ताजा समाचार
प्रतिरोध दिवस मनाउनुको सार्थकता
ऋषिराज बराल
चैत्र ५, २०५५ सालमा काभ्रेको अनेकोटमा अखिल नेपाल जनसांस्कृतिक संघका केन्द्रीय सदस्य कमरेड च्याङ्वा लामासहित ७ जना कलाकार कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले आजको दिनलाई सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउँदै आएका छौँ । यस सांस्कृतिक प्रतिरोध दिवसका सन्दर्भमा म सबैभन्दा पहिले २०५५ साल चैत ५ मा अनेकोट प्रतिरोध सङ्घर्षमा वलिदानको बाटो रोज्ने कमरेड च्याङ्वा लामासहितका सांस्कृतिक कर्मीहरूप्रति क्रान्तिकारी अभिवादन गर्दछु र क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई नयाँ किसिमले एकताबद्ध पार्दै अघि बढ्न नयाँ जनवादी क्रान्तिका पक्षधर मित्रहहरूसित हार्दिक अपिल गर्दछु ।
आज राजनीतिक क्षेत्रले जुन किसिमको वैचारिक तथा राजनीतिक ऊर्जा दिन सक्नुपर्दथ्यो, त्यसो हुनसकेको छैन । माओवादको नाम लिएर विसर्जनवादको जसरी अभ्यास भइरहेको छ, यो खतरनाक छ । एक थरीले पार्टीको नामसित माओवादी जोडे पनि तिनले संसदीय व्यवस्थालाई बलियो पर्ने शपथ खाइसकेका छन्, अर्काथरीले पहिले नामबाट र पछि विस्तारै कामबाट पनि माओवादलाई हटाउने ''उत्तरवादी'' महाभियान सुरु गरेका छन् । ''लाल झन्डाका विरुद्ध लाल झण्डा'' को यो मिहीन योजनाबद्धता निकै खतरनाक छ । घोषित संसोधनवाद भन्दा खतरनाक छ, यो ''उत्तरवादी'' विसर्जनवादी अभियान । क्रान्तिकारी हुनुको भ्रम दिएर यसले युवाहरूको जमातलाई अंध्यारो सुरुङ्गमा धकेलिरहेको छ ।
‘पोलिटिक्स इन कमाण्ड’ मा कतै विमति छैन । तर माओले भनेझैँ राजनीतिले गलत बाटो लिएपछि अधिरचनाका अन्य अङ्गहरू अगाडि आउनु अपरिहार्य हुन्छ र यतिबेर सांस्कृतिक-बौद्धिक क्षेत्रका सामु यो जिम्मेवारी आएको छ । राजनीतिले बाटो बिराउन थालेपछि साहित्यकारहरूले सचेतकको भूमिका खेल्नु आवश्यक हुन्छ ।
अहिले मालेमाप्रति प्रतिबद्ध लेखकहरूको एउटा दरिलो मोर्चाको आवश्यकता भए पनि त्यसले मूर्त रूप लिनसकेको छैन । यस कार्यमा राजनीतिक तथा सांस्कृतिक दुवै क्षेत्रको क्रियाशील भूमिका आवश्यक छ । परन्तु समस्या यहींनेर छ । मार्क्सवादी साहित्यिक–सांस्कृतिक आन्दोलन माउबिनाको चल्लाजस्तो भएको छ । उपभोक्तावादी मानसिकता व्याप्त छ । अगुवाहरू नै अनुभववाद र प्रभाववादको जंजालमा रुमलिएका छन् र भताभुङ्ग र लथालिङ्गको साक्षी बनेर इतिहासको विकृतीकरणमाथि लालमोहर ठोकिरहेका छन् । क्षेत्रीयतावाद, कुण्ठावाद, गुटवाद, कोटरीवाद र प्रभाववादी सङ्कीर्णताका कारण माओवादी सांस्कृतिक आन्दोलनमा झारपात पतिङ्गरहरूको रजगज चलेको छ । वाघको छालामा स्यालहरूको रजाइँ छ । फ्याउराहरूको चुरीफुरी बढेको छ र इमानदार, क्षमतावान क्रान्तिकारी सांस्कृतिक कर्मीहरू पाखामा बसेर सबै चिज टुलुटुलु हेर्न बाध्य पारिएको स्थिति छ । यस्तो बेला क्रान्तिकारी सांस्कृतिक आन्दोलनका पक्षधरहरूले जुनसुकै चुनौतीका लागि पनि आफूलाई तमतयार राख्नु आवश्यक छ ।
माओवादी राजनीतिक क्षेत्रमा देखिएको विचलन र अन्योलले अकर्मण्यताको स्थिति उत्पन्न गरेको छ । माओवादी आन्दोलनसित ऊर्जाशील र क्षमतावान शक्ति भएर पनि योजनाबद्धताको अभावमा यसले लेखन र वैचारिक क्षेत्रमा दरिलो हस्तक्षेप गर्न सकेको छैन । यथास्थितिवादी राजनीतिका झैँ यथास्थितिवादी लेखनचिन्तन हाबी हुनथालेको छ । वर्गीय प्रश्नहरू ओझेलमा परेका छन् र गैसस संस्कृतिको हालीमुहाली चल्नथालेको छ । चारैतिर खोटा मोहरहरूको चकचकी र जगजगीको अवस्थामा छ । इतिहासका निर्माताहरूका छातीमा फ्याउराहरू परेड खेलिरहेका छन् र इमानदार, स्वाभिमानी र सङ्घर्षशील सर्जकहरू किनारमा बसेर सबै बेथिति हेर्न बाध्य छन् । वाह्य शक्ति मात्र होइन, आफैंभित्रको फोहरमैला पनि सांस्कृतिक आन्दोलनलाई गति दिन बाधक बनेर उभिएको छ । पानी जमेको छ र फोहोर-मैला निकास हुन सकिरहेको छैन । यसै अर्थमा यतिखेर दुवै मोर्चामा वैचारिक सङ्घर्ष तीब्र बनाउनु आवश्यक छ ।
अहिलेको स्थिति साहित्य तथा कलालाई समाज रूपान्तरणको महत्वपूर्ण हतियार मान्ने मार्क्सवादी स्रष्टाहरूका लागि साँच्चिकै चुनौतीको विषय बनेको छ । महान् जनयुद्धमा आर्जित सांस्कृतिक मूल्यमाथि धावा बोलिएको छ । एकहिसाबले साहित्यकै अपहरण भैरहेको बेला कलम र मादल वैचारिक सङ्घर्ष र समाज रूपान्तरणका सशक्त माध्यम हुन् भन्ने कुरामा विश्वास राख्नेहरू नयाँ किसिमले मोर्चाबद्ध हुनुको विकल्प छैन । समयको यो आवश्यकतालाई हामी सबैले आत्मसात गर्नु आवश्यक छ ।
समयले एकपल्ट फेरि हामी माओवादी सांस्कृतिक कर्मीहरूका सामु त्याग र बलिदानको नयाँ प्रस्ताव राखेको छ । यो सत्यतथ्यलाई आत्मसात गरेर हामी मालेमाका पक्षधर सांस्कृतिक कर्मीहरू नयाँ किसिमले सङ्गठित र पुनर्गठित हुनु आवश्यक छ । पुच्छरवादी प्रवृत्ति र क्रान्तिकारी रूपवादमा रमाउने प्रवृत्ति दुवै आन्दोलनका बाधक छन् । ''उत्तरवादी'' शून्यवादी चिन्तनका विरुद्ध मात्र नभएर माओवादका नाममा माओवादी सांस्कृतिक आन्दोलनलाई नै ध्वस्त पार्ने प्रवृत्तिका विरुद्ध निर्मम सङ्घर्षको आवश्यकता छ । यो काम नयाँ किसिमले मोर्चाबद्ध भएर मात्र सम्भव छ । यसका लागि हामी सबैले गम्भीर आत्मसमीक्षा गर्नु आवश्यक छ ।
मालेमाप्रति प्रतिबद्ध भएर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सांस्कृतिक सेनाको भूमिका पूरा गर्ने प्रतिबद्धता हाम्रो मिलनविन्दुको आधारभूत सर्त हो र हुनुपर्छ । यथार्थत: यही नै साझा मोर्चाका लागि प्रस्थानबिन्दु हो ।
सांस्कृतिक प्रतिरोध दिवस का सन्दर्भमा बलिदानको महान् बाटो रोज्ने महान् योद्धाहरूले निर्माण गरेको सौन्दर्यमूल्यप्रति प्रतिबद्ध बनौँ र नयाँ जनवादी क्रान्तिलाई केन्द्रमा राखेर एकताबद्धताका साथ अघि बढ्नु पर्ने आवश्यकतालाई व्यवहारमा लैजाने प्रण गरौं । यसैमा नै 'सांस्कृतिक प्रतिरोध दिवश' मनाउनुको सार्थकता निहित छ ।
भिडियो फिचरview all