menu

ताजा समाचार

“हामी सङ्गठन सुदृढीकरणको अभियानमा छौँ” : प्रतीक, प्रवक्ता नेकपा (क्रान्तिकारी माओवादी)

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समतिको बैठक सम्पन्न भएको छ । तीव्र बहसका बीच करिब एक हप्तासम्म चलेको सो बैठकले सङ्गठन र सङ्घर्षका क्षेत्रमा केही महत्त्वपूर्ण निर्णय गरेको भनिए पनि आधिकारिक रूपमा त्यसका निर्णयहरू सार्वजनिक भएका छैनन् । अरू बेला बैठक सम्पन्न भएको भोलिपल्ट नै प्रेसवक्तव्य सार्वजनिक हुने गरेकोमा यसपल्ट तीन दिन बित्ता पनि बैठकका निर्णयहरू प्रकाशमा आएका छैनन् ।

पार्टीले आधिकारिक रूपमा निर्णय सार्वजनिक नगरेको भए पनि कतिपय निर्णयहरू बाहिर आइसकेका छन् र ती निर्णयप्रतिका टीकाटिप्पणी र प्रतिक्रियाहरू पनि सतहमा आइसकेका छन् । खास गरेर पोलिटब्युरोमा गरिएको पदोन्नति विषयलाई लिएर दाबेदारहरू र अन्य सदस्यहरूसमेत गरी १६ जना केन्द्रीय सदस्यहरूले फरक मत दर्ज गरेको र कतिपयले पार्टीसित सम्बन्ध विच्छेद गर्ने घोषणा बैठकमै गरेको भन्ने कुराहरू टिप्पणी र चर्चाका विषय बनेका छन् । बैठकमा गरेका निर्णयहरू के के हुन् र बहस र समस्याका विषय के के हुन भनेर हामीले सो पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य हरिभक्त कडेल  ‘प्रतीक’ सित सङ्क्षिप्त कुराकानी गरेका थियौँ । प्रस्तुत छ त्यसको केही अंश :

जनमेलः बैठक सम्पन्न भएको ३ दिन बित्ता पनि निर्णयहरू बाहिर आएका छैनन्, के कारणले होला ?

प्रतीक :  कारण त्यस्तो  अरू केही होइन, वक्तव्य तयार हुँदैछ । अलि ढिलो त भयो, सायद आज बाहिर आउँछ होला ।

जनमेल : बैठकमा गरमागरम बहस भयो भन्ने छ नि ?

प्रतीक : क्रान्तिकारी पार्टीमा क्रान्ति अगाडि बढाउने कुरामा बहसछलफल  हुन्छन्, सन्दर्भ हेरेर हुने गर्छ । बहसछलफल हुनु नराम्रो होइन, भयो, खुलेरै भयो  ।

जनमेल : बहसछलफल विचार र कार्यदिशामा हो कि अन्य विषयमा ?

प्रतीक : बहसछलफल काम र मूल्याङ्कनका सन्दर्भमा पनि भए र आगामी सङ्घर्षका सन्दर्भमा पनि भए । खास गरेर पदोन्नति र जिम्मेवारी बहनका  सन्दर्भमा बढी भए ।

जनमेल : ७ जना केन्द्रीय सदस्यलाई पोलिटब्युरो सदस्य बनाउने र ७ जनालाई केन्द्रीय सदस्य बनाउने कुरा निकै विवादको विषय बन्यो भन्ने छ । हिजो जनयुद्धदेखि निरन्तरतामा रहेका अनुभवी र प्रतिबद्ध कमरेडहरूलाई बेवास्ता गरेर जुनियर र नेताहरूको खर्चबर्च धान्नेहरूलाई पोलिटब्युरो सदस्य बनाइयो भन्ने छ नि त ?

प्रतीक : अवश्य पनि यो विषय बैठकको सबैभन्दा तात्तातो विषय रह्यो । खुलेरै बहस भयो र कमरेडहरूले पनि खुलेरै मनमा लागेका सबै कुरा भन्नुभयो । बैठकमा मनमा लागेका कुरा भन्नु आपत्तिको विषय होइन । तर सार्वजनिक रूपमा खुलेर कोही आउनु भएको छैन, यो राम्रो कुरा हो । विश्वास छ, आवेग र भावनामा केही भने पनि  वहाँहरू पार्टीहित विपरीत जानु हुने छैन ।

जनमेल : १६ जनाले फरक मत जाहेर गरे भन्ने छ नि, १, २ र ५ नम्बर प्रदेश बढी आक्रोसित देखिए भन्ने छ । कतिपय कमरेडले अब “यो पार्टीमा बसिँदैन, विकल्प तयार पारिन्छ " पनि भन्नु भयो भन्ने छ नि ?

प्रतीक :  १६ जना होइन, ९-१० जनाले असन्तुष्टि जाहेर गर्नुभएको हो । फरक मत राख्नु र असन्तुष्टि जाहेर गर्नु अनौठो कुरा होइन, बैठकमा त हुन्छ नै । आवेगमा कसले के भन्यो भन्दा पनि वहाँहरूले विस्तारै स्थितिलाई बुझ्नुहुन्छ र पार्टी काममा लाग्नुहुन्छ ।

जनमेल :  मूल असन्तुष्टि के मा हो ? विचार, कार्यदिशा अथवा पदोन्नति ?

प्रतिक : वैचारिक पक्ष, कार्यदिशाका सन्दर्भमा त कुनै विवाद नै छैन, रहेन ।  केही परिमार्जन गर्ने भन्दै दस्ताबेज पारित भएको हो । मूल विवाद पदोन्नतिलाई लिएर हो, आवश्यकता भन्दा पनि आफू र आफूले भनेकाको भएन भन्ने हो ।

जनमेल : जिन्दगीको ठूलो हिस्सा, यही पार्टीमा लगानी गरेका, दुस्मनसितको भिडन्तका बीचबाट बचेर आएका पुराना र अहिले पनि निरन्तरतामा क्रियाशीलहरूलाई  बेवास्ता गरेर ‘शान्तिप्रक्रिया’ पछि टुप्लुकिएका र एकदमै कनिष्ठहरूलाई पोलिटब्युरो सदस्य बनाएपछि विवाद हुँदैन त ? यसलाई सही मूल्याङ्कन भन्न मिल्ला र ?

प्रतीक : हिजोको कुराले मात्रै हुँदैन, आज को पार्टीको नीति, योजना र कार्यक्रमलाई लागू गर्न इमानदारीका साथ सक्रियतापूर्वक लागेको छ,  को आफ्नो क्षेत्रमा क्रियाशील भएको  छ भन्ने कुराका साथै ‘एकमा तीन’ र  अन्य विविध पक्षलाई ध्यान दिएर पादोन्नति गरेका हौँ । खासगरेर अनुभवी कमरेडहरू कुमार शाह, ज्ञवाली लगायतहरू योग्य छैनन् भनेको होइन, भनेका छैनौँ । अहिलेको आवश्यकता र औचित्य हेर्दा ज-जसलाई पदोन्नति गर्नु  उचित र आवश्यक देखियो,  त्यही गरेका हौँ । कमरेडहरूले आफ्नो मूल्याङ्कन भएन, पदोन्नति भएन भन्नुहुन्छ, तर पार्टीको नीति, योजना कार्यक्रम र दिएको जिम्मेवारी पूरा गर्ने कुरामा वहाँहरूको भूमिका के रह्यो भनेर आफूलाई पनि हेर्नुपर्यो  नि । समयक्रममा वहाँहरूको पनि पालो आउँछ  । अहिले यही नै सही हो र यसलाई दृढताका साथ लागू गर्ने हो ।

जनमेल : उसोभए यो शुद्धीकरण अभियान हो ?

प्रतीक : शुद्धीकरण नै त नभनौँ, सुदृढीकरण चाहिँ हो ।

जनमेल : वहाँहरूले त विकल्पको कुरा उठाउनु भएको छ त ?

प्रतीक : यो आवेग र आक्रोसमा आएको कुरा हो । त्यसो गर्नुहुन्छ जस्तो लाग्दैन । उहाँहरूको
स्थिति र सीमाबारे हामीलाई थाहा छ ।

जनमेल : अन्य  पार्टीहरूसित एकताका कुरा पनि थिए, त्यसमा चाहिँ कस्तो निर्णय गर्नुभयो त ?

प्रतीक :  एकता र ध्रुवीकरणका कुरा चलिरहने प्रक्रिया हुन् । अहिले हामी आफ्नै पार्टीपङ्क्तिलाई व्यवस्थित र सुदृढ बनाउन चाहन्छौँ । विचार मिल्नेसित बहस-छलफल र कुराकानीको प्रक्रिया रोकिने कुरा भएन, तर यतिखेर आन्तरिक सुदृढीकरण प्रधान बनेको छ । हामी सङ्घर्षका कार्यक्रमसँगै सङ्गठन सुदृढीकरण र ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाउँछौँ ।

जनमेल : एकातिर वाम नाममा ओली-प्रचण्डले भ्रम दिइरहेका छन् । अर्कातिर क्रान्तिकारिताका नाममा बिप्लवहरूले भ्रम दिइरहेका छन् । आम जनतामा क्रान्तिकारी पार्टी भनेको,  अबको विकल्प भनेको नेकपा (क्रान्तिकारी माओवादी) हो भन्ने विश्वास जगाउनु पर्नेमा एकातिर पार्टीका इमानदार र निष्ठावान नेता-कार्यकर्ताहरू एकएक गरेर पार्टी छाडेर गइरहेको स्थिति छ  भने अर्कातिर भएकाहरू पनि “पार्टी सिद्धियो, नेताहरूले सिध्याए, अब पार्टी अगाडि बढ्न सक्तैन, बस्नुको अर्थ छैन” भनिरहेका छन् । यस्तो बेला कसरी होला सङ्गठन सुदृढीकरण ? जनयुद्ध र माओवादका पक्षधरहरू पार्टीबाट अलग्गिँदै जाँदा र  निष्क्रिय हुँदा  पार्टीले भनेको सुदृढीकरणको चरित्र कस्तो होला ? माथिल्लो नेतृत्वमा बसेकाले चाहिं जिम्मेवारी लिनु नपर्ने ?

प्रतीक, यो सबै हामी मिलाउँदै जान्छौँ । साथीहरूले रियलाइज गर्नुहुन्छ भन्ने लाग्छ । हिजो मात्रै देखाएर भएन, वर्तमानको आवश्यकता पनि त हेर्नु पर्यो , वर्तमानमा आफ्नो भूमिका पनि हेर्नुपर्यो  ।
 
जनमेल : सामान्यतः प्रवक्ता र प्रचारप्रसार तथा प्रकाशन एकअर्कासित सम्बद्ध पक्ष हुन् । तपाईँहरूको प्रकाशन पक्ष त्यसमा पनि बाह्य प्रकाशन साप्ताहिक तथा अनलाइन माध्यम त्यति प्रभावशाली र प्रभावकारी हुन नसकेको,  क्रान्तिकारी पार्टीको स्पिरिटलाई वहन गर्न नसकेको चलाउनका लागि चलाएजस्तो र घिसेपिटे शैलीमा चलेको जस्तो तदर्थवादी टाइपको भनेर पाठकहरूबाट टिप्पणी हुने गरेको छ नि ?

प्रतीक : ठीक हो । हामी घिसेपिटे शैलीमा छौँ । यसमा जटिलता छन् । अब नयाँ टिमले काम गर्छ । हामी यसलाई गतिका साथ लैजान्छौँ ।
भिडियो फिचरview all