ताजा समाचार
मेरो जीवनका उकाली ओरालीहरू
भक्तबहादुर श्रेष्ठ
(भक्तबहादुर श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनका एकजना महत्वपूर्ण हस्ति हुनुहुन्छ । वि.सं १९९० मा मकवानपुर जिल्लामा जन्मिनु भएको भक्तबहादुर श्रेष्ठको निधन २०६८ साल पुस २७ मा भएको थियो ।
२०११ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको श्रेष्ठ निरन्तररूपमा कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुभयो । क्रान्तिकारी विचारका पक्षमा निरन्तर वैचारिक सङ्घर्ष चलाउँदै जाने क्रममा वहाँ २०३१ सालमा गठित नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को केन्द्रीय नेता हुनुभयो । वहाँ २०३८ सालमा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को महामन्त्री बन्नुभयो ।
कम्युनिस्ट आन्दोलनमा देखापरेका विभिन्न किसिमका विचलनका विरुद्ध सङ्घर्ष गर्दै अघि बढ्ने क्रममा निर्माण भएको नेकपा (माओवादी) को वहाँ एकजना कुशल नेता हुनुहुन्थ्यो । निधन हुँदाको समयमा उहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय सल्लाहकार समितिको महासचिब हुनुहुन्थ्यो । पंचायती काल र बहुदलीय कालमा समेत गरी ७ वर्ष जेल र हिरासत भोग्नु भएको श्रेष्ठले दर्शन, अर्थशास्त्र र राजनीतिका क्षेत्रमा कलम चलाउनु भएको छ । इतिहास र साहित्यिकलामा समेत विशेष रुचि राख्नुहुने भक्तबहादुर श्रेष्ठको योगदान नेपालको कम्युनिस्ट आन्दोलनमा सदैव स्मरणीय रहने छ ।
उहाँको सातौँ स्मृति दिवसका सन्दर्भमा उहाँप्रति क्रान्तिकारी श्रद्धान्जली अर्पण गर्दै उहाँको आत्मजिवनी 'मेरा जीवनका उकाली ओरालीहरू' बाट एउटा अंश प्रस्तुत गर्दैछौं ।)
------------------------------------------------------------------------------------
जेल जीवनको नयाँ अनुभव
वीरगञ्ज जेल केन्द्रीय जेल हो । यहाँ साथै जोडिएको एउटा महिला जेल थियो । पछि त्यो जेललाई प्रायः गरेर राजबन्दीहरू राख्ने जेलमा परिणत गरियो । त्यो जेलमा चार, साढे चार महिना बितायौँ । त्यहाँ राजबन्दीका नाममा पहिले हामी २ जना गोविन्द दाइ र म मात्र थियौँ, पछि हटियाबाटै गोपालध्वज जोशी मेरो जेठानलाई पनि ल्याइयो । हामीलाई जेल सार्ने समयभन्दा दश दिन अगाडि, हेटौँडाको हु.प्र. कान्डमा नरबहादुर राई र मोहन गुरुज्यू पनि आइपुग्नुभयो । हामीलाई काठमाडौँ जेल चलान गरेपछि हटियाबाटै राधेश्याम, बद्रीप्रसाद खतिवडालाई पनि त्यहाँ ल्याएका रहेछन् । हटियाबाट पहिलापहिला मानिसहरू जेल पर्ने गरेका थिएनन् । त्यसपछि जेल पर्नेको लर्को नै लाग्यो र हटिया सरकारको आँखा गढेको लाल एरियामा पर्नगयो । समाज पनि ध्रुवीकृत भयो । हाम्रो पक्ष र विरोधीको पक्ष । विरोधी पक्ष भनेको निरङ्कुश व्यवस्थाका दलालहरू र हाम्रो पक्ष भनेको कम्युनिस्ट पक्षहरू ।
एउटै लामालामा कोठामा लहरै कोचाकोच गरेर सुत्नपर्ने । उडुस, उपियाँ जुम्राहरूले आतङ्कित नै पार्ने । बिहान घाम लागेपछि त कपडामा जुम्रा मार्नुपर्ने एउटा मुख्य कामै हुन्थ्यो । एउटै कोठामा बन्दीहरूको आफु सुतेको २ हात पर खाना बनाउने चुलाहरू हुन्थे । खाना बनाउँदा ती चुलाहरूबाट निस्केको धुवाँले कोठा जम्मै ढाकेर बस्नै नसक्ने समेत हुन्थ्यो । पुस्तकालय पत्रपत्रिकाहरू ठयाम्मै थिएनन् । यी सबै कुराहरूलाई लिएर सुविधा प्राप्तिको लागि सङ्घर्ष गर्न कैदीहरू एकगठ भए । भजन गाउन गोविन्द दाइ सिपालु । बेलुकी हाम्रा आफ्नै नम्बरमा राजनीतिक भजन जोडतोडले चल्थ्यो । त्यसैले हामीलाई तपाईंहरूजस्तो राजनीतिक बन्दी कैदीहरूसँग बस्नहुन्न भनी नाइकेहरूसँग बस्न फकाउन थाले । हामीले यसलाई इन्कार ग¥यौँ । भित्रै हामीलाई रमाइलो थियो । प्रत्येक बन्दीहरूको गाथाहरू हामीलाई कथाजस्तो लाग्थ्यो । हामी जनचेतना बढाउने कुराहरू गर्न पाउँथ्यौं । डाँकाहरू भन्थे—“कम्युनिस्टहरू र हामी त झन्डै उस्तै त हौँ नि, किनभने हामी पनि धनीको लुटेर गरीबलाई बाँड्छौँ, कम्युनिस्टहरू पनि त्यसै त गर्छन् ।” उनीहरूलाई दर्शन, सिद्धान्त, विचारधारा र राजनीति के थाहा । त्यसो होइन भनेर हामी उनीहरूलाई सम्झाउने कोसिस गथ्र्यौं ।
जेलभित्रका सबै एकगठ भएर जेलसुधारका लागि त्यहाँ भएका अन्याय–अत्याचारका विरुद्ध लड्ने निधो भएअनुसार एकदिन बिहानदेखि जेलको मूल ढोकामा जम्मा भएर नारा लगाउन थाल्यौँ । धेरैजस्ता बन्दीहरू जेलघरको छतछतमा बसेर नाराहरू लगाउनथाले । ढोकाभित्र कसैलाई पस्न मनाही गरियो । त्यो नारा वीरगन्ज बजारभरि फैलिएछ । हतियारबन्द प्रहरीहरूले जेलको चारैतर्फ घेरा दिएर बसे । बाहिरबाट लाउड स्पिकरद्वारा जेलका तर्फबाट चेतावनी आउनथाल्यो । साथै आश्वासन पनि । त्यस्तै एक दुई दिन नाराबाजी चलिरह्यो । हाम्रा मागहरूका बारे विचार गर्न वार्ताको प्रस्ताव आयो । वार्ता गर्ने कुरामा सहमति पनि भयो । भोलिपल्ट बिहानै ओछयानबाट नउठदै मलाई र गोविन्द दाइलाई बाहिर बोलाहट भयो र हामी हत्तपत्त बाहिर निस्क्यौँ । तर हामीलाई त काठमाडौँ जेल चलान गर्न पो बोलाएका रहेछन् । हामीलाई भित्र पस्न दिइएन र पाँच छ जना हतियारधारी पुलिसका साथ बसद्वारा हामीलाई काठमाडौँ चलान गरियो र काठमाडाँै सेन्ट्रल जेलको अफिसमा पुगेपछि मलाई सेन्ट्रल जेलमा र गोविन्द दाइलाई सँगै जोडिएको भद्रगोल जेलमा, फुटाएर राखियो ।
यहाँ गएको दिनदेखि आफ्नो सिदा, रासन उसैलाई दिनेगरी उसको भान्छामा खान थालेँ । निर्मल लामाजी पनि यही जेलमा छन् भन्ने कुरा बुझेँ । तेस्रो दिन घाम तापिरहेका निर्मलजीलाई देखेँ र नजिकै गएर परिचय दिएँ । उहाँले खुसी भएर हात मिलाउनुभयो र भन्नुभयो—“पुष्पलालजीले तपाईँको नाम लिइरहनु हुन्थ्यो । इमान्दार हुनु हुन्छ, उहाँसँग सम्पर्क राख्नुस् । म त तपाईं त यामानको जीउ भएको जुँगामुठे हुनुहोला भनी ठानेको थिएँ ।”। उहाँ निकै फरासिलो र मिलनसार लाग्यो । उहाँलाई भेटेपछि मेरो न्यास्रोपन हट्यो । उहाँको कोठा हेर्न गएँ । भित्तामा कम्युनिस्ट पार्टीको रातो हँसिया–हथौडा भएको झन्डा टाँगिएको रहेछ । मार्क्स , एङ्गेल्स, लेनिन, स्टालिन र माओका भोल्युमहरू सजाएर राखिएको । जेलभित्र राम्रै सबैले मान्ने र उहाँसँग केही हच्किने पनि अनुभूति भयो । मलाई पनि अब सजिलैसित जेलजीवन गुजार्न सकिन्छ भन्ने उत्सुकता जाग्यो । उहाँकै मेसमा केही दिनपछि आएर मिसिने कुरा भयो । उता भद्रगोल जेलमा गोविन्द दाइ एक्लै भएकोले साह्रै निरासिनु भएको रहेछ । त्यहाँको चौकीदार (जेलभित्रको कैदीहरूको हेड) मकवानपुर जिल्लाकै भीमफेदी नजिक उहाँको ससुराली टोलको रहेछ । कुराकानीमा जानपहिचान भएछ । मलाई सेन्ट्रलबाट भद्रगोलपट्टि ल्याउन जोर लगाउनु भएछ र जेलरसँग कुरा मिलाई म पनि सेन्ट्रलबाट भद्रगोल जेलतिर आएँ ।
सेन्ट्रल जेलमा कमरेड मनमोहन अधिकारी, कमरेड शम्भुराम श्रेष्ठ, विद्यार्थी आन्दोलनमा परेका महेश्वरमान श्रेष्ठहरू थिए । गोविन्द दाइ र मलाई ३ नं. घरको कोठामा राखियो । त्यसपछि, कमल कोइराला पनि भद्रगोल जेलमा आइपुगे । गोविन्द दाइ र मेरो एउटा भान्छा थियो । मनमोहन, शम्भुराम, महेश्वरमान श्रेष्ठ, कमल कोइराला र स्वास्नी मारेर ज्यान मुद्दामा परेको एउटा पाँडे थरको मान्छेको एउटै भान्सा थियो । गोविन्द दाइलाई धेरै खानुपर्ने भएकोले दिएको सिदाबाट हामीलाई खाना पुग्दैनथ्यो । हामीलाई चौबिसै घण्टा भोक लाग्ने, तर अघाउन नपाउने हुँदा म साह्रै कमजोर हुँदैगएँ । कमल कोइराला र महेश्वरमानले उनीहरूको भान्सामा मिलाउन जोर गरेका थिए, तर भान्छा ठूलो हुँदैन भनेर मनमोहनजीले मान्नुभएन । यसै बेला रूपचन्द्र विष्टजी आइपुग्नुभयो र हाम्रो भान्सामा मिल्नुभयो । रूपचन्द्र आएपछि मेरो कमजोर अवस्था देखेर मलाई फलफूल खुब खुवाउनुभयो । काठमाडौँका उहाँका इष्टमित्रहरू फलफूलहरू लिएर निकै भेट्न आउँथे । लौ तैँले खानुपर्छ भनेर बसेर खुवाउनुहुन्थ्यो । भात खाँदा पनि दामासही लगाउनु भयो । सबैको बराबर सिधा आउने, किन कसैलाई बढता दिने भनेर बराबर बाँडनुहुन्थ्यो । मैले गोविन्द दाइलाई मर्का पर्छ भनेर मेरो भागबाट थपिदिन्थे । तर, उहाँ गाली गर्नुहुन्थ्यो । फेरि भटमासको दूध बनाए खुब खाइयो । राँगाका खुट्टाको सूप बनाएर खाइयो । त्यो खाएको खुट्टाको हाड चुसेर सुख्खा पारिन्थ्यो र फेरि बेस्सरी उमालेर रस पिइन्थ्यो । जब खुट्टाको रसमा तर आउन छोड्थ्यो तब मात्र त्यो हाडले फुर्सत पाउँथ्यो । यो कुरा जेलभरि हल्ला भयो चुसेको हाड फेरि खायो भनेर । त्यसपछि त्यसरी खान छोडियो ।
एकचोटि के भयो भने गोविन्द दाइकी श्रीमती भेट्न आँउदा १० पाथीजति मसिनो चामल ल्याउनुभएको रहेछ । तर, त्यो चामल उहाँले फिर्ता गरिदिनु भएछ । जेलमा मानिसहरूले थाहा पाएर हल्ला नै भयो । जेलमा आएको कुरा फिर्ता गर्दा अचम्म मान्दारहेछन् । त्यो कुरा रूपचन्द्र विष्टलाई पनि थाहा भयो र गोविन्द दाइसँग एकदम रिसाउनुभयो । हामीले पनि खान्छौ भनेर फिर्ता पठाएको भनेर अर्थ लगाए । यो कुरा मनमोहनजी, शम्भुरामजीलाई पनि भन्नुभयो । जसलाई धेरै खानुपर्छ उसले चामल फिर्ता गर्ने ? उसले धेरै खाँदा भक्तबहादुरलाई मर्का परेर त्यसरी दुब्लाएको रहेछ भन्नुभएछ । मनमोहन, शम्भुरामजीले गोविन्द दाइलाई किन चामल फिर्ता गर्नुभएको भनेर गुनासो पोखेछन् । शम्भुरामजीले गोविन्द दाइलाई भेटेर सोध्नुभएछ, तपाईं बाहिर कति खानुहुन्छ भन्दा २ माना चामलको भात खान्छु । घरमा कति खानुहुन्छ नि भन्दा एकमाना भन्नुभएछ । शम्भुरामजी न हो बाहिर अरूको खाँदा २ माना घरमा एक माना तपाईं त अचम्मकै हुनुहुँदोरहेछ । त्यस्तो खाने मान्छेले ल्याएको चामल किन फिर्ता गरेको त भनेछन् । त्यस बेलादेखि गोविन्द दाइलाई आपूmलाई सबैले घृणा गरेको जस्तो महसुस भयो । अनि एकदिन मलाई आएर गुनासो पोख्नुभयो, मसँग मनमोहन, शम्भुरामजीहरू बोल्दा पनि बोल्नुहुन्न भनेर दिक्क मान्नुभयो । तपाईंलाई त्यस्तो लागेको छ, म कुरा गरौँला भनी शान्त्वना दिएँ । त्यो कुरा उनीहरूलाई पनिभनेँ । उहाँलाई त्यस्तो लागेको, त्यस्तो होइन भनेर भन्नुभयो । भेट्यो कि बोलिदिने गरेपछि गोविन्द दाइको पनि चिन्ता हट्यो ।
रूपचन्द्रको स्वभाव पनि अनौठो थियो । मनमोहनजी, शम्भुरामजीलाई भेट हुनासाथ अनेकौँ प्रश्न माथि प्रश्न सोधेर हैरान पार्ने । भेट्यो कि प्रश्न सोधिहाल्ने । शम्भुरामसँग मात्र अलि हच्किने । मनमोहनजीलाई त हैरानै पार्ने । पिसाब फेर्न जाँदाआउँदा पनि जम्काभेट भयो कि च्याप्प समातेर प्रश्नको वर्षा गर्ने । पिसाब फेर्न जानलाग्या भन्दा पनि नछोडने, कुरा सिद्धिएला र जाउँला भन्दाभन्दै प्रश्न नसिद्धिने, अनि बलजफ्ती गरेर गयो, सुन्ने धैर्य छैन भनेर लान्छना लगाउने । मनमोहनजीले यस्तो गुनासो हामीसँग पोख्नुहुन्थ्ये ।
एकचोटि एउटा घटना घट्यो । हामी सुत्ने कोठामा गोविन्द दाइ, म, रूपचन्द्रजी र एउटा नाइके सुत्थ्यौँ । एक दिन कोठामै बसेर म र नुवाकोटका एकजना साथी क्यारेमबोर्ड खेलिरहेका थियौँ । एउटा कुनामा त्यो नाइके र रूपचन्द्रजी पहलमानी कसरत गरिरहनुभएको थियो । नाइकेले घचेटिदिएछ र रूपचन्द्रजी म घोप्टो परेर क्यारेम खेलिरहेको हुँदा मेरो डँडाल्नोमा आएर बज्रिनुभयो । म त अररो भएर खुट्टा तनक्क तन्काएर हल न चल भएँ । के भयो कसो भयो भनेर हेर्नुभन्दा उहाँ त आत्तिएर, सँगै जोडिएको मनमोहनजीको कोठातिर जानुभएछ र बोल्दै नबोली चुपचाप बस्नुभएछ । हल्ला भयो, सबै हेर्नआए । डाक्टर ल्याएर देखाए र दबाइ दियो । म केही दिन ठाडो बस्न नस्कने भएँ । उठेर दिसा गर्ननै नसक्ने भएँ । सुतीसुती नै कोपरामा दिसा बस्नपर्ने भयो र त्यो दिसा च्यामेले लैजान्थ्यो ।
यो कुरा जेलका चौकिदार र मूल नाइकेहरूलाई मसला भएछ । रूपचन्द्र्रजी उनीहरूलाई गन्दै नगन्ने “तँ” भनेर सम्बोधन गर्ने, अलि बलियो पनि । त्यसैले उनीहरूले उहाँको रिस गर्थे । चौकीदारहरू आएर मलाई रूपचन्द्र्रको नाउँमा रिपोर्ट गर्न भनेर कर लगाउनथाले । रिपोर्ट गरेपछि, रूपचन्द्र्रलाई मर्मत पनि गर्ने र रिसइवि पनि साध्ने मनसाय रहेछ । मैले रूपचन्द्र्रले गाली गरेकै छैन, तिमीहरू कै नाइकेले कोठामा पहलमानी खेलेर घचेटिदिएकोले यस्तो भएको म रिपोर्ट दिन्न भनेपछि नाजबाफ भएर फर्के । रूपचन्द्रजीले अनि ठूलो सास फेर्नुभयो र मलाई झन् राम्रो दृष्टिकोणले हेर्न थाल्नुभयो । केही दिनपछि उहाँ सेन्ट्रल जेलपट्टि सरुवा हुनुभयो ।
त्यसबेला पञ्चायती कालमा सार्वजनिक सुरक्षाको बन्दीलाई ९÷९ महिनामा पुर्जी थप्थ्यो । ९ महिना बितिसकेर पनि हामीलाई पुर्जी थपिएन र गैरकानुनी थुनुवामा बस्नुपरेकोले साथीहरूले सर्वोच्चमा रिट हालेछन् । बहस हुँदाहुदै छोडनुपर्ने अवस्था आएकाले त्यो दिन न्यायाधीशले बहस स्थगित गरेछन् । भोलिपल्ट हामी २ गोविन्द दाइ र मलाई अञ्चलाधीश अफिसमा लगियो र हामीले छुट्टी पायौँ भन्ने कागजमा सही गराइयो । त्यसबेला अञ्चलाधीश कार्यालय रानी पोखरीनिर अहिले मध्यमाञ्चल प्रहरी कार्यालय बसेको घरमा थियो । हामी त्यहाँ हिँडेर १०० कदम जतिमात्र के हिँडेका थियौँ, प्रहरीले फेरि समातेर डिल्लीबजार खोरतिर लगे । भोलिपल्ट फेरि ९ महिनाको पुर्जी थपेर उही भद्रगोल जेलमा लगे । पहिले हामीलाई वीरगन्ज जेलमा २ नं. को सिदा दिएका थिए । सङ्घर्ष गरौँ, अनसन बसौँ भन्दा गोविन्द दाइ एकछाक भोक खप्न नसक्ने भनेर त्यही सिदामा चित्त बुझाएका थियौँ । काठमाडौँ आएपछि जेलरसँग झगडा भइरहन्थ्यो । त्यो पुर्जी दिएपछि जेलरले ‘‘लौ अब तपाईंहरू र मेरो झगडा सिद्धियो तपाईंहरूले पनि १ नं.को सिदा पाउनु भयो’’ भने । बल्ल हामीले राजबन्दीको सिदा पायौँ ।
१ नं.को सिदा पाएपछि हामी पनि मनमोहनजी कै भान्छामा समावेश भयौँ । पहिले त २ नं.को सिदामा उसिनाको चामल आउँथ्यो । त्यसै भएर नमिसाएको हो कि जस्तो लाग्यो । हामी जेल परेपछि मकवानपुरको हटिया प्रहरीसँग मिली विरोधीले दमन तीव्र पारेछन् । त्यसै सिलसिलामा गिरफ्तार भएर बद्रीप्रसाद खतिवडा पनि भद्रगोल जेलमै आइपुगे । हप्ताहप्तामा १ पटक मनमोहनजीले राँगाको मासु खुवाउनुहुन्थ्यो । हाम्रो त अरू आय स्रोत थिएन । कमलजीको घरबाट महिनाको १०० रुपियाँ आउँथ्यो । मनमोहनजीको भान्सामा मिलेपछि खानपिन राम्रै भयो । बिहान चियानास्ता खतिवडाबाहेक सगोलमै खान्थ्यौँ । पहिले हाम्रो चियानास्ता हुँदैनथ्यो । खतिवडा चियामा सामिल हुनुहुन्नथ्यो, किनभने भिन्दै आफ्नो कोठामा एक कचौरी खिर बनाएर खाँदै हामी चिया खाइरहेको बेला आउनुहुन्थ्यो । उहाँको यो बानी साथीहरूलाई मनपरेको थिएन । एक दिन सबैजना लस्करै बसेर भान्छा गरिरहेको बेलामा भान्छेले खतिवडाजीलाई एउटा भाँडो ल्याएर दियो । त्यो खसीको खुट्टा गालेर सुप बनाएको रहेछ । उहाँले थपक्क २ टुक्रा झिकेर मलाई मात्र थालमा हालिदिनुभयो र आपूmले पकापक खान थाल्नुभयो । मनमोहनजी, शम्भुरामजी, महेश्वरजी, कमल कोइरालाले मुखामुख गरे । मलाई पो के गरुँ के गरुँ भयो, जीउनै भारी भयो, अकमक्क परेँ, खानु कि नखानु, त्यसरी छुटयाएर खाने प्रवृत्ति नै मलाई थाहा थिएन । शम्भुरामजीले खानुस्खानुस् भनेपछि गह्रुँगो चालले खाएँ, मलाई साह्रै नराम्रो लाग्यो । खतिवडाजीलाई त के लाग्यो थाहा भएन । खतिवडाजीको छुट्टै कोठा, त्यही ३ नम्बरको बीचको तलामा, हामी सबैको तेस्रो तलामा । जसले जे ल्याए पनि माथि सबै बाँडेर खान्थ्यौँ । खतिवडाजीको तल्लो कोठा, उहाँलाई आएको, त्यो माथि आउँदैन थियो । मकवानपुरे साथीहरूले बेलाबेलामा खतिवडाजीमार्फत केही नगद पठाउँदारहेछन् । त्यसलाई उहाँले आफैँलाई मात्र दिएको सम्झनु हुँदोरहेछ । त्यसबाट हामीले सुको पनि पाएनौँ ।
मनमोहन, शम्भुरामजीजस्ताहरू बसेको ठाउँमा हामी केही जान्न चाहन्थ्यौँ, तर कुनै राजनीतिक प्रशिक्षण भएन । यो एउटा दुःखलाग्दो कुरा थियो । म पुष्पलालजीसँग सम्बन्धित भएर पुष्पलालजीको कुरा उठाँउथँे, त्यसैले त बिगा¥यो भन्ने नकारात्मक जबाफ आउँथ्यो । त्यसैबेला चीन र रूसको खुला विवाद बाहिर आइसकेको थियो । पहिला त चीनदेखि मनमोहनजी खुब रिसाउनुभयो अरे, शम्भुरामजीले सम्झाएपछि मात्र शान्त हुनुभएको भन्ने जेलमै सुनेँ । मनमोहनजीहरू छुट्ने कुरामा सरकारसँग निकै डाइलग चलिरहेको थियो—टङ्कप्रसाद आचार्यमार्फत । बाहिर भरतमोहनजीहरू पनि कागज गरेर छुट्नुहुन्न भन्ने पक्षमा थिए अरे भन्ने सुनेका थियौँ । कमल, महेश्वरहरू पनि यसै भन्थे । तर, एकदिन शम्भुरामजीले ड्राफ्ट गरेको कागज मेरो अक्षर राम्रो छ भनेर साफी गर्न दिनुभयो । त्यो कागजले उहाँहरूको छविलाई राम्रो पार्दैनथ्यो । त्यो कागज बाहिर पठाइयो र केही दिनपछि उहाँहरू छुट्नुभयो । हामी उस्तैउस्ता मात्र भयौँ । धक मान्नुपर्ने मान्छे नभएपछि रमाइलै भयो । कमलजी असाध्यै मिलनसार, गफाडी, टुक्का, चुटका खुब जान्ने । दिन गएको पत्तै हुँदैनथ्यो ।
जेलको दोस्रो अध्याय
जेलमा हामी त स्थायीजस्तै भएका थियौँ । एक हुल आँउथे, फेरि हुरुरु जान्थे, धेरैजसो विद्यार्थीहरू आउँथे । किनभने त्यसबेला पार्टीहरू प्रतिबन्धित भएका हुनाले राजनीतिमा विद्यार्थीहरूकै भूमिका थियो । पछि महेन्द्र श्रेष्ठ पनि छुट्नुभयो । अनि सेन्ट्रल जेलबाट निर्मल लामा र सिन्धुनाथ प्याकुरेल आउनुभयो । पछि मोहनविक्रम सिंह, बाबुकाजी बासुकला, बुद्धिकुमार गोसाईंहरू पनि भद्रगोल जेलमै आउनुभयो । उता सेन्ट्रल जेलमा मकवानपुरका वासुदेव रिजाल, चक्रपाणि रिजालहरू थिए । चक्रपाणि त चाँडै छुटे । साथीहरूमा वासुदेव मात्र उता परे सेन्ट्रलतिर । हामी सबैको भान्छा एउटै भयो ।
भद्रगोल जेलमा जम्मा दुइटा घर २ फ्लोरको र एउटा घर ३ फ्लोरको थियो । एउटा घर भद्रशम्सेरलाई राख्न भनेर बनाइएको २ तले थियो । त्यहाँ बन्दीहरू बस्तैनथे र पागलहरूलाई राखिन्थ्यो । एकपटक जर्मनीको एउटा पागललाई थुन्न ल्याइएको थियो । पागलहरू जम्मा २०/२२ जनासम्म थिए । पागल विभिन्न प्रकारका, खुला नै छोडिएको थियो । त्यो जर्मन पागल कमलजीसँग खुब मिल्थ्यो र हाम्रो कोठामा आइरहन्थ्यो । किनकिन निर्मल लामालाई चाहिँ देखिसहँदैनथ्यो । एकदिन त्यो लामघारे जर्मन पागलले हाम्रो कोठामा ढोकाबाट चियाएर हे¥यो । निर्मलजीलाई देखेपछि बोतलको सिसी उठाएर ताक्यो, निर्मलले लौरो उज्याउनुभयो, पागलले बोतलले हिर्काइहाल्यो । तै लामाजीले त्यो बोतललाई छेक्नुभयो र बोतल झ¥यामझुरुम फुट्यो । एवं रितले दुइटा बोतलले हिर्कायो, त्यसैगरी लामाजीले लौरीले रोक्नुभयो । कोठामा हल्लाखल्ला भयो र पागललाई लखेट्न थाल्यौँ । नाङ्गो पैतला हुँदा बोतलको टुक्राले लामाजीको खुट्टाको औलाको फेदमा नराम्ररी काट्यो । एकदम कोठैभरि रगताम्य भयो । पागललाई जेलभित्र जथाभावी छोडेर, जेललाई पागलखाना जस्तो बनाएको विरोधमा नाराबाजी ग¥यौँ र गोविन्द दाइबाहेक हामी सबैले त्यसको विरोधमा भोकहडताल ग¥यौँ । त्यसको भोलिपल्ट पागल जतिलाई पर्खालले घेरेर बाहिर निस्कन नपाउने सर्तमा भोक हड्ताल तोड्यौँ ।
खतिवडामाथि रिस पोखे
कमल कोइरालालाई भेट्न एउटी केटी दिव्येश्वरी हफ्तामा एक पटक आइरहने । तर, कमलजीलाई त्यो केटी मन नपरेको कुरा गर्नुहुन्थ्यो । उहाँका मातापितालाई मन परेकी केटी । कमलजी भूमिगत भएर भारतको फारबिसगन्ज बसेको बेलामा त्यही केटी कमललाई देखाउन लगिएको रहेछ । भेटघाटमा नजिकै फारबिसगन्ज नगरपालिकाको चुनाउ भैरहेको देखेर, “के तपाईं यस्तै चुनाउमा लाग्नुभएको हो ?” भनेर ती केटीले सोधेकाले सामान्य पनि राजनीति नबुभ्mने भनेर तिनलाई मन नपराउनु भएको कुरा गर्नुहुन्थ्यो । त्योसँग कुनै हालतमा बिहे गर्दिन भन्ने उहाँको अठोट पनि थियो ।
खतिवडाजी बिहानै जहिले पनि आफ्नो कोठाबाट उठेर कमलजी सुतिरहेको ठाँउमा घच्घच्याउँदै— “ए ! दिव्येश्वरीको पोइ” भनेर जिस्क्याइरहनु हुन्थ्यो । एकदिन बिहान म दिसा बस्ने भनेर बाहिर गएको थिएँ, आँउदा त कोठामा सबै छन् तर कोही नबोली झोक्राएर बसेका र कमलजी मुख छोपेर सुतिरहेको पाएँ । के भएको हो भनेर सोध्दा कोही पनि बोल्दैनन् । बद्रीप्रसाद खतिवडाजी पनि झोक्राएर बसेका । महेश्वरमान श्रेष्ठजीले पो बल्ल मुख खोल्नुभयो । खतिवडाजीले कमललाई सधैँझँै दिव्येश्वरीको पोइ भनेर बारम्बार घच्घच्याँउदा कमलजीले निन्द्रैमा हो वा के हो जुरुक्क उठेर भटाभट गालामा ठोक्नुभयो, खतिवडाजीको चस्मा झ¥यामझुरुम भयो । फेरि उहाँ सुतिरहनु भएको छ, भन्नुभयो । पछि कमलजी थाहा नपाएजस्तो के भो’, के भो’, भनेर उठ्नुभयो । तपाईंले के पो गर्नुभएन, खतिवडाजीलाई कुट्नुभयो, चस्मा फुटाली दिनुभयो भनेर भन्दा उहाँले थाहै नपाएको र निद्रामै गरेँ हुँला भन्नुभयो ।
एकदिन एकान्तमा सोद्धा कमलजीले भन्नुभयो, त्यो मैले जानीजानी गरेको हुँ । एकदिन होइन, दुईदिन होइन, सँधै भेट भयो कि दिव्येश्वरीको पोइ भनेर हैरान पार्ने, खालि फोहोरी शब्दबाट ठट्टा गर्ने, सामूहिक भाषा नभएको आदिले रिस उठिरहेको थियो र निद्राको बहाना पारेर बजाइदिएँ भन्नुभयो ।
मेरो र कमलजीको त्यही केटी दिव्येश्वरीको बारेमा एउटा घटना छ । उहाँ दिव्येश्वरीसँग बिहे नै नगर्ने प्रतिज्ञामा, म त्यही केटीसँग तपाईंले बिहा गर्नुहुन्छ भन्ने प्रतिज्ञामा । लौ त बाजी भयो भनेर हाम्रो बाजी परेको थियो । उहाँ जेलबाट निस्केपछि एक महिनापछि मलाई जेलबाहिर मानिस भेट्न आएको खबर आयो । बाहिर निस्कँदा त उही कमलजी, भलाकुसारी भयो । तपाईं र मेरो बाजी थियो नि त्यो बाजी तपाईंले जित्नुभयो भन्नुभयो । कुन बाजी भन्दा दिव्येश्वरीसँग बिहे गर्ने र नगर्ने बाजी भन्नुभयो । मैले त्यही दिव्येश्वरीसँग नै बिहा गरेँ, गुह्येश्वरीमा गएर । उहाँको विवाह ३१ वर्षको उमेरमा, ब्रतबन्ध पनि त्यही बेला गरिएछ । तपाईंले कसरी भन्न सक्नुभयो त्यही केटीसँग बिहा हुन्छ भनेर, सोध्नुभयो ।
मैले भनें , 'तपाईंको मनोविज्ञानको हिसाब लगाएर । तपाईं ३१ बर्ष पुगिसक्नुभयो । जेलभित्र कुनै केटी ढोकामा आएकी छ भन्ने सुन्नासाथ दौडेर ढोकामा हेर्न आउने । जेलको झ्यालबाट पर डाक्टरको क्वार्टरमा उसकी छोरी आउनासाथ त्यो झ्याल नछोडने र त्यस्तै यौन गफ गर्ने आदि क्रियाकलाप हेर्दा तपाईंलाई विवाह गर्न आतुर भइसकेको मैले बुझेँ । जेलभित्र त सधैँ भेटन आउने । त्यो भेट्न आउने कुरा कमलका मातापिता र केटीको मातापिताको सल्लाह बमोजिम भएको रहेछ । तपाईं जेलबाट निस्कनासाथ भेट्ने प्रक्रिया चलिहाल्छ र तपाईंको मातापिताको त्यो केटीसँग विवाह गर्ने दबाब बढ्छ । अनि तपाईंको भित्री मनको विवाह गर्ने आतुरताले अरू खोजिरहने झन्झट गरिरहनुभन्दा त भनेर झट्टै पाइहाल्ने केटी किन छाड्ने भन्ने मनमा लागिहाल्छ भन्ने मनसायले भनेको हुँ भनेँ '।
कमलजीको अर्को एउटा घटना छ । भू.पू. प्रधानमन्त्रीको छोरा भनेर जेलभरि सबैले जानेका । त्यसैले सबैले सम्मानको दृष्टिकोणले हेर्ने । बडादसैँको चाड ! सोमरस फ्री ! सबैले खान निम्ता गर्ने । निम्ता नमान्नु भएन । अलि अलि सबैकहाँ मान्दामान्दै उहाँ त झुम । रात १२ बजेसम्म यही क्रम चार पाँच दिन दसैँभरि यो क्रम चल्दा उहाँको दिमाग त चट् । रातभररातभर ठयाम्मै निन्द्रा नपर्ने । मर्फी इन्जेक्सनले पनि राम्रोसँग छोएन । त्यसैले जुरुक्क उठ्ने, लौ भातगात भरा भनेर कराउने । जेलको ढवाँगे रेडियो बज्यो कि बुर्लुक्कै उफ्रने । लुज पेन्ट लगाउनु भएको छ । दुवै हातले पेन्ट स्याहारेर लफ्य्राक लफ्य्राक हिँड्ने । खालि उहाँको दिमागमा जेल र पुलिसको धम्की आएजस्तो लागिरहने । निन्द्रा ठयाम्मै नलागेपछि र इन्जेक्शनले पनि नभेटेपछि आपत परेन ? मन एकोहोरो पारे निन्द्रा लाग्छ भनेर मलाई निर्मलजीले सुत्ने बेलामा उपन्यासको कथा पढेर सुनाउन भन्नुभयो । त्यसै गरेँ । तर उपन्यास सुने पो । लौ दिमाग त चट् भयो । एउटा राम्रो साथी, रमाइलो साथी, विचार मिल्ने साथी यस्तो भएकोमा सबैले चित्त दुखाउनु स्वाभाविकै थियो । ५÷६ दिनपछि बिस्तारबिस्तार निद्रा पर्न थाल्यो र क्रमशः सुधार हुँदै गएपछि सबै खुसी भए ।
जेल बसाइको नया“ ढङ्ग
अब हाम्रो मेसमा मोहनविक्रम, निर्मल लामा, म, बाबुकाजी बासुकला, कमल कोइराला, बुद्धिकुमार गोसाँईं, मनाङ्को पेमा लामा, सिन्धुनाथ प्याकुरेल र गोविन्द दाइ भयौँ । निर्मल लामाजीले चौकीदारसँग भनेर एउटा लामो सुर्को बारीको पाटो जेलभित्रै तरकारीको लागि लियौँ । सबैले खनेर थरीथरीका तरकारीहरू लगायौँ । बुद्धिकुमार गोसाँईं तरकारी खेती गर्न सिपालु । च्यामेद्वारा पाइखानाको फोहोर बारीभरि हालेर त्यसलाई माटोले छोपी तरकारी लगाएको, तरकारी त्यसै रहरलाग्दो भएर आयो । त्यसले पनि हामीलाई निकै भरथेग भयो ।
महिनामहिना दिनका लागि हाम्रो टिमभरिको नेता फेरिन्थ्यो । उसको काम सबैले निर्णय भएबमोजिम काम गरेको छ कि छैन भनेर हेर्ने थियो । महिना, महिना दिनमा कामको हेरफेर भइहाल्थ्यो । पानी बोक्ने, कोठा सफा गर्ने, भान्छाको किनमेल गर्ने एक एकजनाको जिम्मा हुन्थ्यो । बिहान उठेपछि आफ्नो बिछ्याउना आफैँले अनिवार्य पट्याउनु पर्ने । एक टाइम अध्ययन अनिवार्य थियो । बेलुकी भएपछि दिनभरिको कामको मूल्याङ्कन र आलोचना–आत्मालोचना हुन्थ्यो । हप्तामा एकपटक शुक्रवार सबैले केही न केही लेखेर बेलुकी सुनाउनुपथ्र्यो । शनिवार बेलुकी एउटा साथीलाई यो किताब पढनु भनेर जिम्मा दिइएको हुन्थ्यो । उसले त्यसको बारेमा व्याख्या गर्नुपथ्र्यो । हप्तामा एकपटक बिहान जेल सफा गर्ने कामहरू गथ्र्यौं । यो देखेर जेलमा राम्रो प्रभाव परेको थियो । अझ कमल कोइरालाले माथि धाराबाट गाग्रीमा पानी ल्याएको देखेर कम्युनिस्टहरूमा ठूलोसानो भन्ने हुँदैन, सबैले श्रम गर्छन्, प्रधानमन्त्रीको छोरोलाई पनि पानी बोकाए÷बोक्यो भनेर चर्चा हुन्थ्यो ।
महिनामहिना दिनमा मेस इन्चार्ज फेरिन्थ्यो । मेस इन्चार्जले आफ्नो आम्दानीखर्चको बजेट पेस गर्नुपथ्र्यो र चार्ज बुझाउँदा हरहिसाब बुझाउनुपथ्र्यो । मोहनविक्रम जीलाई भने कामको जिम्मा दिइएको थिएन । किनभने उहाँको बि.ए.को जाँच थियो र अध्ययनका लागि बिदा दिइएको थियो । शनिवारको दिन उहाँको काम भनेको सबैको जुत्तामा पालिस लगाउने थियो । त्यसबेला काङ्ग्रेसका कार्यकर्ता, नेताहरू निकै जेल परेका थिए ।
मोहनजीले जेलभित्रै कम्युनिस्ट पार्टीको सेल गठन गर्नुभएको रहेछ । त्यो हामीलाई थाहा थिएन । कमल कोइराला जेलबाट छुटेपछि मात्र थाहा भयो । किनभने त्यो स्थानमा मलाई राखेपछि थाहा भयो । मोहन विक्रम, निर्मल लामा र कमल कोइराला रहेछन् । कमलजी गएपछि उहाँको स्थानमा म भएँ । त्यहाँ पार्टी राजनीतिको छलफल हुन्थ्यो भन्ने थाहा नपाउने गरी हाम्रो ग्रुपलाई पनि लिड गरिरहेको हुन्थ्यो । त्यहाँबाट हामीले हाम्रा विचारहरू बाहिर पठाउने गथ्र्यौं । बाहिर पार्टी त्यसबेला लथालिङ्ग थियो । पुष्पलालजीले केन्द्रीय एडहक कमिटी गठन गरेर पार्टी सम्पर्क बढाउने कोसिस गर्नुभएको थियो । त्यो कमिटीमा म पनि थिएँ । तर, त्यसले पार्टी घोषणा गर्ने भनेको थिएन र संशोधनवादीहरूलाई छाडेर विचार मिल्ने साथीहरूसँग सम्पर्क गरेर पार्टी निर्माण गर्न छलफल चलाउने भनेको थियो । तर, २०२५ सालमा गोरखपुरमा सम्मेलन गरेर पार्टी घोषणा गरेको र म पनि केन्द्रीय समितिमा भएको खबर घिउको डिब्बामा आएको पुष्पलालको पत्रबाट थाहा भयो । त्यसमा मलाई नबस्न मोहनजी र निर्मलजीले जोड गर्नुभयो, किनभने यसबाट व्यापक पार्टी एकता हुँदैन भन्ने थियो । पत्रमा नारायणी अञ्चलमा को को राखेर काम गर्ने भन्ने सल्लाह मागिएको थियो, त्यसको जबाफ मैले पठाइँन ।
('भक्तबहादुर श्रेष्ठ स्मृतिग्रन्थ'बाट)
भिडियो फिचरview all