menu

ताजा समाचार

पार्टी, कार्यकर्ता र नेता

भक्तबहादुर श्रेष्ठ 'शेर सिंह '

विचारअनुसारको राजनीति र राजनीति अनुसारको सङ्गठनात्मक संरचनाको आवश्यकता हुन्छ । संशोधनवादी विचारधारा लिनेहरूले सुधारवादी राजनीति ग्रहण गरेका हुन्छन् । सुधारवादी राजनीति भन्नाले संविधानमा सामान्य सुधारको मात्र कुरा गर्नु, वैधानिक आन्दोलनमा मात्र जोड दिनु, खासगरी संसदीय चुनावलाई नै आन्दोलनको आधार बनाउनु र  पुँजीवादी सम्बन्धहरूको सीमाभित्र मात्र रहनु हो । यस्ता सुधारवादी पार्टीहरूको सङ्गठन पनि त्यस्तै खुकुलो र खुला प्रकारको चुनावी भोटको आधारमा निर्माण भएको हुन्छ । त्यसैले देख्दा यो सङ्गठन ठूलो देखिन्छ, तर यस्तो सङ्गठन आमूल परिर्वतनको दिशामा क्रान्तिकारी ढङ्गले एक पाइलो पनि अगाडि बढ्न सक्तैन । त्यसैले यस्ता पार्टीहरू  सम्झौतावादी, आत्मसमर्पणवादी बन्छन् र सत्ता र सुविधा नै यिनीहरूको मुख्य आकाङ्क्षा हुनेगर्छ । त्यसैले देश र जनताको लागि ऐतिहासिक जिम्मेदारी यस्ता सङ्गठनले बहन गर्न सक्तैनन् ।
 
त्यसैगरी मार्क्सवाद -लेनिनवाद र माओवादको सैद्धान्तिक झण्डा बोकेर क्रान्तिकारी ढङ्गले ग्रामीण वर्गसङ्घर्षद्वारा दीर्घकालीन जनयुद्धको बाटो भएर आमूल परिवर्तनको उद्देश्य बोेकेका पार्टीहरूको राजनीति पनि त्यस्तै प्रकारको हुन्छ र सङ्गठन पनि त्यस्तै प्रकारको आवश्यक हुन्छ । राजनीति क्रान्तिकारी, सशस्त्र सङ्घर्षबाट सत्ता प्राप्त गर्ने नीति अनि सङ्गठन चाहिँ निम्नपुँजीवादी चरित्रको भयो भने त्यो राजनीति कोरा लफ्फाजी मात्र बन्न जान्छ— निम्नपुँजीवादी, वर्गचरित्रले अवसरवादी भूमिका खेलिरहेको हुन्छ ।

अवसरवादीहरूले वर्गसङ्घर्षको स्वीकृतिलाई उसको स्वार्थ र इच्छाको बिन्दुसम्म मात्र लिएर जान्छन्, पुँजीवादको सत्ता पल्टाउने र त्यसलाई पूर्णरूपले अन्त्य गर्ने कालसम्म लिएर जाँदैनन् । त्यसकारण जबसम्म पार्टीभित्र निम्नपुँजीवादी वर्गचरित्र हाबी हुन्छ, तबसम्म त्यो पार्टीले क्रान्ति गर्न सक्तैन । निम्नपुँजीवादी वर्गचरित्र भएकाहरूबारे लेनिन भन्नुहुन्छ :
 
“...त्यस्ताहरू  क्रान्तिकारीपनको हदसम्म त सजिलैसित पुग्न सक्तछन्, पुँजीवादको त्रासका कारण लगन, सङ्ठन र अनुशासन र दृढताको परिचय दिन सक्तैनन् । ‘उन्मादी’ निम्नपुँजीवाद एउटा यस्तो सामाजिक प्रपञ्च हो, जुन अराजकतावाद जस्तै सबै पुँजीवादी देशमा पाइन्छ । यो सबैले जानेकै कुरा हो कि यस्तो क्रान्तिकारीपन कति बाँझो हुन्छ र कति छिट्टै तुरुन्त आत्मसमर्पण, उदासीनता, मृगमरिचिका र यहाँसम्म कि कुनै न कुनै ‘फेसनी’ पुँजीवादी प्रवृत्तिप्रति ‘घोर’ आकर्षणमा पनि बदलिन सक्छ ।”

यसको उदाहरण हाम्रै देशका कम्युनिस्ट आन्दोलनभित्र पनि बारम्बार घटित भैरहेका छन् । यस्ता निम्न पुँजीवादी चरित्र व्याप्त भएकाहरूले पार्टीभित्र चारैतिर निम्न पुँजीवादी वातावरण पैदा गरिदिन्छन्, जसले क्रान्तिकारीलाई पनि भ्रष्ट पार्छन् ।  फलस्वरूप सङ्ठनभित्र ढुलमुलपन, फूट, व्यक्तिवादीता र बारम्बार देखापर्ने आरोहअवरोको सिकार बन्छन् । यस्ता प्रवृत्तिसँग जुध्न पार्टीभित्र कठोर अनुशासनको आवश्यकता हुन्छ ।
 
क्रान्तिकारी कार्यदिशा कार्यान्वित गर्न क्रान्तिकारी मालेमावादी’ कार्यशैलीको विकास अवश्यंभावी हुन्छ । यस्तो कार्यशैलीका लागि नेता र कार्यकर्ता एकदम चनाखो बन्नुपर्छ । स्टालिन भन्नुहुन्छ : “कार्यकर्ताहरूले नै सबै कुराको फैसला गर्छन् ।”

यसबारे माओ भन्नुहुन्छ : ''एउटा महान् क्रान्तिको माग दर्शनका लागि एउटा महान् पार्टी र उत्तम दर्जाका धेरै कार्यकर्ताहरूको खाँचोपर्छ ।...यदि नेतृत्व एउटा सानो सन्की गुटको हातमा रहन्छ भने र यदि पार्टीका नेता र कार्यकर्ताहरू क्षुद्र बुद्धिका अदूरदर्शी र अयोग्य छन् भने इतिहासमा अभूतपूर्व हाम्रो महान् क्रान्तिलाई पूरा गर्नु असम्भव छ ।

कार्यकर्ता र नेता कस्तो हुनुपर्छ यसबारे माओ भन्नुहुन्छ;

“मार्क्सवाद, लेनिनवादमा पोख्त, राजनीतिक दृष्टिले दूरदर्शी, काममा दक्ष, आत्मबलिदानको भावनाले ओतप्रोत, स्वतन्त्ररूपले समस्या हल गर्न सक्ने, कठिनाइ आइपर्दा अडिग र राष्ट्र, वर्ग तथा पार्टीको सेवामा समर्पित तथा इमान्दार हुनुपर्छ । यस्ता नेता तथा कार्यकर्तामाथि भरोसा राखेर नै पार्टीले आफ्ना सदस्यहरू  र आमजनतासित सम्बन्ध स्थापना गर्दछ र आमजनतामा उनीहरूको दह्रो नेतृत्वमाथि भरोसा राखेर नै पार्टीले सत्रुलाई पराजित गर्न सक्छ । ...यस्ता नेता तथा कार्यकर्ताहरू  स्वार्थिपना, व्यक्तिवादी वीरता, आडम्बर, अल्छिपना, निष्कृयता र सकीङ्र्ण हठवादिताबाट मुक्त हुनुपर्छ र उनीहरू  निःस्वार्थ, राष्ट्रिय वीर र वर्गवीर बन्नुपर्छ ।”

यस्तो खाले पार्टीले फलामे अनुशासनलाई अलिकति पनि कमजोर पार्यो  भने त्यसले सर्वहारा वर्गका विरुद्ध प्रतिक्रियावादी वर्गलाई मात्र फाइदा पुर्याउँछ । यस्तो अनुशासन त्यसै थोपरेर प्राप्त हुँदैन, क्रान्तिकारी पार्टीभित्र अनुशासन कसरी कायम राख्ने, त्यसलाई कसरी जाँच्ने, कसरी मजबुत बनाउने भन्नेबारे लेनिन भन्नुहन्छ :

“सबैभन्दा पहिलो कुरा हो, सर्वहारा वर्गको क्रान्तिकारी समूहहरू  वर्गचेतबाट, क्रान्तिप्रति उसको निष्ठा र भक्तिबाट, उसको लगन, आत्मबलिदान र नीडरपनबाट । दोस्रो हो, विशाल श्रमिक वर्गहरूसँग मुख्य गरी सर्वहारा वर्गसँग, साथै गैरसर्वहारा श्रमिक जनतासँग पनि आफ्नो सम्बन्ध राख्ने, उनीहरूसँग हमेशा नजिकको सम्बन्ध बनाउने र केही हदसम्म यदि तपाईँ ठीक लाग्छ भने उनीहरूसँग एकदमै जीवन्त सम्बन्ध राख्ने क्षमताबाट । तेस्रो हो, क्रान्तिकारी तप्काले कति सही ढङ्गबाट राजनीतिक नेतृत्व गरिरहेको छ, उसको राजनीतिक रणनीति र कार्यनीति कति सही छ र नेतृत्व कति सही छ भन्ने कुरा आमजनताले स्वयं आफ्नो अनुभवबाट बुझेका होऊन् । यी कुराहरू  भएनन् भने त्यस क्रान्तिकारी पार्टीमा अनुशासन पैदा हुन सक्दैन ।”

यस्तो भएपछि मात्र वास्तविक क्रान्तिकारी पार्टी बन्न योग्य हुन्छ ।

लेनिन भन्नुहुन्छ :

“यी सर्तहरूको पालन नभइकन अनुशासन पालन गर्ने प्रयत्न अनिवार्य रूपबाट अर्थहीन साबित हुन्छ र कोरा लफ्फाजी र नाटकीयता बन्नजान्छ ।”

लेनिन थप भन्नुहुन्छ : “यी सबै एकैचोटि हुन सक्तैनन् । धेरै लामो प्रयत्नपछि र निकै कठिनाइसँग प्राप्त गरेका अनुभवबाट नै यी कुराहरू  पैदा हुन्छन् । सही क्रान्तिकारी सिद्धान्तबाट नै यसलाई पैदा गर्न सघाउ पुग्छ । तर क्रान्तिकारी सिद्धान्त ढुङ्गामा कोरिएको अक्षर होइन,  एउटा सच्चा जनआन्दोलन र सच्चा क्रान्तिकारी आन्दोलनको व्यावहारिक कार्यसँग घनिष्ठ सम्बन्ध कायम भएपछि नै यसले अन्तिम रूप  धारण गर्दछ ।”

सङ्घर्षमा खारिएको एउटा इस्पातिलो पार्टीबिना, जनताका भावनालाई बुझ्ने र त्यसमा प्रभाव पार्ने क्षमता भएको पार्टीबिना क्रान्तिको दिशातर्फ बढ्न असम्भव हुन्छ ।

यी कुराहरू पूरा गरिसके पछि मात्र क्रान्ति सुरु गर्ने भन्ने र केही सानो डफ्फाले मात्र पनि सुरु गरिहाल्ने भन्ने दुवै धारणा गलत हुन् । यसमा एउटा धारणा दक्षिणपन्थी हो भने अर्को उग्रवामपन्थी । हामीले गर्ने युद्ध जनयुद्ध हो र यो क्रान्ति जनताबाटै गरिने हो । त्यसैले ग्रामीण वर्गसङ्घर्षको आधारमा त्यसलाई योजनाबद्ध ढङ्गले क्रान्तिकारी मार्गमा विकास गर्दै लैजानुपर्छ ।
 
पार्टीको सफलता, त्यो पार्टी क्रान्तिकारी विकासतिर कतिको सिर्जनशील छ त्यसमा भरपर्छ । सिर्जनशीलताका साथै क्रियाशीलता, श्रमिक जनताप्रति उसको व्यवहार र ग्रामीण वर्गसङ्घर्षको विकासलाई ध्यान दिएर जीवन्त रूपमा जनतासँग भिज्न सक्ने क्षमता भएको पार्टीले नै क्रान्तिलाई अगााडि बढाउन सक्छ ।  यी कुराहरू पूरा गर्न उसले सक्छ कि सक्दैन जाँच गर्न, त्यस पार्टीले आफ्नो गल्तीप्रति कस्तो व्यवहार अँगालेको छ, गल्तीहरूलाई प्रस्टरूपमा स्वीकार गरेर गल्तीको कारण पत्ता लगाउन छानबिन गरी त्यसलाई सुधार गर्ने काम गरेको छ कि छैन भनेर हेर्नु हो ।

आजको पार्टीको मुख्य समस्या भनेको क्रान्तिकारी कार्यदिशा र संसदीय चिन्तन पद्धतिका बीचको अन्तर्विरोध हो । यो अन्तर्विरोधलाई हल नगरिकन त्यस दिशातर्फ अगाडि बढ्न सकिँदैन । यसलाई हल गर्न व्यवहारिक रूपमा वर्गसङ्घर्षको विकास र मार्क्सवाद-लेनिनवाद-माओवाद प्रशिक्षणको निरन्तर अभियान नै हो ।

(‘जनक्रान्तिको दिशामा ग्रामीण वर्गसङ्घर्ष र सचेतन पक्षको भूमिका’  पुस्तिकाको को एउटा अंश )
भिडियो फिचरview all