menu

ताजा समाचार

मार्क्सवादी लेखकहरूको नयाँ मोर्चाका सम्बन्धमा

आजभोलि विशेष प्रचार र  हल्ला नसुनिए पनि र फोटो प्रदर्शनको हतारो र चटारो नदेखिए पनि मार्क्सवादी लेखकहरूको नयाँ मोर्चा निर्माणका सम्बन्धमा खासखुस चलिरहेका सन्दर्भहरू प्रकाशमा आएका छन् । यसका लागि तीन सदस्यीय अवधारणपत्र मस्यौदा समिति बनेको र त्यसले असार १० सम्म अवधारणपत्र तयार पारेर “छलफल समिति” सामु प्रस्तुत गर्ने भन्ने निर्णय भएको भन्ने कुरा  चर्चामा आएको थियो । असार १० होइन, साउन १० पनि हुन थालिसकेको छ । ढिलो गर्नु भनेको आफूमै प्रस्ट हुन नसक्नुको अकर्मण्यताको परिणाम हो । यसले गर्दा निकै सकसका साथ गरिएको ‘प्रलेस’ सम्मेलनको वहिष्कारलाई नै उनीहरूले ठूलो विजय ठानेका त होइनन् भनेर प्रश्न उठ्नु स्वाभाविक भएको छ ।

पार्टी सङ्गठन, विचार र लेखकहरूको सङ्ख्याका दृष्टिले पनि बढी चासो र जागरुकता देखाउनु पर्नेहरू नै बढी निष्क्रिय भएकाले समयमा काम हुन नसकेको भन्ने गुनासो पनि सुनिएको छ । यसो हुनुका पछाडि के-कस्ता कारणहरू सक्रिय भए,  यो उनीहरूले जान्ने कुरा भयो । यसै हो भने  यो सुखद सङ्केत होइन । साथै वैचारिक कार्यमा विचार  र अनुभवले खारिएका व्यक्तिहरू लाग्नु पर्नेमा सामान्य साहित्यिक पत्रकारलाई अवधारणापत्र लेखनको जिम्मेवारी दिइएकाले  अवधारणपत्रले आधारभूत मान्यता समेट्न सक्तैन कि भनेर पनि कतिपयले  शङ्का-उपशङ्का गरेको  पाइन्छ ।
 
अहिले नै अमुकलाई लेखनको जिम्मा दिइएकाले वैचारिक रूपबाट खँदिलो अवधारणापत्र आउँदैन भनेर निष्कर्ष निकाल्नु सही हुँदैन । पदावलीहरूको प्रयोग, स्पिरिट र कुन कुरामा जोड दिने भन्ने कुरामा  तलमाथि हुन सक्छ तापनि साझा अवधारण भएकाले त्यसमा खास व्यक्तिका आग्रह र पूर्वाग्रहको अर्थ छैन र हुँदैन । लेख्नुपर्नेहरूले नलेखेपछि जागर चलाएर लेख्न अग्रसर हुनेप्रति टिप्पणी गर्नुको अर्थ छैन । बरु क्रियाशीलताको स्वागत र सराहना गर्नु उचित  हुन्छ ।

मूल कुरा वैचारिक, साङ्गठनिक र नेतृत्व पक्ष हो र यसमा पनि वैचारिक पक्ष प्रधान हो । यसले नै बाँकी कुराको निर्धारण गर्छ ।
 
प्रतिबद्धतासम्बन्धी मालेमाका आधारभूत मान्यताप्रति अरुचि देखाउने, वर्गीय प्रश्नभन्दा जात, क्षेत्र र लिङ्गमा जोड दिने, मार्क्सवादभन्दा ‘उत्तर-मार्क्सवाद’ मा रमाउने, मञ्चहरूलाई सङ्घर्षको थलोका रूपमा भन्दा आफ्नो प्रचारमाध्यमका रूपमा प्रयोग गर्न चाहने प्रवृत्तिसित सांस्कृतिक क्षेत्रमा लामो अवधिसम्म सहकार्य गर्न गारो हुन्छ, यस्तो मोर्चा चल्न पनि सक्तैन । यसमा  प्रस्ट हुनु आवश्यक छ । साहित्यिक-सांस्कृतिक मोर्चा  दीर्घकालीन उद्देश्यसित गाँसिएको रणनीतिक दृष्टिले महत्वपूर्ण मोर्चा हो । यसमा तदर्थवादी तथा जसरीतसरी काम चलाउने प्रवृत्तिले दीर्घकालीन सन्दर्भमा उल्टै अराजकताको अवस्था उत्पन्न हुन सक्छ र परिणाम प्रत्युत्पादक हुन सक्छ । त्यसैले नयाँ साहित्यिक साझा मोर्चा निर्माण गर्न लागेको भनिएको “छलफल समिति” वैचारिक तहमा प्रस्ट र गम्भीर हुनु आवश्यक छ । खास गरेर  कार्यगत एकता तहको अल्पकालीन अथवा रणनीतिक उद्देश्यसित गाँसिएको दीर्घकालीन प्रकृतिको मोर्चा बनाउने भन्ने कुरामा प्रस्ट हुनु आवश्यक छ । 

‘जनमेल’ बडो गम्भीरताका साथ स्थितिको अध्ययन गरिरहेको छ । ‘जनमेल’ सम्बद्ध ‘क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मोर्चा’ ले पनि मार्क्सवादी लेखकहरूको नयाँ मोर्चा निर्माण गर्नु आवश्यक छ भन्ने कुरामा जोड दिएको छ ।  ‘क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मोर्चा’ का संयोजक ऋषिराज बराल भन्छन्— “मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिसम्बन्धी मूल्यमान्यताका सम्बन्धमा प्रस्टताबिना नयाँ मोर्चा निर्माणको अर्थ छैन । त्यसो हो भने त ‘प्रलेस’ छँदैछ नि । यसमा पार्टीसम्बद्ध तथा अन्य अनुभवी लेखकहरू बसेर जति मात्रामा गृहकार्य हुनु आवश्यक थियो, त्यो हुन सकेको देखिएन । कसैले तयार पारेको वैचारिक, साङ्गठनिक र नेतृत्वसम्बन्धी निर्णयमा सबै माओवादी लेखकहरू घुस्रिन जान्छन् जस्तो लाग्दैन ।”

त्यसैले अहिले बनेको भनिएको  ९ जना कि ११ जनाको ‘छलफल समिति’ ले तयार पारेको अवधारणापत्र सार्वजनिक हुनअघि व्यापक छलफलमा लैजानु आवश्यक छ । अन्यथा मोर्चाबद्धताको स्थिति जटिल बन्ने कुरा प्रस्ट छ । वैचारिक प्रश्नका साथै साङ्गठनिक र नेतृत्वको प्रश्नमा पनि प्रस्ट हुनु आवश्यक छ । वास्तवमा पार्टीसम्बद्ध तथा अन्य मार्क्सवादी लेखकहरू बसेर जति मात्रामा गृहकार्य हुनु आवश्यक थियो, त्यो हुन सकेको देखिएन । यसमा गृहकार्यको समस्या रहेको कुरा सही हो ।

‘प्रलेस’ ले लामो समय ओगटेको थियो र हिँडिरहेको बाटो भएकाले चित्त बुझे पनि नबुझे पनि हिँड्न सहज थियो, बानी परेको थियो । नयाँ बन्ने मोर्चा वैचारिक तथा सङ्गठनात्मक दुवै दृष्टिले केही मात्रमा जटिल छ । यसले रोजेको बाटो पनि अलि अप्ठ्यारै छ ।

राजनीतिक क्षेत्रमा नयाँ-पुराना प्रतिक्रियावादी शक्तिहरूको जगजगी छ । साहित्यिक क्षेत्रमा एकातिर ‘उत्तर-वादी'हरू र अर्कोतिर  प्रगतिशीलता र प्रगतिवादको आवरणमा संसदवादी-यथास्थितिवादीहरूले  अनेक भ्रम फिँजाइरहेको स्थिति छ । बहुलवादी-संसदवादी लेखकहरूले प्रगतिवादकै हुर्मत लिइरहेका छन् । यी दुवै मोर्चामा योजनाबद्धताका साथ लड्नु परेको र लड्नु पर्ने स्थिति छ । खासखास पार्टीका सांस्कृतिक मोर्चाहरू नुन खाएको कुखुराझैँ जोखाना हेर्नमा मस्त देखिन्छन् । सबै थकितथकित बनेर झोक्राएका झैँ  देखिन्छन् । ती कुटाइ खाँदाखाँदा थिल्थिलो भएर थला परेजस्ता छन्  । यस्तो बेला एउटा दरिलो लेखक मोर्चा, क्रान्तिकारी मार्क्सवादी लेखकहरूको मोर्चा आवश्यक छ । वैचारिक प्रस्टताबिना यो सम्भव छैन ।

यसको तयारीको काम जसरी अघि बढाउनु आवश्यक थियो, त्यसो हुन नसक्ता अवश्य पनि टिप्पणीको विषय बन्नु स्वाभाविक छ । पुरानो ‘छलफल समिति’ ले काम नगरे त्यसलाई खारेज गरेर नयाँ निर्माण समिति बनाउनु पर्ने आवश्यकता पनि पर्न सक्छ ।
०००
जनमेल टिप्पणी



भिडियो फिचरview all