
ग्रामीण वर्गसङ्घर्ष सम्बन्धी कमरेड भक्तबहादुर श्रेष्ठको ऐतिहासिक आलेख

‘भौतिकवादी दर्शनशास्त्रको उत्पत्ति एवम् विकास र मार्क्सको आर्थिक-दार्शनिक सिद्धान्त’ पुस्तक २०५८ मा प्रकाशित भएको हो । विहानी प्रकाशनका नाममा प्रकाशित यो पुस्तक त्यतिबेला नेकपा (माओवादी) को आन्तरिक प्रकाशनद्वारा प्रकाशित पुस्तक हो । यो त्यतिबेला प्रकाशित भएको भए पनि पुस्तक आम पाठकसम्म आउनुअघि नै सरकार र माओवादी पार्टीबीचको वार्ता भङ्ग भएको र दाङ आक्रमणपछि सरकारले “सङ्कटकाल” घोषण गरेकाले पुस्तक सहज किसिमले आम पाठकसम्म पुग्ने स्थिति रहेन । कमरेड किरणले कमरेड भक्तबहादुर श्रेष्ठको दार्शनिक व्यक्तित्त्वको चर्चा गर्ने सन्दर्भमा हिमाली दर्शनमा 'भौतिकवादी दर्शनशास्त्रको उत्पत्ति एवम् विकास’ र ‘मार्क्सको आर्थिक-दार्शनिक सिद्धान्त’ को चर्चा गर्नु भएको छ ।
त्यतिबेलाका उपत्यका इन्चार्ज रवीन्द्र श्रेष्ठको भूमिका रहेको यो पुस्तक ०४३-०४४ सालमा वीरगन्ज जेलमा रहँदा लेखिएको भनेर लेखक स्वयंले भूमिकामा उल्लेख गरेका छन् । यो पुस्तक दुइटा रचनाहरू ‘भौतिकवादी दर्शनशास्त्रको उत्पत्ति एवम् विकास’ र ‘मार्क्सको आर्थिक-दार्शनिक सिद्धान्त’ को सङ्कलन हो । जेलमा रहेका बेला र सामग्रीको अभावले पनि होला भौतिकवादी दर्शनशास्त्रको उत्पत्ति एवम् विकासमा भएको पछिल्लो विकास खास गरेर माओले यस क्षेत्रमा गरेको विकासको चर्चा यस पुस्तकमा पाइँदैन । मार्क्स-एङ्गेल्स र लेनिनका धारणाहरूमा पुस्तक सीमित भए पनि भौतिकवादी दर्शनशास्त्रको उत्पत्ति एवम् विकासको आधारभूत जानकारीका लागि यो पुस्तक महत्वपूर्ण छ ।
दोस्रो आलेख, जनक्रान्तिको दिशामा ग्रामीण वर्गसङ्घर्ष र सचेतन पक्षको भूमिकानिकै महत्वपूर्ण आलेख हो । जीवनाथ खतिवडा, हेटौँडाद्वारा प्रकाशित यो पुस्तिकामा प्रकाशित मिति छैन, तर यहाँ उल्लेखित सन्दर्भ हेर्दा यो पुस्तिका २०५२ सालमा जनयुद्ध आरम्भ हुनुअघि पार्टीभित्र चलेको ग्रामीण वर्गसङ्घर्ष सम्बन्धी बहस र चर्चासित सम्बद्ध छ भनेर भन्न सकिन्छ । एक हिसाबले जनयुद्धपूर्व विचार निर्माणका लागि तयार पारिएको आलेखका रूपमा यसलाई लिन सकिन्छ । मिति उल्लेख नभए पनि जानकारहरूले यो पुस्तिका २०५२ साल मङ्सिरमा प्रकाशित भएको हो भनेका छन् ।
मूल आलेखलाई ९ वटा उपशीर्षकमा यसरी प्रस्तुत गरिएको छ : १) राज्यसत्ता प्राप्त गर्नेबारे संशोधनवादी दृष्टिकोण,२) ग्रामीण वर्गसङ्घर्ष नै किन ?, ३) पार्टीकार्यकर्ता र नेता, ४) जनदिशाबारे, ५) विभिन्न प्रवृत्तिहरूसँग जुद्धै सही धारलाई समातौं, ६) कार्यकर्तामा नेतृत्वकारी पहलकदमीको आवश्यकता, ७) ग्रामीण स्तरदेखि नै अन्तर्विरोध खुटयाएर ग्रामीण वर्गसङ्घर्षको थालनी, ८) वर्गीय चेतनाको विकास र ध्रुवीकरणको प्रक्रिया र ९) दीर्घकालीन जनयुद्धको सिद्धान्तबारे ।
समग्र आलेख पढेपछि यो आलेख महान् जनयुद्धको तयारीका क्रममा विचार निर्माणको जिम्मेवारीका तहबाट सिर्जित आलेख हो भन्न सकिन्छ । ‘यस पुस्तकका बारेमा’ मा कमरेड भक्तबहादुरद्वारा व्यक्त तलका भनाइबाट पनि यो आलेख लेख्नुको आवश्यकता र औचित्य प्रस्ट हुन्छ :
“नेपाली क्रान्तिको दिशालाई प्रगतिपथमा अग्रसर गराई नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न प्रमुख दुस्मनका विरुद्ध भौतिक शक्तिले र संशोधनवादीहरू तथा सुधारवादीहरूलाई सैद्धान्तिक, वैचारिक र राजनीतिक, हतियारले उनीहरूमाथि विजय प्राप्त नगरी यो कार्य सम्भव छैन । यस कार्यको मुख्य दिशा भनेको दीर्घकालीन जनयुद्ध र ग्रामीण वर्गसङ्घर्ष नै हो । नेपाली क्रान्तिको विशिष्टता नै यही हो । यसै उद्देश्यलाई ध्यानमा राखेर आम कार्यकर्ता तथा जनतामा समेत सामान्य रूपमा भए पनि चेतना जागृत होस् भन्ने आकाङ्क्षा लिएर यो पुस्तिका प्रकाशित गरिएको हो ।”
नेपाली जनयुद्धको आरम्भको पूर्वसन्ध्यामा पाठकसामु आएको यो पुस्तिकाले कमरेड भक्तबहादुरको क्रान्तिकारी चिन्तनलाई प्रस्ट पार्नुका साथै नेपाली क्रान्तिको बाटो दीर्घकालीन जनयुद्धको आवश्यकता र महत्वमाथि पनि प्रकाश पारेको छ । आजका सन्दर्भमा पनि यो आलेखको सान्दर्भिकता र महत्त्वमा ह्रास आएको छैन, बरू बढेको छ । सत्य कुरा के हो भने जसले जे-जे भने पनि नेपाली नयाँ जनवादी क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धको बाटो भएर अघि बढ्नै पर्ने हुन्छ ।
०००
भिडियो फिचरview all