे पनि नेपाली जनता हारेका छैनन् । हार्ने छैनन् । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न बन्दुकमा टिकेको सत्ताविरुद्ध मार्क्सवाद-लेनिनवाद-माओवादको आलोकमा क्रान्तिका तीन जादुगरी हतियारप्रति प्रतिबद्ध भएर नेपाली जनताले फेरि बन्दुक उठाउने छन् । बन्दुक उठाउने कसैको पनि रहर हुन सक्तैन, तर मुलुक जुन दिशातिर गइरहेको छ, समयले अर्को सङ्ग्रामका लागि आह्वान गरेको छ । र यो दीर्घकालीन प्रकृतिको हुने कुरा स्वत:सिद्ध छ ।
०००
भिडियो फिचरview all