ताजा समाचार
प्रश्नहरूको कठघरामा गुठियार आन्दोलन
डा. ऋषिराज बराल
ओली सरकारले ल्याएको गुठी विधेयकलाई लिएर अहिले पक्षविपक्षमा नेपाली जनमत विभाजित भएको छ । सुरुमा भावनात्मक आवेगसित गाँसिएको यो सन्दर्भ अब आएर वैचारिक विश्लेषण र विमर्शमा केन्द्रित हुन थालेको छ । अवश्य पनि सबै गुठी सन्दर्भलाई एउटै आधारमा हेर्न नमिल्ला । गुठी संस्थानसित जोडिएका कतिपय गुठीहरूको एउटा सन्दर्भ छ भने पशुपति गुठीजस्ता गुठीहरूसित जोडिएको सन्दर्भ केही फरक छ ।
गुठी सन्दर्भसित जोडिएर यतिखेर थुप्रै प्रश्नहरूको उठान भएको छ ।
‘गुठी’ सामूहिकताको परिचय हो कि सामन्ती संस्कृतिको ? यसको राजनीतिक अर्थशास्त्र ( political economy) के हो ? यो काठमाडौँको मात्रै समस्या हो कि बाहिरको पनि ? यो खास समुदायसित सम्बद्ध समस्या हो कि सार्वभौम ? गुठीका नाममा सन्त-महन्तले आर्जन गरेका अकूत सम्पति र भ्रष्टाचारलाई कसरी हेर्ने ? पशुपति गुठीका नाममा मोहीहरूमाथि भएको शोषण, चर्को कुतबाली के हो ? पशुपति गुठी सामन्तवादको परिचायक, नयाँ जमिन्दारको परिचायक हो कि होइन ? पशुपति गुठीका नाममा आर्जित सम्पतिको कहाँ छ अभिलेख ? यत्रो सम्पति कहाँ जान्छ ? महादेवले मात्रै हसुरेर सिध्याउछन् की मोदी देशमा पुग्छ ? मोहीबाट उठेको रकम र सरकारी कोष ‘नागा बाबाका नाममा’ किन खर्च गरिन्छ ? त्यसको लेखापरीक्षण किन हुँदैन ? यी सबै प्रश्नको चित्तबुझ्दो उत्तर समयले खोजेको छ ।
अहिलेको गुठी प्रकरणले विगततिर पनि फर्किन बाध्य गराउँछ ।
योगी नरहरिनाथले पशुपतिको मुख्य पुजारी नेपाली नै हुनुपर्छ भनेर आर्यघाटमा धर्ना कसे । सत्ताधारीहरू भारतलाई खुसी पार्न टसमस भएनन् । तारतम्य मिलाउने कुरामा ढङ्ग पुर्याउन नसके पनि गोपाल किराँती संस्कृति मन्त्री हुँदा पशुपतिको मुख्य पुजारी हुन योग्य पात्रहरू नेपालमै छन् र नेपाली नै छन् भनेर जोड गरे । यो निर्णयका विरुद्ध काङ्ग्रेसलगायत नेपालका कथित हिन्दू धर्मका संरक्षक, भारतका हिन्दूवादीहरू सबै एकजुट भए । उत्तरप्रदेशका ‘समाजवादी’ पार्टीका नेता मुलायम सिंह त्यसको विरोध गर्न नेपाल नै आए-भारतीय संदेश लिएर ।
माओवादीहरूले धर्म र संस्कृति मास्न थाले भनेर उखरमाउलो मच्चाइयो । वसन्तपुरमा मासुभात, छोइला र ऐला खान अर्थ र संस्कृति मन्त्रालयले गुठियारलाई हजारौँ रकम उपलब्ध गराएन भनेर काङ्ग्रेसी नेता नवीन्द्रराज जोसीका नेतृत्वमा आन्दोलन गरियो ।
जो हिजो पशुपति गुठी र पुजारी सन्दर्भलाई लिएर वैज्ञानिक किसिमले व्यवस्थापन गर्नुपर्छ भनेर लागेको शक्तिलाई बत्रदनाम गर्न लागेका थिए, आजै तिने नयाँ किसिमले फेरि गुठियार प्रकरणलाई उछालेर बडो धर्म र संस्कृतिको रक्षाको वकालत गरिरहेका छन् । अहिले कांग्रेसी नेता गगन थापाले “पशुपति काण्डले प्रचण्ड उडायो, गुठियार काण्डले ओली उडाउँछ” भनेर होहल्ला गर्न थालेका छन् । गुठी समस्यालाई दमन र दबाबले नभएर सही किसिमले हल गर्नु पर्छ भन्ने कुरामा विवाद छैन, तर धर्म, संस्कृति र गुठीका नाममा एक थरी ठेकेदारहरू वर्षौँदेखि गर्दै आएको लुटतन्त्र बचाउन चाहन्छन् भन्ने कुरा पनि त्यत्तिकै सत्य हो । यो भनेको भू-माफियाका नाममा मोही हकको दमन हो ।
अवश्य पनि विधेयकका कतिपय सन्दर्भप्रति प्रश्न उठाउन सकिन्छ र नियतका कुरा पनि हुन सक्छन् । ओली सरकारले गुठी सन्दर्भलाई वैज्ञानिक किसिमले हल गर्न यो विधेयक ल्याएको हो अथवा खासखास सन्दर्भ र व्यक्तिसित जोडिएका समस्या र सन्दर्भलाई ‘व्यवस्थित’ गर्न यस किसिमको विधेयक ल्याएको हो भनेर सोच्नु पर्ने अवस्था पनि छ । तर प्रमुख र आधारभूत कुरा गुठीको प्रश्न हो । यो सरकारले नगरे अरू कुनै सरकारले यो समस्या हल गर्नु पर्छ । अब यो बोझ नेपाली समाजले सहन र बोक्न सक्तैन l
गुठी के हो ? नेपालको विशिष्ट सन्दर्भमा गुठीको विशिष्ट पक्ष के हुन सक्छ ? यसको ऐतिहासिक तथा राजनीतिक-अर्थशास्त्रीय पक्षको अध्ययन-विश्लेषण हुनु जरूरी छ । यसो गर्दा कुनै खास समुदाय खुस हुन्छ अथवा रिसाउँछ भन्ने प्रश्न प्रमुख हुन सक्तैन । गुठी समस्या र समाधानको मार्क्सवादी अध्ययन र समाधान हुनु आवश्यक हुन्छ । यो काम सही अर्थका मार्क्सवादी–क्रान्तिकारीहरूले गर्छन् र गर्नुपर्छ ।
यसका सन्दर्भमा सत्ताधारी सांसद मेटमणि चौधरीले ‘अनलाइन खबर’ मा व्यक्त गरेका भनाइहरू निकै गम्भीर प्रकृतिका छन्, उनले विषयवस्तुको सही उठान गरेका छन् । उनका भनाइले गम्भीर किसिमले ध्यानाकर्षण गराइरहेको अवस्थामा नेपालको क्रान्तिकारी शक्तिका रूपमा आन्दोलनरत पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) समेत जसरी भावनामा बगेको देखियो, यसले गम्भीर प्रश्नको उठान गरेको छ । यसमा गहन वैचारिक मन्थनको आवश्यकता थियो । यो भावनात्मक पक्ष तथा भोटको राजनीतिको कुरा नभई विचार र विश्लेषणको प्रश्न हो । जे गर्दा यो सरकारको विरोध हुन्छ र गर्न सकिन्छ, आँखा चिम्लेर त्यही गर्ने हो भन्ने हो भने आफूलाई मार्क्सवादी र क्रान्तिकारी भन्नुको अर्थ छैन ।
गुठी, सामन्तवाद, मोही र वैज्ञानिक निष्कर्ष सँगसँगै गाँसिएर आउँछन् । पशुपति गुठीले त जमिनदारी प्रथा, तल्सिङ र बाली बुझाउने सामन्ती प्रथाकै पक्षपोषण गर्छ भने अन्य गुठी र गुठियार प्रवृत्ति र प्रथाले पनि भिन्नै स्वरूपमा त्यसैको निरन्तरताको निर्वाह गर्छन् । २१औँ शताब्दीको विज्ञानसम्मत चिन्तन र व्यवहारका सन्दर्भमा गुठीलाई अहिलेकै स्थितिमा निरन्तरता दिनु पर्छ भन्ने मतसित सहमत हुने ठाउँ छैन । गुठीयार प्रवृत्ति धर्म , परम्परा र संस्कृतिका नाममा मासुभात, छोइला र ऐला खाने, भोजभतेर गर्ने संस्कृतिमा रूपान्तरित भएको छ भन्ने मत पनि जोडदार रूपमा उठेको छ l
गुठी सन्दर्भलाई 'परम्परा र संस्कृति' का रूपमा मात्र नहेरी राजनीति र अर्थशास्त्रीय कोणबाट पनि हेरिनु आवश्यक छ । मोही मारेर मासुभात, छोइला र ऐलामा रमाउने संस्कृति नेपाली संस्कृति होइन, अबको समयमा गुठी सम्बन्धी धारणा र व्यवहारको परिमार्जन हुनु आवश्यक छ । पशुपति गुठी र अन्य गुठियार लगायतका समस्यालाई आयोग बनाएर आजको आवश्यकता अनुसार वैज्ञानिक किसिमले हल गर्नु पर्छ । धर्म र संस्कृतिका नाममा शोषण, विकृति र पाखण्डपन मान्य हुन सक्तैन ।
भुरेटाकुरे प्रवृत्तिसित गाँसिएका प्रवृत्तिहरू इतिहास र संस्कृतिका नाममा यथारूपमा जोगाइराख्नुको कुनै आवश्यकता र औचित्य छैन । परिवर्तनको क्रममा सबैले परिमार्जित हुनु आवश्यक छ । अनेक तुक्का जोडेर भावनात्मक आवेग उत्पन्न गर्ने र वितण्डा मच्चाउने कामका पछाडि निहित स्वार्थको पनि अर्थ खोज्नु आवश्यक छ । ज्ञानेन्द्र शाहको गुठीप्रतिको ‘चिन्ता’ पनि बाहिर आइसकेको छ सबैले बुझ्ने गरी ।
०००
भिडियो फिचरview all