
राष्ट्रघाती ओली सरकारका विरुद्ध एक जुट होऔं : कम्युनिस्ट न्युक्लिअस, नेपाल

घटनाक्रमले सो ‘११ बुँदे सहमति’ बडो योजनाबद्ध र पूर्व तयारीसाथ गरिएको कुरा प्रस्ट भएको छ र सो सहमतिले दीर्घकालीन रूपमा नेपालको राजनीतिक पक्षका साथै राष्ट्रिय अखण्डतालाई पनि ठूलो नकारात्मक असर पर्ने कुरा स्वतःसिद्ध छ । निकै महत्व र तामझामका साथ गरिएको सो सहमति प्रक्रिया नाटकीय र रहस्यमय पनि छ ।
वैदेशिक शक्तिको स्वार्थमा काम गरिरहेका सि.के राउत कुनै न कुनै बहना बनाएर जेलबाट छुटेर नेपालको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डता विरोधी आफ्ना कुकृत्यहरू जारी राख्न चाहन्छन् भनेर गरिएको विश्लेषण अहिले सही साबित भएको छ । सहमतिको मसी सुक्न नपाउँदै सहमतिका विरुद्ध जनकपुरमा देखाएको राष्ट्रविरोधी गतिविधिबाट राउतको नियत प्रस्ट भएको छ । जनकपुरमा राउतका कायकर्ताले सरकारलाई दिएको चुनौतीले सरकारको नीरिहता प्रदर्शित हुनुको साथै सरकार गम्भीर षड्यन्त्रको गोटी बनेको कुरा पनि प्रष्ट भएको छ ।
कहिले संयुक्त सैन्य अभ्यासका नाममा, कहिले अरुण तेस्रो सम्झौताका नाममा र कहिले ‘होली वाइन’ का नाममा जनघात र राष्ट्रघाती सम्झौता र गतिविधि गर्दै आएको ओली सरकारले राष्ट्र विखण्डनकारीको मागलाई सहयोग पुग्ने गरी सहमति गर्नु रहस्यमय मात्र नभएर षड्यन्त्रकारी पनि छ । क्रान्तिकारी शक्तिहरूमाथि दमन गर्ने र राष्ट्र विखण्डनकारी तत्वहरूलाई काँधमा बोक्ने ओली सरकार वैदेशिक शक्तिपरस्त दलाल सरकार हो भन्ने कुरा फेरि एकपल्ट पुष्टि भएको छ ।
मुलुकको परिस्थितिले यतिखेर क्रान्तिकारी शक्तिहरूबीच व्यापक एकता र सहकार्यको माग गरेको छ l हाम्रो न्युक्लिअस मार्क्सवाद-लेनिनवाद–माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउतै झण्डामुनि गोलबद्ध भएर क्रान्तिकारी जनउभारको उठान गर्नु पर्ने आवश्यकता र औचित्यप्रति सम्पूर्ण क्रान्तिकारी शक्तिहरूको ध्यानाकर्षण गराउन चाहन्छ ।
यसै अर्थमा, राष्ट्रघाती ओली सरकारका विरुद्ध व्यापक जनमत निर्माण गरी देशव्यापी आन्दोलन उठान गर्नका लागि हामी प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिलाई आह्वान तथा अनुरोघ गर्दछौँ ।
ऋषिराज बराल
संयोजक कम्युनिस्ट न्युक्लिअस, नेपाल
फागुन २६, २०७५
भिडियो फिचरview all