menu

ताजा समाचार

गरिबीले फिरन्ते बनायो

विनोद दाहाल

रौतहट  पिडुगपुरका ३८५ घर २०५० साल र त्यसपछि पनि आएको वागमतीको बाढीबाट सुकुम्बसीमा परिणत भए । सरकारले बस्ने ठाउँ कहिं नदिंदा अहिले फिरन्ते अवस्थामा पुग्नु परेको इन्द्रदेव कापडीको भनाइ छ । कापडी उच्च जातिका पनि हुन्छन्, तर आफूहरू त्यस्ता होइनौं भन्ने उनको भनाइ छ । उनीहरू  कुखुराको खोरमा गएर मरेको कुखुरा ल्याएर बाँडेर ३ वटा चुलोमा पकाएर खाँदैछन् । घरघरमा गएर मागेर ल्याएको चामल पकाएर खानुपरेको दुःखेसो पनि छ उनको । गरिबी  छल्न यसो गर्नुपरेको उनको भनाइ छ ।

इन्द्रदेवलगायतका परिवारहरु ६ दिनदेखि सुनकोशी ५, मूलकोट, सिक्रेफाँट, सिन्धुलीको एक छेउमा पुसको चीसोमा, वालवच्चाहरूसहित छन् । प्लास्टिकको पालमुनि बसेका ३ वटा पालमा बसेका उनीहरू  भोलि नेपालथोकतिर सर्ने बताउँछन् । उनीहरू बसेको देखेर स्थानीयहरुले उनीहरूलाई बनजराहरु भन्ने गरेका छन्, तर उनीहरू त्यस्ता हैनन् । स्यालहरू  तथा चराहरू  मार्न सरकारले दिंदैन, लगेर थुन्छ, थुनेपछि यिनीहरूले के गरेर खानु फेरि ? उनीहरूको भनाइ छ । मर्न भएन, गरिबीले निम्त्याएको दुःख र सरकारले दिएको सास्ती फिरन्ते जीवनमार्फत व्यहोरिहेका छौं, भन्छन् इन्द्रदेव ।

“परियोजनाको नहरको डिलमा छाप्रो हालेर बसेका छन् मानिसहरू  । सरकारले त्यहाँबाट हटाउने भन्दै सूचना दिइराख्छ, हामी कहाँ जाऔं ?” अर्का सञ्जय कापडीको भनाइ छ । उनका अनुसार सर्लाहीपटी धरहरामा त्यसैगरी  बसेका हजारौंलाई यो साल लखेट्यो सरकारले, उनीहरुको कस्तो बिजोग छ । अब उनीहरूलाई पनि लखेटने होला भनी उनी पिरोलिएका छन् । उनको छाप्रोमा बाबुआमा बस्छन्, खान र बस्न ठूलो समस्या छ । अब शीतलहरले छोप्ने बेला भयो, कति दुःख हुन्छ, बाँच्न कति मुस्किल हुन्छ । सुकुम्बासी बस्तीमा रहेका हुकुम्वासीहरूको त बस्ने अन्तै ठाउँ होला, तर हामी सुकुम्बासीहरू कता गएर बस्नु ? उनको गुनासो छ ।

मधेसमा काम पाइंदैन, समस्या हुन्छ, हामी कहाँ जाऔं ? सञ्जय कापडीको भनाइ  छ । गएको असारमा उदयपुरको कटारीमा ज्यामी काम गर्न गएका थियौं, राई-लिम्बु केजाति ठेकेदारले १६/१७ हजार जति दिंदै दिएन, केके भनेर टार्यो । रित्तै हात छाप्रोमा फर्किनु पर्यो । उता काम पाइंदैन, यता काम गरेको पनि नदिएर ठग्छन्, हामीले के गर्नु, भन्ने उनले प्रश्न गरे । घरघरमा गएर पुराना कपडा मागेर ल्याई लाउनु परेको भनाइ पनि छ, यी उनीहरुको ।

बस्ने बिकल्प नै खडा नगरी  लखेटने सरकारी नीति नै बेठिक देखिन्छ । मानिसलाई  प्राकृतिक प्रकोपहरू  लाग्न सक्छ, सरकारको काम त व्यवस्थापन गर्ने हो नि ! जुनसुकै र जोसुकैको सरकार बने पनि अहिलेसम्म धनी र ठालूका समस्याहरु समाधान गर्ने, तर गरिवका समस्याहरुबारे सँधै बेखबर भैदिने वा संवेदना नहुने खालका छन् । राज्यसत्तामा भएको यो सबैभन्दा ठूलो समस्या हो । यसको समाधान वर्गसंघर्षमा विजय प्राप्तिपछि मात्र सम्भव हुन्छ । अहिले प्रतिक्रियावादी र अवसरवादीहरू  न जनयुद्धको विजय भएको भन्छन्, न त पराजितहरूले सत्ता प्राप्त गरेको हैन नै भन्छन् । प्रतिक्रियावादी सत्ता सञ्चालन गर्न जो गए पनि उही त हो भन्दा पनि स्वीकार्न सक्दैनन् । वर्गसंघर्ष घनिभूत नभएको बेलामा ती सुकुम्वासीहरूलाई गरिबीको दिगो समाधान के हुनसक्छ भन्ने जानकारी पनि हुँदैन ।

देशमा गैरजिम्मेवार दलका नेता र शासक छन्, गरिबको अवस्थाको  कुनै पीर र चिन्ता छैन । उनीहरूलाई आफ्नो अधिकारले केके प्राप्त भएको छ, त्यो लिनलाई नै उनीहरूको चिन्ता हुन्छ, गरिबहरूप्रति  संवेदना उनीहरूमा छैन । अझ अधिकारको दुरुपयोग गरेर लिन र लिनेलाई जोगाउन नै उनीहरुको ध्यान जान्छ । ठगहरूको राज्यव्यवस्था छ, उनीहरूले गरिब दुःखीजनहरूको पीरमार्का बुझ्ने कुरै हुन्न हुन्न।  हामीले यसो भन्दा भन्दा उनीहरूलाई  खुबै घत परेको अभिव्यक्ति दिए ।

२२ पुस २०७५


भिडियो फिचरview all