
कम्युनिस्ट क्रान्तिकारीहरूले गम्भीर भएर सोच्न जरुरी छ : मोहन बैद्य 'किरण'

अमेरिकाले अहिले एसिया-प्रशान्त रणनीतिबाट इन्डो-प्यासिफिक अर्थात् हिन्द- प्रशान्त रणनीतिमा सिफ्ट गरेको छ । यो क्षेत्रमा अमेरिका बढी केन्द्रित हुन थालेको छ । यो क्षेत्रमा अमेरिका केन्द्रित हुनुको कारण उसका निम्ति चीन आँखाको कसिंगर बन्न पुग्नु हो । इन्डियालाई पनि उसले पूर्णरूपमा विश्वास गर्न सकेको छैन । नेपाल सानो देश भए पनि यसले अन्तर्राष्ट्रिय भूराजनीतिक महत्व राख्दछ । नेपालका सन्दर्भमा अमेरिकी र इन्डियन मिलेर आउने सम्भवाना त छँदैछ ।
तर पछिल्ला केही घटनाक्रमलाई हेर्ने हो भने अब अमेरिका नेपालमा सीधै आइरहेको छ । अमेरिकाले सीधै आफ्नो भूमिका देखाउँदैछ । भारतसँग अमेरिकाले पारमाणविक सन्धि पनि गरेको छ । भारतलाई अमेरिकाले आफ्नो पक्षमा तान्न खोजेको छ, तर भारत अमेरिकाले चाहेअनुसार अमेरिकी क्याम्पमा गएको छैन । एकातिर भारत 'ब्रिक्स'मा जोडिएको छ । यसले गर्दा भारत आफै रुस र चीनको क्याम्पमा पनि छ । भारतले रुससँग हातहतियार किन्ने काम पनि गरेको छ । यो अवस्थामा भारतलाई भर गर्नुभन्दा आफै नेपालमा आएर खेल्न खोजिरहेको छ अमेरिकाले । त्यसकारण अहिले भारतलाई बाइपास गरेर अमेरिका नेपालमा सीधै आइरहेको छ ।
नेपालका परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा गए । नेपालसँग महत्वपूर्ण कुरा भएको भनेर अमेरिकाले सार्वजनिक गर्यो । इण्डिो-प्यासिफिक मिसनमा नेपाललाई सहमत गराइएको भन्ने समाचारहरू आएका छन् । साँच्चै त्यहाँ नेपाल फसेको त छैन भन्ने गम्भीर आशंका उत्पन्न भएको छ ।
अर्कोतिर, चीनले नेपालतिर गहिरिएर हेरिरहेको छ– अमेरिकी र भारतीयहरूले के के गरिरहेका छन् भनेर । नेपालका नेताहरू भारत गए भारतसित ठीक्क, चीन गए चीनसँगै ठीक्क र अमेरिका गए, अमेरिकैतिर ठीक्क ।
चीनले हेरिरहेको छ– अमेरिका गएर के के गरेर आए । यी सबै कुरा चीनलाई घेरा हाल्ने रणनीति अन्तर्गत गरिन थालिएका हुन । नेपाली सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनताका हिसाबले यो गम्भीर विषय पनि हो । चीन र भारत कतिपय सवालमा भने मिलेर पनि गइरहेका छन् । अमेरिकाले चीन र भारतलाई फुटाउन खोजिरहेको छ ।
चीन र भारत दुवै ठूलो अर्थतन्त्र भएका देशहरू हुन् । नेपालको सन्दर्भमा कतै मिल्ने त होइनन् यिनीहरू भन्ने आशंका अमेरिकालाई पनि छ । त्यो आशंका पनि उठ्न नथालेको होइन । लिपुलेक सम्झौता चीन र भारतले गरेका हुन् ।
यो गम्भीर परिस्थितिमा नेपालको आफ्नै स्वतन्त्र परराष्ट्र नीति, आफ्नै खुट्टामा उभिने सरकार र पार्टी भएनन् भने नेपालमा निकै अप्ठ्यारोमा पर्नसक्छ । राष्ट्रिय स्वाधीनतामाथिको खतराको विषयलाई हामीले बारम्बार उठाउँदै आएका छौं । यी तीनवटा शक्तिकेन्द्रहरूसँगको सन्तुलनमा नेपालको हितका निम्ति कसरी जाने हो भन्ने विषय टड्कारो बनेको छ । तर ओली सरकारको यसमा भर नै छैन । उसका क्रियाकलाप यसअनुरूप छैनन् । विश्वास कसैले पनि गर्दैनन् । सबैले आफूतिर तान्न खोजिरहेका छन् ।
सामान्यतः कैलालीको टिकापुर घटनालाई हेर्दा थारू , मधेशीहरूले ज्यादती गरेका हुन् भनेर पहाडी, मधेसी र थारूहरूलाई विभाजित गराउन गरिएको षड्यन्त्रअनुसार प्रतिक्रियावादीहरूले गराएको घटना हो त्यो । केही नेताहरूले पूरै पहाडियाहरूलाई उचालिरहेका थिए ।
त्यसबेला हामीले त संविधानको विरोध तथा खारेजीको माग गरेर आन्दोलन गरिरहेका थियौं । कतिपय विषयमा मधेसी तथा थारूहरूसँग हाम्रो सहकार्य पनि चलिरहेको थियो । त्यसबेला देव गुरुङलाई त्यहाँ पठाएका पनि थियौं । त्यो घटना घटेपछि विशाल जुलुस आयो । त्यो कहाँबाट आयो ? थारू समाजमा बडघर सिस्टम हुन्छ । बडघरले बोलायो भने पूरै आउने चलन हुन्छ । थारू समाज उर्लिएर आयो ।
पहाडी र थारू, प्रहरीहरूबीचमा पनि अन्तर्विरोध थियो । स्वस्फूर्त रूपमा घटनाहरू घटे । यो मुद्दा मधेसीहरुले मात्र उठाउने होइन, कम्युनिस्टहरुले उठाउने मुद्दा हो । आन्दोलनको बीचमा भएको घटना भएकोले यसलाई राजनीतिक सहमतिको आधारमा टुङ्ग्याइनु पर्दछ । जनयुद्धको प्रक्रियामा घटेका पनि थुप्रै घटनाहरु छन् । यो घटनालाई राजनीतिक सहमतिको आधारमा टुग्याउनुको सट्टा रेशम चौधरीलगायत ११ जनालाई जन्मकैदको फैसला गरिएको छ । यो गम्भीर घटना हो ।
सिके राउतको सन्दर्भ त देशलाई टुक्र्याउने कुरा हो । देशलाई विखण्डन गराउने हो । उनको पार्टी नै पृथकतावादी पार्टी हो । तिनै सिके राउतलाई पूरै रहस्यमय ढंगले आकस्मिक रूपमा रिहा गरियो । ओलीको शैली कस्तो शैली हो त्यो ! आफ्ना पार्टीका मान्छेसँग पनि कुरा छैन, प्रतिपक्षसँग पनि कुरा छैन । यो गम्भीर विषय हो ।
सिकेसँग गरिएको सहमतिमा द्विअर्थी दिने भाषा प्रयोग गरिएको छ । यो सहमतिको पछाडि पनि अमेरिकीहरूको हात र स्वार्थ रहेको गम्भीर आशंका छ । सिके राउतको कुरा इन्डो-प्यासिफिकमा अमेरिकी रणनीतिसँग जोडिएको त छैन गम्भीर आशंका छ ।
अहिले परिस्थिति उल्टिएको छ । हिजो जनयुद्धको बेला तत्कालीन कांग्रेस एमालेहरूले बोल्ने भाषा प्रचण्ड-बादलहरुले बोल्न थालेका छन् । बिप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएका छन्, नेता कार्यकर्ता गिरफ्तार गर्ने र यातना दिने गरेका छन् । उल्टै ऐतिहासिक परिवर्तन र छलाङको कुरा गरिरहेका छन् । खाडलमा, नर्कमा पस्दा पनि गौरव गर्दा रहेछन् गद्दारहरूले !
०००
भिडियो फिचरview all