menu

ताजा समाचार

आत्मसमर्पण, पलायन, पक्राउ र हत्याको चक्रव्यूहमा नेकपा (बिप्लव)

ऋषिराज बराल

विषयप्रवेश
हरेक दिनजसो नेकपा (बिप्लव) सम्बद्ध नेता तथा कार्यकर्ताहरूको आत्मसमर्पण, पलायन र पक्राउका समाचारहरू निरन्तर रूपमा प्रवाहित र प्रसारित भइरहेको अवस्थामा पछिल्ला दिनमा ओली सरकारले सो पार्टीका नेता-कार्यकर्ताको हत्याको शृङ्खलालाई जारी राखेको समाचारहरू आइरहेका छन् । रोल्पा, रामेछाप, दोलखा लगायतका पार्टी इन्चार्जलगायत जिल्लास्तरका अन्य नेताहरूको गिरफ्तारीको समाचार सेलाउन नपाउँदै सर्लाही जिल्लाका इन्चार्ज कुमार पौड्यालको हत्याको समाचार आएको छ । पौडेलको हत्यालाई प्रहरीप्रशासनले दोहोरो भिडन्तको परिणाम भनेको छ भने नेकपा (बिप्लव) ले कब्जामा लिएर हात र टाउकामा गोली ठोकेर हत्या गरिएको भनेको छ । घटनासन्दर्भ र हत्याको प्रकृति हेर्दा दोहोरो भिडन्त नभएर कब्जामा लिएर हत्या गरिएको प्रस्ट हुन्छ । केही दिनअघि भोजपुरमा भएको घटनाका सन्दर्भमा पनि प्रहरी-प्रशासनले दोहोरो भिडन्त भनेको थियो र सम्बद्ध पार्टीले कब्जामा दिएर तीर्थराज घिमिरेको हत्या गरेको हो भनेको थियो ।

मुठभेडका नाममा भोजपुरमा आफ्नो कार्यकर्ताको हत्यापछि  नेकपा (बिप्लव) ले आक्रोसितता प्रस्तुत गर्दै ‘नेपाल बन्द’ को कार्यक्रम राख्यो । बन्दको तयारीका सन्दर्भमा सो समूहका होनहार युवाहरू आन्तरिक दुर्घटनामा परे र थुप्रै पक्राउ पनि परे । अहिले पनि सो पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित थुप्रै केन्द्रीय सदस्यहरू हिरासत र जेलमा छन् । पोलिटब्युरो सदस्य पद्म राईले आत्मसमर्पण गरेका छन् र जिल्ला इन्चार्जसहित थुप्रैले पार्टी परित्याग गरेर पलायनताको बाटो रोजेका छन् । पक्राउ परेका, पलायन र आत्मसमर्पण गरेकाहरूको स्थिति हेर्दा सङ्गठनात्मक रूपमा नेकपा (बिप्लव) अस्तव्यस्तताको स्थितिमा पुगेको बोध गर्न सकिन्छ ।

सो समूहभित्र महासचिव बिप्लव र स्थायी समिति सदस्य प्रकाण्डबीच पार्टीमा वर्चस्व कायम गर्नें विषयलगायत वार्ता र सरकारलाई हेर्ने सम्बन्धमा मतभेद रहेको कुरा पनि विभिन्न माध्यमहरूले प्रकाशमा ल्याएका छन्, साथै  पार्टीले आधिकारिक रूपमा बाहिर नल्याए पनि जिम्मेवारी र क्षेत्रको फेरबदलका कुरा पनि सञ्चारमाध्यमहरूमा आइरहेका छन् । यो सही हो भने सो पार्टीभित्रको आन्तरिक सुरक्षा स्थिति र गोपनीयताको स्थितिप्रति प्रश्न उठ्नु पनि स्वाभाविक हुन्छ ।
 
ओली सरकारको व्यवहार सबैले बुझ्ने गरी प्रस्ट देखिएको छ  । वार्तामा आऊ, यही संविधानभित्र अटाऊ र ‘शान्तिपूर्ण राजनीति’ को अभ्यास गर, नभए दमनको सामना गर भन्ने योजनामा ओली सरकार रहेको प्रस्ट देखिएको छ  । सरकार अब मुठभेडका नाममा सोझै हत्यामा उत्रिएको छ भन्ने कुरा कुमार पौडेलको हत्याले प्रस्ट पारेको छ । यस्तो बेला नेकपा (बिप्लव) अब कसरी जान्छ र अन्य क्रान्तिकारी शक्तिहरूको भूमिका के हुन्छ  भन्ने कुराप्रति  चासो र जिज्ञासा हुनु स्वाभाविक छ ।

विश्लेषणको जोखिम

 वर्गबन्धुले असल नियतका साथ गरेको अलिकति आलोचना पनि सुन्न नचाहने र खराबभन्दा खराब पात्रले उसको स्वार्थका लागि प्रशंसा गरिदियो भने रातारात महान् मित्र ठानिहाल्ने प्रवृत्ति बिप्लवीय प्रवृत्ति हो । उनका विशेष पात्र भनेर चिनिएकाहरूले उनको सिको गर्नु स्वाभाविक छ ।  यस्ता पात्रहरू फरक मत, फरक विचार र उनीहरूको पार्टीका सम्बन्धमा गरिएको वैज्ञानिक विश्लेषण सुन्न र पढ्न चाँहदैनन् । ‘मेरो गोरुको बारै टक्का’ भनेझैँ म र हामी जे भन्छौँ त्यो अन्तिम सत्य हो र त्यसको विरोध गर्नेहरू सत्ताका तावेदार हुन् भन्नसम्म उनीहरू हिँचकिँचाउँदैनन् । भनेर नपुगे लेखेरै समेत सन्तोष लिन्छन् । जनस्तरबाट आएका आलोचना  सुन्न र सहन सक्ने मार्क्सवादी सोचाइ र बुझाइ छैन उनीहरूमा । उच्च रक्तचाप, उच्च चिनी रोग र मनोरोगले आक्रान्त केही पात्रहरूमा सत्य सुन्ने पाचनशक्तिको सर्वथा अभाव देखिन्छ । तर, सही विश्लेषण गर्नु जोखिमयुक्त भए पनि यो आवश्यक छ ।

नेकपा (बिप्लव) को समग्र विश्लेषणअघि अलिकति विगततिर पनि फर्किनु आवश्यक छ ।

रहस्यमय सम्बन्ध विच्छेद

देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूका सामु प्रचण्ड-बाबुरामको आत्मसमर्पणपछि क्रान्तिकारीहरूले विद्रोह गर्नु आवश्यक थियो र भयो पनि । त्यतिबेर विचारको पक्ष केन्द्रमा थियो भनेर अधिकांश कार्यकर्ताले बुझेका थिए । तर समयक्रममा थुप्रै कुरा खुल्दै आए । कतिपयका लागि विचार आवरण मात्र रहेछ, भित्री कुरा अर्कै रहेछ भन्ने कुरा चाँडै सतहमा आयो । एक थरी मन्त्री हुन नपाएको झोकमा र  कोही प्रचण्डसितको रिसमा रन्थनिएका रहेछन् र मन्त्री  र सभासदको मोहमा रहेछन् भन्ने कुरा पार्टीको विभाजनपछि विस्तारै  प्रस्टियो ।

कतिपयहरू  ‘बुढाहरू’ लाई पाखा लगाएर नेतृत्व हातमा लिने र आफ्नो किसिमले सङ्गठन चलाउने योजनामा रहेछन् भन्ने पनि खुल्दै गयो । अवसरवादी बादल प्रवृत्ति, गुरूङ-पम्फा-हितमानको खाओवादी  प्रवृत्ति र बिप्लव-सोनाम प्रवृत्ति खुलेरै सतहमा आए । तिनले उचालेको झण्डा, तिनको लगाव र झुकाव सबै प्रस्टिन थाल्यो । विस्तारै, पार्टीमा वैचारिक पक्षभन्दा आवेग र उत्तेजनालाई प्रधान बनाउने, क्रान्तिका ठूल्ठूला कुरा गर्ने, उमेरजन्य विभेद गराउने र कुनै न कुनै किसिमले आफ्नो भूमिका बढाउने प्रवृत्तिको चलखेल  सुरु भयो । मूलतः “बुढाहरूले सक्तैनन्” भन्दै पार्टीको नेतृत्व कब्जा गर्ने, बार्गेनिङ गर्ने प्रवृत्ति पार्टीमा विस्तारै सक्रिय हुन थाल्यो । यसो हुनुमा ‘बुढाहरू’ को न अघि बढ्न सक्ने न पछि हट्न सक्ने सीमा, कमजोरी र अकर्मण्यताले पनि काम गर्यो । यता बादल, गुरूङ, पम्फा, हितमान जस्ता  अवसरवादीहरूको झूर टिम पनि पार्टीलाई जमेको पोखरीमा सीमित पार्न खोजिरहेको स्थिति थियो । बिप्लव प्रवृत्ति र बादल, गुरूङ, पम्फा, हितमानको दक्षिणपन्थी प्रवृत्तिका विरुद्ध ठोस कदम चाल्नुको साटो मूल नेत्रित्त्वले  पनि मध्यपन्थी मेलमिलापको नीति अबलम्बन गर्यो ।

सातौँ महाधिवेशनमा मिहिन पाराले प्रवेश गरेका विविध प्रवृत्तिहरू त्यसमा पनि बिप्लवीय प्रवृत्ति नै अन्ततः पार्टी विभाजनको कारक पक्ष बन्यो । माथिल्लो तहका नेतृत्वपङ्क्तिमा केही कमीकमजोरी खास गरेर सङ्गठनात्मक पक्ष, कार्यकर्ता परिचालन र सङ्घर्षका कार्यक्रमहरूको परिचालन, अकर्मण्यता र इच्छाशक्तिमा रहेका केही कमीकमजोरी थिए, घिसेपिटे पार्टी शैलीलाई सुधार गर्नु आवश्यक भए पनि पार्टी नै फुटाइहाल्नु पर्ने स्थिति थिएन । तर नेत्रविक्रम चन्द ‘बिप्लव’ मा रहेको चरम महत्वाकाङ्क्षा, नेतृत्वको भोक, व्यक्तिवादी अराजकता, रहस्यमय उठबस र निम्न पुँजीवादी अधैर्यका कारण उनले अप्रत्यासित किसिमले पार्टीसितको सम्बन्ध विच्छेद गरे ।

 बिप्लवमा महत्वाकाङ्क्षा र युवा आवेग मात्र रहेछ, वैचारिक पक्षमा उनी निकै कमजोर रहेछन् भन्ने कुरा पार्टीबाट  सम्बन्ध विच्छेद गर्ने तयारीका क्रममा उनले प्रस्तुत गरेको ‘फरकमत’ को दस्ताबेजले प्रस्ट पार्यो । जनयुद्ध कालको व्यवहारिक अनुभव रहे पनि विचारभन्दा अनुभववाद र आवेगशीलता बिप्लवको हतियार रहेछ भन्ने कुरा प्रस्ट भयो । फरकमतको उनको दस्ताबेज आइसकेपछि उनीबाट केही होला कि भनेर केही मात्रामा भए पनि आशा गर्नेहरू प्रस्ट भए र व्यक्तिगत सम्बन्धका आधारमा, क्षेत्रगत सम्बन्धका आधारमा, यता बस्ता भूमिका नपाएका र व्यक्तिवादी चिन्तन र अराजकतावादी व्यवहारका कारण विवादमा आएकाहरू बिप्लवको पछि लागे । पछि लाग्नेमा विचारको तहबाट सोच्ने र व्यवहार गर्नेहरू भने थोरै थिए र छन् ।

उनको दस्ताबेज वैचारिक रूपमा असाध्यै अन्योलग्रस्त र कतिपय सन्दर्भमा मार्क्सवादविपरीत र विश्व कम्युनिस्ट आन्दोलनको गरिमामय इतिहासप्रति वितृष्णा जगाउने खालको थियो । नेपाली समाजको अन्तर्विरोधको गलत विश्लेषण, क्रान्तिको  चालकशक्तिका सम्बन्धमा भ्रमपूर्ण बुझाइ, नेपाली क्रान्तिको कार्यदिशाका सम्बन्धमा अन्योलता र अमूर्तता मात्र नभई एकहिसाबले कार्यदिशा नै नहुनुको स्थितिमा उनको दस्ताबेज केन्द्रित थियो ।  ‘एकीकृत क्रान्ति’ कार्यदिशा हो अथवा क्रान्तिको चरित्र भन्ने कुरामा अस्पस्टता, नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्तिबारेमा अन्योल, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे भ्रमपूर्ण धारणाले गर्दा दस्ताबेज ‘उत्तर-वादी’ (पोस्ट-इज्म’ ) चिन्तनमा आधारित काला चिन्हहरूको थुप्रोजस्तो बनेको थियो । त्यसमा पनि सत्तासाझेदारीको अवधारणाले आश्चर्यमा पार्नु स्वाभाविक थियो  । यस किसिमको भ्रमपूर्ण दस्ताबेजको क्रान्तिकारीहरूबाट वैचारिक चिरफारका साथ आलोचना हुनु स्वभाविक थियो र भयो पनि ।
 
बिप्लवको दस्ताबेज क्रान्तिकारी विचार र नेपाली क्रान्तिको दिशाको दस्ताबेजको साटो  क्रान्तिकारी विचारबाट सम्बन्ध विच्छेद र फूटको दस्ताबेज बनेको थियो ।  सुरुमा उनलाई पार्टीमा राख्न सकिन्थ्यो र नेतृत्व पङ्क्तिबाट यसमा कमजोरी भयो भन्ने लागे पनि उनी जसरी पार्टीमा प्रस्तुत भए र जसरी अप्रत्यासित र रहस्यमय ढङ्गले बाहिरिए, त्यसले उनी योजनाबद्ध र  निर्देशित किसिमले बाहिरिने स्थितिमा रहेछन् भन्ने कुरा प्रस्टियो । भरिसक्के त्यही पार्टीलाई आफूले चाहेअनुसार चलाउने नभए पार्टी फुटाएर भए पनि आफू नेता बन्ने योजनाका साथ बिप्लव आएका रहेछन् भन्ने उनको व्यवहारबाट प्रस्ट भयो । उनको दस्ताबेज र उनी बाहिरिनुको प्रकृतिलाई उनी बाहिरिएपछि भएको नेकपा-माओवादीको बानेश्वर भेलाले संश्लेषण पनि गर्यो । पार्टीको संश्लेषण मूलतः विचारमा आधारित थियो । पार्टीले त्यसलाई ''वाम खोल ओढेको दक्षिणपन्थी अवसरवादी प्रवृत्ति " भनेर किटान गर्यो ।  

फूटलाई लिएर अनेक टिप्पणी भए/गरिए । आफ्नो व्यक्तिवादी महत्वाकाङ्क्षा पूरा गर्न बाबुराम भट्टराईको उक्साहटमा, राकेश सुदहरूको योजनामा, ‘माइला बाबुसाहेब’ ज्ञानेन्द्र शाहसितको उठबसमा बिप्लवले पार्टी फुटाएका हुन् भन्ने कुरा पनि त्यतिबेर सार्वजनिक टिप्पणी र चर्चाका विषय बनेका थिए । पार्टीविभाजनको समयका कतिपय कुराहरू विचारको तहभन्दा आवेग र आक्रोसको तहबाट व्यक्त हुन्छन् तापनि नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गर्नेताका बाबुराम भट्टराई र रवीन्द्र श्रेष्ठसितको बिप्लवको बढ्दो उठबस चाहिं पार्टीपङ्क्ति भित्र पनि निकै टिप्पणीको विषय बनेको थियो ।

आठौँ महाधिवेशन : थप वैचारिक अन्योल

वैचारिक रूपमा प्रस्ट नभए पनि पार्टीलाई चिनाउन अथवा नयाँ पार्टी गठनको औचित्य स्थापित गर्न जनजीवीका र भ्रष्टाचारका प्रश्नहरूलाई लिएर बिप्लव समूहले केही कार्यक्रम गर्यो  । तर विस्तारै सो समूह प्रचारात्मक होहल्ला र आर्थिक उत्प्रेरणा अभियानमा रुमलिन थाल्यो । के गर्दा प्रचारमा आइन्छ र के गर्दा आर्थिक जोहो गर्न सकिन्छ, त्यसैमा सो समूह सीमित हुन थाल्यो ।  नेपाली समाजको विश्लेषण र क्रान्तिको दिशाका सम्बन्धमा त बिप्लव समूह अन्धकारमा थियो नै, सो समूह विश्व कम्युनिस्ट आन्दोलन, आजको विश्वको अन्तर्विरोध र साम्राज्यवादको चरित्रलाई बुझन् र विश्लेषण गर्ने कुरामा पनि एकदमै अन्धकारमा रहेछ भन्ने कुरा उसले पारित गरेको आठौँ महाधिवेशनको दस्ताबेजले प्रस्ट पार्यो  । कार्यदिशाहीन स्थिति, इतिहासको गलत मूल्याङ्कन, नेपाली समाजको गलत विश्लेषण,  नयाँ जनवादी क्रान्तिको परित्याग,  पार्टी अन्तर्विरोधसम्बन्धी गलत बुझाइ, पार्टीको नाम माओवादी राख्न घाँडो लाग्नुका साथै ‘उत्तर-साम्राज्यवादी’ अर्थात् साम्राज्यवादको अन्त्यको धारणाले बिप्लव समूहका बारेमा थप अन्योल हुनु र अनेक शङ्काउपशङ्का उत्पन्न हुनु स्वाभाविक भयो । वास्तवमा बिप्लव समूहको आठौँ महाधिवेशन सैद्धान्तिक-वैचारिक विचलनको  खुला दस्ताबेज थियो ।

कार्यकर्ता पलायनताको शृङ्खला

“बुढाहरूबाट क्रान्ति पार लाग्दैन, अब हामीले क्रान्ति गर्ने, हतियार उठाउने, वैज्ञानिक समाजवाद स्थापना गर्ने” भनरे आवेग र उत्तेजना उत्पन्न गरेर होहल्लाका साथ कार्यकर्ता जम्मा गरेको बिप्लव समूहले अर्थोपार्जनमा जोड दिन थालेपछि र बर्नस्टिन शैलीमा गोलचक्करमा रमाउन थालेपछि एक थरी कार्यकताले बिप्लवका भित्री यथार्थ बुझदै गए । त्यसपछि तिलक परियार, शरदसिंह भण्डारी, राजेन्द्र कार्की लगायत कतिपय ब्युरो इन्चार्जसहितको ठूलो पङ्क्तिले बिप्लव समूह परित्याग गर्यो  । एक हिसाबले आर्थिक सुखसुविधा पाएका र  धाकधम्कीमार्फत आर्थिक सम्पन्नता उपयोग गरेका केही कार्यकर्ता, बिप्लव र प्रकाण्डका खास विश्वास पात्रहरू र ‘युवा’ का नाममा प्रोत्साहित गरिएका विचारहीन पात्रहरूबाहेक विचार, तर्क र इमानका आधारमा काम गर्ने कार्यकर्ताहरू त्यहाँ बस्ने स्थिति नबनेपछि विस्तारै कार्यकर्ताको एउटा पङ्क्ति सो समूहबाट अलग्गिन  थाल्यो र कतिपय निष्क्रिय पनि बने  । पछिल्लो चरणमा बिप्लवका सारै नजिकका, विश्वास गरेका भनिएका जनयुद्धकालदेखिका पुर्बेली युवा नेता किरण राईले पनि उनको साथ छाडे र अहिले यो निरन्तरतामा छ  ।

चुनाव र अन्तर्विरोध

वर्तमान संविधान निर्माणमा खुसियाली मनाउनेहरूले यस अन्तर्गतका चुनावमा सहभागी हुनु स्वाभाविक थियो ।  यो संविधान जनपक्षीय संविधान होइन र यसमा सहभागी भएर क्रान्तिकारी परिवर्तन र नयाँ जनवादी क्रान्तिलाई सहयोग पुग्दैन, बरु उल्टै भ्रम उत्पन्न हुने हुनाले चुनाव बहिष्कार गर्नु आवश्यक थियो र यही नै औचित्यपूर्ण हुन्थ्यो । आफूलाई क्रान्तिकारी पार्टी र शक्ति मान्नेले गर्नुपर्ने काम र कार्यनीतिगत बुझाइ यही नै हुन्थ्यो । आफूलाई क्रान्तिकारी भन्ने अमुकहरू चुनाव आयोगमा पार्टी दर्ता गर्न तँछाडमछाड गरिरहेको अवस्थामा यस मामलामा नेकपा (बिप्लव) ले अँगालेको बहिष्कारको नीति सही थियो । तर यसलाई उसले राजनीतिक प्रचारात्मक र चेतनामूलक अभियानका रूपमा भन्दा बमबारुद, पट्याकपुटुक र भौतिक आक्रमणमा बढी जोड दिएको देखियो । कतिपय ठाउँमा उमेदवारबाट पैसा लिएको, अमुकलाई हराउन र अमुकलाई जिताउन सम्झौता गरेको भरपर्दा सन्दर्भहरू पनि चर्चामा आए । पट्याकपुटुकको सन्दर्भलाई पनि उसले कतै पनि कुनै पनि घटनामा आफूले गरेको नभनेर ‘अज्ञात समूह’ भनेर जिम्मेवारी लिएको देखिएन । त्यसै गरी उसको प्रहारको निसाना काङ्ग्रेसभन्दा बढी एमाले-प्रचण्ड समूहमाथि रहेको देखियो । कतिपय घटना र सन्दर्भमा  बुझिने गरी नै उसले नेपाली क्राङ्ग्रेसलाई सहयोग गरेको देखियो ।

कार्यकर्ताको बलिदान, राजनीतिक प्राप्ति शून्य र काङ्ग्रेसपरस्त भनेर बुझिने उसको चुनाव बहिष्कार अभियान उपलब्धीमूलक हुन सकेन । चुनाव बहिष्कारको नीतिलाई सही किसिमले लान नसकेका कारण उल्टै उसप्रति नरम र सहयोगात्मक भाव अँगालेकाहरूसितको उसको सम्बन्धमा तिक्तताको विस्तार भयो । आम जनमामनसमा “बिप्लवको चुनाव बहिष्कारका गतिविधिहरू काङ्ग्रसको हितमा” भन्ने प्रभाव पर्यो । बहिष्कार आन्दोलनलाई ठीक ढङ्गले लान नसक्ता यसले अपेक्षित राजनीतिक उपलब्धी हासिल गर्न सकेन । प्रचारात्मक प्रभाव पनि कमजोर रह्यो ।

पार्टी एकताको चर्चा
 
पार्टीको सङ्गठनात्मक अवस्था कमजोर बन्दै जानु, पार्टी गोलचक्करमै रुमलिनु,  अन्य क्रान्तिकारी पार्टी तथा समूह र व्यक्तिसितको सम्बन्ध  बिग्रनु,  पार्टी आम जनता तथा शुभचिन्तकहरूबाट अलगथलग भएर खासखास व्यक्तिहरूमा सीमित हुनुले विचार र इमानका आधारमा चल्न  खोज्ने कार्यकर्ताहरूमा क्रान्तिकारी पार्टी, समूह र व्यक्तिहरूसित एकता हुनुपर्छ भन्ने स्पिरिट देखा पर्नु स्वाभाविक थियो । खास गरेर तल्लो तह, मूलतः जिल्ला तहका कार्यकर्ताबाट क्रान्तिकारीहरूबीच एकता हुनुपर्छ भन्ने  धारणा जब्बर रूपमा उठ्न थाल्यो । जनयुद्धबाट आएको एउटा शक्तिले गद्दारीको बाटो समातेपछि माओवादी आन्दोलनको झण्डालाई एकताबद्धताका साथ क्रान्तिकारीहरूले उठाउन् भन्ने चाहना उत्पीडित जनतामा पनि थियो र छ । सैद्धान्तिक-वैचारिक आधार तयार पारेर एकताबद्धताका साथ माओवादी आन्दोलनलाई नयाँ दिशा र गति दिनु समयको आवश्यकता थियो । एक थरीले गद्दारी गरे पनि हामी क्रान्तिको झण्डाको रक्षा गर्न  तयार छौँ भन्ने उत्साह र क्रान्तिकारी आशावादको सञ्चार पार्टी ङ्क्ति र आम जनतामा  गरिनु आवश्यक थियो ।

यसक्रममा केही प्रयासहरू भए । व्यक्तिगत र सामूहिक रूपमा प्रयासहरू भए । कम्युनिस्ट न्युक्लिअस, नेपाल गठन भएपश्चात कमरेड सुदर्शन र कमरेड बरालले यसलाई तीव्रता दिन खोजेका हुन् । कम्युनिस्ट न्युक्लिअस, नेपालले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) र नेकपा (बिप्लव) बीचको एकतालाई प्राथमिकतामा राखेर आधारभूत सैद्धान्तिक-वैचारिक आधार निर्माण गरेर सबै क्रान्तिकारीहरू एक ठाउँमा आउनुपर्छ भनेर सामूहिक तथा व्यक्तिगतरूपमा प्रयास गरेको पनि हो । विभिन्न बाध्यात्मक कारण देखाएर कमरेड सुदर्शनले नेकपा (बिप्लव) मा मिसिन हतारो गरेपछि एकता प्रयासले अपेक्षित गति लिन सकेन । पछि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) को पोखरा भेला र नेकपा (बिप्लव) को पोखरा बैठकको सेरोफेरोमा पनि एकताको प्रश्नलाई लिएर दुवै समूहसित पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपालले छलफल चलाएको हो । खास गरेर यस विषयमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र यसका महासचिव कमरेड किरणले निकै गम्भीरताका साथ एकता प्रक्रियालाई ठोस रूप दिने प्रयास गर्नु भएको हो । यसक्रममा मोहनविक्रम, कट्टेल समूहसित समेत छलफल चलाए पनि मूल रूपमा बिप्लव समूहलाई एकतामा लाउनमा नै प्रयासहरू केन्द्रित थिए ।

विडम्बनाको कुरा, एकताको प्रयासमा निकै घतलाग्दा र तीता अनुभवहरू हासिल भए । एकताको कुरा गर्ने, तर अग्रसरता नदेखाउने । एकता हुन सक्तैन पनि नभन्ने, तर एकएक बहाना र निहुँ खोजेर व्यवहारमा अघि नबढ्ने प्रवृत्ति बिप्लव समूहमा देखियो । आधारभूत वैचारिक आधार तयार पारेर दुवै पक्षका खासखास नेता बसेर छलफल गर्ने भनिए पनि यसप्रति नेकपा (बिप्लव) ले चासो र जागरुकता देखाएन ।  उल्टै सो समूहका जिम्मेवार व्यक्तिबाट एकता विरोधी विचार र व्यवहार प्रस्तुत गर्ने काम भयो । “एकता होइन, ध्रुवीकरण, अमुकअमुक दक्षिणपन्थी, अमुकअमुकलाई नेता मान्न सकिन्छ, तर मूल जिम्मेवारी दिन सकिँदैन, कमजोर भएकाले एकतामा आउन खोजेका, हामी धेरै अघि बढि सक्यौं,  हाम्रो नीति, योजना र  कार्यदिशामा सबै चल्नुपर्छ” आदिआदि भनेर एकताविरोधी विचार सार्वजनिक गरेपछि बिप्लव समूह वैचारिक एकता चाहँदैन, नेकपा (क्रान्तिकारी माओवादी) र एकता चाहने अन्य समूह र व्यक्तित्वहरू बिप्लव समूहमा विलिन होउन् भन्ने चाहन्छ भन्ने कुरा प्रस्ट भयो । विचारका आधार निर्माण गरेर छरिएका समूह तथा व्यक्तिहरू एउटै झण्डामुनि गोलबद्ध हुनुपर्छ भन्ने पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपालको चाहना र कमरेड किरणको प्रयासलाई बिप्लव समूहले कमजोरी ठान्यो । पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपालका तर्फबाट गरिएको प्रयासलाई बिप्लव समूहका एकजना उच्च रक्तचाप र उच्च चिनी रोगी, सारमा मनोरोगले ग्रस्त मझौला ‘नेता’ ले “एकताका नाममा अमुकले आफ्नो भूमिका विस्तार गर्न खोजेको, टाउको घुसार्न खोजेको”  जस्ता पाखण्डपूर्ण अभिव्यक्ति प्रकट गरे  । यो निकृष्ट चिन्तनको उपज थियो । बिप्लवको सारै नजिक भनिएका ती पात्रका कारण पनि  एकताप्रक्रिया भाँडिनुका साथै अन्य पार्टीसितको  सम्बन्ध बिग्रिएको हो । सारमा यिनी हीनत्वग्रंथीका बिरामी रहेछन् ।

पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपालसित त बिग्रेकै  थियो, पछि बिप्लव स्वयंको  चिन्तनको निकृष्ट धरातललाई दर्शाउने पुस्तक ‘महापतन’ मा कमरेड किरणप्रति तुच्छ विचार व्यक्त गरेपछि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र  बिप्लव समूहबीचको सम्बन्धमा थप तिक्तता देखा पर्नु स्वभाविक थियो । कमरेड किरण र नेकपा ( क्रान्तिकारी माओवादी) प्रति बिप्लवको विचार र व्यवहारमा देखिएको नकारात्मक र ठेट्ना प्रवृत्तिका कारण दुई पार्टीबीचको सम्बन्धमा चिसोपन आउनु स्वाभाविक थियो ।  यस्तै परिदृश्यका बीच  नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य कमरेड वसन्तको लेखमार्फत बिप्लव समूहसितको एकताप्रक्रियामा पूर्णविराम लागेको निर्णय सार्वजनिक भयो ।

कार्यगत एकतामा पनि समस्या

राष्ट्रियता र जनजीवीका आदि समस्याहरूलाई लिएर विविध कार्यक्रम गर्न नेकपा (क्रान्तिकारी माओवादी),  मोहनविक्रम समूह,  बिप्लव समूहलगायतका समूहहरूबीच साझा समझदारी बनेको थियो । तर बिप्लव समूहले मोहनविक्रम समूहका कार्यकर्तामाथि गरेको व्यवहार र साझा मञ्चमा साझा अवधारणा, अनुशासन र आचारविपरीत बिप्लव समूहका नेताहरू प्रस्तुत  भएपछि मोहनविक्रम समूहले वक्तव्य नै निकालेर बिप्लव समूहसित कार्यगत एकतामा जान नसकिने भनेर घोषणा गर्यो  । यसरी पछिल्ला दिनमा नजिकका भनिएकाहरूबीचको पार्टी एकताका सन्दर्भमा मात्र नभई, बिप्लव समूहसित कार्यगत एकताको स्थितिसमेत नरहेको अवस्था उत्पन्न भयो ।  एक हिसाबले बिप्लव समूहको व्यवहारका कारण नजिकका पार्टीहरू र शुभचिन्तकहरूबाट सो समूह टाढियो, भनौं एक्लियो  । यसो हुनुमा बिप्लव समूहको एक्लेवीर र ठालूवादी प्रवृत्ति सारतः नेपाली जनक्रान्ति सम्बन्धी वैचारिक अन्योल र अस्पष्टताका साथै सत्रु र मित्र खुट्याउन नसक्ने प्रवृत्ति नै प्रमुख कारक तत्व बन्यो । नियतमाथि नै प्रश्न उठ्ने/उठाउने स्थिति बन्यो । आलोचनाप्रति अति असहिँष्णुता, आफूबाहेक अरूको अस्तित्व नदेख्ने र नसहने चिन्तन,  गलत क्रियाकलाप नसच्याउने र आत्मालोचना गर्न नचाहने प्रवृत्ति, गतव्यहीन हिँडाइ र दिशाहीन यात्राका कारण बिप्लव समूह आफ्ना नजिकका मित्रशक्ति  र शुभचिन्तकहरूबाट  एक्लिदै गयो  । यसले  उसमाथि प्रहार गर्नेहरूलाई सहज वातावरण बनायो ।  वास्तवमा ऊ क्रान्तिकारीहरू भन्दा पनि अर्कैअर्कै प्रवृत्तिका मान्छेहरूसितको सम्बन्धमा रमाउन थालेको देखियो । यस यथार्थलाई बिप्लवको महापतनलगायत पछिल्ला लेखादि तथा अन्तवार्ताहरूले नै खुलस्त पारेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्धमा पनि एक्लो

नेकपा-माओवादीसितको सम्बन्ध विच्छेदपछि नै प्रश्नका रूपमा हेरिएको बिप्लव समूहप्रति अन्तर्राष्ट्रिय माओवादी आन्दोलनसित सम्बद्ध सङ्घसंस्थाहरू प्रस्ट हुन सकेनन् मात्रै होइन, यसलाई उनीहरूले महत्त्व नै दिएनन् । त्यसमा पनि उसका गलत चिन्तनलाई लिएर नेपालका क्रान्तिकारी माओवादी सङ्गठन तथा व्यक्तित्वहरूले अङ्ग्रेजीमा लेख लेखेर प्रस्ट पारेपछि नेकपा (बिप्लव) का बारेमा अन्तर्राष्ट्रिय भाइचारा माओवादी पार्टीहरू थप प्रस्ट भएका छन्  । खास गरेर आठौँ महाधिेशनमा पारित उत्तर-साम्राज्यवाद (पोस्ट-इम्पेरियलिज्म) सम्बन्धी धारणाको चर्को आलोचना भएको छ । बिप्लव समूहका कतिपय सैधान्तिक-वैचारिक प्रश्नहरूप्रति  उनीहरूलेआश्चर्य प्रकट गरेका छन् । बिप्लव समूहले बेलाबेलामा चर्चा गर्ने गरेको अन्तर्राष्ट्रिय पार्टी सम्बन्ध माओवादी पार्टीहरूसित नभएर चुनावी संसदवादी ‘कम्युनिस्ट’ नामका पार्टीहरूसितको हो, जसले माओवादको विरोध गर्छन् । मे दिवसमा विश्वभरिका माओवादी पार्टीहरूले प्रकाशित गर्ने संयुक्त विज्ञप्तिमा बिप्लव समूहको संलग्नता नदेखिनुले पनि उसको अन्तर्राष्ट्रिय भाइचार पार्टीहरू र माओवादी कम्युनिस्ट आन्दोलनसितको सम्बन्धको अवस्थालाई बुझ्न सकिन्छ ।

पछिल्लो एनसेल प्रकरण

के गर्दा चर्चामा आइन्छ त्यही गर्ने, कुनै न कुनै किसिमले पत्रपत्रिकमा आइरहन चाहने, क्रान्ति सम्बन्धी आधारभूत गुणात्मक काम भन्दा प्रचार र होहल्लामा रमाउने प्रवृत्ति बिप्लव समूहको प्रवृत्ति हो । चर्चामा आइरहने चाहनासित आर्थिक पक्ष पनि जोडिएको छ । आर्थिक सङ्कलनका लागि कहिले ‘भ्रष्टाचार विरोधी अभियान’, कहिले ‘गोदाम फोर अभियान’ कहिले ‘खाद्य सम्प्रभुता अभियान’, कहिले बोर्डिङ स्कुल ‘शुल्क घटाउन अभियान’ उसले चलाएको छ । यसका साथै आयल निगमका  गोपाल खड्का प्रकरण,  चूडामणि शर्मा प्रकरण, एनसेल प्रकरण सँगै थुप्रै प्रकरण  बिप्लव समूहसित गाँसिएका छन् । वैचारिक भन्दा  आर्थिक कारण, आर्थिक स्रोत कसको कब्जामा रहने भन्ने प्रश्न नै बिप्लव र प्रकाण्डबीचको अन्तर्विरोधको मूल चुरो हो भन्ने गरिन्छ ।

पछिल्लो एनसेल प्रकरण एक हिसाबले उच्च प्रकारको  प्रकरण थियो । चन्दा अभियानसित जोडिएको सो प्रकरणमा एक जनाको मृत्यु पनि भएको थियो ।  अरूबेला अज्ञात समूह भनिए पनि यसपल्ट पार्टीको स्थायी समिति सदस्य सुदर्शनले  गौरवका साथ सो बम विष्फोट आफ्नो नेतृत्वमा आफ्नो पार्टीले गरेको भनेर जिम्मेवारी लिएका थिए र सत्ताधारीहरूलाई प्रहारका लागि सहज  आधार प्रदान गरेका थिए ।

पार्टीमाथिको प्रतिबन्ध

एकएकवटा बहाना खोजिरहेको सत्ताधारीका लागि पछिल्लो 'एनसेल प्रकरण ' दरिलो आधार बन्यो । त्यसपछि फागुन ३०, २०७५ मा ओली सरकारले नेकपा (बिप्लव) माथि प्रतिबन्ध लगायो । गतिविधिमाथि प्रतिबन्ध  भनिए पनि यो सो पार्टीमाथि नै प्रतिबन्ध थियो । यसको तीव्र प्रतिक्रिया हुनु स्वाभाविक थियो । पार्टीमाथि प्रतिबन्ध लागेको इतिहास भोगेका र सङ्घर्ष बोकेकाहरूले कुनै पनि पार्टी त्यसमा पनि कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने कुराको विरोध गर्नु स्वाभाविक थियो । आ-आफ्नो बुझाइ र स्वार्थअनुरूप नेकपा (बिप्लव) माथि लागेको प्रतिबन्धको विरोध भयो । कम्युनिस्ट न्युक्लिअस, नेपाल र नेकपा (क्रान्तिकारी माओवादी) ले वैचारिक विश्लेषणसहित प्रतिबन्धको निन्दा तथा भ्रत्र्सना गर्दै प्रतिबन्ध खारेज हुनु पर्ने कुरा जोडदार रूपमा उठाए र उठाइरहेका छन् ।

नेकपा (बिप्लव) माथि लागेको प्रतिबन्धलाई लिएर कम्युनिस्ट विरोधी शक्तिका रूपमा स्थापित काङ्ग्रेस र राप्रपा थापासमेतले विरोध गरेका छन् । अझ उनीहरूले बिप्लव पार्टीका सबैभन्दा नजिकका शक्ति र  शुभचिन्तकका रूपमा आफूहरूलाई प्रस्तुत गरेका छन् । वास्तवमा पछिल्ला दिनमा नेकपा (बिप्लव) र व्यक्ति बिप्लवका पक्षमा जेजस्ता व्यक्तिहरू अगाडि आएका छन् र बिप्लवको भूमिकालाई विस्तारित गराउन लागेका छन्, यसले प्रश्न उठ्नु/ उठाउनु स्वाभाविक छ ।  भारतीय माध्यमहरूले पनि महत्वका साथ बिप्लव समूहको प्रचार गरेको पाइन्छ । माओवादी आन्दोलनलाई सत्तोसराप गर्ने गणतन्त्र विरोधी पूर्व शाही सेनाका उच्च अधिकृतदेखि दरवारिया पत्रकारका रूपमा परिचित अमुक पत्रकार र पीध नभएको लोटाका रूपमा चिनिने सेवा निवृत्त कतिपय प्राध्यापकहरू समेत बिप्लव समूहको प्रवक्ता बनेको पाइन्छ ।  र बिप्लवले पनि उनीहरूको खुलेर प्रशंसा गरेको देखिन्छ । बिप्लवको विचारप्रतिको सम्मोहन हो अथवा अरू केही, प्रश्न उठ्नु स्वाभाविक छ ।

 बिप्लवका अभिव्यक्ति हेर्दा पनि उनको आकर्षण र लगाव माओवादी क्रान्तिकारीहरूभन्दा त्यस्तै दरवारिया पात्रहरू र गणतन्त्र विरोधी शक्तिहरू र दोग्ला खालका बुद्धिजीवीहरूप्रति बढी रहेको देखिन्छ । बिप्लवले आफ्नो पछिल्लो अन्तवार्तामा पनि त्यस्तै केही बुद्धिजीवीको चर्चा गरेका छन् ।  पछिल्लो स्थितिमा  बिप्लवको सुसम्बन्ध र सुमधुरता कमरेड  मोहन वैद्यको नेतृत्वमा रहेको पार्टी  र माओवादी बुद्धिजीवीहरूभन्दा अन्य तप्काका व्यक्तिहरूसित रहेको देखिन्छ । जस्तोसुकै घोर दक्षिणपन्थी भए पनि उनी र उनको पार्टीको समर्थनमा बोलेपछि उनको सबैभन्दा प्रिय पात्रका रूपमा ऊ उभिन्छ–चाहे ती नाकाबन्दीका  मतियारहरूसित मिसिएर नेपालमा ढुङ्गा हान्नेहरू र दरवारिया बदनाम  पात्रहरू किन नहोऊन् ।  यसै अर्थमा पछिल्ला दिनमा बिप्लवका आफन्त र पराईसम्बन्धी परिभाषा र  पहिचान  फेरिएको छ भन्न सकिन्छ ।

क्रान्तिकारीहरूको दायित्व

क्रान्तिकारीहरू अमुकका गलत विचारको आलोचना गर्दै सच्चियोस् भन्ने कामना गर्छन् । बिप्लवका बुझाइ र व्यवहार क्रान्तिकारीहरूप्रति सकारात्मक हुन नसके पनि क्रान्तिकारीहरूले राज्यआतङ्क र दमनको विरोध गर्नुपर्छ र गरिरहेका छन् । क्रान्तिकारी शक्ति र व्यक्तिहरूले  नेकपा (बिप्लव) माथि लगाइएको प्रतिबन्ध हटाउन माग गरेका छन् । अवश्य पनि नेकपा (बिप्लव) का  विचार र व्यवहार, साथै  कतिपय बुझाइ मार्क्सवादसित अलिकति पनि मेल खाँदैनन् । राज्यसत्ता र  सरकारका महत्वपूर्ण अङ्ग हुन् प्रहरी र सेना । प्रहरी र सेनालाई केही नगर्ने नेतामाथि प्रहार गर्ने भन्ने सो समूहको धारणा मार्क्सवाद र राज्यसत्तासम्बन्धी आधारभूत मान्यताविपरीत छ । सामान्य रूपमा पनि यो हाँसउठ्दो बुझाइ हो । यसले  वैचारिक टाटपल्टाइ मात्र दर्शाउँछ । र पनि नेकपा (बिप्लव) का सकारात्मक पक्षप्रति सकारात्मक बन्दै र उसका गलत बुझाइ र चिन्तप्रति मित्रतापूर्ण आलोचक बन्दै उसमाथि लागेको प्रतिबन्धका विरुद्ध उभिनु क्रान्तिकारीहरूको दायित्व बन्छ ।

क्रान्तिकारीहरूको चाहना गल्तीकमजोरी सच्याउँदै नेकपा (बिप्लव) सही अर्थमा क्रान्तिकारी धारमा आवस् भन्ने नै हो । सो समूहमा अझै पनि  इमानदार र क्रान्तिप्रति समर्पित कार्यकर्ताहरू छन् भन्ने कुरालाई क्रान्तिकारीहरूले बिर्सनु हुन्न  । उनीहरूलाई क्रान्तिको बाटोमा ल्याउने जिम्मेवारी पनि क्रान्तिकारीहरूको हो ।
 
अब के गर्छ नेकपा (बिप्लव)

चुनाव बहिष्कारदेखि यताका नेकपा (बिप्लव) का गतिविधिहरूपछि सत्ताधारीहरू कुनै पनि बेला आक्रामक रूपमा आउन सक्छन्, पार्टीमाथि धावा बोल्न सक्छन् भनेर मानसिक, वैचारिक,  प्राविधिक र सामरिक तयारीमा नरहनु, कार्यकर्तालाई त्यसैअनुरूप प्रशिक्षित गर्न नसक्नु  नेकपा (बिप्लव) को ठूलो कमजोरी हो  । उसले स्थितिको सही आकलन गर्न सकेको देखिएन । फलस्वरूप कतिपय जिल्ला नै रित्तिएको स्थिति देखिन्छ  ।  कति कार्यकर्ता पलायन भए, कतिले आत्मसमर्पण गरे त्यसको एकिन तथ्याङ्क पनि थाहा हुन सकेको छैन । सो पार्टीले पक्राउ परेका र जेलमा रहेका कार्यकर्ताको अद्यावधिक विवरण पनि सार्वजनिक गरेको छैन । प्रहरीले सो समूहका ५४० नेताकार्यकर्ता पक्राउ गरेको कुरा उल्लेख गरेको छ ।

नेकपा (बिप्लव) सित रहेका इमानदार कार्यकर्ता पङ्क्तिलाई पलायन हुन, आत्मसमर्पण गर्न  र पक्राउ र हत्या हुनबाट बचाउनु आवश्यक छ  । यसका लागि सबैभन्दा पहिले सो समूह वैचारिक पक्षका साथै नेपाली क्रान्तिको चरित्र र दिशाका बारेमा प्रस्ट हुनु आवश्यक छ ।  मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियारका बारेमा प्रस्ट हुनु पहिलो सर्त  हो । दमन गर्ने र आत्मसमर्पण गराउने,  नभए मुठभेडका नाममा हत्या गर्ने योजनबद्धतामा सत्ताधारीहरू छन् भन्ने कुरा कमरेड पौडेलको हत्याबाट प्रस्ट हुन्छ । आफ्नै वर्गबन्धुबाट टाढिएको र दिशाहीन स्थितिमा रहेको सानो शक्तिले लामो समयसम्म प्रतिरोधात्मक लडाईं थेग्न सक्तैन भन्ने कुरा प्रस्ट छ । यसले निम्ताउने स्थिति भनेको अनावश्यक बलिदान, पलायन र विसर्जन नै हो । यसमा टर्कीका छापामार नेता मिहिर चायन र टुपाक अमारुको सन्दर्भ पनि शिक्षाको विषय हुन सक्छ ।

 २०५२ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले जनयुद्ध आरम्भ गर्दा सबै खाका प्रस्ट थियो । प्रधान र गौण अन्तर्विरोध, मित्र र सत्रु , कार्यदिशाको स्पष्टता, कार्यनीतिक शृङ्खला सबै प्रस्ट थिए । “जनयुद्धको दिशामा अघि बढौँ” को नाराका साथ स्वयमसेवक दल, छापामार सेना, छापामार इलाका,  आधारइलाका, चलायमान सेना, रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीतिक आक्रमणको योजनाका साथ अघि बढेको अवस्था थियो । परन्तु अहिले बिप्लव समूहका कामकुराहरू जतिबेर जे आइपर्छ सोहीअनुसार गर्ने तदर्थवादी प्रकृतिका देखिन्छन् । त्यहाँ आक्रोस, आवेग, कुण्ठा र योजनाविहीनता सिबाय केही छैनजस्तो देखिन्छ–सबै कुरा असरल्ल  ।

वास्तवमा बिप्लवले लोकप्रिय नारा र नाम मार्क्सवाद-लेनिनवाद-माओवाद समातेका छन्,  तर व्यवहारमा यसका आधारभूत पक्षको परित्याग गरिसकेका छन् । बिप्लव हिँडेको बाटो माओले देखाएको बाटो होइन ।  बिप्लव उपयोगितावाद, अधैर्य, मनोगतता र शीघ्र लाभको चक्रब्यूहमा फसेका छन् । वैचारिक भन्दा भावानात्मक आवेगले उनी काम चलाइरहेका छन् । आत्मसमीक्षाबिनाको “अघि बढाइ” को अर्थ छैन । उनीहरू “हामी निकै अघि बढ्यौँ” भन्छन्, कता बढेका हुन् त्यसको अत्तोपत्तो छैन । क्रान्तिकारी आशावादको जग भनेको क्रान्तिकारी विचार, प्रस्ट  कार्यदिशा र योजनाबद्धता हो र यो पक्ष बिप्लवको दस्ताबेजबाट हराइसकेको छ । आवेग, आक्रोस र कुण्ठाले पलायनतातर्फ प्रवृत्त गराउँछ । क्रान्तिकारी हुनुको अर्थ आत्मसमीक्षक पनि हुनु हो । बिप्लव समूहमा यसको सर्वथा अभाव देखिएको छ ।

सक्रिय रक्षाको प्रश्न

सर्लाहीका इन्चार्ज कमरेड कुमार पौडेलको हत्याको विरोधमा  बिप्लवले वक्तव्य जारी गर्दै “पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन निर्देशन गर्दछ”  भनेका छन् ।

नेकपा (बिप्लव) भित्र विभिन्न प्रकृति र प्रवृत्तिका कार्यकर्ता तथा नेताहरू छन् । त्यहाँ इमानदार र निष्ठावान पात्रहरू पनि छन् । तिनले पलायनताको बाटो नरोजून् र  विचलनको स्थिति नभोगून् भनेर  तिनको रक्षा गरिनु आवश्यक छ । पार्टीले सही नीति, योजना र कार्यक्रम दिन सक्यो भने मात्र तिनले सही दिशा समात्छन् र उनीहरूको रक्षा पनि हुने हो । माओवादी हेराइमा रक्षाका दुई -सक्रिय र निष्क्रिय पक्ष हुन्छन् । निष्क्रिय रक्षा  भनेको आत्मसुरक्षावादी र पलायनवादी भगुवा  र कुना पसेर जसरी पनि जोगिने प्रवृत्ति हो भने सक्रिय रक्षा विचार, अवधारणा, योजना, सङ्घर्ष र आन्दोलनका बीचबाट कार्यकर्ता तथा नेताको रक्षा गर्ने नीति तथा पद्धति हो । यहाँ आक्रमणका माध्यमबाट रक्षाको प्रश्न प्रधान बन्छ । यो काम सही विचार, सही कार्यदिशा, व्यापक जनसम्बन्धबाट मात्र सम्भव हुन्छ, आवेगपूर्ण भाषिक अभिव्यक्ति,  आक्रोस र  जार्गनयुक्त शब्द अभिव्यक्तिबाट होइन । नेकपा (बिप्लव)को अहिलेको सोचाइ, बुझाइ, ‘कार्यदिशा’ र योजनाहीन हिँडाइ र तदर्थवादी चिन्तन र व्यवहारबाट नेता तथा कार्यकर्ताको सुरक्षा हुन सक्तैन भन्ने कुरा प्रस्ट छ । नेकपा (बिप्लव)  र नेता स्वयमले मार्क्सवाद-लेनिनवाद-माओवादको क्रान्तिकारी धारलाई आत्मसात गर्नै पर्ने हुन्छ । विजातीय शक्ति र तत्वहरूसित होइन, बर्गबन्धुहरूसितको सम्बन्धलाई मजबुत र व्यापक बनाउनु  पर्ने हुन्छ ।

सही अर्थमा माओवाद अबलम्बन गर्ने हो र  नेपाली क्रान्ति सम्पन्न गर्ने हो भने नयाँ जनवादी क्रान्तिको बाटोबाट अघि बढ्नुको विकल्प छैन । एक्लेवीर प्रवृत्तिको प्रदर्शन होइन, फासिवादी राज्यआतङ्क विरुद्ध व्यापक मोर्चा निर्माण गर्नु आवश्यक हुन्छ । नेता र कार्यकर्ताको सक्रिय रक्षाको बाटो भनेको छापामार इलाकाको निर्माण र छापामार युद्धको बाटोबाट गुणात्मक दिशामा अघि बढ्नु नै हो । यसको अवधारणाप्रति प्रस्टता र तयारीबिनाको सक्रिय रक्षाको कुरा  कोरा भनाइसिबाय  केही होइन । जसले जेसुकै भनून्, जे शब्द प्रयोग गरून्,  अन्ततः नेपाली नयाँ जनवादी क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धको बाटो नसमाती धरै छैन । जनयुद्ध अन्ततः दीर्घकालीन नै हुन्छ तापनि यो कति लामो अथवा छोटो हुने कुरा राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति, आत्मगत र वस्तुगत स्थिति, रणकौशलता, नेतृत्त्व कुशलता र शक्ति सन्तुलनको विशिष्ट अवस्थामा भर पर्छ । नेता र कार्यकर्ताको सक्रिय रक्षाको  बाटो यही मात्र हो । रक्षाको अन्य स्वरूपले विचलन, आत्मसमर्पण र अर्थहीन बलिदान मात्र निम्त्याउँछ, जुन कुरा नेकपा  (बिप्लव) ले व्यहोरिरहेको छ ।

 अन्त्यमा

यतिखेर नेपालका क्रान्तिकारी शक्ति र व्यक्तिहरूको प्रमुख दायित्व भनेको नेकपा (बिप्लव) का गलत सोचाइ र बुझाइको मित्रवत आलोचना गर्दै उसलाई माओवादी  क्रान्तिकारी दिशामा ल्याउन प्रयास गर्नु हो र  साथसाथै  नेकपा (बिप्लव) माथि भैरहेको  फासिवादी राजयआतङ्कको  सशक्त र संयुक्त प्रतिरोध गर्नु हो । प्रतिरोधात्मक क्षमताको वृद्धिले नै फासिवाद रिुद्धको सङ्घर्षलाई अघि बढाउन सकिन्छ र कार्यकर्ताको पनि रक्षा गर्न सकिन्छ । सत्य यही हो ।
०००
भिडियो फिचरview all