
ओली-राउत गठबन्धन, प्रचण्ड र “लुटेराहरू

फागुन २४ गते अर्थात् ८ मार्चका दिन राष्ट्र विखण्डनको नारासहित तराईमा सक्रिय रहेको सिके राउतसित ओली सरकारले गरेको ‘११ बुँदे सहमति’ का सन्दर्भमा भएको ‘जनमत सङ्ग्रह’ को प्रसङ्ग सबैभन्दा बढी विवाद र चर्चाको विषय बनेको कुरा यससित गाँसिएर भए/गरेका टिकाटिप्पणीबाट थाहा हुन्छ । तर सो दिन मन्तव्यका सन्दर्भमा प्रधानमन्त्री ओलीले व्यक्त गरेका दुइटा सन्दर्भ प्रचण्ड र सिके राउतको समानताको तुलना र लुटेराको सन्दर्भ पनि कम गम्भीर र कम महत्त्वको सन्दर्भ होइन ।
ओलीले राउतको प्रशंसा गर्ने क्रममा उनलाई प्रचण्डसित दाँजे । जनयुद्धप्रति गद्धारी गरे पनि र पछिल्ला दिनमा वैदेशिक शक्तिका सामु लम्पसार परे पनि हिजोका दिनमा प्रचण्डको नेतृत्वमा दश बर्से जनयुद्ध नेपाली जनताले लडेका हुन् र करिब ८० प्रतिशत नेपालको भूभागमा जनसत्ता कायम गरेका हुन् । जनयुद्ध दुईचार जनाले गरेको कुनै लहडी कार्य नभएर व्यापक जनतामा आधारित मालेमाका आधारमा सञ्चालित जनताको युद्ध थियो—राष्ट्र विखण्डनको योजना थिएन । राउतको जस्तो वैदेशिक शक्तिका आधारमा सञ्चालित राष्ट्र विखण्डनकारी कार्ययोजना जनयुद्ध थिएन । लाखौँ नेपाली जनता यसमा होमिएका थिए र ७ वटा डिभिजनसम्म जनसेना निर्माण गरिएको थियो । आज जे भए पनि प्रचण्ड जनयुद्धका बीचबाट निर्मित नेता थिए, राउतको जस्तो पैसाको पछाडि कुद्ने लम्पटहरूका नाइके थिएनन् । ओलीले राउतको उचाइसित लगेर प्रचडलाई जसरी जोडे, यो एक प्रचण्डको अपमान मात्र नभएर उनीमाथि सुनियोजित प्रहार नै हो । तर अब प्रचण्डलाई दुख्दैन l कति सारो निरीहता !
वास्तवमा पार्टी एकताको नाटकीय तालमेल भए पनि सत्ताधारी पार्टीमा समय र सन्दर्भ आउँदा ओलीले पाए प्रचण्डलाई खुइल्याउने र प्रचण्डले पाए ओलीलाई खुइल्याउने क्रम जारी छ र यो सन्दर्भले पनि यसै भन्छ । यसो हेर्दा प्रचण्डको निर्णय क्षमताको प्रशंसा गरेजस्तो लागे पनि ओलीले प्रचण्डको हैसियत भनेको राउतको जस्तै हो भनेर सार्वजनिक रूपमा घोषणा गरेका हुन् । प्रचण्डले कसरी बुझै र कसरी लिए यो सन्दर्भलाई त्यो भिन्नै कुरा हो, तर उनले प्रचण्डलाई मात्र नभएर सिङ्गो जनयुद्ध र जनयुद्धको मूल नेतृत्वमाथि प्रहार गरेका हुन् । प्रचण्डको नेतृत्त्वमा लडेको लडाइँ उत्पीडितहरूको राज्यसत्ताका लागि थियो, त्यही उचाइमा पुगेको स्थिति हो र सि के राउतको स्थिति ? तुलना त सामानहरूबीच हुन्छ होइन र ? थुप्रै प्रश्नहरू छन् ।
'११ बुँदे सहमतिको ‘महाअवसर’ मा ओलीले नेकपा नाम गरेकाले लूटतन्त्र मच्चाएको भन्दै बिप्लव समूहमाथि लुटेरा आदि/इत्यादि भनेर विषवमन गरे । वास्तवमा यहाँ पनि उनले घुमाउरो पाराले प्रचण्डमाथि पनि प्रहार गरे । हिजो जनयुद्ध चलेको बेला पनि यिनीहरूले माओवादीहरूलाई लुटेरा, हत्यारा आतङ्कारी भनेकै हुन् । आज प्रचण्कै सामु बिप्लवहरूलाई त्यसो भन्नुको अर्थ प्रचण्डलाई पनि दनक हो भनेर बुझ्नु पर्छ । तर महान् जनयुद्ध लुटतन्त्र थिएन र होइन, यो त जनसत्ताका लागि जनताको महान् त्याग र बलिदानको अभियान थियो । आज ओलिहारूको धाक-रवाफ, फूर्तिफार्ती महान जनयुद्धकै प्रतिफल हो ।
बिप्लवको राजनीति, चन्दा अभियान विवादको विषय हुन सक्छ । कार्यदिशा लगायत थुप्रै कुरामा यो टिप्पणीकारको विप्लव समूहको राजनीति प्रति विमति छ । विप्लवको पार्टीलाई यो टिप्पणीकार माओवादी पार्टी मान्दैन, उनले माओवाद छोडि सकेका छन्, कार्यकर्तालाई अल्मल्याउन मात्र दस्ताबेजमा माओवाद राखेका हुन् भन्ने यो टिप्पणीकारको ठहर छ । ओलीले ‘लुटेराहरू’ भनेको कुरा चाहिं आपत्तिजनक छ । कुरै गर्ने हो भने सबैभन्दा बढी लूटतन्त्र यो सरकारले मच्चाएको छ । यो सरकारमा मन्त्रीहरूले मच्चाएका छन् । वामपन्थी सरकारका नाममा, सङ्घीयताका नाममा सबैभन्दा लूटतन्त्र सत्तामा बसेकाहरूले मच्चाएका छन् । भाइभतिजा, नातागोता, सुविधा, भत्ता नाममा लूटतन्त्र मच्चाइएको छ । जनतालाई करमाथि कर थोपरेर जनतालाई लुटिएको छ । सरकार र सत्तामा बसेकाले राष्ट्रिय ढुकुटी रित्याउने र अरूलाई लुटेरा भन्नु अपराधी नै न्यायाधीश बनेर फैसला गरेजस्तै हो ।
राष्ट्रपतिको चालढाल, उपराष्ट्रपति र गृहमन्त्रीका सुपुत्रहरूको माफियातन्त्रसितको साँठगाँठ, वाइडबडी प्रकरण, सुनकाण्डका अपराधीहरूको रिहाइ, चुनावी खर्चका नाममा अरबौँको कर मिनाहा के यो लुटेरा चरित्रको परिचायक होइन ? भ्रष्टाचारको अर्को नाम ओली सरकार भएको छ । एकातिर राष्ट्रघात, अर्कोतिर जनघात-विकृति र विसङ्गतिको अर्को नाम ओली सरकार भएको छ । राष्ट्रिय ढुकुटी रित्याउने यो सरकारी लूटतन्त्र सबैभन्दा खतरनाक र डरलाग्दो छ । वास्तवमा लुटतन्त्रको कुरा गर्दा ओली सरकारको स्थिति “जो चोर उसैको ठूलो स्वर’ जस्तै भएको छ ।
०००
भिडियो फिचरview all